हाम्रो भू–बनोट अनुसारको खेती, बाली प्रणाली, हरियो मल, जैविक सामग्रीको प्रयोग, कृषि बन पद्धतिको सम्बद्र्धन गर्दै रसायनिक पदार्थको प्रयोग बिना नै बाली उत्पादन एवं पशुपालन गर्दै आफ्नो र आफ्नो समुदाय र त्यस वरपरको पर्यावरण संरक्षण गर्दै खेती गर्नु नै प्राङ्गारिक खेती हो । विभिन्न वैज्ञानिक एवम् सम्वन्धित संघ–संस्थाहरू अनि यो विषयलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका सरकारी निकायले दिएको परिभाषामा समेत प्राङ्गारिक कृषिलाई यसै गरेर परिभाषित गरेको पाइन्छ । जहाँ जे–जस्तो परिभाषा दिएको भए पनि आफ्नै बारी, बगैँचा वा स्वीकारयोग्य स्थानबाट ल्याएको जैविक सामाग्री प्रयोग गर्दै आवश्यक खेतीपाती सहित कृषि वा पशुपालनसँग सम्बन्धित उत्पादन गर्ने प्रणाली लागू गरिएको हुन्छ भने त्यसलाई प्राङ्गारिक कृषि भनिन्छ । रसायनिक पदार्थ प्रयोग नगर्नु मात्रै प्राङ्गारिक कृषि होइन, यसका अलावा यो पद्धति भनेको हाम्रो वातावरण, परम्परा, संस्कृतिको जगेर्ना, प्रवद्र्धन एवं संरक्षण गर्ने विधि पनि हो । यो पद्धतिमा स्थानीय बिउ, स्थानीय ज्ञान र सीपलाई पनि उत्तिकै महत्व दिइएको हुन्छ ।
हाम्रो देशमा अर्गानिक कृषि प्रणाली अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदाहुँदै पनि यस्तो कृषि प्रणाली स्थापित गर्न केही चुनौतीह पनि देखिन्छन् ।

अर्गानिकका रूपमा कृषि उपज बेच्न मान्यता प्राप्त निकायबाट अर्गानिक प्रमाणीकरण गर्न अति आवश्यक हुन्छ । यो प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो हुने हुँदा अर्गानिक उत्पादन गर्न‘भन्दा अर्गानिक प्रमाणीकरण गर्न गाह्रो र महँगो पर्ने किसानको अनुभव सुनिन्छ । ग्रामीण क्षेत्रका किसानको अर्गानिक प्रमाणीकरण गर्ने निकायसँग सहज पहुँच नहुनु र अर्गानिक उत्पादनको कबोल गर्न नसक्नु पनि अर्गानिक कृषि विस्तारका लागि महत्वपूर्ण समस्याका रूपमा देखिएका छन् । स्थानीय बजारमा रासायनिकको तुलनामा अर्गानिक उत्पादनको मूल्य अलि बढी पर्ने भएकोले उपभोक्ताले किन्न हिच्किचाउने गर्छन् । यसरी अर्गानिक उत्पादनलाई रासायनिक सरह बेच्दा किसानले अर्गानिक खेतीबाट अतिरिक्त आम्दानी लिन सकिरहेका छैनन् भने सरकारी तथा गैरसरकारी स्तरबाट अर्गानिक बजार व्यवस्थापन र विस्तारतर्फ खासै काम गर्न सकेको देखिँदैन ।
सरकारले अर्गानिक कृषि उपजको निर्यात कार्यका लागि वैदेशिक बजार खोज्ने तथा अर्गानिक प्रमाणीकरण र ढुवानीका लागि कृषि समूह वा सहकारीलाई विशेष सुविधा उपलब्ध गराउनुपर्छ । रैथाने अर्गानिक उत्पादन तरिकालाई सुधार गरी अर्गानिक उत्पादन सम्बन्धित बहुआयामिक अनुसन्धानमा लगानी गर्नुपर्छ ।
सन् १९६० भन्दा अगाडि नेपालमा हुने प्रायः सबैजसो कृषि उपजहरू परम्परागत रूपमा प्राङ्गारिक नै थिए । क्रमशः विकास परियोजना, नेपाल सरकारको प्रयास र लगानी, विदेशमा गएर कृषि शिक्षा हासिल गरेर आएका विज्ञहरू, द्विपक्षीय तथा बहुपक्षीय दात्री निकायका विज्ञहरूको सल्लाह–सुझाव आदि जस्ता प्रकृयाबाट नेपालको कृषि पद्धति बिस्तारै प्राङ्गारिकबाट आधुनिक अर्थात रसायनिक पदार्थमा आधारित तर्फ परिवर्तित हुँदै गयो।
सन् १९७० पछि भने अलिकति घनिभूत रूपमा कृषि रसायनको प्रयोग बढेर गयो। सन् १९८७ सम्म पनि नेपालबाट हाम्रो मुख्य खाद्यान्न बाली धान निर्यात हुने गथ्र्यो । त्यसपछि भने क्रमिक रूपमा धान निर्यात बन्द भयो भने त्यसको आयात बढ्न थाल्यो। योसँगै अन्य धेरै किसिमका खाद्य सामग्रीहरूको आयात समेत बिस्तारै बढेर गइरेहेको छ ।
नेपालमा रासायनिक कृषिले जरो गाड्दै गरेको बेला अर्थात वि.स. २०४० ताका विस्तारै अर्गानिक कृषिको बहस र पैरवी भने शुरू गरेको देखिन्छ । केही संघ–संस्थाहरू प्राङ्गारिक कृषिकै प्रवद्र्धनका लागि स्थापना हुँदै गए र आफ्ना कार्यक्रम त्यसै अनुसार अगाडि बढाउँदै पनि लगे भने विश्व रंगमञ्चमा पनि प्राङ्गारिक कृषिले एक किसिमको अभियान फैलाउन सक्यो । यसको असर नेपालमा पनि पर्दै गयो र नेपाल सरकारले पनि आफ्नो कार्यक्रममा प्राङ्गारिक कृषिलाई पनि केही समेट्न थालेको देखिन्छ, तर यसले सार्थकता नपाएको अवश्य भान हुन्छ ।
देशलाई अहिले नै पूर्ण रूपले अर्गानिक वा रासायनिकतिर लैजानुपर्ने अवस्था त देखिँदैन तर पनि रासायनिक मल र विषादी कम प्रयोग भइरहेका हिमाली र पहाडी जिल्लालाई विस्तारै अर्गानिक कृषितर्फ उन्मुख गराउन सकिन्छ । आन्तरिक र विश्व बजारमा बढ्दैगएको अर्गानिक कृषि उपजको मागको फाइदा नेपाली किसानले लिन सक्नुपर्छ । हाम्रा दुई छिमेकी मित्रराष्ट्रमा अर्गानिक तरकारी, फलफूल, चिया–कफी, मसलाजन्य वस्तु र जडीबुटीको उत्पादन गरी निर्यात बढाएर देशको व्यापार घाटा कम गर्न सक्नुपर्छ । देशलाई अर्गानिक उत्पादनतर्फ लानु अति आवश्यक छ ।
बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादिको प्रयोगले जीव–जनावर तथा वातावरणमा पार्दै गइराखेको नकारात्मक प्रभाव, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कँदो आम्दानी जस्ता कारणले देशमा रासायनिक कृषि प्रणालीको विकल्प खोज्नुपर्ने बेला आएको छ । अर्गानिक कृषि प्रणाली नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महìवपूर्ण सावित हुनसक्छ ।









