नजिकिदै गरेको धान बाली यामको लागि मुक्तिनाथ कृषि कम्पनीले उन्नत धान बीउ बजारीकरण गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उत्पादन तथा प्रशोधन गरेको उच्च गुणस्तरको राम धान तथा सावित्री धानलाई मुक्तिनाथ कृषि कम्पनीले बजारीकरण गर्ने भएको छ । कम्पनीले ८५ मेट्रिन टन राम धान र ३० मेट्रिक टन सावित्री धान बजारमा ल्याउने जानकारी कम्पनीका व्यवसाय विकास अधिकृत भुमि राज भण्डारीले दिएका छन् ।
धान नेपालको प्रमुख बाली अन्तर्गत पर्छ । नेपालभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइ हुने गरेको छ । धानको उत्पादकत्व वृद्धिमा कस्तो र कुन प्रकारको धान बाली बीउको प्रयोग निकै महत्वपुर्ण रहन्छ । जसमा उन्नत धानका बीउ उत्पादनमुखी रहेको छ ।
उक्त उन्नत धानका बीउ मुक्तिनाथ कृषि कम्पनीको कृषि स्रोत केन्द्रबाट प्राप्त गर्न सकिने दाबी कम्पनीका व्यवसाय विकास अधिकृत भुमि राज भण्डारी गर्छन् । राम तथा सावित्री धान मुक्तिनाथ कृषि कम्पनीको नेपालभर छरिएका कृषि स्रोत केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
आुधनिक कृषि सहकारी संस्था – चितवन, प्रदिप एन्ड जे.पी ट्रेडर – नवलपरासी, जय किसान एग्रो मार्ट एन्ड मेसिनरी – कपिलवस्तु, भण्डारी एग्रोभेट – पाल्पा, तमोर कृषि भण्डार- झापा, कृषक बीज भण्डार- पर्सा आदि केन्द्रबाट राम तथा सावित्री धानका बीउ किसानले सजिल्यै प्राप्त गर्न सक्नेछन् ।
उक्त उन्नत धानका बीउ तराई तथा भित्री मधेसका लागि अझ उचित हुने उनी बताउँछन् । मुक्तिनाथ कृषि कम्पनी र विश्वविद्यालयको यस अघि सम्झौता भएको थियो । जस अनुसार, कृषि क्षेत्रका विभिन्न पक्षको अध्ययन, अनुसन्धान तथा प्रसारमा दुई पक्षको समन्वय रहँदै आएको छ ।









