अशिम सापकोटा
जैविक, भौगोलिक र जलवायूको विविधताको धनी देश नेपालमा उष्ण, उपोष्ण, समशितोष्ण र शितोष्ण गरी सबै किसिमका फलफूलहरु खेती गर्न सम्भव छ । त्यसैले फलफूल खेतिको दृष्टिकोणले नेपाल विश्वमै प्रचुर सम्भावना बोकेको देश हो । औद्योगिकीरणका लागि कच्चा पदार्थका साथै निकासी हुने अधिकांश वागवानीजन्य बालीवस्तुहरु विशेषत फलफूल प्रकृतिका हुने गरेकाले फलफूल खेती अनि व्यवसाय खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात, व्यापार र विदेशी मुद्रा आर्जनका हिसावले पनि नेपालको अर्थतन्त्रको आधारशिला हुन सक्छ । नेपालमा परम्परागत फलफूल खेतीको लामो इतिहास पाइन्छ । परापूर्वकालदेखि नेपालका विभिन्न रैथाने, मौलिक फलहरू चाडपर्वमा देवी देवतालाई चढाइँदै आएको पाइन्छ भने केरा, मेवा, नरिवल, सुन्तला, आदिको प्रसाद बनाएर सबै भक्तजनहरुलाई बाढ्ने प्रचलन पनि रही आएको पाइन्छ । हामीले यतिबेला गल्याङ नगरपालिका ७ सिरौँसा स्याङजा आसपासका ठाँउमा सुन्तलाको लटरम्म बगैँचा र त्यहाबाट आश्रित किसानहरुको सुन्तलासँग जोडिएको जिवन र सुन्तलाखेतीले जोड्न सफल भएको रोजगारको चर्चा गर्दैछौ ।
स्याङजाको गल्याङ बजारदेखि आँधिखोला पुल पास भएर उकालो लाग्दै करीब ७ किलोमिटर सडकको यात्रा गरेपछि सिरौँसा भन्ज्याङमा पुगिन्छ, जहाँ सुन्तला वारीले घर गाँउ नै ढाकिएको जस्तो देखिन्छ, जुन भन्ज्याङबाट अझै करीब १.५ किलोमिटरको यात्रामा उकालो चढ्दै जाँदा गाँउ नै सुन्तलामय भएको दृश्य कम लोभलाग्दो अवश्य छैन्, जहाँका सबैजसो घरमा सुन्तलाका लटरम्म फलिरहेका सुन्तलाका बगैँचा सजिएका छन्, यहाँका सबैजसो घरधुरीको मुख्य आम्दानीको श्रोत नै सुन्तला र कागती बनिरहेको छ, सो ठाँउमा करीब २०३० सालतिर तत्कालिन समयमा टिकाराम भण्डारीले पहिलोपक ३०० बोट सुन्तलाका बिरुवा लगाएर सुन्तलाखेती गरीएको इतिहाँस छ, पछि विस्तारै अरुले पनि सुन्तलाका विरुवा लगाएर सुन्तलाको विस्तार गरीएको हो, हिमालतर्फ फर्किएको पाखो, बिहान उठ्ने बित्तिकै हिमालको मनोरम दृश्य देखिने सिरौँसा यतिबेला पहेँलपुर लटरम्म सुन्तलाले झनै सजिएको छ, त्यहि ३० को दशकताका त्यहाँका अन्य ५० घरधुरीले समेत सुन्तलाका बिरुवा लगाएर सुन्तलाको विस्तार गरेका जानकारी गराँउदै हुनुहुन्छ, गल्याङ नगरपालिका ७, सिरौँसाका राम प्रसाद भण्डारी ।

नेपालमा हावापानी र भूगोलको अनुकूलताले फलफूल निर्यातको सम्भावना भएको विज्ञहरुले औंल्याइरहँदा तथ्यांकले भने आयात बढिरहेको देखाएको छ । नयाँ खेतीमा चासो नहुनु र भएको खेती पनि व्यवस्थित गर्न नसक्नुले यस्तो अवस्था आएको हो, तर गल्याङ नगरपालिका ७ सिरौँसा, स्याङजामा भने पछिल्लो समयमा झनै युवाहरुको समेत सुन्तलाखेतीमा आकर्षण बढेको देखिएको छ, सुन्तलाले खुशी मात्र दिएको छैन्, यसले स्वरोजगार समेत प्रदान गरेको छ यहाँनेर, पछिल्लो समयमा स्याङजाको सुन्तलामा पनि औँसा किराको समस्या देखिएको छ, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले स्याङजाका विभिन्न ठाँउहरुमा सुन्तलाजोन लागु गरेपछि सुन्तलाको क्षेत्रविस्तार अझै बढेको पाइन्छ, परियोजनाले कृषि ज्ञान केन्द्र, स्थानिय पालिका र कृषक समुहहरुसँग समेत समन्वय गरेर औँसा किराको व्यवस्थापनको लागि कार्यक्रम अगाडि बढाएको छ, जुन कार्यक्रम यहाँका किसानहरुको लागि समेत संवाहक बनिरहेको कुरा साट्दै हुनुहुन्छ भुपराज भण्डारी,चारैतिर हिमाल देख्न सकिने मनमोहक यो ठाँउलाई कृषि पर्यटन जोडेर लान आँफु आतुर रहेको समेत सुनाउदै हुनुहुन्छ भुपराज भण्डारी ।
सुन्तलामा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइने हुनाले यो बढी तौल भएका व्यक्तिका लागि पनि निकै फाइदाजनक छ । त्यस्तै दिनहँ सुन्तलाको सेवनले विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी, दम, ब्रोनकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ, नेपाली उपभोक्ताले नेपाली नै सुन्तला खोज्ने हुनाले पनि सुन्तलाको बजार वृहत्तर बन्दैछ, हरेक घर परिवारले परिश्रम गरेर सुन्तला बगैँचा विस्तार गर्दै सुन्तलाको आम्दानीबाटै घरयासी खर्च र जिविकोपार्जन चलिरहेको छ, पहिला पहिला यहाँका सुन्तला आफन्त इष्टमित्रहरुलाई कोशेलीको रुपमा बाँडेर खाइन्थ्यो भने पछिल्ला २ दशक यता भने सुन्तलाको विक्रि वितरण हुँदै आएको छ, केही बर्षदेखी औँसा किराको समस्या आएको कारणले किसानमा निराशा थियो, तर विभिन्न निकायहरुको सक्रियतामा यसको व्यवस्थापन भईरहेको कुरा साट्दै हुनुहुन्छ, गल्याङ नगरपालिका ७ सिरौँसाका कृष्ण भण्डारी, सुन्तला बहुवर्षिय फलफुल बाली भएकोले तुरुन्तै प्रतिफल नदेखिए पनि यसले कालान्तारमा र अर्को पुस्तालाई समेत फाइदा पुर्याउछ, त्यसैले सुरुवातमा आत्तिन नहुने र यसको व्यवस्थापनमा विशेष ध्यान दिएर लाग्ने हो भने सुन्तलाले कहिल्यै पनि निराश नबनाउने र सुन्तलाबाटै राम्रो आम्दानी गर्न सकिने कुरा त्यहाँका युवाहरुलाई समेत सुझाँउदै हुनुहुन्छ कृष्ण भण्डारी ।

नेपालमा फलफूल बालीहरूले ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना मार्फत गरिबी निवारण, पोषण स्तरमा सुधार तथा विभिन्न प्रशोधन तथा मूल्य अभिवृद्धिका अन्य उपाय मार्फत आयआर्जनमा वृद्धि ल्याउन विशेष भूमिका खेलेका छन् । उदाहरणको लागि गल्याङ नगरपालिका ७ सिरौँसाका गाउँमा सुन्तला बेचेर एकै परिवारले वार्षिक ५ लाख देखी १० लाखसम्म आम्दानी गर्दछन्, फलफूलको आन्तरिक माग दिनानुदिन बढ्दो भएकोले नेपालमा फलफूल खेतीको अवसरहरु प्रशस्तै छन् । सुन्तलाखेतीमा राम्रो सम्भावना हुदाहुँदै पनि केही अफ्ठेराहरु पनि छन््, तर समस्या आएमा प्राविधिक हरुको सल्लाहमा समाधान खोजिहाल्न सुझाउनु हुन्छ सोही ठाँउमा १८ बर्षदेखी सुन्तलाखेती गर्दै आएकि तुलसा भण्डारी, सुन्तलाखेतीमा व्यवसायिक रुपमा बगैँचा विस्तार गर्ने हो भने विदेश भन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने र आफ्नो विदेशमा रोजगारको लागि जानुभएको श्रीमानलाई समेत सुन्तला विस्तारमै लगाउने समेत योजना भएको कुरा सुनाउदै हुनुहुन्छ गल्याङ नगरपालिका ७ सिरौँसाकि तुलसा भण्डारी ।
नेपाल फलफूल उत्पादनका लागि उर्वर भूमि हो । तर उत्पादनमा युवा जनशक्ति नदेखिएकै कारण फलफूल आयात गर्नुपरेको तितो यथार्थ पनि छ, सुन्तला पनि नेपाली सुन्तलाको सिजन नभएको बेला आयात भईरहेको छ, तर विदेशी सुन्तला नेपाली उपभोक्ताहरुले खासै नरुचाएको कारणले भएसम्म नेपाली सुन्तलाकै माग हुने गरेको छ । ३५/४० बर्ष अगाडी सम्म यो ठाँउमा मकै र कोदो मात्र हुन्थ्यो, तर आज सुन्तलाले धेरैको जिवन बदलिएको छ, २५० घरधुरीजति सबैजसोले सुन्तला लगाएर आम्दानी गरीरहेका छन्, पछिल्ला पुस्ताहरुले समेत आधुनिक ज्ञान सिप र प्रविधिलाई समेत अवलम्बन गर्दै सुन्तलाखेतीमा संलग्न भएको कारण कारण निकै खुशी हुनुहुन्छ गल्याङ नगरपालिका ७ सिरौँसा फेदी अर्थात बाटामाथीका भुपनारायण सापकोटा, बजारमा खासै समस्या छैन् किनकी अहिले यहाँ फलेका सुन्तला किन्न व्यापारीहरु घरमै आएर अग्रिम बुकिङ समेत गर्ने गरेका छन्, विदेश जाने युवाहरुलाई समेत गाँउमै सुन्तलाको राम्रो सम्भावना भएको सुझाव समेत दिँदै हुनुहुन्छ भुपनारायण सापकोटा, पछिल्लो समयमा यहाँको सुन्तलामा समेत औँसा किराको समस्या भएको कारण किसानहरुमा निराशा थियो, तर सरकारका विभिन्न निकायहरुबाट औँसा किरा नियन्त्रणको लागि गरीएको प्रयास निकै प्रभावकारी भएको र अझै किसानहरुमा प्राविधिक ज्ञान कम भएकोले निरन्तर रुपमा प्राविधिक सहयोग गरीरहनुपर्ने सुझाउनुभयो सापकोटाले, पर्यटकहरुलाई लटरम्म सुन्तलाको बगैँचाले आकर्षण गरीरहेको हुनाले टाढा टाढाबाट समेत यहाँका सुन्तला हेर्न र किन्न आउनेहरुको संख्या वृद्धि भईरहेको छ ।
यो ठाँउ सुन्तला खेतीको लागि उर्वर मानिन्छ, पछिल्लो समयमा केही रोगहरु देखा पेरका छन्, यसको समाधानको लागि सरकारका विभिन्न निकायहरु प्रयासरत छन् यद्यपी अपुग भने अवश्य छ, सुन्तलामा औँसा किराको समस्या समाधानको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जोन स्याङजा, कृषि ज्ञान केन्द्र स्याङजा, गल्याङ नगरपालिका लगायतका निकायले समेत प्रयास गरीरहेका छन्, बाँदर आतंकले समेत लटरम्म फलिरहेका सुन्तलालाई विनास पार्छ बेला बेला, बाँदरको बथान एकैपटक सुन्तला बगानमा पस्यो भने सुन्तला साम्य नै पारीदिन्छ तर पनि किसानहरु निराश छैनन्, बाँदर लखेट्न सामुहिकरुपमै लाग्ने गरेका छन्, यहाँ अहिले प्राविधिक समस्यासँगै बाँदर आतंक र औँसा किराको समेत समस्या छ, यसको दिर्घकालिन समाधानका लागि माथिल्लो निकायदेखी सबै निकायहरुले ध्यान दिनुपर्ने र समयमै समाधान खोजिदिनुपर्ने कुरा सुझाँउदै हुनुहुन्छ, सोही ठाँउमा सुन्तला खेती समेत गदैँ आउनुभएका गल्याङ नगरपालिका ७ का वडा सदस्य चण्डी भण्डारी, भण्डारीले यो ठाँउको पहिचान नै सुन्तला भएकोले विभिन्न ठाँउहरुमा गल्याङ सिरौँसाको सुन्तलाको पहिचानले नै बिक्रि भइरहेको जानकारी दिनुभयो ।

बारी भरी हरियाली सुन्तलाका बोटहरु, अनि बोटमा लटरम्म फलेका सुन्तला, तीनै सुन्तलाको बोटमा फोटो खिचाउँनेको भीड पनि कम छैन यहाँ, गल्याङ नगरपालिका वडा नं ७ को माथिल्लो भेग सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ, यहाँका सबैजसो घरधुरीले व्यवसायीक रुपमै सुन्तला खेती गर्दै आएका छन् र राम्रो आम्दानी समेत गरीरहेका छन्, पछिल्लो समयमा यो ठाँउका सुन्तलामा समेत देखिएको औँसा किराको समस्याको भरपर्दो समाधानका लागि कृषि क्षेत्रमा काम गरीरहेका निकायहरुले समाधान खोज्दै सुन्तलाको खेती विस्तारको लागि विभिन्न स्थानमा माटोको परिक्षण, बालीको प्रजाती र खेती गर्ने तरिकाको विषयमा समेत परामर्शसँगै प्राविधिक रुपमा समेत किसानलाई दक्ष बनाउनुपर्छ ।









