चर्चित

के छ त वैज्ञानिक मार्गचित्र ?

डा. भव त्रिपाठी
वरिष्ठ कृषि वैज्ञानिक

राइस इज लाइफ अर्थात धान नै जीवन हो

धान एक बाली वा खानपानको माध्यम मात्र होइन, यो नेपालीको जीवन पद्धति, संस्कृति र अर्थतन्त्रको बलियो खम्बा हो । संयुक्त राष्ट्र संघले सन् २००४ लाई ‘विश्व धान वर्ष’ घोषणा गर्दै राइस इज लाइफ अर्थात धान नै जीवन हो को जुन नारा दिएको थियो, त्यसले धानको विश्वव्यापी र विशेष गरी एसियाली महत्त्वलाई दर्शाउँछ । संसारको आधा जनसङ्ख्या र एसियाका ९० प्रतिशतभन्दा बढी मानिसहरूको मुख्य खाद्यान्न बाली धान नै हो । इतिहासलाई पल्टाएर हेर्ने हो भने १० देखि १५ हजार वर्ष पहिले चीनबाट यसको उत्पत्ति भएको मानिन्छ । तथापि, नेपालको रूपन्देही क्षेत्रमा अवस्थित प्राकृतिक तालहरूमा आज पनि जङ्गली धानका प्रजातिहरू प्रशस्तै पाइने हुनाले, धानको उत्पत्तिको एउटा प्रमुख केन्द्र नेपाल पनि हुन सक्छ भन्ने हाम्रो बलियो दाबी र अनुसन्धानहरू रहेका छन् ।

नेपालको वर्तमान परिदृश्यलाई हेर्दा हामी वार्षिक करिब ५७ लाख मेट्रिक टन धान उत्पादन गर्छौं । तर, हाम्रो बढ्दो जनसङ्ख्या र परिवर्तन हुँदो खानपानको शैलीका कारण हामीलाई वार्षिक ८० देखि ९० लाख मेट्रिक टन धानको आवश्यकता पर्दछ । हामी मोटा धानमा ७० प्रतिशत आत्मनिर्भर भए पनि, मध्यम र मसिनो (बासमती) चामलतर्फको बढ्दो आकर्षणले गर्दा वार्षिक ३० प्रतिशतको ठूलो अभाव झेलिरहेका छौं र अर्बौंको चामल आयात गर्न बाध्य छौं । सन् १९८८ (वि.स.२०४५ साल) सम्म नेपालले भारत, मलेसिया र दक्षिण कोरिया जस्ता देशमा धान–चामल निर्यात गथ्र्यो । नेपाल सरकारले आठवटा धान–चामल कम्पनी नै स्थापना गरेर निर्यात प्रवद्र्धन गरेको इतिहास हाम्रासामु ताजा छ । तर, जनसङ्ख्या १.५ प्रतिशतको दरले वृद्धि भइरहँदा धानको उत्पादन त्यो अनुपातमा बढ्न सकेन । आज पहाडका खेतीयोग्य जमिनहरू बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् र त्यही रेमिट्यान्सको पैसाले हामी विदेशी चामल किनेर खाइरहेका छौं । यो दुष्चक्रलाई तोड्न र मुलुकलाई खाद्य सुरक्षामा सबल बनाउन अब भइरहेकै क्षेत्रफलमा धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुको विकल्प छैन ।

उत्पादकत्व वृद्धिका प्राविधिक आधारहरू
अहिले नेपालको औसत धान उत्पादन प्रतिहेक्टर करिब ४ टनको हाराहारीमा छ । तर, वैज्ञानिक अनुसन्धान र स्थलगत सर्वेक्षणहरूले के पुष्टि गरेका छन् भने, यदि किसानहरूले उत्कृष्ट बाली व्यवस्थापन पद्धति अपनाउने हो भने अहिले उपलब्ध भएकै जातहरूबाट साढे ६ टन प्रतिहेक्टरसम्म उत्पादन सजिलै लिन सकिन्छ । उत्पादकत्व बढाउनका लागि मुख्यतया निम्न पाँच प्राविधिक पक्षहरूको तालमेल मिल्नु जरुरी छः

उन्नत र प्रमाणित बीउको छनोट (२५% योगदान)
धानको कुल उत्पादनमा उन्नत जातको बीउले मात्रै २५ प्रतिशत योगदान पु¥याउँछ । किसान दाजुभाइ दिदीबहिनीहरूले जहाँ पायो त्यहीँबाट वा ग्यारेन्टी नभएका दलालहरूबाट बीउ किन्नु हुँदैन । नेपाल सरकारले सिफारिस गरेका र विभिन्न सिड कम्पनी वा सहकारीमार्फत प्रमाणीकरण गरिएका बीउ मात्र प्रयोग गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा, आफ्नो क्षेत्रको हावापानी सुहाउँदो जात रोज्नुपर्छ । हाम्रा रैथाने जातहरू जस्तै बुद्धकालीन ‘काला नमक’ जस्ता धानलाई पनि हामीले संरक्षण र विस्तार गर्नुपर्छ, जसलाई अन्तर्राष्ट्रिय बजारमा बुद्धको प्रसादका रूपमा ब्रान्डिङ गरेर मुलुकको आयआर्जन बढाउन सकिन्छ ।

सन्तुलित मलखादको प्रयोग (२५% योगदान)
हाम्रोमा मल पाइयो भन्दैमा युरिया मात्रै ओसार्ने र हाल्ने चलन छ, जुन माटो र बाली दुवैका लागि हानिकारक छ । बिरुवालाई मुख्यतया नाइट्रोजन, फस्फोरस र पोटासियम गरी तीनवटा तत्वको बढी आवश्यकता पर्दछ । त्यसैले युरियाको साथमा डीएपी र पोटास मलको सन्तुलित मात्रा (ब्यालेन्स डोज) माटोको स्वास्थ्य हेरेर सही समयमा दिन सके मात्र उत्पादन २५ प्रतिशतले वृद्धि हुन्छ ।

समयमै सिँचाइ व्यवस्थापन (२०% योगदान)
आकासे पानीको भरमा मात्र बसेर व्यावसायिक खेती सम्भव छैन । धान बालीको जीवनचक्रका चार–पाँचवटा संवेदनशील अवस्थाहरू हुन्छन् । जस्तै गाँज हाल्ने, फूल खेल्ने, दाना लाग्ने र दाना पोटाउने समय । यी विशिष्ट अवस्थाहरूमा धान खेतमा पानीको उचित उपलब्धता हुनैपर्छ, अन्यथा उत्पादनमा भारी ह्रास आउँछ । नेपाल सरकारले साना आयोजनासँगै राष्ट्रिय गौरवका आयोजनाहरू जस्तै भेरी बबई डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनलाई दुई–तीन वर्षभित्रै पूर्ण रूपमा सफल बनाएर बाह्रै महिना सिँचाइ सुविधा पु¥याउनुपर्छ ।

झारपात नियन्त्रण र गोडमेल (१५% योगदान)
खेतमा मल र पानी हालेर मात्र पुग्दैन, समयमा गोडमेल गरिएन भने हामीले हालेको सम्पूर्ण पोषण झारपातले खाइदिन्छन् । धान रोपेको २१ दिन र ४२ दिनमा अनिवार्य रूपमा दुई पटक गोडमेल गर्नाले मात्रै पनि १५ प्रतिशतसम्म उत्पादन जोगिन्छ ।

उपयुक्त नर्सरी र रोपाइँको दूरी (७–८% योगदान)
धेरै बुढो भइसकेको बेर्ना रोप्दा गाँजा धेरै लाग्दैन । त्यसैले तीन देखि चार हप्ता (अधिकतम एक महिना) भित्रको कलिलो र गुणस्तरीय बेर्ना रोप्नुपर्छ । रोपाइँ गर्दा निश्चित दूरी कायम गर्नुपर्छ । साधारणतया एउटा गाँजादेखि अर्को गाँजाको दूरी १५ देखि २० सेन्टिमिटर हुनुपर्छ ।

बजार व्यवस्थापन र राज्यको भूमिका
प्राविधिक रूपमा किसान सबल बन्दै गर्दा पनि नेपालमा कृषि कर्म दिगो हुन नसक्नुको मुख्य कारण बजार र मूल्यको सुनिश्चितता नहुनु हो । अचेल गाउँघरमा श्रमशक्तिको अभावका कारण किसानहरूले उत्पादन गरेको धान घरमा ल्याएर भकारी वा गोदाममा थन्क्याउने फुर्सद र सामथ्र्य राख्दैनन् । यही बाध्यताको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रका बिचौलिया र दलालहरूले किसानको खलामै पुगेर प्रतिकिलो २२–२५ रुपैयाँ जस्तो न्यून मूल्यमा धान उठाइरहेका छन् । सरकारले किसानको धान व्यापारीको गोदामबाट होइन, सिधै खलाबाटै खरिद गर्ने नीतिगत र व्यावहारिक व्यवस्था मिलाउनुपर्छ । चैते धानका लागि सरकारले नै ठूला–ठूला आधुनिक ड्रायर र गोदामहरूको निर्माण गरिदिनुपर्छ ।

किसान र सरकारलाई विशेष सन्देश
अन्तमा, असारे मासको यो व्यस्त समयमा सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आग्रह छ कि हुनेसम्म असार महिनाभित्रै रोपाइँ सक्नुहोस् । कलिलो र स्वस्थ बेर्नाको प्रयोग गर्दै माथि उल्लेखित प्राविधिक सल्लाहहरूलाई आफ्नो खेतमा लागु गर्नुहोस् । आफ्नो उत्पादन हतारमा बिचौलियालाई सस्तोमा सुम्पिने गल्ती नगर्नुहोस् । आफ्ना बजार र मल–बीउका समस्याहरू समाधानका लागि समूह वा सहकारीमार्फत सङ्गठित भएर सरकारलाई गुहार्नुहोस् ।
राज्यले पनि केवल असार १५ मा हिलो छ्यापेर वा तडकभडक गरेर मात्र बस्नु हुँदैन । वास्तविक किसानका लागि समयमै रासायनिक मलको उपलब्धता, गुणस्तरीय बीउको सुनिश्चितता, बाह्रै महिना सिँचाइ र उत्पादन उप्रान्तको बजार व्यवस्थापनमा ठोस कार्यक्रम ल्याउनुपर्छ । ००००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय