चर्चित

नरेश प्रसाद श्रेष्ठ
पूर्व जनप्रतिनिधि

हाम्रो देश कहिले पराधिन नभएको देश, ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमि,देवभूमि, ज्ञानको भण्डार र वैदिक र पूर्वीय दर्शनले ओतप्रोत भएको देश । महान तपश्वी ज्ञानको भण्डार र शान्तिका अग्रदुत भगवान बुद्ध, राजा जनक, सीता, भृकुटी, पृथ्वी नारायण शाह, बहादुर शाह, भीमशेन थापा, बीरवलभद्र कुँवर, महाकवी लक्ष्मी प्रसाद देवकोटा, आदिकवी भानुभक्त, आशुकवी लेखनाथ पौडेल, भूपि शेरचन, कलाकार अरनीको, राणशासनका अन्त्यका लागि शहिद भएका, धर्मभक्त, गंगालाल, दशरथ, शुक्रराज शास्त्री, स्वर सम्राट नारायण गोपाल, तारादेवी, ंअरुणा लामा, राष्ट्रभक्त राजा महेन्द्र, योगी नरहरीनाथ, खप्तडवावा, भोजपुर दिङ्लाकी साहसी नारी योगमाया, राजनीतिज्ञ वी.पी.कोईराला, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, पर्यावरणविद् डा.हर्क गुरुङ, साहित्यकार पारिजात, शारीरिक अस्वस्थताको बाबजुद पनि अद्भूत प्रतिभाशाली लेखक तथा साहित्यकार झमक घिमिरे, प्रसिद्ध लोकगायक कुमार बस्नेत, जनताको गीत गाउने स्वरका धनी, जे.वि.टुहुरे, आँखाको उपचारको क्षेत्रमा उल्लेखनीय कार्य गरेरे विदेशमा समेत नेपाललाई परिचित गराउन सफल नेत्र चिकित्सक डां रामप्रसाद पोख्रेल र डा. सन्दुक रुईत, अर्का चिकित्सक डा.उपेन्द्र देवकोटा, डा. महावीर पुन, हाल जनप्रतिनिधिका रुपमा मेयरमा निर्वाचित काममा मात्र विश्वास गर्ने निर्भिक व्यक्तित्व वालेन शाह जस्ता अनेक वीर विरङ्गाना, देशभक्त,कवि, कलाकार, ज्ञाता, साहित्यकार, प्रतिभावान व्यक्तिहरु, चिकित्सक, वैज्ञानिक,नेताहरु लगायत अरुपनि थुप्रै विशिष्ट व्यक्तिले जन्म लिई असल भन्दा असल कर्म गरेकाहरुको देश ।

हाम्रो देश विश्वको ४२ औ ठूलो राष्ट्रको रुपमा रहेको छ । संसारमा नभएका अनेक प्रकारका विशेषताहरु रहेको हाम्रो देश । विश्वमा नेपालमा मात्र ६ वटा ऋतुहरु, जैविक विविधताले भरिपूर्ण, हिमाल, पहाड र तराईका शुन्दर भौगोलिक बनावट, विश्वमा दशवटा अग्ला हिमश्रृङ्खला मध्ये सवैभन्दा अग्लो चुचुरो हिमाल सगरमाथा र अरु आठवटा अग्ला हिमश्रृङ्खला रहेको देश । सुन फल्ने मलिलो माटो, विश्वमा नेपालको भौगोलिक क्षेत्रफल ०.०३ प्रतिशत भएपनि महत्वपूर्ण जडिबुटी मात्र झण्डै ६० प्रतिशत नेपालमा मात्र पाईन्छ भनिन्छ । हेर्दा आँखाले नभ्याउने मनमोहक मुगुको रारा ताल, पोखराको शुन्दर फेवा ताल, डोल्पामा रहेको शेफोक्सुण्डो ताल, च्छोरोल्पा हिमताल, सुर्खेतको बुलबुले ताल, संखुवासभाका सभापोखरी, धनकुटाको राजारानी ताल, कास्कीको वेगनास ताल,सोलुको दुधकुण्ड,कैलालीको घोडाघोडी ताल,म्याग्दीको तातोपानी कुण्ड,मनाङको गंगापूर्ण ताल लगायत अनेक तालतलैयाहरु, हिमतालहरु, झरना, गुफाहरु भएको देश ।

पहाडी जिल्लामा रहेको सवभन्दा ठूलो टारमा तुम्लिङ्गटार,सवभन्दा ठूलो उपत्यका दाङ्ग उपत्यका, छिनछिनमा मौसम बदलि भैरहने धनकुटाको भेडेटार, अन्तराष्ट्रिय प्रमुख संचार माध्यम सिएनएनले विश्वकोे प्रमुख गन्तव्य वाह्रौ स्थानमा रहेको भनी केही वर्ष अघि उल्लेख गरेको धनकुटाको भेडेटार नजिकको नाम्जे गाउँ, डोटीका अत्यन्त मनोरम खप्तड क्षेत्र, भोजुपरको टेम्केडाँडा,भक्तपुरको नगरकोट,काठमाडौंको वौद्धस्तुपा, स्वयम्भुनाथ, त्रिभूवन स्मारकपार्क, ललितपुरको गोदावरी गार्डेन,वसन्तपुर दरवार स्क्वायर,पाटन दरवार स्क्वायर, भक्तपुरको दरवार स्क्वायर, कास्कीको घान्द्रुक, इलामको प्रसिद्ध चियावगान कन्याम, रसुवाको स्वर्ग जस्तो केन्जिङ भ्याली, लमजुङको घलेगाउँ, दोलखाको जिरी, सगरमाथाको प्रवेशद्धार नाम्चे बजार, तेह्रथुम र संखुवासभाको ३२ मध्ये २८ प्रजातिका लालिगुरास फुल्ने तिनजुरे मिल्के जलजले क्षेत्र, पर्वतको कुश्मा रहेको विश्वमा प्रसिद्ध नेपालकै ठूला वन्जी जम, भोटेकोशी वन्जी जम,कुश्माको गुप्तेशवर गुफा, वर्षै भरी जस्तो घाम लाग्ने देश, छ हजार भन्दा वढि नदी खोलानाला भएको जहाँवाट विजुली निकालेर देशलाई धनि वनाउन सकिने प्रचुर सम्भावना रहेको देश,विभिन्न खनिज तत्वहरु भएको जुन उत्खनन् गर्न वाँकी रहेको, मुस्ताङ्गमा मात्र खर्बाैको युरोनियमको प्रचुर सम्भावना भएको देश, सिधे नुन मात्र निकाल्न सक्दा विश्ववजारमा निर्यात गरेर अर्बौ कमाउन सक्छौ, हिमालमा प्रशस्त सिधेनुन रहेको देश,(पाकिस्तानको केटु हिमालवाट प्राप्त सिधेनुन अहिले नेपाल,भारत लगायत विदेशमा पठाएर अर्बौ रकम आर्जन गर्न सफल भएको छ), धार्मिक दृष्टिकोणले र देवीदेवताहरुको सवभन्दा धेरै मूर्ति र मन्दिर रहेको देश,जँहा पशुपतिनाथ, स्वयम्भुनाथ, मुस्ताङको प्रसिद्ध मन्दिर मुक्तिनाथ, काबेनी, रसुवाको गोसाईकुण्ड, काभ्रेको पलान्चोक भगवति, ताप्लेजुङ्को पाथिभरा, खोटाङको हलेसी, प्युठानको स्वर्गद्धारी, गोर्खाको मनकामना, बागलुङ्को कालिका भगवती, धरानको पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा, दोलखाको भीमेश्वर, जनकपुरधामको जानकी मन्दिर, सुनसरीको प्रसिद्ध बराहाक्षेत्र धाम, पोखराको बिन्दाबासिनी, पाटनको कृष्णमन्दिर, डोल्पाको बाला त्रिपुराशुन्दरी, बाजुराको बडिमालिका लगायत धेरै नाम चलेको मठ मन्दिरहरु, मुस्ताङ जोमसोम आकर्षक र लोभलाग्दो दृश्य, बर्दिया, चितवन, पर्सा, बाँके महेन्द्रनगरको शुक्लाफाट, बागलुङको ढोरपाटन, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज लगायत देशको विभिन्न ठाउँमा राष्ट्रिय निकुन्जहरु भएको देश, सुनसरीको कोशीटापु वन्यजन्तु संरक्षण, विश्वमा सवैभन्दा वढि चराचुरुङ्गीहरु, विभिन्न प्रजातिका पुतलिहरु, ३१ प्रतिशत भन्दा बढि भाग हरियो वन, (बाघमात्र ३५५ वटा, वाघ स्वस्थ्य वन र वातावरणको सूचक) पछिल्लो तथ्याङ्क अनुसार १४२ जातजाति, १२३ वटा भाषाभाषि, बहुसाँस्कृति, बहुधार्मिक भएको शुन्दर,शान्त र प्रकृतिले अनुपम बरदान दिएको हाम्रो देश जहाँ १४५ प्रकारका फलपूmल,७४ प्रकारका गेडागुडी, ६४ प्रकारका भान्सामा प्रयोग हुने मरमसला, ५४ प्रकारका तरकारीहरु र झण्डै २४ प्रकारका अन्न फल्ने हाम्रो देश । (विश्वमा उत्कृष्ट गुणस्तर मानिएको हिमाली क्षेत्रमा फल्ने फिङ्गर मिलेट फल्ने देश),३३ कोटी देविदेवताले बास गरेका साक्षात माताको रुपमा रहेको रैथाने गाईहरु जसको गव्यले शरीरलाई अनेक रोगहरुवाट बचाउँन सक्छ भन्ने कुरा प्रमाणित भएको छ, त्यस्तो लक्ष्मी माताको रुपमा रहेको पहाडे गाईहरु जो पहिला पहिला घरैपिच्छे हुने गरेको देश ।

विश्वका विभिन्न देशहरु घुम्ने नेपालीहरुले मात्र होईन स्वंय विदेशीहरुले नै भन्ने गरेका छन् कि विश्वमा नेपाल जस्तो विविधताले भरिपूर्ण प्राकृतिक मनोरमले पूर्ण शुन्दर देश अन्त छैन । यो एउटा स्वर्गकै टुक्रा हो ।

२००७ सालमा प्रजातन्त्र आएपछि नेपालको आर्थिक अवस्था जस्तो थियो त्यो बेला कैयौ देशहरुमा विकासको अवस्था कमजोर थियो । हाम्रा छिमेकी देशपनि त्यसवेला सम्म विकासको दृष्टिकोणले खासै अगाडि थिएन । कतिपय देशहरुलाई त नेपालले वेलामौकामा विभिन्न सहयोग पनि गर्दथ्यो भन्दा अहिले हामीलाई आश्चर्य लाग्न सक्छ । हाम्रो छिमेकी मुलुक लगायत हामी भन्दा धेरैपछि परेका कैयौ मुलुकहरु अहिले कहाँवाट कहाँ पुगिसके भने हामी अहिलेसम्म गरिवी, बेरोजगारी, पछौटेपन, विदेशी ऋणमा चुर्लुम्म डुबेको, अविकसित, अशिक्षा, भ्रष्टाचार, कुशासन, वेथिति, सरकारी शिक्षा–स्वास्थ्य क्षेत्र अस्तव्यस्थ, हरेक वस्तु आयात गरेर काम चलाउनु पर्ने (२७ देशवाट आयात र ५ देशमा निर्यात) हुँदा हँदा करडौको गुन्दु्रक, जनाई, टुथपिक देखि स–साना कुराहरु पनि हामी अरुकै भर पर्नुपर्ने भैसक्यो । गत आ.व.व्यापार घाटा ४७ अर्ब, ९१ करोड ७२ लाख छ ।

२०८० साउन महिनामा मात्र १ खर्ब २९ अर्बको वस्तु आयात,सोही महिनामा १३ अर्ब ५१ करोड रुपैयाको वस्तु निर्यात । व्यापार घाटा १ खर्ब १५ अर्ब ४९ करोड रुपैया भएको भंसार विभागको तथ्याङ्कमा उल्लेख छ । विदेशमा रहेका नेपालीको रेमिट्यान्सले अर्थतन्त्र धान्नु परिरहेका अवस्था, धेरै खेतबारी बाँझो राखेर गाउँ नै खाली गरेर युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम झन तीव्र (आ.व.२०७९/०८० मा मात्र ७ लाख ७१ हजार ३२७ जना श्रमिकहरु श्रम स्वीकृति लिएर गए), विदेश पढ्न जानेहरुको ओइरो (आ.व.२०७९/०८० मा विदेश पढ्न जान एक वर्षमा १ लाख १० हजार २१७ जनाले नेपालको सरकारी निकायवाट अनुमति लिएको पाईएको छ र उच्च शिक्षाका लागि वाहिर जानेले करिव ७६ अर्ब खर्च गरेको देखिन्छ ।

कतिपय सर्वसाधरण भने सरकारी अस्पतालमा समेत उपचार गर्न नसकेर अल्पआयुमा नै मर्नुपर्ने अवस्था रहिरहेको छ । यहि हो लोकतन्त्र ? नेताहरुलाई चै स्वदेशमा मात्र हैन विदेशमा समेत राष्ट्रको ढिकुटी खर्च गरेर मनलाग्दो उपचार गर्नुपर्ने नियम कहाँ छ? यस्तो नियम पनि उचित हुन्छ ?

गत आ.व.मा मात्र सरकारले आर्थिक सहायताको नाममा विभिन्न व्यक्ति र संस्थालाई साढे ८ करोड,६५ लाख, ७० हजार रुपैया हचुवाको तालले वितरण गरेको पाईएको छ । आर्थिक सहायता पाउनेमा धेरै राष्ट्रपति, पूर्व राष्ट्रपति देखि राजनीतिक दलका कार्यकर्ता सम्म रहेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरु नै सरकारी ढिकुटीको वितरण कसरी गर्ने भन्ने कुनै कानूनी आधार छैन भन्ने प्रतिक्रिया दिने गरेकाछन् । वर्तमान राष्ट्रपतिको भारतमा उपचार गराउँदा भएको ५५ लाख २ हजार रुपैया सरकारले व्यहोरेको छ । जनताको व्यापक विरोध भएपछि राष्ट्रपतिको सचिवालयले एक विज्ञप्ती निकालेर आफै व्यहोर्ने बताएका थिए तर आजसम्म उक्त रकम फिर्ता भएको जानकारी जनतालाई थाहा छैन । राष्ट्रपतिको नैतिक्ता कता हरायो ? यस्तो राम्रो,शुन्दर र अनेक सम्भावना वोकेको देश आजको एक्काइसौ शताव्दिमा दु्रत गतिले सम्वृद्धिको शिखरमा पुग्नु पर्नेमा किन त्यसो हुन सकेन ? यसको जिम्मेवार पक्षहरु को को हुन्? नेताको यसमा कस्तो भूमिका रहनु पर्दथ्यो यसवारे सानो चर्चा गरौ ।

-नेता त्यो व्यक्ति हो, जो अरुको रुचि र बाहिरिया व्यक्तिलाई, यसरी प्रभावित गर्न सक्छ, जस्ले गर्दा,उस्को काम र विचारलाई आवश्यक भन्ंने ठान्छन् ।

–ब्रिट

-नेता त्यो हो जस्ले सम्पूर्ण परिस्थितिलाई विचार गरि परिदृष्टि को सृजना गर्छ र त्यो पूर्ण गर्ने दिशा तिर लिएर जान्छ । – Jack Wealch

नेता भनेको प्रमुख पदमा रहने विशेष क्षमतावान भएमध्येका श्रेष्ठ व्यक्ति हुन् । हामी सवैले वुझेको कुरा केहो भने नेता भनेको दुरदर्शी,सक्षम,कुशल,ईमान्दार,गतिशिल, परिपक्क, समझदार,निष्पक्ष व्यवहार गर्ने, साहसिलो, जागरिलो, विश्वासिलो, कत्र्तव्यपरायण, सत्यवक्ता, सहनशिल, शिक्षित,नैतिकवान, राम्रो सचार गर्ने,विनम्रता,धैर्य र संयमता,अध्ययनशील,सहयोगी र मिलनसार, समयको पालना गर्ने,उत्प्रेरक,सही निर्णयकर्ता,परिणाममुखी कार्य प्रणाली,सकारात्मक दृष्टिकोण, कम बोल्ने धेरै सुन्ने, सफलतामा नमात्तिने र असफलतामा नआत्तिने, आापूmलाई मात्र सर्वेसर्वा नठान्ने, फराकिलो सोचाई भएको आदि यस्ता गुणहरु भएका व्यक्ति मात्र सही नेता हुन्छ भन्ने मान्यता विश्वव्यापी हो ।

नेताले चाह्यो भने देशलाई सम्वृद्धिको शिखर पुर्याउन सक्छ भन्ने उदाहरण हाम्रो छिमेकी मुलुक देखि सिंगाापुर, दक्षिण अफ्रिका, अमेरिका, युरोप, जापान आदि कैयौ देशहरु छन् भने नेताहरु भ्रष्ट, लोभीपापाी भयो भने देश कसरी नर्क बन्छ भन्ने कुराको उदाहरण पनि यही विश्वमा रहेको छ । नेतामा ठूलो जिम्मेवारी हुन्छ ,उनीहरु गैरजिम्मेवार भएमा सिंहदरवार देखि गाउँको वडा तह र टोलसम्मको काम कारवाहीमा नकारात्मक परिणाम आउँछ । त्यसैले नेताहरु एकदमै जिम्मेवार र जवाफदेही हुनु नितान्त आवश्यक छ बुझ्नेहरुका लागि यो भनिरहनु पर्ने कुरा पनि होईन ।

बहुदल आएपछि देशको समग्र अवस्थामा सुधार भै गरिवी, बेरोजगारी, अशिक्षा, भ्रष्टाचार, बेथितिमा सुधार भै जनताको आर्थिक अवस्थामा व्यापक सुधार आउँनेछ भन्ने सवैको अपेक्षा रहेको थियो । कृष्णप्रसाद भट्टराइको अध्यक्षतामा वनेका अन्तरिम सरकारले तोकिएको १ वर्षको समयमा (११ महिनाभित्रै) नेपालको सविधान २०४७ निर्माण गर्न सफल भयो । यसले नेपाली जनतामा आशाको संचार गर्यो ।
२०४८ साल देखि २०७९ सालसम्म संसदको निर्वाचनलाई सम्झदा २०४८साल,२०५१ साल, २०५६ साल,२०७४ साल र २०७९ सालमा गरी पाच पटक संसदको र २०६४ र २०७० मा दुईपटक संविधान सभाको निर्वाचन हुँदा नेपाली कांग्रेशको नेतृत्वमा दुईपटक ०४८ र ०५६ को आम निर्वाचनवाट वहुमतको सरकार त बन्यो तर आपसी खिचातानी, गुटबन्दी र स्वार्थ नमिल्दा पाँच वर्षसम्म सरकार टिकाउन सकेन ।

त्यस्तै २०७४ को आम निर्वाचनवाट नेकपाको सरकारले झण्डै दुई तिहाईको सरकार वनाउन सफल भएपनि दलको आन्तरिक खिचातानी टुटफुट आदि कारणले त्यो सरकार पनि वीचमा नै धाराशायी भयो । अरु निर्वाचनमा कसैको बहुमत हुन नसकेपछि जो प्रधानमन्त्री भएपनि १÷२ वर्षमै सरकारको नेतृत्व परिवर्तन भैरहने हुनाले सरकार पनि अस्थिर र राजनीति पनि अस्थिर भएको कारण देशको राजनीति झन अस्तव्यस्थ हुनपुग्यो र अनेक उतारचढावहरु देशले व्यहोर्दै जानुपर्यो ।
संगसंगै राजनीतिक मूल्यमान्यता,आदर्श, नैतिक्ता,विवेक सवै हराउँदै गयो । जसरीपनि सत्तामा टाँसिने त्यसका लागि जस्तोसुकै मूल्यहीन सम्झौता र अनैतिक कार्यहरु गर्नपनि पछि नपर्ने,वोलेको कुराको पालना गर्न नपर्ने भएपछि सत्ताको घिनलाग्दो खेलले के जायज र नाजायज, के गर्नुपर्ने र गर्न नहुने भन्ने कुरा दलका नेताहरुले बिर्सन थाले ।
माथिदेखि तलैसम्म दलका विभिन्न कित्तामा तीव्ररुपमा मतदाताहरु पनि विभाजित हुँदै गएपछि एकले अर्कालाई निषेध गर्ने र भएका राम्रो कामको पनि विपक्षले हो भने बिरोधै गर्नुपर्ने र आफ्नो पक्षले नराम्रो गरेको भएपनि राम्रो हो भनेर तर्क÷कुतर्कले मूल्यवान समय अनुत्पादक कुरामा खर्च हुँदै गयो ।

कुनैपनि योजना,आयोजना र विकासको काममा भ्रष्टाचाररहित र परिणाम दिन सकेन । २०४८ सालको आम निर्वाचनमा सन्त नेता कृष्णप्रसाद भट्टराईले टुडिखेलमा चुनावी भाषण गर्नुृहुँदै काठमाडौलाई मेलेम्चकिो पानी ल्याएर काठमाडौं नै धोइदिने बताउनु भएको थियो । तर आजसम्म यहाका जनताले तिर्खा मेट्न धौ-धौ परिरहेको छ । त्यस यता कतिवटा सरकार र प्रधानमन्त्री भैसकेका छन् तर कामको प्रगति भने एकदम कम छ अनि कसरी जनताले नेताको कुरा पत्याउनु ? अपवादको रुपमा कृष्ण प्रसाद भट्टराईको १ वर्षको अन्तरिम सरकार र २०५१ सालको मनमोहन अधिकारीको नेतृत्वमा रहेको एमालेको अल्पमतको नौ महिने सरकार जनताले सम्झना लायक थियो । वाँकी समय सवै दल र सरकारको काम कारवाही सत्ता केन्द्रित र आँफु र आँफु वरिपरिकाकोलाई रिजाउँदै राष्ट्रिय ढुकुटीको दुरुपयोगमा सीमित भयो ।

यसै सन्दर्भमा तत्कालीन ने.क.पा.को सरकार हुँदा त्यसका नेता घनश्याम भुसालले भनेको कुरा सामाजिक संजालमा भाइरल भएको थियो, जुन भनाई यस्तो थियो ।

“हाम्रो नेताहरु विहान देखि वेलुकी सम्म कमिशनखोर, विचौलिया, तस्कर, कालाबजारिया, दलाल, काम नगर्ने ठेकेदार, शैक्षिक माफिया र ठूला व्यापारीहरुसंग भेट्तै फुर्सद हुँदैन, कहाँवाट देश बन्छ ?”

हालका पर्यटनमन्त्रीले भन्नु भएको कुरा, नेपालगन्जको एयरपोर्टमा चौथो तहमा कार्यरत करारका कर्मचारी जो वर्षौदेखि हालिमुहाली गरेर वसेका थिए,तीनलाई म्याद नथप्दा झण्डै मेरो जागिर गयो । राष्ट्रपति, प्रधानमन्त्री, पार्टीका नेताहरु देखि विभिन्न ठाउँबाट लिखित तथा मौखिक रुपमा उनको पक्षमा लविङ् गरियो देश कसरी चलेको रहेछ बुझिनसक्नु छ ।
बहुदलपछि धेरै संचारको क्षेत्रमा उल्लेखनीय कार्य नभएका होईन, विकासका पूर्वाधारमा पनि संख्यात्मकरुपमा धेरै नै भयो तर यी कामहरुले आर्थिक क्षेत्रमा जनताको जीवनस्तर कति उकास्यो भन्ने प्रश्नहरुको सकारात्मक जवाफ दिन सकेको छैन । गाउँहरु खालि छन्,युवाहरु धेरै विदेशिएका छन्,उद्योगधन्दाहरु नगण्य छन्, जुन रफ्तारमा जलविद्युत, पर्यटन, जडिबूटी र कृषिको विकास हुनपर्ने थियो त्यो हुन नसकेको कारणले जनताहरुमा निराशा छाएको छ र नेताहरु एकपछि अर्को भ्रष्टाचारको अनेकौ काण्डमा मुछिएको कारण राजनीतिमा नै जनताको एकदमे वितृष्णा पैदा हुन गएको छ ।
यसका लागि नेताहरु मुलरुपमा दोषि छन् । उनीहरुले जनतालाई देश विकासको सम्वृद्धिको जुन आशा र सपना वाँडेका थिए सोही अनुरुप पटक्कै काम नगरेको धु्रव सत्य हो । भनिन्छ झुटो वोल्ने मान्छेको सद्गुण नष्ट हुन्छ । सदगुण नष्ट भएपछि वाँकी रह्यो अवगुण आज हाम्रा अधिकांश नेताहरुको हालत यस्तै रहेका छन् भने अव के आशा वाँकि रहेको होला अनुमान गर्न सक्छौ । केही समयअघि जव नक्कली भृटानी शरणार्थी प्रकरणमा सरकारले छानविनको प्रक्रिया अगााडि वढाएपछि विभिन्न दलका माथिल्लो स्तरका नेता र उनीहरुको श्रीमती र छोराहरु नै कोही समातिने,कोही फरार र कोही शंकाको घेरामा पुगेपछि प्रमुख तीन दलका शीर्ष नेताहरु दिनमा तीन चार पटक रहश्मय भेटघाट गरेको अवस्थामा चौथो ठूला दलका नेताले यो भेटघाट वारे प्रश्न नै गरे,यो भेटघाट के का लागि भनेर ।

-हालै सुन तस्करी प्रकरणमा ईलेक्ट्रिक सिगरेट(भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसंग माओवादी उपाध्यक्ष महराका वावु छोराको संलग्नता रहेको आशंकामा सि.आइ.वि.ले प्रतिवेदन दिइसकेको छ ।

यसबाट पनि हाम्रो नेताहरुको हालत के छ भन्ने कुराको संकेत गर्दछ । मुलुकमा आर्थिक संकट गहिरिदो छ,भ्रष्टाचार महामारीको रुपमा छ,सुशासनको खडेरी छ,विकासका आयोजनाहरु को प्रगति एकदमै धिमा छ,आ.व.को १० महिनासम्म पूंजिगत खर्च २५ प्रतिशत पनि नहुने अनि असारमा आएर रातारात खर्च गर्ने परिपाटी यथावत छ,व् यापार घाटा बढ्दो छ,कृषि तथा पर्यटनको क्षेत्रमा धेरै काम गर्न वाँकी छ, महंगी, वेरोजगारी र जनस्वास्थ्यको समस्याहरु,काठमाडौंमा वायु प्रदुषण भयाभह छ, दण्डहीनता वढ्दो छ,जनताको सरोकारको अड्डाहरुमा विचौलियाको राज छ,जनसरोकारको कार्यालयहरुमा सेवाग्राहीले घुस नदिई काम लिन नसकिने स्थिति वर्षौदेखि छ,सरकारी जमिन व्यक्तिको नाममा गरेका धेरै घटनाहरु छ र झन झन उजागर हुँदैछ, वर्षा लागेपछि दैवी प्रकोपवाट ठूलो जनधनको क्षति वर्षेनी भैरहेको छ, (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकै तथ्याङ्क अनुसार पछिल्लो दश वर्षमा वाढिपैह्रोको चारहजार वढि घटना भएका छन् त्यसवाट दुई हजारभन्दा बढिको ज्यान गएको छ,विपदको वेला सरकारी संयन्त्रको कमजोरी सधै छताछुल्ल हुने गरेको अवस्था छ । विपदमा परेकालाई राहत,उद्धार र पुनस्र्थापनामा प्रभावकारिता छैन, देशको सीमानाहरु अतिक्रमण भैरहेको छ,देशको शान्ति सुरक्षा कमजोर छ,परराष्ट्र नीतिको पुनरावलोकन गर्नुपर्ने अवस्था छ,संसदले वनाउनु पर्ने कानूनहरु बनाउनुको सट्टा संसद सधैजसो अवरोध छ (पहिलो अधिवेशन २०७९ पौष २५ देखि २०८० वैशाख १५ सम्ममा एउटा पनि कानुन नवनाएको,दोस्रो अधिवेशनमा वजेट निर्माण वाहेक एउटा मिटरव्याजीलाई कारवाही गरी “पीडितलाई न्याय दिनका लागि ल्याएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सडक र संसदवाट तीव्र जनदवाव पछि मात्र बनेको ।

-संसदमा हालसम्म १४ वटा विधेयक पूर्णरुपमा र ७९ वटा कानूनलाई “केही नेपाल ऐनलाई संशोधन विधेयक मार्फत संशोधन गर्ने गरी जम्म ९३ विधेयक” दर्ता भएपनि प्रगति शुन्य छ ।

यत्रा समस्याहरु छन् ती समस्याहरुलाई कसरी सम्वोधन गर्ने त्यसका लागि कसरी दलहरु वीच साझा दृष्टिकोण वनाउने भनेर कहिले पनि ती दलका नेताहरुले आजसम्म यसवारे न उनीहरु वीच सर्वदलीय वैठकमा कुरा हुन्छ न संसदमा कुनै आवाज उठाएका छन् न यसबारे कुनै पहलकदमी गरेका छन् । केवल एकले अर्कालाई खुल्याउनु नै आफ्नो महान योग्यता ठान्ने हाम्रो नेताहरु छन्,यसैमा उनीहरु गर्व गर्छन् कसको के लाग्छ ? थोरै चित्त नवुभ्mने वित्तिकै संसदमा प्रतिपक्षको रुपमा रहेका दलहरु संसदमा जनताको पक्षमा आवाज उठाउनुको सट्टा संसद नै अवरोध गर्नेतिर लाग्छन् ।
सुन तस्करीको छानवीनको माँग गर्दै एमालेले साउन १० देखि २७ दिनसम्म संसद अवरोध गरेरै छाड्यो । जवकी संसद चलेको दिनको खर्च दिनमा करिवमा १० लाख हुने कुरा संसंद सचिवालयले जनाएको छ । संसदमा १ दिन पनि मुख नदेखाई सांसदहरु तलव खान कुनै लाज मान्दैनन् यस्तो हालत छ हाम्रा जनप्रतिनिधि र नेतागणहरुको । मुहान फोहोर भएपछि धाराको पानी कसरी स्वच्छ र सफा हुन्छ ?

जबजब विभिन्न भ्रष्टाचारमा आँफु वा आफ्ना नजिकका मान्छे शंकाको घेरामा पर्छन् र कारवाही अगाडि बढ्न खोज्यो भने धम्क्याउने, थर्काउने,कारवाही रोक्न सम्पूर्ण शक्ति लगाउने गरेका छन् । उनीहरु नाङ्गेझार भैसक्दा पनि कुनै लाजसरम छैन । माक्र्सले भन्नुभएका एउटा प्रसंग सान्दर्भिक छ कि राजनीति गर्नेहरुले जहिलेपनि जनताहरु के सोचिरहेका छन् र के भन्दैछन् भन्ने वारे हेक्का राख्नुपर्छ । यसबारे कहिले हाम्रा नेताहरुले चिन्तन मनन् गरेका छन ? एकोहोरो आफ्ना निरश प्रवचन सुनाउने र एकले अर्कालाई सत्तेसराप गर्नु नै उनीहरुको राजनीतिक धर्म भएको छ ।
नेताहरुले साहस गर्ने र ईमान्दारिता देखाउने हो भने हाम्रो जस्तो अनेकौ सम्भावना भएको देशलाई कायापलट गर्न धेरै समय लाग्दैन । नेताहरुले जनतासमक्ष देश विकास गर्नका लागि विगतमा जे जे वोलेका छन् र निर्वाचनताका जनतासमक्ष जारी गरिएको आफ्नो घोषणापत्रलाई मात्र सम्झिउन् अनि जनताको आँखावाट हेरुन् वास्तवमा देश जुन गतिका साथ वन्नु पर्दथ्यो त्यो किन हुन सकेन?कसको कारणले हुन सकेन?देशको तालाचावी ढिकुटीमा ३३ वर्षदेखि जनतावाट निर्वाचित यीनै दल र दलका नेताहरु सत्तामा छन् भने देश अपेक्षाकृत देश नवन्नुमा दोषि को ? नेताको भागमा कतिपर्छ समीक्षा गर्न ढिला भैसकेन र ? फगत नारा र भाषणले मात्र देश वन्दैन । देशको अहिले जुन हालत छ, त्यसको लागि दोषि नेता नै हो, किनकि यीनै दलहरु पालैपालो सरकारमा गएका छन् ।

-यीनले साच्चै चाहेका भए देशलाई विकास र समृद्धि तुल्याउन कसले रोकेको छ र ?

जव राम्रा र असल कुराहरु गर्न ढिला गरिन्छ अनि नराम्रा र खराव काम गर्न चै हतार गरिन्छ भने जोसुकैको पनि पतन अवश्यंंभावी छ । लंकाका राजा रावणले मर्ने वेलामा भनेका थिए, मैले चाहेको भए समुद्रको नुनिलो पानीलाई मीठो बनाउन सक्ने थिए, स्वर्ग जाने सुनको भ¥याङ बनाउन सक्ने थिए, फलेको उखुको बोटमा फल पनि लगाउन सक्ने थिए, सुनमा सुगन्ध मिलाउन सक्ने थिँए, तर मैले यी कामहरुलाई जहिले पनि भोली–भोली भनेर टारें, अनि सीतालाई हरण गर्ने जस्तो नराम्रो कामलाई भने मैले टार्नुको सट्टा त्यस्तो खराब कामलाई चाँहि विलम्व नगरी गरे त्यसै भएर यसवाट सवैले शिक्षा लिउन् भनेर भनेका थिए  रे ।

-हाम्रो नेताहरुको ताल ठ्याक्कै यस्तै छ । तपाईहरु नै भन्नुस् देश नवन्नुमा नेता कति दोषि छन् ?
प्रा.डा. लोकराज बरालले आफ्नो एउटा आर्टिकलमा लेख्नु भएको छ, दलका नेता तथा कार्यकर्ताहरु पनि सुविधाभोगी भएका छन् । जव पुरानो समर्पण सादा जीवन र जनमुखी हुनुभन्दा पनि कसरी पद र पैसा आर्जन गर्ने भन्ने धन्दामा माओवादीहरु अरु दलका नेतासरह लागेका छन् ।

राणा फालियो, राजा फालियो, गणतन्त्र आयो, तर राज्यको चरित्र बदलिएन । जसले परिवर्तन ल्याए, तिनीहरु पुरानै सत्ता संंरचनासंग टाँसिए । भ्रष्टाचार राज्यमा संस्थागत छ, कुनै तप्का चोखो छैन, शोभराज(कुख्यात विकिनी किलर चाल्र्स शोभराज) ले नेपालको विमानस्थलवाट हात्ती छिराउँछु भनेर यत्तिकै भनेको हैन । यहाँ त जसरी पनि पैसा कमाउने होड छ । दिनभरी वदमासी गर्ने अनि साँझ÷विहान भगवानको पूजा गर्ने काम भयो भनेर भन्नुहुन्छ दुई पटक प्रतिनिधिसभाका निर्वाचित सांसद तथा लेखा समितिका पूर्व सभापति परि थापा ।
अब प्रसंग कर्मचारीतिर मोडौं देश नवन्नमा कर्मचारीहरुको दोष कति छ ?

-कर्मचारीहरु भनेको देशको स्थायी र भरपर्दो सरकार हो । उनीहरु लोकसेवा आयोगको निश्चित प्रक्रिया पुरा गरेर योग्यता र क्षमताको आधारमा योग्यतम् व्यक्तिहरु मध्ये छनौट भै विभिन्न क्षेत्रमा रहेर सेवा गर्ने गर्छन् । कानून नियम अनुसार प्रक्रिया पुर्याएर छिटोछरितो र परिणाम दिने गरी कामलाई फत्ते गर्ने प्रमुख कार्य राष्ट्रसेवकको हो ।

दोषारोपण गर्न खोजेको होईन तर वहुदल आएपछि अहिले सम्म कर्मचारीहरुको काम कारवाही हेर्दा उनीहरु लोभीपापी नेताहरुको ईशारामा चल्छन् या नेताहरुलाई नै माखे साङ्लोमा पारेर, नेताहरुलाई जे जसरी हुन्छ खुशी बनाएर गर्न मिल्ने नमिल्ने, हुने नहुने अनि नियमको आफ्नो अनुकूल स्वार्थ अनुसार व्याख्या गरेर क्षणिक फाईदाका लागि काम गर्न खप्पिस छन् । उनीहरुले चाह्यो भने छिटो भन्दा छिटो काम हुन्छ भने चाहेन भने वर्षौ झुलाएर कामहरु रोकिदिन्छन् अनेक बहानाबाजी गरेर । हुने मिल्ने कामहरु पनि उनीहरुले सजिलै गरिदिदैनन्, उनीहरुलाई व्यक्तिगत रुपमा जे जे गरेर भएपनि खुशी पार्नुपर्छ कित नेता या माथिल्लो तहवाट दवाव दिन लगाएर मात्र काम गर्छ भन्ने मानशिक्ता सेवाग्राहीहरुमा छ यो यथार्थ हो ।

कर्मचारीहरुले किन लगनशील,उत्तरदायी र जिम्मेवार भएर काम गर्दैन भन्ने सवालमा उनीहरु जो सत्तामा, सरकारमा र शक्तिमा छन्, उनीहरुसंँगको मिलोमतोमा सांठगांठ गरेर काम गर्ने परिस्थितिका कारण स्थायी सरकार भनिएको राष्ट्रसेवक समेत बदनाम हुँदै गएको छ ।

अहिलेको कर्मचारीतन्त्रमा कार्यक्षमतमा झन झन ह्रासोन्मूख भैरहेको छ । वि.स.२००७ देखि आधुनिक प्रशासनिक युगमा प्रवेश गरेको हो नेपाल । कर्मचारीतन्त्रले व्यावसायिक क्षमता र चरित्र देखाउन नसक्नु दुर्भाग्य रहेको छ ।व्यावसायिक हुन नसक्नुमा राजनीति नै बाधक भएको ठम्याई छ ।
एनसेलको ६३ अर्ब कर असुली हुन नसक्नुमा तत्कालीन अर्थ सचिवको पनि भूमिका रहेको कुरा पत्रिपत्रिकाले उल्लेख गरेको पाईन्छ ।

अनेकौ नीतिगत भ्रष्टाचार देखि सेवाप्रवाह गर्ने अड्डाहरुले जनताको काम गर्दा कमिशन,घुस र आयोजनाहरुमा भएको भ्रष्टाचारमा कर्मचारीहरु संलग्न नहुने हो भने मन्त्रीहरु,दलका नेताहरुले मात्र आट् गर्न सक्तैन थिए होला । त्यसकारण सवै दोषहरु नेता,मन्त्रीहरुलाई मात्र दिएर पन्छिन मिल्दैन भन्नेहरु पनि धेरै छन् । सचिव,विभागीय प्रमुख र कार्यालय प्रमुखहरुले इमानका साथ काम गर्न कसले रोकेको छ? उनीहरुलाई मासिक तलव देखि अनेकौ सेवा सुविधा राज्यले दिएको छ,अवकाश पछि पेन्सन समेतको व्यवस्था छ ।

विश्वमा नेपालमा जति कर्मचारीहरुलाई सेवाको सुरक्षाको ग्यारेण्टी सायद अन्त छैन भनिन्छ । यस्तो गरीव देशमा सक्दो उनीहरुलाई सेवा,सुविधा र सम्मान दिदा पनि मन लगाएर काम नगर्नु र सेवाग्राहीलाई झुलाएर उनीहरुवाट नाजायज फाईदा लिन खोज्नु एकदम गलत हो ।

-कर्मचारीहरुले नियम अनुसार छिटो,छरितो र पारदर्शी ढंगवाट काम नगरेर विभिन्न स्वार्थी तत्वहरुसंगको साठगाठमा देशको हित विपरीतमा आँफुलाई उभ्याउनु सवैभन्दा बढि दोष कर्मचारीतन्त्रमा पनि रहेको छ ।

केन्द्रिय अनुसन्धान व्युरोको एक तथ्याङ्क अनुसार, विगत नौ वर्षमा ८०९ केजी सुन बरामद भएका छन् । त्यो बीचमा कति सुनहरु भन्सारवाट त्यत्तिकै फुत्किए होला । हालै १०० केजी सुन भन्सारले कुनै सुराक नपाउनु अनि वाहिर सिनामङ्गल पुगेपछि समातिनु यसको ज्वलन्त उदाहरण होईन र ? अन्तराष्ट्रिय स्तरसम्म जोडिएको सुन तस्करीको गिरोहलाई सघाउने संरक्षण गर्ने राजनीतिक÷प्रशासनिक संलग्नताको खोजी अहिलेसम्मको अह्म प्रश्न हो । यसवाट पनि हाम्रो निजामति कर्मचारीहरुको नियत के छ भन्ने कुराको संकेत गर्दछ ।

एउटा उदाहरण हेरौ,ने.क.पा.को सरकार हुँदा मन्त्रीपरिषदले रासायनिक मल वंगलादेशवाट ल्याउने भनि गरेको निर्णयको कषि कृषि मन्त्रालयमा ४२ दिन पछि पुग्यो जव कि मल ल्याउन ढिला भैसकेको थियो । त्यतिखेर कृषि मन्त्री ने.क.पा.का नेता समेत हुनुभएका घनश्याम भुसाल हुनुहुन्थ्यो । मन्त्रीपरिषदको निर्णयको पत्र १० मिनेट परको मन्त्रालयमा पुग्न डेढ महिना लाग्छ ? यसमा कर्मचारीतन्त्रको दोष छैन?केही समय अघिको कुरा हो एक जना व्यक्तिले ग्राउण्ड एप्पलको राम्रो विक्री नभएपछि त्यसको रक्सी बनाउन पर्यो भनी सम्वन्धित सरकारी निकायमा गएर लाइसेन्स लिन खोज्दा रु २५ लाख घुस मागेपछि त्यो कुरा एकजना व्यक्ति मार्फत पूर्व मुख्य सचिव कँहा कुरा गर्दा कति सस्तोमा लाइसेन्स दिने कुरा भएछ भनि उल्टै ती पूर्व मुख्य सचिवको व्यङ्ग मिश्रित यस्तो प्रतिक्रिया सुनेपछि उद्योग खोल्ने कुरा मनवाटै हटाएछ ।
-देश नवन्नमा प्रमुख दोषि कर्मचारी हो कि नेता भन्ने प्रश्नमा एक पूर्व कानून सचिवको विचारमा कर्मचारीहरुको नेतृत्व गर्ने मुख्य सचिव र मन्त्रालयका सचिवहरु ईमान्दार हुने हो भने राजनीतिक नेतृत्वले मात्र विगार्छु भनेर देश विग्रदैन ।

प्रधानमन्त्री,मन्त्रीहरु र शक्तिमा रहेका दलका नेताहरुलाई उनीहरुले सही र गलत कामको वारे प्रष्ट पारेर गर्न नमिल्ने,नहुने काममा आफ्नो अडान राखेमा खासै गलत कामहरु,राष्ट्रलाई घाटा लाग्ने काम हुन सक्तैन भन्नुहुन्छ । त्यसकारण जतिपनि अहिले भ्रष्टाचारका कुराहरु भैरहेको छ,त्यसमा कर्मचारीको साथ नहुने हो भने गलत काम गर्न सम्भव छैन ।

नेताको अगाडि निरीह वनेर जे पनि हवस् भन्ने कुराले धेरै कुरा गडवड् भएको हुँदा यस मामिलामा वढि कर्मचारीहरु नै दोषि छन् ।
पर्यटन वोर्डका पूर्व सदस्य श्री कृष्णराज अर्याल यस वारे भन्नुहुन्छ कोरोनाकालमा विदेशी पर्यटकहरुलाई नेपालमा आउन केही सजिलो पार्न कोरोनाको नियमहरु केही खुकुलो वनाउने वारे तत्कालीन नेकपाको सरकारको पालामा मन्त्रीपरिषदले गरेको निर्णयकपि पाउन समेत सम्वन्धित मन्त्रालयका सचिवका अनुत्तरदायीका कारण हम्मेहम्मे प¥यो । यो देश विग्रनमा नेताभन्दा कर्मचारीहरु वढि दोषि भएको आँफुले महशुस गरेको छु भन्नुहुन्छ।
निजामती सेवा ऐन २०४९ को परिच्छेद(७) को आचरण सम्वन्धी व्यवस्थामा निजामती कर्मचारीले राजनीतिमा सहभागी हुने नपाउने उल्लेख छ । तर अहिले अधिकांस कर्मचारीहरु दलैपिच्छेको कर्मचारी संगठनमा आवद्ध रहेको छन् । यतिमात्र होईन कतिपय कर्मचारीहरु कुनै न कुनै दलको जिल्ला देखि केन्द्रीय निकायको कुनै न कुनै कमिटीमा आवद्ध छन् ,जुन प्रचलित कानून र सुशासन विरुद्ध रहेको छ । अनि कसरी कर्मचारीहरुले निष्पक्ष र पारदर्शीढंगवाट काम गर्छन्? तलव भत्ता खाएर निष्पक्ष रुपमा काम गर्नुपर्ने राष्ट्रसेवकहरुले आफ्नो कत्र्तव्य भुलेर दायाँवायाँ गर्नु कर्मचारीहरुको पनि दोष चानचुने छैन, उनीहरु सच्चिनु वाहेक विकल्प छैन ।
देश नवन्नमा नेता अनि कर्मचारी जति दोषि छन् जनता चै दोषि छन् कि छैनन् ? यो प्रश्न पनि अहं छ । कतिपयले देश नवन्नुमा जनता पनि कम दोषि छैन भन्ने गर्छन् । यीनै जनताले भोट दिएर चुनेका प्रतिनिधिहरुले वडा देखि सिंहदरवारसम्म सत्ता संचालन गर्छन् । यीनै नेताहरुलाई आलोपालो गरेर निर्वाचनमा मत दिएर निर्वाचित गराउँछन् । अनि काम राम्रो भएन भनेर आलोचना गर्नपनि जनताहरु पछि पर्दैनन् । राम्रो काम नगर्ने हरुलाई निर्वाचनमा मत नदिएर हराउनुको सट्टा निर्वाचनको वेला उनीहरुको पैसा,भोजभतेर र खोक्रो आश्वासनमा परेर तीनैलाई पुनः मतदिई तीनै दललाई सत्ताको चावी सुम्पन्छन् । त्यही भएर जनता पनि कम दोषि छैनन् भन्ने मतहरु पनि छन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्रै हो भने दलहरुको विकल्प पनि दलिय प्रणालीमा दलहरु नै हुन् । २०४८ देखि २०७९ सम्मको विभिन्न निर्वाचनमा जनताहरुले एकहदसम्म दलहरुको र जनप्रतिनिधि भैसकेकाहरुको मुल्याङ्कन गरेर कहले कुन दललाई र कहिले फरक दललाई चुनावमा जिताउने र हराउने काम नगरेका पनि होईन । राम्रो काम नगर्ने जनप्रतिनिधि भएकाहरुलाई चुनावमा जनताले धुलो नचटाएको पनि होईन ,यसको पछिल्लो उदाहरण चितवन र तनहुको संसदीय उप निर्वाचनको परिणाम र स्थानीय तहमा काठमाडौं,धरान र धनगढीमा मेयर चुनिएकोलाई लिन सकिन्छ । अव जनताले काम राम्रो नगर्ने दल तथा नेताहरुलाई सवक सिकाउन सक्छन् है भन्ने यो सानो उदाहरण हो ।
हरेक निर्वाचनमा उम्मेद्धवार र दलहरुले जनताको मनस्थिति वुझेर फरक ढंगले जनताको मनोविज्ञानसंग खेल्न चतुर दलका नेताहरु माहिर छन् । अव चाँहि राम्रै गर्लान भन्ने ठान्छन् भने कतिपय जनताहरु अशिक्षा, गरिवी, सचेतनाको कमी,विभिन्न प्रलोभन,पैसा,भोजभतेरमा आफ्ना अमूल्य मत दिने गरेका छन् । यसैको गलत फाइदा उठाएर जनतालाई पटक पटक झुक्याउने काम भएको छ । टक पटक झुक्किने दोषि हो कि झुक्याउने दोषि हो ईतिहासले मूल्याङ्कन गर्ला र भविष्यले पनि यसको फैसला होला ।

अन्त्यमा,
देश बिग्रनवाट वचाउँने र दलहरुले संकीर्णता र सत्ता स्वार्थलाई छोडेर देशको वृहत हित हेर्ने हो भने मुख्यतः नेतहरुले यो कुरा गर्न अत्यन्त जरुरी छ । वेलैमा सोचेर देशको परिस्थिति वुझेर यी कार्यहरुमा मात्र ध्यान दिने हो भनेपनि देश वन्नलाई केही गाह्रो छ र ?
– संविधान संशोधन गरी प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली व्यवस्था हटाउने ।

-केन्द्रमा मन्त्रालयको संख्या १५ मा झार्ने र केन्द्रीय सरकार वढिमा १५ सदस्यीय वनाउने ।
-उपराष्ट्रपति पद हटाउने । चुनाव हारेकालाई त्यही कार्यकालमा उपनिर्वाचनमा संसदको टिकट र राष्ट्रिय सभामा सदस्य नवनाउने कानुनी व्यवस्था गर्ने ।
-प्रधानमन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा गर्ने र मन्त्रीहरु सांसदवाट नभएर विषय विज्ञताको आधारवाट मन्त्रीपरिषद गठन गर्ने ।
-हालका सरकारी विभागहरु ५० प्रतिशत घटाउने,जिल्ला समन्वय समिति खारेज गर्ने । अर्थविद् डा.डिल्लीराज खनालले सरकारी खर्च सुधारका लागि दिएको प्रतिवेदनलाई लागु गर्ने ।
-प्रदेशमा पनि समानुपातिक निर्वाचन प्रणाली हटाउने । प्रदेशको मन्त्रिपरिषद वढिमा ७ सदस्यीय वनाउने ।
-संवैधानिक आयोगमा प्रमुख तथा सदस्यहरु राजनीतिक भागवण्डाको आधारमा नभएर प्रधानन्यायधिशको अध्यक्षतामा विज्ञ टोलीहरुको समिति वनाई आयोगहरुमा विज्ञ व्यक्तिहरुको छनौट गर्ने व्यवस्था गर्ने ।
-निजामति कर्मचारीहरु,शिक्षक,प्राध्यापक,मजदुर संगठन दलीय संघसंगठनमा रहन पाउने व्यवस्था खारेज गरी राजनीतिक दलहरुको सदस्यता लिने कार्यमा प्रतिवन्ध लगाउने ।
-स्थानीय तहमा दलको आधारमा नभै स्वतन्त्र ढंगले निर्वाचित हुने व्यवस्था गर्ने ।
-वि.स.२०४६ पछिको महत्वपूर्ण पदमा रहनेहरुको सम्पत्ती छानविन गरी गैरकानूनी ढंगले आयआर्जन गरेको सम्पत्ती राष्ट्रियकरण गर्ने ।
-हालको निजामति कर्मचारीहरु एकतिहाईको संख्यामा घटाई धेरैजसो सरकारी काम अनलाइन मार्फत गर्ने व्यवस्था मिलाउने ।
-स्थानीय तहको प्रमुख पदमा दुई पटक भन्दा वढि हुन नपाउने प्रावधान भएजस्तै सांसद,मन्त्री र प्रधानमन्त्री पदमा दुईपटक भन्दा वढि हुन नपाउने व्यवस्था गर्ने ।
-वावुआमाको सम्पत्तिमा छोराछोरीलाई अंश दिने कानूनी व्यवस्था खारेज गरी वावुआमाको स्वच्छामा छोडिदिने ।
-समाजमागुण्डागर्दी, छाडातन्त्र, महिलाहिंसा, वलात्कार, चोरी,डकैती, कालावजारी, खाद्यान्नमा मिसावट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुनेलाई हदैसम्म जरिवाना र कैदको कानूनी व्यवस्था गर्ने ।
-यातायातमा सिण्डिकेट प्रणाली खारेज गर्ने । शहरमा सार्वजनिक यातायातमा देखिने अस्तव्यस्तततालाई हटाई सहज वनाउने ।
-सरकारी निकायमा स्वदेशमा उत्पादित खाद्य र अन्य प्रयोगमा आउने वस्तुहरुको उपभोग गर्न अनिवार्य गर्ने र सर्वसाधरणलाई पनि प्रयोग गर्नका लागि प्रोत्साहित गर्ने ।
-सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको सवालमा खोजी खाजी सरकारी.करण गर्ने ।
-पर्यटन विकासलाई उच्च प्राथमिक्ता दिएर वाटोघाटो र पूर्वाधारमा खर्च गरी पर्यटनको विकासमा ध्यान दिने
-जडिवुटीको प्रवद्र्धन गरी सवै नागरिकलाई जडिवुटीको प्रयोगवाट स्वस्थ्य वनाउन अभियान चलाउने ।
-स्वदेशी उद्योगधन्दाहरुको संरक्षण र प्रवद्र्धन गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाहरु खोल्ने ।
-दक्ष प्राविधिक स्वदेशमा नै वनाउने गरी त्यही किसिमको शिक्षा माध्यमिक देखि विश्वविद्यालय सम्म गर्ने व्यवस्था मिलाउने ।
-विद्युतीय वस,मोटरसाईकल संचालन गर्न आवश्यक योजना वनाई कार्यान्वयन गर्ने ।
-उपचारको नाममा राष्ट्रिय ढिकुटी खर्च गरेर विदेशमा उपचार गराउने व्यवस्थालाई पूर्ण खारेज गर्ने । सरकारी अस्पताललाई सुधारेर सवैको पहूँचमा उपचारको व्यवस्था गर्ने । आफ्नो नीजि सम्पत्तीले उपचार गर्न नसक्नेलाई मात्र उपचार निशुल्क गराउने व्यवस्था गर्ने ।
-रैथाने वालीहरुको उत्पादनमा जोड दिदै सवै सरकारी निकायको खाजा खाने क्याण्टिनमा यसको अनिवार्य व्यवस्था गर्ने । हाइव्रिड रोगको घर हो भने रैथाने औषधीय तत्वले भरिपूण खानेकुरा हो यो कुरा सवैले वुझौ ।
-जर्सी गाईको दुध स्वास्थ्य अनुकूल छैन विदेशमा यसलाई ए वान मिल्क भन्छ भने लोकल पहाडी गाईको दुधलाई ए टु मिल्क भनिन्छ । यसको दुध,दही,मोही र घिउ अमृत समान मानिन्छ । यसको मलमूत्रले खेती गर्दा खाने अन्न देखि तरकारी सवै स्वस्थ्यकर हुन्छ । यो कुरा गुगलमा पनि हेर्न वुभ्mन सकिन्छ । त्यसकारण लोकल पहाडे गाई पालनमा सरकारी निकायवाट सक्दो प्राथमिक्तामा राख्ने व्यवस्था गर्नुपर्छ ।

जहाँ ढुंगा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
जहाँ प्रत्येक झारपात र वुट्यानमा स्वस्थ्य वनाउने जडिवुटिको स्थान छ,
त्यो देश मेरो हो,त्यो देश मेरो नेपाल हो ।
हामी सवै सच्चिएर अगाढि वढौ, यसैमा नै हामी सवैको कल्याण छ ।

(लेखकले हाल विभिन्न हाम्रा कुरा जोगांउनुपर्छ भनी रैथाने प्रसारमा समेत लागिरहेका छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय