चर्चित

महेश भण्डारी
सञ्चालक, बुढानीलकण्ठ रैथाने कृषि बजार एवं कोसेली घर

यो बुढानीलकण्ठ रैथाने कृषि बजारको सुरुवात र आजको यो स्वरूपको पछाडि बुढानीलकण्ठ नगरपालिकाको ठूलो योगदान छ । मैले बुढानीलकण्ठ नगर उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालेपछि एउटा सामाजिक उत्तरदायित्वबोध गरेँ । नगरपालिकासँगको सहकार्यमा कसरी किसान र उपभोक्तालाई जोड्न सकिन्छ भन्ने चिन्तनबाटै यो बजारको परिकल्पना भएको हो । अहिले हाम्रो यो हाटबजार हरेक शनिबार र मंगलबार बिहान विशेष रूपमा सञ्चालन हुन्छ भने हाम्रो स्टोर चाहिँ सातै दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म तपाईंहरूको सेवामा खुला रहन्छ ।

पहाड र हिमालका मौलिक उत्पादनहरूमा जोड
हाम्रो यस बजारमा तपाईंहरूले लोकल र अर्गानिक उत्पादनहरू मात्र होइन, भरपर्दो ब्रान्डेड कम्पनीका सामानहरू पनि पाउनुहुनेछ । साना–साना कृषक समूह र महिला समूहहरूले आफ्नै मेहेनतले तयार पार्नुभएको मस्यौरादेखि लिएर हाम्रा पहाड र हिमालका मौलिक उत्पादनहरू चिनो, कागुनो, जुम्ली मार्सी चामल, विभिन्न सातु, शुद्ध चियापत्ती, घिउ र मह यहाँ उपलब्ध छन् । शनिबारको दिन त विशेष गरी सोलुखुम्बुबाट ल्याइएका स्थानीय खसीको मासु, ताजा माछा र दुग्ध पदार्थहरू पनि हामीले उपलब्ध गराउँदै आएका छौँ ।
मैले यस बजारलाई तीनवटा क्याटागोरीमा वर्गीकरण गरेको छु । हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरको सुनिश्चितता हो । म यहाँहरूलाई एउटा कुरामा ग्यारेन्टी दिन चाहन्छु—यदि तपाईंहरूले यहाँबाट लग्नुभएको सामानमा कुनै चित्त बुझेन भने, तपाईंले बट्टा खोलेको वा प्याकेट नै च्यातेको अवस्थामा पनि हामी पैसासहित फिर्ता लिन्छौँ । हाम्रा सप्लायरहरू क्वालिटीमा यति प्रतिबद्ध हुनुहुन्छ कि उपभोक्ताले तिरेको मूल्य बराबरको सही वस्तु पाउनै पर्छ भन्ने हाम्रो अठोट छ ।

किसानहरुको कलेक्सन काउन्टर बन्दै
हाम्रो यो अभियान केवल एउटा पसल मात्र होइन, यो त एउटा कलेक्सन काउन्टर पनि हो । म आफैँ पनि नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय मेला समिति र कृषि उद्यम केन्द्रको बजार व्यवस्थापन समितिमा आबद्ध भएको नाताले, मलाई देश–विदेशका मेलाहरूको अनुभव छ । त्यसैले ७७ वटै जिल्लाका किसान दाजुभाइ–दिदीबहिनीहरूलाई म भन्न चाहन्छु—तपाईंहरूले उत्पादन गरेका सामान काठमाडौँमा कहाँ लगेर बेच्ने भनेर चिन्ता नगर्नुहोस्, हामी तपाईंहरूलाई ठाउँ उपलब्ध गराउँछौँ ।

माटाका भाँडा र काष्ठकलाका सामग्रीलाई विशेष जोड
बुढानीलकण्ठ मन्दिरको सामीप्यमा रहेको हुनाले विदेशी र स्वदेशी पर्यटकहरूलाई लक्षित गरी हामीले यसलाई एउटा सोरुमको रूपमा पनि विकास गरेका छौँ । नेपालका रुद्राक्ष, थान्का, पस्मिना, भक्तपुरका माटाका भाँडा र काष्ठकलाका सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने हाम्रो लक्ष्य छ । टुर अपरेटरहरूमार्फत पर्यटकहरूलाई यहाँ ल्याएर नेपालको मौलिक पहिचान झल्काउने सामानहरू बिक्री–वितरण गर्ने जमर्को हामीले गरिरहेका छौँ ।

निरोगी अभियानको सानो यात्रा
हाम्रो यो निरोगी अभियानमा म सबैलाई सहभागी हुन आग्रह गर्दछु । सामान्य किराना पसलकै तुलनात्मक मूल्यमा हामीले यी स्वस्थकर उत्पादनहरू उपलब्ध गराएका छौँ । बुढानीलकण्ठ मन्दिरको ठ्याक्कै उत्तरपट्टी, गणेश हेम्ससँगै हाम्रो बजार रहेको छ । यदि तपाईं गाडीमा आउनुहुन्छ भने वान–वेका कारण मन्दिरलाई दायाँ पारेर घुमेर आउनुपर्ने हुन्छ, पैदल वा बाइकमा आउँदा मन्दिर क्रस गर्ने बित्तिकै देब्रेतिर हामीलाई भेट्नुहुनेछ । म फेरि पनि दोहो¥याउन चाहन्छु, नयाँ किसानहरूका लागि एक महिनासम्म निःशुल्क स्टल र कुनै पनि स्थानीय निकाय वा उद्योग वाणिज्य संघले आफ्नो पालिकाको ब्यानरमा कोसेली घर चलाउन चाहेमा एक वर्षसम्म ठाउँ निःशुल्क दिने मेरो प्रतिबद्धता छ । हाम्रो इमानदारिताको यो प्रयासमा यहाँहरूको सल्लाह, सुझाव र साथको अपेक्षा गर्दछु । ००००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय