अहिले पनि हाम्रो मानसिकता भनेको कृषिमा आवद्ध हुनेहरु अध्ययन कम भएका, वेरोजगार, अन्य पेशा तथा व्यबसाय गर्न नसकेकाहरु भनेर बुझ्ने गरिन्छ । कृषि क्षेत्रलाई सम्मानित, आत्मनिर्भर तथा व्यवसायिक बनाउनको लागि कृषि क्षेत्रमा दक्षता हाँसिल गरेका जनशक्तिको विकास र परिचालन गर्नतर्फ राज्यको कदम अगाडि बढ्नुपर्छ । आधुनिक प्रणालीबाट बालीजन्य र पशुजन्य उत्पादनमा वृद्धि गर्न अध्ययन तथा अनुसन्धान गर्ने शिक्षालाई कृषि शिक्षा भनिन्छ । कृषि शिक्षाबाटै कृषिको विकासका लागि आवश्यक पर्ने विज्ञ उत्पादन गरिन्छ ।
नेपालमा कृषि शिक्षाको इतिहाँस र हालको अवस्था
सन् १९५७ अगाडि नेपालमा औपचारिक कृषि विषय अध्ययन अध्यापनको अवसर थिएन । केही कृषि क्षेत्रमा अन्य देशबाट अध्ययन गरेर आएकालाई छोड्ने हो भने नेपालमा कृषि अनुसन्धानकर्ता, संरक्षक वा विज्ञ किसान नै थिए भन्दा फरक पर्दैन ।
बि.स. २००७ मा देशमा प्रजातन्त्रको स्थापनासँगै ठूलो संख्यामा सरकारी जागिरको अवसर सृजना भयो । नेपालका धेरै जनसङ्ख्या कृषिमा नै निहित भएको अवस्थामा कृषि शिक्षाको महत्वको महसूस गर्दै बि.स. २०१४ मा पुल्चोकस्थित जगदम्बा भवनमा जेटीए तहको कोर्ष शुरू गरिएको थियो । बि.स. २०२५ मा कलेज अफ एग्रिकल्चरको स्थापना भएसँगै उक्त जेटीए कार्यक्रम दुईवर्षे कृषि आईएससीएजीमा रूपान्तरण भएको थियो । त्यसको करीब चार वर्षपछि उक्त कलेजलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रूपमा विकास गरी बीएससीएजी तहको पढाइ शुरुआत गरिएको देखिन्छ । बि.स. २०३१ मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाई चितवनको रामपुरमा स्थानान्तरण गरिएको थियो । त्यस्तैगरी बि.स. २०३२ मा लमजुङको सुन्दरबजार र बि.स. २०३५ मा रूपन्देहीको पक्लिहवामा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतका सहायक क्याम्पसहरूको स्थापना गरिएको देखिन्छ ।
नेपालमा कृषिको स्नातकोत्तर तहको पढाइ बि.स. २०५६ मा रामपुर क्याम्पसबाट शुरुआत भएको हो । त्यसयता विभिन्न समयमा नेपालमा कृषिको उच्च शिक्षा अध्ययन÷अध्यापन गराउन विभिन्न विश्वविद्यायलय अन्तर्गत धेरै वटा सरकारी, सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरू स्थापना भएका छन् । हाल नेपालमा पाँच वटा विश्वविद्यालय अन्तर्गतका २८ वटा सरकारी, निजी र सामुदायिक कलेजहरूले कृषि स्नातक तहको अध्ययन÷अध्यापन गराउँदै आएका छन् । नेपाल सरकारको संघीय नीति अनुरूप हाल सात वटै प्रदेशमा कृषि क्याम्पसहरू स्थापना भएका छन् । केही वर्षयता विभिन्न विश्वविद्यालय अन्तर्गत धेरै वटा सरकारी, निजी र सम्बन्धन प्राप्त क्याम्पसहरूको स्थापना भएसँगै नेपालमा कृषि स्नातक तहको अध्ययन गर्ने विद्यार्थीको संख्यामा पनी वृद्धि भएको देखिन्छ । भारतीय मूलका अभिजित वनर्जी र फ्रान्सेली मूलकी एस्थर डुफ्लोले आफ्नो पुस्तक ‘पुअर इकोनोमिक्स’मा अल्पविकसित मुलुकका विद्यालयले प्रायः आफ्नो भाषा र मौलिक पुस्तकको प्रयोग नगर्नाले उक्त देशहरूका विद्यालय असफल भएको बताएका छन् । उनले यस्तो शैक्षिक पद्धतिमा उत्पादित जनशक्तिले शिक्षाको महत्व बुझ्न नसक्ने र शिक्षालाई व्यवहारमा प्रयोग गर्न नसक्ने बताएका छन् । हाम्रो देशको कृषि शिक्षामा पनि बनर्जी दम्पतीले भनेको जस्तो असफल प्रयोग गरिएको छ । जसले गर्दा हाम्रो शिक्षाले आफ्नो कृषि बोलेको र बोकेको छैन । साथै विद्यार्थीमा नवप्रवर्तन र उद्यमशीलताको अवधारणा अझै विकास हुनसकेको छैन । अध्ययन सकेपछि उद्यमशीलता र व्यवसायमा लाग्नेको संख्या एकदमै न्यून छ । धेरैजसो विद्यार्थी देश छोड्न बाध्य छन् । हाल उत्पादित जनशक्तिको करीब आधा हिस्सा उच्च शिक्षाका निम्ति बाहिर जाने गरेको र एकदमै न्यून संख्यामा मात्र उक्त जनशक्ति अध्ययन सकेपछि आफ्नो देश फर्किने गरेको विभिन्न अध्ययन र तथ्याङ्कहरूले देखाएका छन् ।
विश्वका विभिन्न विश्वविद्यालयहरूबाट उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्कन चाहने जनशक्तिका लागि राज्यले उचित नीति बनाएर स्वदेशमै उक्त ज्ञान र सीपको प्रयोग गर्ने वातावरण निर्माण गर्न आवश्यक देखिन्छ । उच्च शिक्षा पूरा गरेपछि कृषि उद्यमी बन्न चाहनेलाई राज्यले प्रोत्साहन गर्दै सहुलियत दरमा सहज तवरले ऋण प्रवाह गर्न आवश्यक नीति बनाउनुपर्ने पनि देखिन्छ ।









