चर्चित

आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित
राष्ट्रिय खाद्य बैंक पब्लिक लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा  भक्तपुरमा सम्पन्न भएको छ । शेयर लगानीकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष डा. शंकरनाथ उप्रेतीले संस्थाको प्रगति तथा भविष्यका योजनाबारे जानकारी गराएका थिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि शिक्षाविद् केदारनाथ श्रेष्ठको उपस्थितिमा बोल्दै उप्रेतीले किसानको आलीदेखि उपभोक्ताको थालीसम्म भन्ने मूल नाराका साथ स्थापना भएको खाद्य बैंकले कृषि योग्य जमिनलाई चक्लाबन्दी गरी जीवन निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक रूपान्तरण गर्ने लक्ष्य लिएको बताए ।

उनका अनुसार संस्थामा हाल १,०२० जना शेयर सदस्य छन् र पुँजी एक अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७० करोड प्रमोटर र ३० करोड सर्वसाधारण शेयर निष्काशन गर्ने गरी ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता भइसकेको जानकारी उनले दिए ।

यसै क्रममा ललितपुरको एकान्तकुनास्थित ४.५ आना जग्गामा बनेको साढे तीन तले घर ५ करोड ५० लाख रुपैयाँमा खरिद गरी स्थायी केन्द्रीय कार्यालय निर्माण गरिएको पनि जानकारी दिइयो । तीन महिनाभित्र त्यहाँ कार्यालय स्थानान्तरण गरिनेछ ।

कार्यक्रममा विशेष अतिथि पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पोषणविद् डा. अरुणा उप्रेती, पूर्व भि.सी. कैलाशनाथ प्याकुरेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, प्राविधिक सन्तोष प्रसाईं, सन्दिप पौडेल, नेप्सेका पूर्व अध्यक्ष प्रा.डा. जीवनाथ धिताल र गुणस्तर विज्ञ डा. ईश्वर सुबेदीले विषयगत प्रस्तुति दिएका थिए ।

नयाँ सञ्चालक समिति

साधारण सभाले नयाँ ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ

अध्यक्ष : किशोर कुमार प्रधान

सञ्चालक सदस्य : प्रा.डा. भरत पहारी, प्रा.डा. मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा. हरिकृष्ण दहाल, सुर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल।त्यसैगरी संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीलाई बैंकको सिइओको जिम्मेवारी सुम्पिएको छ ।

आइपिओ प्रस्ताव पारित

सभाले सर्वसम्मत रूपमा कुल पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि गत महिनामै खाद्य बैंकले आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय