मुलुक यतिबेला पुनः निर्वाचनको संघारमा उभिएको छ। तर, यसपटकको चुनावी माहोल विगतको तुलनामा निकै भिन्न र विशेष छ। खासगरी, ‘जेन्जी’ भनिने नयाँ पुस्ताको उदय र उनीहरूले राजनीतिमा ल्याएको नवीन लहरले परम्परागत राजनीतिक दल र तिनका पुराना एजेन्डाहरूलाई कडा प्रश्न गरिरहेको छ। डिजिटल सचेतना, तार्किक प्रश्न र नतिजामुखी सोच बोकेको यो पुस्ताले अब केवल खोक्रो आश्वासन होइन, बरु ‘हातमा काम र माटोमा दाम’ सुनिश्चित गर्ने ठोस मार्गचित्र खोजिरहेको छ। अबको निर्वाचनमा जुन दलले कृषि, वन, र वातावरणलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउने आँट गर्छ, उसैले मात्र यो सचेत पुस्ताको विश्वास जित्न सक्नेछ।
पछिल्लो समय नेपालको राजनीतिमा देखिएको युवा र स्वतन्त्र लहर एउटा संवेग मात्र होइन, यो दशकौँदेखि उपेक्षित उत्पादनको क्षेत्रप्रतिको आक्रोश पनि हो। आजको सचेत युवा पुस्ताले सोधिरहेको छ ? “हामी किन आफ्नै देशको उर्वर भूमि बाँझो राखेर खाडीको मरुभूमिमा पसिना बगाउन बाध्य छौँ “ राजनीतिक दलहरूले अब बुझ्नैपर्छ कि मतदातालाई पुरानो विचारधाराले मात्र अब पुग्दैन, उनीहरूलाई उद्यमशीलता, प्रविधिमैत्री उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको ग्यारेन्टी चाहिन्छ।
नेपालको वास्तविक समृद्धि कृषि, पशुपालन, वन र पर्यटनकै जगमा अडिएको छ। तर विडम्बना, हाम्रा घोषणापत्रहरूमा यी विषयहरू जहिले पनि औपचारिकतामा मात्र सीमित रहे। अबको आवश्यकता कृषिलाई जीवन निर्वाहबाट माथि उठाएर ‘मर्यादित उद्योग’ मा रूपान्तरण गर्नु हो। रासायनिक मलको हाहाकार अन्त्य गर्ने, सिँचाइलाई खेत–खेतमा पुर्याउने र किसानको उत्पादनलाई सिधै बजारसँग जोड्ने प्रविधिको विकास अबको मुख्य राजनीतिक एजेन्डा बन्नुपर्छ। नयाँ पुस्ता प्रविधिसँग अभ्यस्त छ, त्यसैले कृषिमा ‘डिजिटलाइजेसन’ र ‘स्मार्ट फार्मिङ’ को अवधारणा ल्याउन ढिला भइसकेको छ।
त्यसैगरी, नेपालको वन क्षेत्रलाई केवल संरक्षणको म्युजियम मात्र नबनाई ‘हरित अर्थतन्त्र’ को इन्जिन बनाउनु पर्ने बेला आएको छ। दिगो वन व्यवस्थापनमार्फत काष्ठ पैदावारमा आत्मनिर्भर बन्ने र बहुमूल्य जडीबुटीको व्यावसायिक प्रशोधन गरी विश्व बजारमा निर्यात गर्ने स्पष्ट नीति दलहरूले ल्याउनुपर्छ। वातावरण संरक्षण र जलवायु परिवर्तनका मुद्दाहरू अब केवल प्राज्ञिक बहसका विषय मात्र होइनन्, यो हाम्रो आफ्नै हिमाली र पहाडी अर्थतन्त्र बचाउने आधार बनिसकेको छ। पर्यटनलाई कृषिसँग जोडेर ‘एग्रो टुरिजम’ को मोडलमा लैजान सके मात्र हामीले खोजेको दिगो रोजगारी स्वदेशमै सिर्जना हुन सक्छ।
सबै राजनीतिक दलहरूलाई हाम्रो आग्रह छ । यसपटकको चुनावी घोषणापत्र तयार पार्दा केवल भोटको राजनीति मात्र नगर्नुहोस्। युवाहरूमा जागेको यो नयाँ चेतना र उनीहरूको उद्यमशील बन्ने चाहनालाई सम्बोधन गर्नुहोस्। समृद्ध नेपालको नारा तब मात्र सार्थक हुनेछ, जब हाम्रा हिमाल हाँस्नेछन्, पहाडका पाखाहरू जडीबुटीले महकनेछन् र तराईका फाँटहरू सुनौलो धानले झुलनेछन्।
यो निर्वाचनलाई केवल नेता चुन्ने माध्यम मात्र नभई, देशलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने महाअभियानका रूपमा सदुपयोग गरौँ। माटोलाई माया गर्ने, उद्यमीलाई सम्मान गर्ने र प्रकृतिलाई संरक्षण गर्ने नेतृत्व नै आजको सचेत पुस्ता र भोलिको समृद्ध नेपालको निर्विकल्प रोजाइ हो।









