वन, वातावरण र जैविक विविधतामा दुई दशक बिताएका तिलक ढकालको परिचय यतिबेला रैथानेको पिताको रुपमा अगाडी बढिरहेको छ । ढकालले आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गर्दै रैथाने एग्री प्रडक्ट प्रा.लि.को सुरुवात गर्दैै रैथाने बालीहरुको प्रसार र प्रवद्र्धनमा लागिरहेका छन् । यतिबेला उनलाई रैथानेकै बजार र प्रसारमा भ्याईनभ्याई नै भएको छ । यो उनको सकारात्मक सोँच मात्र नभएर उनले आँफुले अनुभव सँगालेको क्षेत्रको रहर र जाँगरको प्रतिविम्व पनि हो । हाल रैथाने एग्री प्रडक्ट प्रा.लि.का समेत अध्यक्ष ढकाल खासगरी रैथाने बाली वस्तुहरुको पहिचान गर्ने, उत्पादन र विस्तार तथा सम्भावनाको अध्ययन र परामर्श दिने काममै निकै व्यस्त रहेका छन् । एग्रो टाइम्सका अशिम सापकोटाले उनै ढकालसँग पटक–पटक विभिन्न संचार माध्यममा गरीएका कुराकानीको संपादित अंशलाई यस एग्रो टाइम्स पत्रिकाको यस अंकको लागि तयार गरेका छन्, प्रस्तुत छ सोही सामाग्री :
रैथाने एग्री प्रडक्ट प्रा.लि.कसरी र किन जन्मियो ?
हामीले विभिन्न संघसंथहरुमा जोडिएर काम गर्ने क्रममा नेपालको साँच्चि नै जैविक विविधता लगायत नजिकबाट नेपाललाई चिन्ने अवसर पाएका थियौँ । हामीले स्वरोजगारलाई प्राथमिकता दिदैै वातावरणमैत्री तथा हरित उद्यम प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य लिइ अग्रसर भएर नै अगाडी बढेका हौँ । कतिपय रैथाने वस्तुहरु लोपोन्मुख हुँदै गएका छन् । त्यसको संरक्षण र प्रवर्द्धन पहिलो सर्त हुन आएको बेला हामीले रैथानको परिकल्पना स्वरुप कृषि, गैरकाष्ठ वन पैदावरको उत्पादन, संकलन, प्रशोधन तथा विक्रीवितरणको व्यवस्था गर्ने काम र बजारीकरणमा सहयोग गर्ने उद्धेश्य बोकेर नै अगाडी बढेका छौँ । रैथाने स्थानीय उत्पादनमात्र होइन बरु यो त स्थानीय कला, संस्कृति, सीप र बस्तु पनि हुन् त्यसैले हामी सबैले यसको संरक्षण र प्रवद्र्धन गर्न अगाडी बढेका छौँ ।
लोप भैसकेका यस्ता बाली बस्तु जोगाँउनु र प्रसार गर्दै व्यवसायिकरण गर्नु आजको आवश्यकता त पक्कै हो, तर पनि निकै चुनौती पनि छ नी यसलाई दिगो बनाउन ?
एकदमै राम्रो प्रश्न गर्नुृभयो, हामीलाई यो कुरा थाहा थियो, तर पनि गाउँको रैथाने खाना लोप हुँदैगएको र शहरमा पुरानो चिज खान पाए हुनेथियो भन्ने चाहना बढ्दै गएका उपभोक्ताहरु पनि विस्तारै भेटिन थालेका थिए, यहि अवस्थामा गाउँको वस्तुहरु शहरमा ल्याउन, उपभोक्तालाई शुद्ध प्रोटिनयुक्त खाना घर–घरमा पु¥याउने काम सम्भव छ र सम्भावना पनि बढ्छ भनेर नै हामीले यसरी अगाडी बढाएका हौँ रैथाने अभियानलाई । नेपालका विभिन्न जिल्लामा उत्पादिन रैथाने वस्तुलाई संकलन, प्रशोधन र प्याकेजिङ गर्दै शहरका उपभोक्तामाझ लग्ने काम हामीले गर्दै गर्दा अहिले हजारौँ हाम्रा लक्षित उपभोक्ताहरु निरन्तर यसरी नै यस्ता बालीहरुको प्रयोगको मात्रा बढाँउनुभएको छ । रैथाने उत्पादनको संरक्षण, रैथाने वस्तु उत्पादन र बजारीकरणका लागि समेत हामीले पुलको काम पनि गर्दै आएका छौँ, हामीले किसानलाई पनि राम्रो मुल्य दिएर अनी हाम्रा उपभोक्तालाई समेत सकेसम्म कम नाफा राखेर यस्ता बाली बस्तु सबैसामु पुर्याइरहेका छौँ, जुन प्रयास विस्तारै सफल बन्दैछ ।
यहाँहरुको अभियानले किसानहरुमा जागरण आएको छ त ? सरकारी निकायहरुबाट कत्तिको सहयोग पाँउनुभएको छ त ?
रैथाने संरक्षणमा जुटेका हामी सामुहिकरुपमा देशभरको रैथाने बस्तुको पहिचान र संरक्षण गर्नमा तल्लीन छौं । यसले मौलिक खाना र पर्यटन प्रबद्र्धनमा सहयोग गर्छ, साना किसान, ग्रामीण स्वरोजगार बनाउँन समेत सहयोग गरिरहेको छ । जलवायु परिवर्तन अनुकुलनका साथै कृषि जैबिक विविधता संरक्षणमा मद्धत गर्छ । किसानहरुमा यस्ता बालीहरुको बजार छैन् भन्ने खालको भ्रम थियो र बढी फलाउने होडबाजीमा विदेशी हाइब्रिड बिउ प्रयोग गर्न थालेको अवस्था थियो तर हामीले सहि मुल्यमा खरीद गर्ने विश्वासको वातावरण दिईसकेपछि विस्तारै रैथाने उत्पादनतर्फ उहाँहरु लागि रहनुभएको छ । स्थानीय, प्रदेश र संघीय सरकार र सहकारीहरुसँग हातेमालो गरेर रैथाने प्रजातिमा पर्ने बस्तुहरुका संरक्षण, प्रवद्र्धन र उत्पादनका लागि कृषकहरुलाई आवश्यक सीप र प्रविधि प्रसारमा लागिरहेका छौँ । रैथाने बस्तुहरु हाम्रा सम्पत्ति हुन् । यिनीहरुका संरक्षण हुन सकेमा हाम्रो पहिचान र ऐतिहासिकता कायम हुन सक्ने छन् । यसका निम्ति नीतिगत योजना र सचेतनाका लागि पैरवी आवश्यक कुरा हुन् भन्ने कुरा जनमानसमा पुर्याउनमै हामी तल्लिन छौँ ।
भनेपछि, बिउमाथीको परनिर्भरता र रैथाने बालीको दिगो संरक्षणको लागि समेत यहाँहरु संवाहक बन्दै हुनुहुन्छ ?
हामीले रैथाने वस्तुहरुको पहिचान गर्ने, उत्पादन र विस्तार तथा सम्भावनाको अध्ययन र परामर्श दिने काम गर्दै आएका छौँ । स्वरोजगारलाई प्राथमिकता दिदैै वातावरणमैत्री तथा हरित उद्यम प्रवद्र्धनमा टेवा गर्ने लक्ष्यसाथ अगाडि बढेको छौँ । ‘किसानले भित्तामा काँक्रोको विउ टाँसेर विउ जोगाउने चलन हराएको छ, अव हामी त्यस्ता स्थानीय उत्पादनको संरक्षणमा किसानसँगै छौ, रैथाने स्थानीय उत्पादन मात्र होइन, यो त स्थानीय कला, संस्कृति, सीप र बस्तु पनि हो । यसको संरक्षणमा हामी लामो समय संरक्षणकै क्षेत्रमा काम गरेका साथीहरु क्रियाशील छौं । बीउ नभए उन्नत पनि बन्दैन, हाईब्रिड पनि हुँदैन, सीप लोप हुँदै गएपछि आफ्नो मौलिकता हराउँछ, कृषि प्रणाली ध्वस्त हुन्छ त्यसैले कृषिमा समृद्धि ल्याउन स्थानीय उत्पादनलाई जोड दिनुपर्छ ।
खस्किँदो रैथाने खेतीलाई फेरी पहिलाजस्तै गरी देशैभर फैलाँउन सकिएला त ?
निकै अफ्ठेरो र अनुत्तरीत प्रश्न जस्तो लाग्छ यो, तर असम्भव अवश्य छैन्, अहिलेको हकमा हाम्रा धेरै चिज मासिईसकेको, हाम्रा सिपहरु हराईसकेका र आझेलमा पारिएको हुनाले अली कठिन पनि छ तर विस्तारै रैथाने बालीको महत्व, खाद्य सुरक्षा, पोषणदेखि स्वस्थ जीवनयापनसम्म छ भन्ने सबैलाई भान हुन थालेृको छ । उदाहरुणको लागि कोदोजन्य पदार्थमा कार्बोहाइड्रेटको अलावा प्रोटिन, फाइबर, भिटामिनको साथै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता पाइन्छ, जसले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नबाट बचाउन सक्ने र लागे पनि सन्तुलनमा राख्न मद्धत पुर्याउने बारे अध्ययनहरूले पुष्टि गरिसकेका छन् । स्थानीय उत्पादनले मुल्य पाउन बजार मुल्य बुझेर किसानलाई लाभ हुने गरी सहकारी, कम्पनी, किसानसँग सामुहिक बसेर मुल्य तय हुने गरी हामी अगाडी बढेका छौँ । विचौलियाका कारण किसानले मुल्य नपाएको अवस्थामा प्रत्यक्ष किसानसँग जोडिएर काम गर्दा रैथाने बस्तु जोगाउन किसानले उचित मुल्य पाउँदा किसान खुशी भएको र उपभोक्ता समेत सन्तुष्ट भैरहेकोले यसको बजार वृहत्तर बन्दैछ । स्थानीयहरुले उत्पादन गरेका रैथाने बस्तुहरुको खरिद गर्ने र सहरका बासिन्दाहरुलाई ताजा र पौष्टिक बस्तुका रुपमा खुवाउनका निम्ति हामीले रैथाने एग्रि प्रडक्ट्स प्रा.लि. सुरुवात गरी अगाडी बढेका हौँ । हामीले पछिल्लो समयमा रैथाने हाटबजारको विस्तारलाई समेत गती बढाईरहेका छौँ, यहाँहरु पनि विश्वस्त रहँनुस् कि यो अभियानले पक्कै सफलता हाँसिल गर्छ ।









