चर्चित

सुजन अङ्गाई
पद: कार्यालय प्रमुख
कार्यालय: मौरीपालन विकास केन्द्र, चितवन

हुल निर्यास मौरीको वंशवृद्धि हुने एक प्राकृतिक प्रजनन प्रक्रिया हो, जसमा घारबाट रानु मौरी र हजारौँको सङ्ख्यामा कर्मी मौरीहरू छुट्टिएर गई नयाँ मौरीगोला बनाउँदछन् । पहिलो हुल निर्यासमा पुरानो रानु र करिब ५०–७० प्रतिशत कर्मी मौरीहरू पुरानो घारबाट निस्कन्छन् भने दोस्रो, तेस्रो र चौथो हुल निर्यासमा निस्कने नयाँ रानु र कर्मी मौरीको सङ्ख्या क्रमशः घट्दै जान्छ । मौरीगोलामा भाले कोषहरूको निर्माण भई भाले मौरीको सङ्ख्यामा वृद्धि हुनु, चाकाको पिँधमा रानु कोषहरू देखिनु, घारको प्रवेशद्वारमा मौरीहरू गाँड लगाएर (झुप्पा परेर) बस्नु, घारबाहिर मौरीहरू निस्किएर ठूलो आवाजमा भुनभुनाउँदै उड्नु र अन्तमा साबिकको मौरीघारबाट मौरीहरू निस्किएपछि धेरै माथि नउडी घारको नजिकै कुनै रूखको हाँगा वा अन्य कुनै ठाउँमा पोको परेर बस्नु हुल निर्यासमा देखिने लक्षणहरू हुन् । यसरी हुल निर्यास हुँदा पहिलो उडानमा छुट्टिएर गएको मौरीको हुल करिब २०–३० मिटर टाढासम्म जान्छ भने पुनः पछिल्लो उडानमा मौरीको हुल ७००–१००० मिटरसम्म टाढा पुग्दछ ।

हुल निर्यास मौरीको वंशाणुगत गुण हो । मौरीघारमा रानुलाई फुल पार्ने स्थानको अभाव हुनु, अधिक सङ्ख्यामा कर्मी मौरीहरू हुनु, कोषमा खाना भण्डारण गर्ने स्थानको अभाव हुनु तथा समयमा नै रानु नफेर्नु जस्ता कारणले गर्दा मौरीमा हुल निर्यास हुने गर्दछ । हुल निर्यास प्रक्रिया मेलिफेरा मौरीमा भन्दा सेरेना मौरीमा बढी हुने गर्दछ; सेरेना जातको मौरीमा १ देखि ५ पटकसम्म हुल निर्यास हुने गरेको पाइन्छ ।

मौरीका लागि उपयुक्त मौसममा जब प्रशस्त मात्रामा पुष्परस र कुटको प्रवाह हुन्छ, उक्त समयमा मौरीले हुल निर्यास गर्दछ । खासगरी वसन्त र शरद् ऋतु हुल निर्यासका लागि उपयुक्त समय हुन् । तर उच्च पहाडी जिल्लाहरूमा जेठ, असार र साउन महिना मौरीका लागि उपयुक्त प्रवाहको मौसम भएकाले हुल निर्यास पनि सोही समयमा हुन्छ । हुल निर्यास खासगरी बिहान ९/१० बजेदेखि दिउँसो करिब ३ बजेसम्मको घमाइलो समयमा हुन्छ भने गर्मी स्थानमा बिहान ८/९ बजेदेखि नै हुल निर्यास हुन सक्दछ । पानी परेको र हुरीबतास आएको बेला भने मौरीले हुल निर्यास गर्दैनन् ।
हुल निर्यासका नियन्त्रणका उपायहरू:
हुल निर्यास भएमा एक स्वस्थ गोला पनि कमजोर भई मह उत्पादनमा कमी आउन सक्छ । अतः हुल निर्यास कार्य रोक्न व्यवस्थापनलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । यसका लागि निम्न उपायहरू अपनाउनु पर्दछ:
-नियमित रूपमा मौरीगोलाको निरीक्षण गर्ने ।
-छाउरा कक्ष र मह कक्षमा स्थान अभाव हुन नदिने ।
-अनावश्यक रानु कोषहरू हटाइदिने ।
-घारमा अनावश्यक भाले कोष भएका चाकाहरू हटाउने ।
-प्रत्येक वर्ष गुणस्तरीय रानु बदल्ने ।
-घारभित्र हावा राम्रोसँग आवतजावत हुन भेन्टिलेसनको व्यवस्था गरिदिने ।
-हुल निर्यास हुन लागेको सङ्केत मिलेमा रानु ढोका प्रयोग गरी माथि उल्लेख गरेअनुसार आवश्यक प्रबन्ध मिलाउने ।
-गोला विभाजन गरी नयाँ गोला विस्तार गर्ने ।
मौरीमा गृहत्याग
विभिन्न बाधा-अड्चनहरूका कारण मौरीहरूले आफू बस्दै आएको घारलाई परित्याग गरेर वा छोडेर अन्य ठाउँमा जाने प्रक्रियालाई गृहत्याग भनिन्छ । विशेष गरी सुक्खा मौसम, प्रशस्त खानाको अभाव, घारगोलामा रोग तथा किराको प्रकोप, गर्मी र वर्षायाममा उपयुक्त वातावरणको अभावका कारण मौरीहरू गृहत्याग गर्न अग्रसर हुन्छन् । गृहत्यागको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुन सक्छ । गृहत्याग दुई प्रकारका हुन्छन्: योजनाबद्ध र आपत्कालीन ।
योजनाबद्ध गृहत्यागको तयारीमा लागेका मौरीहरूले रानुलाई करिब १५ दिन अगाडिदेखि नै फुल नपार्ने वातावरण सिर्जना गर्दै जान्छन् । गोलामा फुल, लार्भा र प्युपा कम देखिनु, पुष्परस र पराग सञ्चित नहुनु, प्रवेशद्वारमा मौरीको आवतजावत कम हुँदै जानु जस्ता लक्षण देखिनुका साथै गृहत्याग हुने समयमा धेरै सङ्ख्यामा मौरीहरू घार वरिपरि ठूलो आवाजमा घुमिरहेका हुन्छन् र तीव्र गतिले आकासिएर भाग्छन् । गृहत्याग गरिसकेको घार निरीक्षण गर्दा चाकाहरू रित्तै हुन्छन्, तर आकस्मिक गृहत्याग गरेको घारमा केही बच्चा र थोरै मह भेटिन्छ । गृहत्याग पनि मेलिफेरा मौरीको तुलनामा सेरेना जातको मौरीमा बढी देखिन्छ । नेपालमा करिब १५ देखि ३० प्रतिशत सेरेना मौरीगोलाले वार्षिक रूपमा गृहत्याग गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
गृहत्याग नियन्त्रणका उपायहरू:
-मह प्रवाहको अन्त्यमा सबै मह चाका नकाढ्ने ।
-छाउरा चाकाहरूमा खानाको अभाव देखिएमा चिनी चास्नी ३ दिनसम्म लगातार खुवाउने ।
-समयमै रोगहरू पत्ता लगाई औषधि उपचार वा नियन्त्रण गर्ने ।
-पटक-पटक गोला निरीक्षण गरी मौरीलाई बाधा नपुर्‍याउने ।
-प्राकृतिक शत्रुहरूबाट मौरीगोलाको रक्षा गर्ने ।
-मौसम अनुसार मौरीलाई चिसो, गर्मी र चिस्यानबाट बचाउने व्यवस्थापन गर्ने ।
-मौरीहरूलाई बाधा हुने जस्तै: धुवाँ, यातायातका साधन, मानिस र पशुहरूको बढी -ओहोरदोहोर तथा अत्यधिक तातो र चिसोले असर पार्ने ठाउँहरूमा घार नराख्ने ।
-कमजोर गोलालाई छाउरा चाकाले आधार दिने र लुटलडाइँ हुनबाट जोगाउने ।
प्रत्येक वर्ष गुणस्तरीय रानु बदल्ने ।
-गृहत्याग भई उडेमा पानी वा धुलो फ्याँकी मौरीलाई नजिकै बसाउन प्रयास गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय