हेटौँडा, २८ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं ६, डुम्रेकुनाका कृषक गणेश सापकोटालाई बिहानदेखि साँझसम्म भ्याइनभ्याइ छ ।
बेमौसमी तरकारी खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका उनले तरकारी खेतीबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
उनको बारीमा वर्षमा तीनभन्दा बढी बाली उत्पादन हुँदै आएको छ । उनले लगाउने तरकारीमा बन्दाकोपी, मटरकोसा, काउली, आलु र मुला मुख्य हुन् ।
उनले टनेलमा तरकारी खेती गर्दै आएका छन् । उनीसँग हाल ११ वटा टनेल छन् । त्यसमा टमाटर, काँक्रो, काउली, भन्टा र मुलालगायतका मौसमी तथा बेमौसमी तरकारीहरू लगाउँदै आएका छन् । सापकोटाले पोहोर साल टमाटरमात्रै ४ लाख रुपैयाँको बेचेको बताए ।
यसपालि सापकोटाले बिक्री गर्ने प्रयोजनका लागि करीब १ बिघा जग्गामा फर्सीको मुन्टा पनि लगाएका थिए । गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार मकवानपुरगढीमा अन्दाजी २५–३० बिघा क्षेत्रफलमा बिक्री गर्ने प्रयोजनका लागि फर्सीको मुन्टा लगाएको देखिन्छ ।
मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा मकै बाली प्रवर्द्वन कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न कृषक समूह र सहकारीमार्फत वडा नम्बर २, ५ र ७ गरी करीब ३० हेक्टर क्षेत्रफलमा रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन कार्यक्रम पनि सञ्चालन गरेको छ ।
तर पछिल्लो समय लगाएको बाली बाँदरले नष्ट गरेपछि यहाँका किसानहरू चिन्तामा छन् । मकवानपुरगढी पालिकाको प्रायः सबै वडाहरूमा बाँदरको आतंक छ ।
दिनको समयमा मानिसहरू खेतमा हुनेहुँदा बाँदरहरू खेतमा पस्दैनन् । तर मानिसहरू घर गएको मौका पारी साँझ र बिहानमा बाँदरले क्षति पुर्याउने गरेको किसानहरू बताउँछन् । बाँदरले बालीमा नोक्सान पुर्याएपछि स्थानीयले जग्गा बाँझो राख्न थालेका छन् ।
यसै सन्दर्भमा पालिकाले वडा नं.४ वाइबाडाँडा टोल विकास र त्यहाँका कृषकहरूसँग खेतीयोग्य बाँझो जग्गामा बाली लगाउने विषयमा छलफल तथा अन्तरक्रिया गर्यो ।
छलफलका क्रममा अधिकांश कृषकहरू बाँझो रहेको जग्गामा बाली लगाइ उत्पादन लिन तयार रहेको चौधरीले बताए । तर बालीको उत्पादन लिन विभिन्न समस्याहरू रहेकामा मुख्य समस्याका रूपमा जँगली जनावर रहेको उनीहरूले बताएका छन् ।
चौधरीका अनुसार हिजोका दिनमा निजी जग्गाहरूमा आम्दानी लिने उद्देश्यले विभिन्न प्रजातिका रुखहरू लगाइए । जसमा धेरै सालका बिरुवाहरू रहेका छन् । अहिले त्यही वन ठूलो समस्याका रूपमा रहेको चौधरी बताउँछन् ।
जङ्गल घना भएपछि जङ्गली जनावरहरू मृग, बँदेल, दुम्सी र बाँदरको वृद्वि भएको छ ।
“बाली लगाएपछि उम्रिएर बढ्न नपाउँदै मृगले खाइदिन्छ । हेरचाह गरेर हुर्काइयो; दाना लाग्छ, बाँदरले खाइदिन्छ । बाली लगाउने बेलामा खर्च गर्यो, लागत समेत उठ्दैन । अनि कसरी खेती लगाउने ? त्यही भएर बाध्यताले खेतीयोग्य जग्गाहरू बाँझो राख्न विवश छौँ ।” छलफलका क्रममा कृषकहरूले गुनासो गरेका थिए ।









