सुशील अर्याल
पशु चिकित्सक, रुपा गाउँपालिका, कास्की
परिचय
नेपालको ग्रामीण अर्थतन्त्र, गरिबी निवारण र स्वरोजगार सिर्जनामा बाख्रापालन व्यवसायले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। परम्परागत जीवननिर्वाहमुखी शैलीबाट रूपान्तरण हुँदै हालका वर्षहरूमा व्यावसायिक बाख्रा फार्महरूको संख्या देशव्यापी रूपमा बढ्दो छ। विशेष गरी खारी, सिन्हाल, बार्बरी, जमुनापारी र उन्नत जातका बोयर बाख्राहरूको व्यावसायिक पालनतर्फ कृषकहरूको आकर्षण उच्च देखिन्छ। तर, व्यावसायिकताको विकाससँगै रैथाने तथा आयातीत बाख्राहरूमा विभिन्न रैथाने रोग तथा परजीवीहरूको चुनौती पनि एउटा ठूलो अवरोधका रूपमा खडा भएको छ।
बाख्रापालक कृषकहरूले सामना गर्नुपर्ने आन्तरिक परजीवीहरूमध्ये सबैभन्दा घातक, संक्रामक र अदृश्य रूपमा बथान नै सखाप पार्न सक्ने परजीवी हो हिमोन्कस जुका (Haemonchus contortus)। भेटेरिनरी विज्ञानमा यसलाई “बार्बर पोल वोर्म” (Barber’s pole worm) भनिन्छ। नेपालमा विशेष गरी जेठ महिनाको सुरुवातदेखि असोजसम्मको बर्खायाममा बाख्राहरू अचानक, कुनै कडा लक्षण नदेखिई, २-४ दिनको छोटो अन्तरालमा धमाधम मर्ने समस्या देखिन्छ। आम कृषकहरू यसलाई पीपीआर (PPR), सरुवा माउते, हैजा वा घाँसपातमा लागेको विषालु असर ठानेर भ्रममा पर्छन्। तर, प्रयोगशालामा गरिएका दिसा परीक्षण र मृत बाख्राहरूको शव परीक्षण (Post-mortem) को तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी आकस्मिक मृत्युको मुख्य जिम्मेवार यही ‘हिमोन्कस जुका’ रहेको पुष्टि गरेको छ।
प्रस्तुत लेखमा यस परजीवीको जैविक चक्र, यसले पुर्याउने क्षति, नेपाली बाख्रापालनमा यसको महामारीको रूप र यसको वैज्ञानिक एवं एकीकृत नियन्त्रणका उपायहरूका बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ।
१. हिमोन्कस जुका के हो?
हिमोन्कस जुका मुख्यतया बाख्रा, भेडा, च्याङ्ग्रा र कहिलेकाहीँ गाईभैँसी जस्ता जुगाउने (Ruminant) जनावरहरूको चौथो पेट, जसलाई वैज्ञानिक भाषामा एबोमाझम (Abomasum) भनिन्छ, त्यहाँ आश्रय लिएर बस्ने एउटा मसिनो गोल जुका (Nematode) हो।
स्वरूप र बनावट: यो जुका झन्डै १० देखि ३० मिलिमिटरसम्म लामो र खैरो-रातो रङको हुन्छ। यस परजीवीको नाम “बार्बर पोल वोर्म” रहनुको पछाडि यसको शारीरिक बनोट मुख्य कारण हो। यसका वयस्क पोथी जुकाहरूको सेतो रङको अण्डाशय (Uterus) र रगतले भरिएको रातो रङको आन्द्रा (Intestine) एकआपसमा घडीको सुई जस्तै बेरिएर रहेका हुन्छन्। यसले गर्दा यो जुका पुरानो जमानामा कपाल काट्ने सैलुनबाहिर राखिने रातो र सेतो धर्का भएको घुम्ने खम्बा (Barber’s Pole) जस्तो दुरुस्तै देखिन्छ।
भोजन र बानी: यस परजीवीको मुखको अग्रभागमा एउटा सानो दाँत जस्तो तिखो अङ्कुश (Lancet) हुन्छ। यसले बाख्राको पेटको भित्री तह (Mucosal membrane) लाई काटेर निरन्तर निस्कने रगत चुस्ने गर्दछ।
२. परजीवीको जीवनचक्र (Life Cycle) र अनुकूल मौसम
हिमोन्कस जुकाको जीवनचक्र प्रत्यक्ष (Direct Life Cycle) हुन्छ, अर्थात् यसलाई आफ्नो वंशवृद्धि गर्न कुनै अर्को मध्यस्थकर्ता (Intermediate host) जस्तै शङ्खेकीरा वा उपियाँको आवश्यकता पर्दैन। यसको यो सरल चक्र नै यसको महामारी फैलाउने सबैभन्दा बलियो हतियार हो।
१. अण्डा उत्पादनको उच्च दर: बाख्राको पेटमा रहेका वयस्क पोथी जुकाहरूले दैनिक रूपमा ५,००० देखि १०,००० सम्म अण्डाहरू उत्पादन गर्छन्। यी अण्डाहरू बाख्राको गोबरसँगै पर्यावरणमा बाहिर निस्कन्छन्।
२. लार्भाको विकास (L1 देखि L3 सम्म): अनुकूल वातावरण पाएमा गोबरमा रहेका अण्डाहरू १-२ दिनभित्रै फुट्छन् र त्यसबाट पहिलो चरणको लार्भा (L1) निस्कन्छ। त्यसपछि L2 र अन्ततः संक्रमण फैलाउन योग्य तेस्रो चरणको लार्भा (L3) मा रूपान्तरण हुन्छ। यस प्रक्रियाका लागि २५°C देखि ३०°C सम्मको तापक्रम र ८० प्रतिशतभन्दा बढी सापेक्षिक आर्द्रता (Moisture) सर्वोत्कृष्ट मानिन्छ। नेपालको असार, साउन र भदौ महिनामा ठ्याक्कै यही मौसम हुने हुनाले यो परजीवी द्रुत गतिमा फैलन्छ।
३. घाँसमा बसाइँसराइ: तेस्रो चरणको यो L3 लार्भा माटोबाट बाहिर निस्केर ओसिलो घाँसको पातमा पानीको मसिनो पत्र वा बिहानको शीतको सहाराले बिस्तारै घस्रँदै घाँसको टुप्पोसम्म आइपुग्छ।
४. पुनः संक्रमण: जब बाख्राहरू चर्न जान्छन् वा कृषकले त्यही घाँस काटेर दिन्छन्, तब यो लार्भा बाख्राको मुख हुँदै पेटमा पुग्छ। पेटमा पुगेको झन्डै २ देखि ३ हप्ताभित्र यो लार्भा वयस्क जुकामा परिणत भई रगत चुस्त र पुनः अण्डा पार्न तयार भइसकेको हुन्छ।
३. पशु स्वास्थ्यमा पार्ने असर र रोगका विभिन्न रूपहरू
हिमोन्कस जुकाले बाख्राको शरीरमा गर्ने मुख्य क्षति भनेकै रक्तअल्पता (Anemia) र प्रोटिनको कमी (Hypoproteinemia) हो। यो जुकाले रगत चुस्ने मात्र होइन, पेटको भित्तामा कयौँ स-साना घाउहरू बनाइदिन्छ, जसबाट औषधि नगर्दासम्म निरन्तर रगत बगिरहन्छ। पशु चिकित्सा विज्ञान अनुसार यसको संक्रमण (Haemonchosis) लाई मुख्यतया तीन श्रेणीमा विभाजन गरिन्छ:
क) अति तीव्र रूप (Hyper-acute Haemonchosis)
यो अवस्था मुख्यतया स-साना पाठापाठी र भर्खर ब्याएका वा उच्च उत्पादन दिने माउ बाख्राहरूमा देखिन्छ। जब चरन क्षेत्रमा अचानक अत्यधिक मात्रामा संक्रमित लार्भाहरूको बाहुल्यता हुन्छ, बाख्राहरूले एकै पटक हजारौँ लार्भा खान पुग्छन्।
