चर्चित

बागलुङ, २५ साउन । पछिल्लो समय कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यस पेसामा लागेका व्यवसायी संकटमा पर्न थालेका छन् ।

काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी संकटमा परेर व्यवसाय नै परिवर्तन गर्ने अवस्था आइलागेको टीकाबहादुर चुँदाराले बताए ।

१०-१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसा आफूले पनि सम्हालेको बताउने चुँदारा ६० वर्ष उमेर पुगुञ्जेलसम्म पनि यही पेसालाई निरन्तरता दिइरहेका छन् । यतिञ्जेलसम्म यही पेसाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकामा उनलाई चिन्ता लागेको छ ।

रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित गर्‍यो । दश पाथे काठको ठेकीमा घ्वार्र घ्वार्र गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थालेको छ । ठेकी र मदानीले दही मथेर मही पार्ने र घटघटी पिउने चलन पनि हराउँदै गएको छ ।

उनले बनाएका काठका सामग्री बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उनको भनाइ छ ।

दश पाथी जाने एउटा दारको ठेकोलाई रु १२ देखि १५ हजारसम्म पर्ने उनले बताए । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५-३० हजार रुपैयाँसम्म आम्दानी गर्ने चुँदारा पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउँछन् । अहिले मुस्किलले मासिक पाँच-सात हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उनले भने, ‘प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको दरबाङका व्यवसायी सन्तनाथ सुवेदीले बताए ।

विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायतका समान बनाउने गरेका चुँदाराले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय