चर्चित

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण सबै व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव परिरहेको छ । निषेधाज्ञाका कारण ठूलो क्षति व्यहोर्नु परेको क्षेत्र धेरै छन्  । त्यस मध्यको एक हो, पोल्ट्री व्यवसाय ।

अघिल्लो वर्षको लकडाउनका कारण धरासयी बनेको व्यवसाय भर्खर बामे सर्दै थियो । तर दोस्रो लहरसँगैको निषेधाज्ञाका कारण व्यवसाय नै धरापमा पर्ने हो कि भन्ने चिन्ताले फेरि सताउन थालेको छ । अघिल्लो वर्षको लकडाउनका कारण पोल्ट्री क्षेत्रले सबैभन्दा बढी क्षति बेहोर्नु परेको थियो । यस वर्ष पनि त्यो अवस्था नहोला भन्न नसकिने पोल्ट्री व्यवसायीहरू बताउँछन् ।

अन्डा, चल्ला, मासु र दाना क्षेत्रमा दैनिक धेरै नोक्सानी भइरहेको पोल्ट्री व्यवसायीहरूले बताएका छन् । सरकारले अत्यावश्यक वस्तुको ढुवानी र बिक्री वितरणमा अवरोध नगरे पनि खपतमा कमी आएको उनीहरूको भनाइ छ । यता किसानहरू पनि त्यतिकै मात्रामा चिन्तित छन् ।

लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा किसानलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ । “कम्तीमा एक महिनादेखि तीन महिनासम्मका सात सय कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महिनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठुलो खर्च आउँछ, समस्या आइलाग्यो”, फुङलिङ नगरपालिका–१ का कुखुरा व्यवसायी लक्ष्मी मादेनले भने । उनका अनुसार अहिले कुखुरालाई खुवाउने दानासमेत महँगो भएको छ ।

लामो समयसम्म कुखुरा बिक्री नहुँदा उनलाई मात्रै नभई देशैभरका किसान तथा व्यवसायी मर्कामा परेका छन् । कुखुरा हुर्किने समय कटेपछि दानापानीमा धेरै खर्च हुने र कतिपय मर्ने भएकाले समेत ठुलो घाटा हुने गरेको व्यवसायी बताउँछन् । तीन महिना पुगेपछि तौल नबढ्ने तर दानापानीमा चाहिँ ठुलो खर्च आइरहने हुँदा मारमा परेको व्यवसायीको भनाइ छ ।

अहिलेको अवस्थामा सबैभन्दा बढी ब्रोइलर कुखुरामा र चल्लामा बढी नोक्सानी छ । त्यसपछि दाना लगायतका अन्य उत्पादनमा दैनिक नोक्सानी भएको छ ।

कुन क्षेत्र कस्तो अवस्थामा छ त ?

अहिले ३०/४० प्रतिशत मात्र मासु खपत : राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ

कोरोनाका कारण निषेधाज्ञा जारी भएसँगै ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ । जसले गर्दा कुखुरा पालक किसान मर्कामा परिरहेका छन् । निषेधाज्ञाका कारण नै बोइलर कुखुराको मासुको मूल्य निरन्तर घटिरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

निषेधाज्ञा अधि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बोइलर कुखुराको मासुको मूल्य अहिले निरन्तर ओरालो लागिपरेको छ । ‘कोरोनाकै कारण मासुको मूल्यमा गिरावट आएको हो’ उनले भने,  ‘मासु खपत हुने ठाउँ सबै बन्द छ । खपत एकदम कम छ ।’ उनले भने ।

उनका अनुसार दैनिक उपत्यकामा अहिले ३०/४० प्रतिशत मात्र काठमाडौँ उपत्यकामा मासु खपत भइरहेको छ । ‘कोरोनाका कारण उपत्यकामा निषेधाज्ञा छ । होटेलहरू पनि सब बन्द छ । उपभोक्ताहरू पनि उपत्यका छोडेर गइसकेका छन् । त्यसैले मूल्य घटेको हो । अरू केही कारणले होइन ।’ उनले भने ।

निषेधाज्ञाको समयमा कुखुरा ढुवानीमा भने कुनै समस्या नभएको उनले बताए । निषेधाज्ञा लागु भएसँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको संघले जनाएको छ । यस्तै जिउँदो बोइलर कुखुराको मूल्य १० रुपैयाँले घटेर २ सय ३० रुपैयाँ पुगेको छ ।

कुखुरा बिक्री वितरण सहज तरिकाले भइरहे पनि बजार नखुलेका कारण किसान मर्कामा परेको नेपाल कुखुरा पालक  किसान संघका अध्यक्ष झनक प्रसाद पौडेलले बताए । बजार बिहान दुई घण्टा बुलुका दुई घण्टा खुल्दा भिडभाड बढ्ने र कोरोनाको त्रास अझ बढ्ने भएका कारण बरु मासु नै नखाने भन्ने उपभोक्ताले सोच्ने गरेका कारण पनि मासु खपत नभएको उनले बताए ।

‘मासु पसल नै नखुलेका कारण ५० प्रतिशत खपत कम भइरहेको छ । खपत हुने ठाउँ नै बन्द भएपछि बिक्री हुने कुरै छैन’ उनले भने,‘जसले गर्दा किसान मर्कामा परिरहेका छन् ।’ कुखुराको मूल्य घटे पनि दानको मूल्य नघट्दा अझ बढी किसान मारमा परेको उनी बताउँछन् । ‘कुखुराको मूल्य घटेपछि किसानले दानाको त्यही मूल्यमा खरिद गर्न सक्दैनन् । यो कुरा कसैले बुझ्ने ?’ उनले भने ।

हप्तामा १० लाख चल्ला नष्ट : नेपाल ह्याचरी उद्योग संघ 

निषेधाज्ञाका कारण कुखुरामा जस्तै चल्ला खपतमा पनि समस्या भएको छ । अहिले प्रति हप्ता १० लाख कुखुरा डिस्पोज भइरहेको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ । प्रति हप्ता नेपालमा २५ लाख चल्ला उत्पादन हुन्छ । अहिले १५ लाख चल्ला मात्र बिक्री भइरहेको नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानु बहादुर बिसुरालले बताए ।

‘बिक्री वितरणमा खासै समस्या छैन । प्राय पोल्ट्री क्षेत्रको ओसारपसार बेलुकाको समयमा हुन्छ’ उनले भने,‘कोरोनाका कारण सब किसान आतंकित छन् । कुखुरा चल्ला पाल्न मान्दैनन् । आधा चल्लाहरू डिस्पोज गर्ने, खाल्टामा हाल्ने गरिरहेका छौँ ।’

अहिलेको अवस्थामा मानिसहरूलाई सबैभन्दा पहिले आफू बाच्नु पर्छ भन्ने मतस्थितमा रहेको उनले बताए । उनका अनुसार कुखुरा, अण्डा, माछा मासु खानाले रोगसँग लड्ने क्षमता  बढाउने मानिसहरू प्रशस्त छन् । तर पसल खुल्न पाइरहेको छैन । यसले गर्दा खपत कम भइरहेको छ । ‘उपभोत्ताहरुमा माछा मासु खाने इच्छा हुँदाहुँदै पनि खान पाउने अवस्था बनेको छैन ।’ उनले भने,‘किसानहरूले पालेका कुखुरा बिक्री गर्ने समय भइसेको छ । तर किसानले पालेका कुखुरा बिक्री भएको छैन । त्यस कारण पनि किसान चल्ला राख्दैनन् ।’

अहिले १० रुपैयाँ देखि ३० रुपैयाँ गोटा बोइलरको चल्ला बिक्री भइरहेको छ ।  ‘अहिले चल्लाको मूल्य नै छैन, एकदम न्यून रहेको छ’ उनले भने,‘डिस्पोज गर्न हुँदैन र सबै डिस्पोज गर्ने ठाउँ पनि नभएका कारण कम मूल्यमा नै बेच्न बाध्य छौँ ।’

अर्को कुरा भनेको सबै डिस्पोज गर्न थाल्यौ भने ४५ दिन पछि उत्पादन नभएर मूल्य मह्ंगो हुन जान्छ । त्यस्तो स्थिति बनाउन पनि भएको छैन । त्यस कारण एकदम न्यून मूल्यमा चल्ला बिक्री गरिरहेको उनले बताए । अहिले ६० प्रतिशत चल्लाहरू मात्र बिक्री भइरहेको छ ।

‘यो पेसामा सामान्य भन्दा सामान्य  मानिसहरू पनि आवद्ध छन् । २ सय देखि ५ सय कुखुरा पाल्ने किसानहरू पनि छन्’ उनले भने, ‘हिमाल, पहाड, तराईका मानिसलाई रोजगार प्रदान गरेको पेसा पनि हो तर यो पेसा धरामयी भयो ।’  यो पेसा धराशायी भएसँगै भोलिका दिनमा मासु विदेशबाट आयात गर्नु पर्ने स्थिति आउने उनले बताए ।

विदेशबाट कुखुरा चल्ला आयात गर्नु पर्‍यो भने राज्यको पैसा बाहिर जाने, बाहिरबाट आयात गर्नु परेसँगै मूल्यमा वृद्धि हुने, रोजगारी गुम्ने उनले बताए । त्यस कारण यो पेसालाई बचाई राख्न सरकारले विशेष पहल गर्नु पर्ने माग पनि राखे । उनले हरेक किसानहरूले लिएको लोनमा सहज गरिदिनु पर्‍यो । प्रोत्साहन स्वरूप व्याजमा छुट दिने, किस्ताहरू छ भने ६ महिना वर्ष दिन पछि सार्दिनु पर्ने उनले माग गरे ।

अहिलेको परिस्थिति मानव स्वतथ्यसँग जोडिएका कारण अहिले नै गर भन्ने होइन । भएको नोक्सानीको लेखा जोखा गरेर स्थानीय प्रदेश सङ्घीय सरकारले  यो पेसालाई कोप्ल्या हुन नदिई भोलि पनि यो पेसालाई निरन्तरता दिने हिसाबले सबै सरोकारवाला निकाय लाग्नु पर्ने उनले बताए । व्यवसायी संघले पनि व्यवसाय अघि बढाउन सहयोग गर्ने उनले बताए ।

दानालाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा समस्या : नेपाल दान उद्योग संघ

निषेधाज्ञाका कारण दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा समस्या भएको नेपाल दान उद्योग संघले जनाएको छ । दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ बैगलादेशबाट आयात गरिन्छ । बंगलादेशबाट आउने सामान उता सीमा खुल्ला भए पनि पश्चिम बङ्गालमा लकडाउन हुँदा कच्चा पदार्थ आयात हुन नसकेको नेपाल दान उद्योग संघका अध्यक्ष बालचन्द्र खनालले बताए ।

‘बंगलादेशबाट सामान यता आउन पाएको छैन । १५/२० दिन देखि त्यो सामान आउन पाएको छैन । जसले गर्दा दाना उत्पादन गर्न समस्या भइरहेको छ ।’ उनले भने । साथै उनले सरकारले भनेजस्तो सहज तरिकाले पोल्ट्री व्यवसाय ढुवानीमा सहजता नभएको उनले बताए । ‘निषेधाज्ञामा समग्र कुखुरा व्यवसाय ओसारपसारमा सरकारले भने जस्तो अवरोध नहुने कुरा त छैन’ उनले भने,‘कहिलेकाहीँ डयुटिमा बस्ने प्रहरी प्रशासनले वानर लगाएर हिँड्दा पनि रोक्ने अवस्था छ ।’

कुखुरा, चल्ला बोकेका गाडीहरूलाई साइडमा लगेर ५ मिनेटमा रोकिदियो भने गर्मीको समयमा सबै कुखुरा चल्ला मर्ने उनले बताए । उनी भन्छन्,‘यो कति संवेदनशील हो भनेर उनीहरू बुझ्दैनन् । सहज तरिकाले ओसार पोसार गर्न पाउनु पर्ने, अवरोध नहुनु पर्ने तर सरकारको भनाइ अनुरूप कार्यान्वयन भएको छैन ।’

साथै मासु पल बिहान बेलुका २/२ घण्टा मात्र खोल्न दिँदा समस्या भएको उनले बताए । आम किसानहरू त्रसित भएका कारण चल्ला राखेर, दाना मगाएर कुखुरा पालन गर्ने मनस्थितिमा नरहेको उनी बताउँछन् । भोलिका दिनमा लकडाउनका कारण कुखुरा नै बिक्री हुँदैन कि भन्ने चिन्ताले किसानहरूलाई सताएको उनले बताए ।

‘भोलिका दिनमा कुखुरा बिक्री भएन भने किसान घाटामा जान्छ । त्यस कारण किसानले चल्ला राख्न मानिरहेका छैनन्’ उनले भने,‘तर चल्ला उत्पादन भने रोकिएको छैन । पहिला जति उत्पादन हुन्थ्यो त्यति नै उत्पादन भइरहेको छ ।’ निषेधाज्ञाका कारण किसानहरूमा चल्ला राखेर व्यवसाय गर्न उत्सुक छैनन् । पछिल्लो समय चल्लाको रेट १० रुपैयाँदेखि ३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

एउटा चल्ला उत्पादन गर्न ५० रुपैयाँ लाग्छ । ‘अहिले यति कममा चल्ला बिक्री हुँदा ह्याचरीको अवस्था कस्तो होला ?’ उनी प्रश्न गर्छन् । निषेधाज्ञाकै कारण दानाको खपत घटेको छ । अहिले करिब ३० प्रतिशत दानाको खपत घटेको उनले बताए । दैनिक २५ सयदेखि २७ सय दाना अहिले उत्पादन भइरहेको छ ।

अण्डाको खपत बढ्यो : नेपाल अण्डा उत्पादक संघ

निषेधाज्ञाको समय भए पनि पछिल्लो समय अण्डाको खपत बढेको छ । अण्डाको लागि केही समस्या छैन । निषेधाज्ञाको समयमा अण्डाको खपत बढिरहेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । फार्मबाट पछिल्लो समय क्रेटको तीन सय ७० रुपैयाँले बिक्री भइरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । साथै अण्डाको क्षत्रमा ओसारपसारमा पनि समस्या नभएको उनले बताए ।

अण्डा भिटामिन डि र प्रोटिनको मूल श्रोत भएका कारण डक्टरहरूले नै इम्युनिटी बढाउने हुनाले बिरामीलाई खानको लागि आग्रह गरिरहेका हुन्छन् ।  उनका अनुसार पहिला भन्दा खपत एकदमै राम्रो छ ।  ‘पहिला पहिला किसानको खोरमा हप्ता दिन भन्दा धेरै समयसम्म रहिरहेको हुन्थ्यो तर अहिले एब दिन नबिराई सप्लाई भइरहेको छ’ उनले भने ।

किराना पसलहरूमा जताततै पाइने हुनाले पनि बिक्री बढेको उनले बताए । ‘एकै पटक धेरै पनि किनेर लैजान सक्ने र पछिसम्म राखेर खान सक्ने हुनाले पनि खपत राम्रो भइरहेको छ ।’ यसका साथै फलफूलभन्दा पनि अण्डा सस्तो पनि हुने भएका कारण पनि खपत बढेको हुन सक्ने उनको बुझाई छ ।  पहिलो वर्ष सप्लाइमा समस्या भए पनि यो वर्ष त्यो समस्या नभएको उनले बताए ।

यो विषमपरिस्थितीमा धैर्यधारण गर्नु बाहेक अरू उपाय छैन : कृषि तथा पशुपक्षी विकास मन्त्रालय

निषेधाज्ञाका कारण पोल्ट्री क्षेत्रमा ठुलो नोक्सानी पुर्‍याएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा व्यवसाय धरासयि भयो भन्ने गुनासोहरू आइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्रीराम खनालले बताए । ‘हरेक व्यवसायीको चाहना हुन्छ, पहिला जसरी व्यवसाय चलिरहेको थियो त्यस्तै होस् भन्ने तर त्यस्तो अवस्था हुँदैन’ उनले भने ।

अत्यावश्यक कृषि वस्तुहरू ढुवानीमा सहजता दिने काम भने मन्त्रालयले गरेको उनले बताए । ‘यो पटक कृषिजन्य अत्यावश्यक  वस्तु ढुवानीमा समस्या छैन । तर कहीँ कतै पुलिसले रोक्ने गरेका केही गुनासोहरू आउँछ’ उनले भने,‘ सामान ढुवानी गर्नेहरूले तरकारीका साथसाथै अरू सामान बोक्ने गरेका छन् । त्यो कारणले मात्र रोकिएको छ । नभए ढुवानीमा खासै समस्या छैन ।’

अहिलेको अवस्थामा मन्त्रालयले खासै केही गर्न नसक्ने उनले बताए । ‘केवल मन्त्रालयले गर्ने भनेको नीति सहजीकरण गर्ने हो’, उनले भने, ‘विजनेस व्यापारहरूमा न त सरकारले हस्तक्षेप गर्न सक्छ । न त्यसको सम्पूर्ण जिम्मा सरकारले लिएर किन्न सक्छ । यो दुई वटै कुरा न त अरू देशले नै पनि गर्न सक्दैन । नेपाल सानो देशले गर्न सक्ने त कुरै भएन ।’

अहिलेको अवस्था धैर्य धारण गर्नु बाहेक अरू उपाय नभएको उनी बताउँछन् ।  ‘पहिला जसरी २४ घण्टा बिक्री वितरण भएको छैन । यसै नोक्सानी हुने नै भयो’प्रवक्ता खनाल भन्छन्,‘ कुखुरालाई लकडाउन छ आज अण्डा नपार भोलि पार भनेर हुँदैन । यो राष्ट्रिय विपत्तिमा किसानहरू एडजस्ट गर्नुपर्ने हुन्छ ।’

यो असहज परिस्थिति सहेर सरकारलाई सहयोग गर्न आग्रह पनि उनले गरे । तर  यस्तो असहज परिस्थितिमा कृषि तथा पशुपक्षी मन्त्रालयले गर्ने सक्ने पहल कदममा भने पछि नहट्ने प्रतिवद्धता उनले जनाए । ‘पोल्ट्री क्षेत्र हाम्रो दायित्व, चासो र चिन्ताको विषय पनि हो । हामीले गर्न सक्ने काम हामी गछौं’, उनले भने,‘ तर यो विषम परिस्थितिमा सम्पूर्ण कुराको राहत, दुखेसोको कुराभन्दा पनि सबैले धर्यधारण गर्नु पर्ने हुन्छ ।’

हलोखबर डट कम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय