
स्याङजा जिल्लाको गल्याङ नगरपालिकाको नवौँ नगर सभाले किसान सूचीकरण कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सेतो सहर समृद्ध गल्याङ हाम्रो रहर भन्ने नारा सहित सुरु गरिएको नवौँ नगर सभाले पशुपालन तर्फ विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
नगर सभाले आर्थिक वर्ष ०७७/७८ को बाख्रा पकेट कार्यक्रमलाई निरन्तरता दिनका लागि ७ लाख विनियोजन गरेको छ । यस्तै बाख्रा विकास कार्यक्रमका लागि ५० लाख, अन्डामा आत्मनिर्भर बन्ने कार्यक्रमको लागि ४२ लाख, आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमका लागि ४२ लाख,पशु आहारा मिसन कार्यक्रमका लागि ४ लाख विनियोजन गरेको छ । यसैबिच कृत्रिम गर्भाधान मिसन कार्यक्रमका लागि ४ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाई पकेट स्थापनाका लागि २५ लाख, वडा नं ८ मा कालिज पालन प्रवर्धनका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
यस्तै दूध उत्पादनमा प्रति लिटर रु १५ अनुदान कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । साथै पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत सुरक्षण शुल्कमा २५ प्रतिशत अनुदान कार्यक्रमको निरन्तरता र पशुपालनका लागि लिइएको ऋणको ब्याजमा मा ४ प्रतिशत अनुदान कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।