बासुदेव नाथ
बाँदर अत्यन्त बुद्धिमान र सामाजिक स्तनधारी प्राणी हो। संसारभर बाँदरका करिब २६० प्रजाति रहे पनि नेपालमा चार मुख्य प्रजाति पाइन्छन् । पहरे बाँदर (आसामी), नेपाली लङ्गुर, तराई लङ्गुर र रातो बाँदर। मानिससँग डीएनए र शारीरिक बनोट मिल्दोजुल्दो भएकाले बाँदरलाई मानिसको नजिकको पुर्खा वा प्रजाति मानिन्छ। नेपालमा मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारकमध्ये रातो बाँदर सबैभन्दा बढी देखिएको छ।
व्यवस्थापन र पशुपालनको अवधारणा
व्यवस्थापन भनेको कुनै पनि सङ्गठनको पूर्वनिर्धारित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने साधन स्रोत (मानवीय, भौतिक, आर्थिक) को सङ्कलन गर्ने, तिनीहरूको समन्वय गर्ने र व्यवस्थित तरिकाले परिचालन गर्ने प्रक्रियालाई जनाउँछ।
पशुपालन भनेको व्यावसायिक वा घरायसी प्रयोजनका लागि पशुपन्छी पाल्ने कार्य हो। यसमा दूध, मासु, ऊन वा अण्डा उत्पादन गर्ने र कृषि कार्यमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न जनावरहरूको स्याहार सुसार, प्रजनन र व्यवस्थापन गरिन्छ।
बाँदर मानव द्वन्द्वको समस्या
बढ्दो बाँदर–मानव द्वन्द्वले कृषि बालीमा क्षति पुर्याउँदै किसानको आय, खाद्य सुरक्षा, ग्रामीण विकास र बसाइँसराइमा गम्भीर असर पारेको छ। नेपालका बाँदरहरू मानव बस्ती नजिक बस्ने, समूहमा रहने र उपलब्ध खाद्य स्रोतअनुसार व्यवहार परिवर्तन गर्ने स्वभावका छन्। प्राकृतिक रूपमा वनका फलफूल, पात, बीउ र कन्दमूल उनीहरूको प्रमुख आहार भए पनि मानवद्वारा उत्पादित कृषि बाली तथा सजिलै उपलब्ध खाद्य स्रोतप्रति आकर्षित हुने प्रवृत्तिका कारण पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा दबाब बढ्दै गएको छ।
नेपालको भौगोलिक विविधता र पशुपालनको सम्भावना
नेपालको भौगोलिक हावापानी विविधतायुक्त रहेकोले हिमाली क्षेत्रमा निकै चिसो हावापानी हुने भएकाले याक, चौरी, भेडा, च्याङ्ग्रापालनका साथै जडीबुटी खेतीका लागि उपयुक्त छ भने पहाडी क्षेत्रमा उपोष्ण हावापानी पाइने भएकाले गाईभैँसीपालन गरी दूध उत्पादन र बाख्रापालन गरी मासु उत्पादनका साथै तरकारी तथा फलफूल खेतीका लागि उपयुक्त छ। तराई क्षेत्रमा उष्ण हावापानी पाइने भएकाले त्यहाँको समथर भूभाग अन्न उत्पादनका लागि उपयुक्त रहेको छ।
नेपालको सबैजसो भूगोलमा रातो बाँदर पाइने भए पनि पहाडी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको हुँदा सबैभन्दा बढी बाँदर प्रभावित क्षेत्रको पहिचान गरी वृहत आधुनिक पशुपालन योजना सञ्चालन गर्न आवश्यक छ। पशुपालनका लागि सबैभन्दा बढी खर्च हुने आहारा व्यवस्थापनका लागि मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बाँझो जमिनको सदुपयोग गरी उत्पादन लागत घटाउन सकिन्छ। बाँदरले गाईवस्तुले खाने घाँस तथा डालेघाँसलाई केही हदसम्म क्षति पुर्याउने भए पनि अन्नबालीलाई जसरी नोक्सान पुर्याउँदैन।
पशुपालनबाट आर्थिक लाभ र बाँदर व्यवस्थापन
गाईभैँसीपालनको माध्यमबाट दूध उत्पादन गरी दुग्धजन्य पदार्थ उत्पादन अझ विशेष गरी छुर्पी उत्पादनमा जोड दिनुपर्छ। विदेशमा छुर्पीको अत्यधिक माग रहेकोले विदेशी मुद्रा आर्जनको राम्रो अवसर देखिएको छ। त्यसैगरी गुणस्तरीय मासु उत्पादनका लागि पाडापालन र बाख्रापालन गरी व्यापक रूपमा मासु उत्पादन गरी अर्गानिक मासु बिक्रीबाट समेत विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
पहिले पहिले घना जङ्गल थिए। बाँदर जङ्गलमै रमाउँथे। बाँदरहरू कहिलेकाहीँ खेतवारीमा पसेर हेरालु नभएको मौका छोपेर अन्नबाली नोक्सान गर्ने सामान्य नै थियो। तर अहिले बाँदरले खाइसकेर बचेको अन्नमात्र किसानले फेला पार्छन्। किसानहरू बाँदरबाट अत्यन्त पीडित छन्।
निष्कर्ष
पृथ्वी हामी सम्पूर्ण प्राणीहरूको साझा घर हो। मानव जाति यस सृष्टिका सबैभन्दा विवेकशील प्राणी हुन्। बाँदर पनि यस धर्तीको सृष्टि हुन्। बाँदर र मानिसबीच अन्योन्याश्रित सम्बन्ध कायम राख्दै वैज्ञानिक तथा दिगो रूपमा बाँदर व्यवस्थापन गर्न अल्पकालीन एवं दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ।
बाँदर नियन्त्रणका लागि सारिएका एक दर्जनभन्दा बढी विधिहरूमध्ये उत्तम विकल्पको रूपमा सबैभन्दा दिगो तथा वैज्ञानिक विधि आधुनिक पशुपालन पद्धति नै हो। बाँदर आतङ्कग्रस्त पहाडी क्षेत्रमा वृहत आधुनिक पशुपालन पद्धतिको माध्यमबाट पारिस्थितिक प्रणाली तथा जैविक विविधतालाई अक्षुण्ण राख्दै बाँझो जमिनको सदुपयोग, युवा स्वरोजगार, आय आर्जन वृद्धि, राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा योगदान र समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउन पशुपालनको भूमिका अत्यन्त महत्वपूर्ण छ।
सन्दर्भ सामग्री
गुरुङ् लक्ष्मण (२०८३). बाँदर नियन्त्रण होइन, व्यवस्थापन गरौं !
नाथ, बासुदेव (२०७९). पशु पोषण तथा आहारा व्यवस्थापन, काठमाडौँ: बुद्ध हिल मिडिया प्रालि।
नाथ, बासुदेव (२०७८). आधुनिक पशुपालन प्रविधि सँगालो, काठमाडौँ: पोष्ट नेपाल मिडिया प्रालि।
पौडेल, रामेश्वर (२०७५). व्यवसायिक कुकुरपालन, काठमाडौँ: पाँचपोखरी प्रकाशन गृह।
शाही मनोजकुमार (२०८०). छुर्पीले कोरेको आयात प्रतिस्थापनको गोरेटो।
(लेखक: श्री बासुदेव नाथ, पशु सेवा तालिम केन्द्र, लगनखेल, ललितपुरमा अधिकृत स्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत।)
सम्पर्क: [email protected] / ९८४१७८९८०९









