चर्चित

ठाकुर भण्डारी

अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) स्थापनाकालदेखि नै प्राकृतिक स्रोतमाथिको जनअधिकार र पर्यावरण संरक्षणको पहरेदार संस्था हो। फेकोफनको यो गरिमामय यात्रा यहाँसम्म आइपुग्नुमा देशैभरिका शुभचिन्तक, अभियन्ता र अग्रजहरूको अमूल्य सल्लाह, सुझाव र आशीर्वादको ठूलो जग रहेको छ। हाम्रो संस्कृतिमा दशैँमा मान्यजनबाट लिइने आशीर्वादको जति ठूलो महिमा छ, स्थापना दिवसको पावन अवसरमा हाम्रा अभियन्ता र सरोकारवालाहरूबाट प्राप्त मार्गदर्शन पनि महासंघको अभियानका निम्ति त्यत्तिकै ऊर्जादायी र सान्दर्भिक बनेको छ। अग्रजहरूको प्रत्येक सुझावलाई शिरोधार्य गर्दै सामुदायिक वनको अभियानलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता फेकोफन पुनः दोहोर्‍याउन चाहन्छ।

पछिल्लो समय सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा सामुदायिक वनको सन्दर्भ लिखित र भाषागत रूपमा सकारात्मक ढंगले समेटिएको छ। वन मन्त्रालय तथा सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको निरन्तरको संवाद, भेटघाट र पैरवीकै कारण राज्यले यस विषयलाई मनन गरेको देखिन्छ। सरकारले नीति तथा कार्यक्रममार्फत सामुदायिक वन उपभोक्ता समूहहरूलाई उत्साहित गराउने प्रयास गरेको छ, जुन स्वागतयोग्य कदम हो र यसका लागि सरकार धन्यवादको पात्र छ।

यद्यपि, फेकोफन सरकारका राम्रा कामको समर्थन र कमजोरीको आलोचना गर्ने आफ्नो स्पष्ट अडानमा सधैँ अडिग छ। हाम्रा लागि राष्ट्रिय मुद्दाहरू र उपभोक्ताका अधिकार सधैँ सर्वोपरी रहन्छन्। जलविद्युतको विकास होस्, खानेपानीको उपलब्धता होस्, या नागरिकका दैनिक समस्यासँग जोडिएका अन्य क्षेत्र किन नहोस् सम्बन्धित महासंघ र नेतृत्वले उपभोक्ताको हकमा उठाउने हरेक बुलन्द आवाजमा फेकोफन सधैँ अग्रभागमा रहेर होस्टेमा ह्याँसे गर्न तयार छ।

अहिलेको मुख्य चुनौती भनेकै लिखित रूपमा आएका नीति र कार्यक्रमहरूको अक्षरसः कार्यान्वयन हुनु हो। यो बाटो पक्कै पनि सहज छैन। नीति कार्यान्वयनको तहमा अनेकौँ व्यावहारिक र कानुनी अड्चनहरू छन्, कार्ययोजना नवीकरण र व्यवस्थापनका थुप्रै जटिलताहरू छन्। सरकारले ‘यो भन्नका निम्ति मात्र होइन, कार्यान्वयनकै लागि ल्याइएको हो’ भनी व्यक्त गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्न गम्भीर हुन जरुरी छ। हामी सरकारको कदमलाई नजिकबाट नियालिरहेका छौँ। भोलिका दिनमा यदि नीति कार्यान्वयनमा ढिलासुस्ती गरियो वा सामुदायिक वनको अधिकारमाथि कुनै पनि बहानामा अंकुश लगाउने प्रयास भयो भने, फेकोफन हिजो बधाई दिने ठाउँबाट आजै सडक आन्दोलनमा उत्रिन पनि पछि हट्ने छैन।

अबको हाम्रा साझा यात्रा भनेको संरक्षणसँगै समृद्धिको यात्रा हो। वनलाई केवल रुखहरूको समूहका रूपमा मात्र नहेरी यसलाई गरिबी निवारण र आर्थिक समृद्धिको बलियो खम्बा बनाउनुपर्छ। यसका लागि देशव्यापी रूपमा उद्यमशीलता, वन पर्यटन  र कृषि वनका कार्यक्रमहरूलाई तीव्र रूपमा अगाडि बढाइएको छ। फलफूल, जडीबुटी र बहुउपयोगी बिरुवाहरूको देशव्यापी वृक्षारोपण अभियानमार्फत उत्पादनमुखी अर्थतन्त्र निर्माणमा महासंघले बहस र कार्ययोजना दुवै सँगै अगाडि बढाएको छ।

हरिप्रसाद न्यौपाने र भीमप्रसाद जस्ता आदरणीय अग्रज तथा पूर्व अध्यक्षज्यूहरूले यो उमेरमा पनि जुन सक्रियताका साथ मार्गदर्शन गरिरहनुभएको छ, त्यसले हामीलाई थप जिम्मेवार बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय