प्रविधिमैत्री र जनमुखी स्वास्थ्य सेवामा जोड
काठमाडौँ, २ फागुन । सामुदायिक स्वास्थ्य सेवा परिषद् अन्तर्गत सञ्चालित स्वयम्भू सामुदायिक अस्पतालको २२औँ वार्षिक साधारण सभा शनिबार डल्लु आवासस्थित अस्पताल परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। परिषद्का अध्यक्ष हरीगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी कार्यकालका लागि श्री केशर बहादुर मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
नयाँ कार्यसमिति र नेतृत्व
सहमति र सहकार्यको सन्देश दिँदै साधारण सभाले केशर बहादुर मानन्धरको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, महासचिवमा दीपक चन्द्र गौतम, सचिवमा निशा अधिकारी थापा र कोषाध्यक्षमा सुरेन्द्र बज्राचार्य चयन हुनुभएको छ।
त्यसैगरी, सदस्यहरूमा मोहन कृष्ण श्रेष्ठ, नरेन्द्रमान डंगोल, बिष्णु प्यारी श्रेष्ठ, नितु मानन्धर, सुरेश डंगोल, मनराजा रञ्जित, सहजी पन्त र निर्जला महर्जन निर्वाचित हुनुभएको छ।

आधुनिकीकरणमा स्थानीय सरकारको प्रतिबद्धता
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिका वडा नं. १५ का अध्यक्ष श्री ईश्वरमान डंगोलले गर्नुभएको थियो। सम्बोधनका क्रममा अध्यक्ष डंगोलले सामुदायिक अस्पतालले स्थानीय तहमा पुर्याएको स्वास्थ्य सेवाको उच्च प्रशंसा गर्दै अस्पताललाई अझ आधुनिक, प्रविधिमैत्री र जनमुखी बनाउन वडा कार्यालयको पूर्ण आर्थिक एवं भौतिक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा सचिव प्रमोद अधिकारीले स्थानीय सरकार र सामुदायिक स्वास्थ्य संस्थाबीचको सहकार्यले मात्र नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो।
गुणस्तरीय उपचार र संस्थागत सुदृढीकरण
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले सामुदायिक अस्पतालहरू ग्रामीण र सहरी स्वास्थ्य सेवाको मेरुदण्ड रहेको उल्लेख गर्दै गुणस्तरीय उपचार, दक्ष जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणको प्रयोगमा सम्झौता नगर्ने बताउनुभयो। उहाँले विशेषज्ञ सेवाको विस्तारमार्फत अस्पताललाई थप विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, युनाइटेड नेचर इन्टरनेसनल पिस (UNIPUN) नेपाल च्याप्टरका डा. राजु लामा पी. कोन्दनले स्वास्थ्य सेवालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपन्न वर्ग लक्षित कार्यक्रम र अन्तरसंस्थागत सहकार्यमा जोड दिनुपर्ने सुझाव दिनुभयो।

डिजिटल रूपान्तरणको कार्ययोजना
हामीसँगको कुराकानीमा नवनिर्वाचित महासचिव श्री दीपक चन्द्र गौतमले अस्पतालको आगामी कार्यदिशा प्रस्तुत गर्दै आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउन ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणाली लागू गर्ने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो संकल्प स्वयम्भू सामुदायिक अस्पताललाई केवल उपचार केन्द्र मात्र नभई प्रविधि र मानवीय सेवाको उत्कृष्ट सङ्गम बनाउनु हो। सूचना संयन्त्रलाई प्रभावकारी बनाउँदै समुदायका हरेक नागरिकले सहजै जानकारी र सेवा पाउने वातावरण हामी निर्माण गर्नेछौँ।”
प्रतिवेदन अनुमोदन र समापन
साधारण सभाको बन्द सत्रमा निवर्तमान महासचिव प्रकाश कुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दयामान शाहीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो, जसलाई सभाले विस्तृत छलफलपछि सर्वसम्मतिले अनुमोदन गरेको छ।
परिषदका अध्यक्ष हरीगोपाल श्रेष्ठले विपन्न र असहाय वर्गका लागि सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु नै अस्पतालको मूल धर्म रहेको बताउँदै नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिनुभयो। कार्यक्रमको दुवै सत्रको सञ्चालन नवनिर्वाचित महासचिव दीपक चन्द्र गौतमले गर्नुभएको थियो।