लक्षण: यस अवस्थामा बाख्रा दुब्लाउने, खोक्ने वा चिउँडो सुन्निने जस्ता कुनै पनि परम्परागत लक्षण देखिँदैन। बाख्रा हिजोसम्म मोटोघाटो, राम्ररी चरिरहेको र स्वस्थ देखिन्छ तर भोलिपल्ट खोरमा अचानक मृत फेला पर्छ।
कारण: बाख्राको पेटमा ५,००० भन्दा बढी जुका एकैसाथ बस्दा तिनीहरूले प्रतिदिन २५० मिलीलिटरभन्दा बढी शुद्ध रगत चुसिदिन्छन्। बाख्राको शरीरले नयाँ रगत उत्पादन गर्ने समय नै पाउँदैन र शरीरमा रगतको मात्रा अचानक शून्य जस्तै भई एनेमिक सक (Anemic Shock) का कारण जनावरको मृत्यु हुन्छ। यही रूप नै नेपाली किसानको खोरमा महामारीका रूपमा फैलिने गरेको छ।
ख) तीव्र रूप (Acute Haemonchosis)
यस अवस्थामा बाख्राको शरीरमा जुकाको संख्या अलि कम हुन्छ तर क्षति भने निरन्तर भइरहन्छ।
लक्षण: बाख्राहरू बिस्तारै सुस्त हुँदै जाने, बथानसँग चर्न नसकी पछि-पछि पर्ने, धेरै कडा कमजोरीका कारण भुइँमा बस्ने र धकेल्दा मात्र उठ्ने हुन्छन्।
बोटल जअ (Bottle Jaw): रगतमा रहेको मुख्य प्रोटिन (Albumin) जुकाले चुसिदिन्छ, जसका कारण रगतको चाप बिग्रन्छ र शरीरको तल्लो भाग, विशेष गरी चिउँडोमुनि पानी जमेर सुन्निन थाल्छ। यसलाई नै कृषकहरू ‘बोटल जअ’ भन्छन्।
चर्म र आँखाको अवस्था: बाख्राको आँखाको तल्लो परेला पल्टाएर हेर्दा वा गिजा छामेर हेर्दा हुनुपर्ने गुलाबी वा रातो रङ पूर्ण रूपमा हराएर कागज जस्तो सेतो देखिन्छ। बाख्राको रौँ खस्रो, फुस्रो र तान्दा सजिलै उखेलिने खालको हुन्छ। यस अवस्थामा पनि प्रायः बाख्रालाई पखाला लाग्दैन, बरु कडा कब्जियत (गोबर गोटा पर्नु) देखिन्छ।
ग) दीर्घकालीन रूप (Chronic Haemonchosis)
यो अवस्था लामो समयसम्म शरीरमा थोरै संख्यामा जुका रहिरहँदा देखिन्छ। यसमा बाख्रा नमरे पनि उत्पादन ठूलो मात्रामा घट्छ। बाख्राको तौल बढ्दैन, मासु र दुध उत्पादन ह्वात्तै घट्छ र बाख्रा कंकाल जस्तो मात्र देखिन्छ।
४. नेपालमा यसको उपचारमा देखिएका गम्भीर प्राविधिक चुनौतीहरू
नेपाली बाख्रापालक कृषकहरूमाझ एउटा ठूलो गुनासो सुनिन्छ “हामीले नियमित जुकाको औषधि त खुवाइरहेका छौँ, तैपनि बाख्राहरू मर्न छाडेनन्। औषधि नक्कली पर्यो कि ?” तर वास्तविकता औषधि नक्कली भएको होइन, बरु जुकाले औषधिविरुद्ध विकास गरेको प्रतिरोधात्मक क्षमता (Anthelmintic Resistance) हो।
नेपालमा विगत लामो समयदेखि अल्बेन्डाजोल (Albendazole) र फेन्बेन्डाजोल (Fenbendazole) जस्ता बेन्जिमिडाजोल (Benzimidazole) समूहका औषधिहरू अत्यधिक, जथाभाबी र न्यून मात्रामा प्रयोग भइरहेका छन्। कृषकहरूले बाख्राको तौल नलिनु, अन्दाजको भरमा थोरै मात्रा (Under-dosing) औषधि खुवाउनु र वर्षौँसम्म एउटै औषधिको ब्रान्ड मात्र प्रयोग गर्नाले हिमोन्कस जुकाले यी पुराना औषधिहरूलाई पचाउने क्षमता पूर्ण रूपमा विकास गरिसकेको छ। त्यसैले, तीव्र संक्रमणको अवस्थामा यी पुराना औषधिहरूले जुकालाई कुनै असर गर्दैनन्।
५. परजीवी पहिचान: दिसाको नमुना सङ्कलन र प्रयोगशाला परीक्षण विधि
हिमोन्कस जुकाको संक्रमण बथानमा छ वा छैन र छ भने कुन स्तरमा छ भनी पत्ता लगाउन वैज्ञानिक प्रयोगशाला परीक्षण (Laboratory Test) अनिवार्य मानिन्छ। अन्दाजको भरमा औषधि चलाउनुभन्दा दिसा परीक्षण (Fecal Examination) गरेर औषधि तोक्नु सुरक्षित र आर्थिक रूपमा फाइदाजनक हुन्छ। यसका लागि किसान आफैँले खोरमा नमुना सङ्कलन गरी स्थानीय पशु सेवा शाखा वा रोग अन्वेषण प्रयोगशालामा पठाउन सक्छन्।
क) दिसाको नमुना सङ्कलन गर्दा ध्यान दिनुपर्ने ५ नियम (Fecal Sampling Method)
प्रयोगशालाको नतिजा सही आउनका लागि नमुना (Sample) सफा र ताजा हुनुपर्छ। नमुना सङ्कलन गर्दा किसानले निम्न विधि अपनाउनुपर्छ:
१. ताजा गोबर मात्र लिने: भुइँमा धेरै पहिले खसेको, सुकेको वा माटो/सोत्तर मिसिएको गोबरको नमुना लिनु हुँदैन। बाख्राले दिसा गरिरहेकै बेला सोझै वा भर्खरै खसेको ताजा र ओसिलो गोबर (४–५ वटा गोटा) सङ्कलन गर्नुपर्छ।
२. बाख्राको पहिचान (Tagging): यदि बथानका शङ्कास्पद बाख्राहरूको छुट्टाछुट्टै परीक्षण गर्ने हो भने, प्लास्टिकको थैलो (Zip-lock bag) मा बाख्राको ट्याग नम्बर वा नाम स्पष्टसँग लेख्नुपर्छ। यदि सम्पूर्ण बथानको साझा अवस्था बुझ्न ‘मिश्रित नमुना’ (Composite Sample) लिने हो भने बथानका कम्तीमा १० प्रतिशत फरक-फरक बाख्राको गोबरलाई एउटै थैलोमा मिसाउन सकिन्छ।
३. हावा नछिर्ने थैलोको प्रयोग: नमुनालाई सफा प्लास्टिकको थैलो वा सिसाको बट्टामा राखेर बिर्को वा मुख राम्ररी बन्द गर्नुपर्छ, ताकि भित्र ओस कायम रहोस् र हावा नछिरोस्। हावा छिरेमा अण्डाहरू फुटेर लार्भा बन्न सक्छन्, जसले प्रयोगशालामा गणना गर्न गाह्रो बनाउँछ।
४. चिसोमा भण्डारण (Preservation): नमुना सङ्कलन गरेकै दिन प्रयोगशाला पुर्याउनु सबैभन्दा उत्तम हुन्छ। यदि ढिला हुने भएमा उक्त नमुनालाई रेफ्रिजरेटरको सामान्य तापक्रम (४°C देखि ८°C) मा राख्नुपर्छ। याद राख्नुहोस्, गोबरलाई डिप-फ्रीजरमा हालेर जमाउनु (Freeze) हुँदैन, यसो गर्दा जुकाका अण्डाहरू फुट्छन्।
५. सङ्कलनको समय: सकिन्छ भने बिहान बाख्रा चर्न जानुअघि वा औषधि खुवाउनुभन्दा ठीक अघिल्लो दिन नमुना सङ्कलन गर्नु उपयुक्त हुन्छ।
ख) प्रयोगशालामा कसरी गरिन्छ परीक्षण? (Laboratory Diagnostics)
पशु अस्पताल वा प्रयोगशालामा प्राविधिकहरूले मुख्यतः दुईवटा वैज्ञानिक विधिबाट हिमोन्कस जुकाको पहिचान गर्छन् :
१. गुणात्मक विधि (Qualitative Method – Flotation Technique) यो विधि बाख्राको पेटमा जुकाको उपस्थिति छ कि छैन भनी हेर्न प्रयोग गरिन्छ।
प्रक्रिया: गोबरको थोरै अंशलाई लवणको कडा घोल (Saturated Salt/Sugar Solution) सँग मिसाएर सेन्ट्रीफ्युज (Centrifuge) गरिन्छ वा केही बेर टेस्टट्युबमा राखिन्छ। जुकाका अण्डाहरू हल्का हुने भएकाले झोलको माथिल्लो सतहमा तैरिन्छन्।
सूक्ष्मदर्शक यन्त्र (Microscope) मा पहिचान: प्राविधिकहरूले उक्त तैरिएको भागलाई काँचको स्लाइडमा राखेर माइक्रोस्कोपमा हेर्छन्। हिमोन्कस जुकाको अण्डा अण्डाकार (Oval-shaped), पातलो कडा आवरण भएको र भित्र धेरै वटा कोषहरू (Morula stage) भएको देखिन्छ।
२. मात्रात्मक विधि (Quantitative Method – McMaster Technique) यो विधि हिमोन्कस जुकाको नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यसले बाख्राको पेटमा जुकाको भार (Infection Load) कति छ र औषधिले काम गर्छ/गर्दैन भन्ने कुरा अङ्कमा देखाउँछ।
EPG (Eggs Per Gram) गणना: यस विधिमा विशेष प्रकारको ‘म्याकमास्टर स्लाइड’ को प्रयोग गरेर प्रतिग्राम गोबरमा जुकाका अण्डाहरूको संख्या (EPG) गणना गरिन्छ।
५०० भन्दा कम EPG: हल्का संक्रमण (Mild) – तत्काल कडा औषधिको आवश्यकता पर्दैन, व्यवस्थापन सुधार्ने।
५०० देखि १५०० सम्म EPG: मध्यम संक्रमण (Moderate) – बाख्रालाई जुकाको औषधि दिनु आवश्यक हुन्छ।
१५०० भन्दा बढी EPG: कडा संक्रमण (Severe) – यो हिमोन्कस जुकाको खतरनाक अवस्था हो। बाख्रा तुरुन्तै मर्न सक्ने हुनाले आपतकालीन उपचार सुरु गर्नुपर्छ।
३. फिकल एग काउन्ट रिडक्सन टेस्ट (FECRT – औषधिको प्रभावकारिता जाँच्ने विधि) खोरमा चलाएको औषधिले काम गरिरहेको छ कि जुकाले औषधिलाई पचाउन थाल्यो भनी जाँच्न यो परीक्षण गरिन्छ। यसमा औषधि खुवाउनुअघि बाख्राको दिसाको EPG जाँच गरिन्छ र औषधि खुवाएको १०-१४ दिनपछि पुनः सोही बाख्राको दिसा जाँच गरिन्छ। यदि दोस्रो पटक जाँच्दा अण्डाको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेको छैन भने, उक्त औषधिविरुद्ध जुकाले प्रतिरोधात्मक क्षमता (Resistance) विकास गरिसकेको प्रमाणित हुन्छ।
६. वैज्ञानिक तथा एकीकृत उपचार पद्धति (Scientific Treatment)
जब बथानमा हिमोन्कस जुकाको महामारी देखिन्छ, तब परम्परागत उपचारले काम गर्दैन। यसका लागि वैज्ञानिक रूपमा प्रमाणित आधुनिक औषधि र सहयोगी उपचार (Supportive Therapy) सँगसँगै लैजानुपर्छ:
क) प्रभावकारी औषधिको छनोट (Anthelmintic Selection)
क्लोसान्टेल (Closantel): हालको अनुसन्धान अनुसार हिमोन्कस जुकाविरुद्ध क्लोसान्टेल समूहको औषधि सबैभन्दा भरपर्दो र प्रभावकारी पाइएको छ। यसले पेटमा रहेका वयस्क र अल्पवयस्क दुवै खालका रगत चुस्ने जुकाहरूलाई छानेर नष्ट गर्छ। बजारमा यो कल्सान्टेल, जाइकोस, फ्लुकाउट आदि नाममा पाइन्छ।
मोनेपान्टेल (Monepantel): यदि क्लोसान्टेलले पनि काम नगरेको खण्डमा नयाँ समूहको औषधि मोनेपान्टेल (बजारमा जोल्भिक्स नामले चल्तीमा रहेको) प्रयोग गर्न सकिन्छ, जसले औषधि पचाउने क्षमता भएका सुपर-जुकाहरूलाई पनि सजिलै मार्छ।
आइभरमेक्टिन (Ivermectin): छालामुनि दिइने यो सुई (Injection) ले पनि पेटको आन्तरिक परजीवी र बाह्य उपियाँ, जुम्रा दुवैलाई नियन्त्रण गर्न मद्दत गर्छ।
ख) औषधि दिँदा पालना गर्नुपर्ने अनिवार्य नियमहरू
१. तौल अनुसारको मात्रा (Dosing by Weight): बाख्रालाई कहिल्यै पनि अन्दाजको भरमा औषधि नदिनुहोस्। बथानका ठूला बाख्राहरूको तौल लिएर सोही अनुसार डिजिटल सिरिन्ज वा ड्रिञ्चरको सहायताले औषधिको पूर्ण मात्रा खुवाउनुपर्छ। मात्रा कम भएमा जुका मर्दैनन्, बरु बलियो बन्छन्।
२. खाली पेटमा प्रयोग: जुकाको झोल औषधि सधैँ बिहान सबेरै बाख्रालाई दाना-पानी दिनुअघि खाली पेटमा खुवाउनुपर्छ र खुवाएको कम्तीमा २ घण्टासम्म चराउन वा दाना दिनु हुँदैन।
३. औषधिको चक्र फेरबदल (Drug Rotation): खोरमा कम्तीमा वर्ष वा दुई वर्षमा औषधिको रासायनिक समूह परिवर्तन गर्नुपर्छ। यो वर्ष क्लोसान्टेल चलाए अर्को वर्ष अक्सिक्लोेजानाइड + लेभामिसोल वा फेन्बेन्डाजोलको संयुक्त मिश्रण चलाउनुपर्छ।
४. गर्भवती बाख्राको सुरक्षा: ब्याउने बाख्रालाई जुकाको औषधि दिँदा निकै सचेत हुनुपर्छ। ब्याएको सुरुवाती अवस्था (पहिलो ४५ दिन) मा अल्बेन्डाजोल चलाएमा पाठापाठी तुहिने (Abortion) दर उच्च हुन्छ। ब्याउने बाख्राका लागि फेन्बेन्डाजोल पूर्ण रूपमा सुरक्षित मानिन्छ।
ग) सहयोगी उपचार (Supportive Therapy): रगत बढाउने अचूक उपाय
केवल जुकाको औषधिले पेटको जुका त मार्छ, तर बाख्राको शरीरमा भइसकेको रगतको चरम अभाव तुरुन्तै पूर्ति हुन सक्दैन। रगत नभएरै बाख्रा मर्ने हुनाले औषधिसँगै तलका टोनिकहरू अनिवार्य दिनुपर्छ:
आइरन टोनिक (Iron Supplements): रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि सार्कोफेरोल, एनिमिडोक्स, फेरिटास जस्ता आइरनयुक्त झोल औषधि वा आइरन डेक्सट्रानको सुई लगातार १० देखि १५ दिनसम्म दिनुपर्छ।
कलेजोको टोनिक (Liver Tonic): कलेजोको कार्यक्षमता बढाउन र फोलिक एसिडको पूर्ति गर्न कलेजोको टोनिक वा भिटामिन बी-कम्पलेक्सको सुई सहयोगी हुन्छ।
७. एकीकृत परजीवी नियन्त्रण रणनीति (Integrated Pest Management)
केवल औषधिको भरमा मात्र हिमोन्कस जुकालाई फार्मबाट पूर्ण रूपमा उन्मूलन गर्न सकिँदैन, किनकि औषधिले पेटको जुका मारे पनि खोरको भुइँ र चरन क्षेत्रमा लाखौँ अण्डाहरूका रूपमा परजीवीको ठूलो हिस्सा बाँकी नै रहन्छ। त्यसैले, जैविक चक्रलाई तोड्न कृषकहरूले निम्न ‘एकीकृत व्यवस्थापन’ अपनाउनु अनिवार्य छ:
१) चरन व्यवस्थापन (Grazing Management)
ढिलो चराउने नीति (Late Grazing): हिमोन्कस जुकाको संक्रमण रोक्ने यो सबैभन्दा सजिलो र प्राकृतिक उपाय हो। जुकाका लार्भाहरू बिहानको शीतको ओससँगै घाँसको टुप्पोमा आउँछन् र घाम लागेर शीत ओभिएपछि पुनः तल माटोको फेदमा झर्छन्। त्यसैले बाख्रालाई बिहान सबेरै चराउन नलैजानुहोस्। बिहानको १०–११ बजेपछि घामले शीत पूर्ण रूपमा ओभाएपछि मात्र चराउन लैजाने वा घाँस काटने बानी बसाल्नुपर्छ।
सघन चरन फेरबदल (Rotational Grazing): बाख्रालाई एउटै पाखो वा चौरमा लगातार महिनौँसम्म नचराउनुहोस्। चरन क्षेत्रलाई ४-५ वटा खण्ड (Paddocks) मा विभाजन गर्नुहोस्। एउटा खण्डमा २ हप्ता चराएपछि त्यसलाई बन्द गरेर अर्को खण्डमा लैजानुहोस्। पुराना खण्डहरू ३ देखि ४ हप्तासम्म खाली हुँदा घामको ताप र हावाका कारण त्यहाँ भएका लार्भाहरू आफैँ सुकेर मर्छन् र जुकाको चक्र तोडिन्छ।
२) खोरको सरसफाइ र आधुनिक टाट्नोको प्रयोग (Shed Hygiene)
टाट्नो (Feeder) को अनिवार्य प्रयोग: नेपालका परम्परागत खोरहरूमा घाँस भुइँमा सोत्तरमा फालेर दिने चलन छ। भुइँमा खसेको घाँसमा बाख्राको गोबर र दिसा-पिसाब लाग्छ र बाख्राले घाँससँगै जुकाका लाखौँ अण्डाहरू पनि खान्छ। घाँस सधैँ भुइँभन्दा कम्तीमा १-२ फिट माथि बनाइएको काठ वा बाँसको टाट्नोमा मात्र राखेर दिने बानी बसाल्नुपर्छ।
खोर ओबानो राख्ने र चुनाको प्रयोग: यो जुकाको लार्भा ओसिलो र चिसो ठाउँमा मात्र बाँच्न सक्छ। त्यसैले खोरको भुइँ सधैँ सुख्खा, ओबानो र हावा-घाम छिर्ने हुनुपर्छ। हप्तामा एक पटक खोरको भुइँ र सोत्तरमा मरेको चुना (Slaked Lime/Calcium Hydroxide) को धुलो छर्कनाले ओस सोस्छ र जुकाका अण्डाहरू नष्ट हुन्छन्।
३) सुख्खा घाँस (Hay Making) को प्रवर्द्धन
असार र साउनको कडा बर्खाको समयमा, जब चरनमा जुकाको प्रकोप उच्च हुन्छ, बाख्रालाई बाहिर चराउन लैजानु आत्मघाती हुन सक्छ। यो समयमा बाख्रालाई खोरभित्रै थुनेर राख्ने र अघिल्लो हिउँद वा अनुकूल मौसममा काटेर राम्रोसँग घाममा सुकाएर भण्डारण गरिएको सुख्खा घाँस (Hay) वा पराल/ह्याकुला र सफा कुँडो/दाना मात्र दिने हो भने जुका लाग्ने सम्भावना ८० देखि ९० प्रतिशतसम्म कम हुन्छ। घाँसलाई घाममा सुकाउँदा त्यसमा रहेका जुकाका लार्भाहरू पूर्ण रूपमा नष्ट भइसकेका हुन्छन्।
४) गोबरको वैज्ञानिक व्यवस्थापन (Manure Management)
खोरबाट निकालेको आलो गोबरलाई सिधै बाख्रा चराउने पाखो वा घाँसबारीमा फाल्नु हुँदैन। गोबरलाई एउटा सुरक्षित खाल्डोमा सङ्कलन गरी प्लास्टिकले हावा नछिर्ने गरी छोपेर राख्नुपर्छ। गोबर कुहिने क्रममा (Fermentation) भित्र झन्डै ५०°C देखि ६०°C सम्मको उच्च तापक्रम (Heat) सिर्जना हुन्छ, जसले गोबरमा रहेका हिमोन्कस जुकाका सबै अण्डाहरू र लार्भाहरूलाई पूर्ण रूपमा जलाईदिन्छ। यो कुहिएको कम्पोस्ट मल मात्र खेतबारीमा प्रयोग गर्नु सुरक्षित हुन्छ।
५) टार्गेटेड सेलेक्टिभ ट्रिटमेन्ट (TST) र FAMACHA प्रणाली
बथानका सबै बाख्राहरूलाई एकै पटक अन्धाधुन्ध रूपमा कडा रासायनिक औषधि दिइरहनु पर्दैन। यसले औषधिको खर्च बढाउँछ र जुकामा प्रतिरोधात्मक क्षमता पनि छिटो विकास गराउँछ। यसका लागि वैज्ञानिकहरूले FAMACHA (फेमाचा) प्रणाली विकास गरेका छन्।
यो प्रणालीमा बाख्राको आँखाको तल्लो परेलाको भित्री झिल्ली (Mucous membrane) को रङलाई एउटा विशेष रंगीन चार्ट (१ देखि ५ स्कोर भएको) सँग तुलना गरिन्छ:
स्कोर १ र २ (गाढा रातो वा गुलाबी रङ): बाख्राको शरीरमा पर्याप्त रगत छ, यसलाई जुकाको औषधि चाहिँदैन।
स्कोर ३ (फिक्का गुलाबी): यो बोर्डर लाइन हो, यसलाई निगरानीमा राख्नुपर्छ।
स्कोर ४ र ५ (एकदमै फिक्का गुलाबी वा कागज जस्तो सेतो): बाख्रा गम्भीर रूपमा रगतको कमी (हिमोन्कस जुकाको संक्रमण) ले ग्रसित छ। बथानबाट यस्ता ४ र ५ स्कोर भएका २०-३० प्रतिशत बाख्राहरूलाई मात्र छुट्ट्याएर कडा औषधि र आइरन टोनिक दिनुपर्छ।
यसले बथानका बाँकी बाख्रामा औषधिसँग नलडेका ‘प्राकृतिक जुका’ (Refugia) लाई जीवित राख्छ, जसले गर्दा औषधिको प्रभावकारिता धेरै वर्षसम्म कायम रहन्छ।
ध्यान दिनुपर्ने कुरा
हिमोन्कस जुका (बार्बर पोल वोर्म) बाख्रापालन व्यवसायलाई टाट पल्टाउन सक्ने क्षमता राख्ने एउटा अदृश्य र खतरनाक परजीवी हो। नेपालका ग्रामीण क्षेत्रमा पर्याप्त प्राविधिक ज्ञानको अभाव, औषधिको गलत प्रयोग र परम्परागत चराउने शैलीका कारण यसले बर्खायाममा महामारीको रूप लिँदै आएको छ।
तर, आधुनिक पशु चिकित्सा विज्ञान र व्यवस्थापकीय सहजीकरणको उपयोग गर्ने हो भने यसलाई नियन्त्रण गर्नु कुनै कठिन कार्य होइन। परम्परागत चराउने शैलीमा सामान्य परिवर्तन (शीत ओभाएपछि चराउने), उन्नत खोर व्यवस्थापन (टाट्नोको प्रयोग), रणनीतिक रूपमा वर्षमा दुई पटक (बर्खाअघि र पछि) प्रभावकारी औषधिको प्रयोग र औषधिसँगै आइरन टोनिक अनिवार्य खुवाउने गर्ने हो भने बाख्राको अकाल मृत्युलाई शतप्रतिशत रोक्न सकिन्छ।
नेपाली बाख्रापालक कृषकहरूले कम्तीमा वर्षमा दुई पटक आफ्नो फार्मका बाख्राहरूको दिसा परीक्षण गराउने र स्थानीय पशु सेवा शाखा वा पशु चिकित्सकको प्रत्यक्ष प्राविधिक सल्लाहमा मात्र औषधि चलाउने बानी बसाल्नु नै यस ‘साइलेन्ट किलर’ बाट आफ्नो लगानी जोगाउने र व्यावसायिक सफलता हासिल गर्ने एकमात्र अचूक मार्ग हो।









