चर्चित

काठमाडौँ : युरोपियन युनियन (ईयु)मा बासमती धानको जिआई (जिओग्राफिक इण्डिकेशन्स) दर्ताको विषयलाई लिएर भारत र नेपाल लगायतका देशहरूबिचको विवादले उग्र रूप लिने सङ्केत देखिएको छ । भारतीय दबाबमा ईयुले नेपाल र पाकिस्तानलाई आपत्तिजनक किसिमले पत्र पठाएपछि यो विवाद थप चर्किने देखिएको हो ।

ईयुले केही दिनको फरकमा नेपाल र पाकिस्तानलाई त्यो विवाद बारे पत्र पठाएको थियो । भारतले गत अगष्टमा ईयुमा बासमती धान आफ्नो मौलिक उत्पादन भएको दाबी गर्दै जिआई दर्ताको लागि आवेदन दिएपछि नेपाल र पाकिस्तानले त्यसप्रति कडा आपत्ति जनाएका थिए । यी दुवै देशले बासमती धान आफ्नो मौलिक उत्पादन भएको दाबी गर्दै भारतीय षडयन्त्रमा नपर्न आग्रह गदै ईयुलाई पत्र पठाएका थिए । त्यसैको जवाफमा ईयुले गत साता नेपाल र पाकिस्तानलाई होच्याउने किसिमले पत्र पठाएको छ । पाकिस्तानलाई पठाएको पत्रमा के छ भन्ने थाहा नभए पनि नेपाललाई पठाएको पत्रमा ईयुले ४ वटा बुँदा समावेश गरेको छ । ती चार वटै बुँदा आपत्तिजनक खालको रहेको सरोकारवालाहरूले जानकारी दिएका छन् ।

स्रोतका अनुसार ईयुले पहिलो बुँदामै बासमती धानको बारेमा नेपालले दाबी गर्नु नै गलत भएको उल्लेख गरेको छ भने दोस्रो बुँदामा नेपालमा बासमती चामलको भात खाने चलन नै नरहेकोले बासमती धान नेपालको हुन नसक्ने उल्लेख गरिएको छ । त्यस्तै अर्को बुँदामा नेपालमा बासमती धानको खेती नहुने दाबी गरिएको भने अन्तिम बुँदामा नेपालमा अहिलेसम्म पनि बासमती धान सम्वन्धि कुनै कानुनी मापदण्ड समेत नरहेकोले नेपालले त्यसमा दाबी गन नसक्ने उल्लेख छ ।

ईयुको त्यो जवाफप्रति नेपालका सरोकारवालाहरूले आपत्ति जनाएका छन् । र, त्यसको जवाफ आउँदो शुक्रवार भित्र पठाउने तयारी भइरहेको जानकारी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का धान विज्ञ डा. बालकृष्ण जोशीले दिनुभयो । ‘ईयुले पठाएको पत्रको बारेमा सबै कुरा म भन्न सक्दिन । तर त्यो अत्यन्तै आपत्ति जनक छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार नेपाल सरकारको तर्फबाट नार्कले ईयुलाई कुरा बुझाउने प्रयास गरिरहे पनि त्यो मात्रै पर्याप्त नहुने अवस्था छ । ‘यसमा प्रधानमन्त्री वा मन्त्रिपरिषद् स्तर बाटै पहल गरिनु जरुरी छ । अन्यथा भारतको लविङको अगाडि हामी कमजोर पर्न सक्छौँ । त्यसैले बेलैमा गम्भिर हुनु जरुरी छ’ जोशीको भनाई छ ।

भारतलाई पाठ सिकाइदिने पाकिस्तानको चेतावनी

उता नेपालले जस्तै बासमती धानको पेटेण्ट राइटमा दाबी गरिरहेको पाकिस्तानले भने भारत र ईयुलाई कडा जवाफ दिएको छ । बासमती धानमा भारतको कुनै हक नभएको भन्दै ५ मार्च २०२१ मा ईयुमा एक निवेदन दर्ता गराएको थियो । त्यो निवेदन दर्ता हुनासाथ ईयुले भारत र पाकिस्तान दुवै देशलाई एकै ब्यहोराको पत्र लेख्दै मे ६ तारिखसम्म त्यो विवादलाई आपसमै सल्टाउन अनुरोध गरेको थियो । तर, भारत र पाकिस्तान दुवै देशले बासमती धानमाथिको पेटेण्ट अधिकार दाबी गर्दै एक अर्काप्रति आरोप लगाएपछि विवाद समाधान हुनुको साटो झन् चर्किएको छ ।

राइस एक्सपोटर्स एसोसिएसन अफ पाकिस्तान (रिईप) अधिकारीहरू अहिले यो घटनालाई पाकिस्तान सरकारले नै गम्भिर रूपमा लिइरहेकोले छिटै समस्या समस्या समाधान हुने अपेक्षा गरिएको बत्ताउँछन् । ‘तर, भारतले आफ्नो झुटो दाबी छोडेन र बासमती धान माथिको एकाधिकार कायम गर्न खोज्यो भने कहिल्यै नबिर्सने गरी उसलाई पाठ सिकाइदिनेछौँ । पाकिस्तान सरकार त्यसको तयारी गरिरहेको छ’ रिईपका पदाधिकारीहरूको भनाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय