चर्चित

नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई, भित्री मधेश, नदिका छेउ छाउमा र पहाडी ईलाकामा पनि गरम ओसिलो हावापानी हुने ठाउ“हरुमा केराको खेती सफलताका साथ गर्न सकिन्छ ।

केराले गरम ओसिलो हावापानी मन पराउछ । सरदर वार्षिक २०० देखि ५०० से.मी वर्षा हुने ठाउमा केरालाई सिंचाई वेगर पनि सफलताका साथ खेती गर्न सकिन्छ ।

बोट र फलको राम्रो विकासको लागि २५–२७० सेल्सियस तापक्रमा उपयुक्त मानिन्छ । तापनि १८० देखि ३०० सेल्सियस तापक्रममा केराको खेती सफलताका साथ गर्न सकिन्छ ।

बढी ठण्डी हुने तथा तुसारो पर्ने ठाउँमा केरा खेती सफल हुदैन । २१ डिग्री से. ग्रे. भन्दा कम तापक्रममा भएका वोटको वृद्धिमा अवरोध आउने, पात थोरै पलाउने तथा पसाउन ढिलो हुने हुन्छ । तर लामो समय सम्म १४ डिग्री से.गे्र. भन्दा पनि कम तापक्रम कायम रहेमा वोटलाई प्रतिकुल असर पर्दछ ।

ठण्डीको समयमा (मंसिर–माघ) प्रायः सवै क्याभेन्डिस समूहका केराका पात ठण्डीको कारणले मरेर डढेजस्तो भएका हुन्छन । उक्त समयमा पसाउन थालेका वोटहरू बीचैमा रोकिएर रहेका हुन्छन ठण्डीको समयमा वृद्धि रोकीएका बोटहरूले तापक्रम वढन थाले पछि पसाउन थाल्छ र चैत्र तिर गएर बिरूवामा नयाँ पालुवा पलाउन गर्छ । त्यसैले यस्ता ठाउँमा केराको खेती गर्दा चिसो मौसमा नपसाउने किसिमले अथवा जाडो सहन सक्ने जात लगाउनु पर्दछ । केरालाई घाम चाहिन्छ । बोट वलियो नहुने हुदा बढी हावाहुरी चल्ने ठाउँमा केरा खेती गर्नु हुदैन ।

उन्नत जातको तुलनमा स्थानिय जातहरू वढी कडा किसिमका हुने भएकाले पहाडी इलाकाहरूमा १६०० मीटर सम्मको उचाईमा सफलताका साथ स्थानीय जातका केराहरुको खेती गरेको पाइन्छ । केराको खेती प्रायः सवै किसिमको माटोमा गर्न सकिन्छ। तर बढी मलिलो जमिन, पानी नजम्न,े बढी प्राङ्गगारिक पदार्थ भएको र ५.५ देखि ६.५ पी. एच भएको माटो सर्वथा उपयुक्त मानिन्छ । सोडिएम क्लोराइड धेरै भएको माटो राम्रो हुदैन ।

अनुवंशीकता आधारमा हामीले प्रयोगमा ल्याएका प्रायः सवै जातहरू दुईवटा जंंगली जात मुसा एकुमिनाटा र मुसा वाल्विसियना बाट विकासित भएका छन् । हामीहरूले प्रयोगमा ल्याइएका जातहरू डिप्ल्वाइड, ट्रिप्लोवाइड र टेट्राप्लोवाइड हुन । यी मध्ये ट्रिप्लोवाइड ज्यादा प्रचलनमा आएको छन् । एकुमिनाटाका फलहरू स्वादिष्ट र गुलियो हुने हुदा पाकेका फलहरू डिर्जटको रूपमा खाइन्छन् । आज भोलि एकुमिनेटा र वाल्विसियनलाई संमिश्रण गरेर विभिन्न वर्णशंकर जातहरू निकालिएका छन् ।

नेपालमा लगाइने केराका जातहरुमा, विलियम हाईव्रिड, अष्टेलियन हाईव्रिड ,झापाली मालभोग, हरिछाल, ग्राण्ड नेने, जी नाईन, स्थानीय मालभोग, धुस्रे, मुग्रे आदि पर्दछन् । छोटो अवधिमा उत्पादन दिने भएको कारणले विलियम हाईव्रिड र झापाली मालमोग व्यवसायिक खेतीको लागि लोकप्रिय भएका छन् र व्यवसायीक केरा खेतीको ८०–९० प्रतिशत भाग यिनै जातले ढाकेको छ । नेपालको तराइ र भित्रि मधेशको जस्तो हावापानी भएको ठाउमा यी जातका केरालाई माघको तेस्रो सातापछि फाल्गुन १५ सम्म लगाएमा श्रावण–भाद्रमा केरा पसाई फलहरु लाग्दछन ।

ढिलो गरी लगाएमा, कम उमेरको विरmवा लगाएमा वा उपयुक्त वातावरण हुन नसकेमा फल पसाउने ढिला हुन गइ जाडोमा पर्न जान्छ फलस्वरूप उत्पादन रामो हुँदैन । दशै–तिहार पछि जाडोयाममा फल उत्पादन भएमा बजार गर्न समस्या हुन्छ र उचित मूल्य पाउन सकिदैन । काठमाण्डौको बजार अध्ययन गर्दा कार्तिक देखि माघ–फाल्गुन सम्म नेपालबाटै प्रशस्त मात्रामा बजारमा केरा आउने र बाकी समयमा भारतबाट केरा आउने गरेको पाइन्छ । केराको खपत गर्मी महिनामा बढी हुने हुदा लगभग ८० प्रतिशत कूल बजारको माग आयातित केराबाट हुने गर्दछ । यो लेखमा केरा उत्पादनका केही समस्यालाई विश्लेषण गरी समाधानका तरिकाहरु वर्णन गरिएको छ ।

सिजनल उत्पादनः विलियम हाईव्रिड, झापाली मालभोग, ग्राण्ड नेने र अष्ट्रेलियन हाईव्रिडजातका केराहरुमा साधारण तया भाद्र असोज पछि मात्र राम्रो फल उत्पादन हुन्छ । लगाइने कोथाको उमेर अबस्था, लगाउने समय र केराको जात ले केराको पसाउने समयमा फरक पार्दछ । लगाउने समय परिबर्तन गरेर र बिभीन्न उमेर अबस्थाका कोथाहरु प्रयोग गरेर केरा पसाउने समयमा नियन्त्रण राख्न सकिन्छ । जाडोयाममा चिसो र सुख्खाको कारणले गर्दा बोट तथा फलको बुद्धि रोकिन्छ । पातहरु सुक्ने वैलाउने हुन्छन् तसर्थ जाडोमा र जाडो पछिको गर्मीमा पसाएका केरामा फल उत्पादन राम्रो हुदैन ।

केरामा विभिन्न जातहरु लगाएर वाली व्यवस्थापन गरेमा बर्षेैभरि केरा उत्पादन भर्न सकिन्छ । सामान्यतः राम्रो व्यवस्थापन भएमा कोथाको उमेर सहित १ बर्षमा विलियम हाईव्रिड, झापाली मालभोग अष्ट्रेलियन हाईव्रिड, हरिछाल र ग्राण्ड नेने १५–२० महिनामा स्थानीय मालभोग र चिनिचम्पा १८ देखि २४ महिनामा रोवुस्टा जातमा फल उत्पादन हुने गर्दछ । तसर्थ बार्षिक क्यालेन्डर बनाएर बजारको माग अनुसार केरा उत्पादन गर्ने हो भने निम्न अनुसार केरा प्रसारण गर्नुपर्दछ ।

तराई र भित्री मधेशको जस्तो गरम तापक्रम हुने ठाउमा होचा जातका केरा (विलियम हाइव्रिड, अष्टे«लियन हाइव्रिड, झापाली मालभोग) लाई माघ १५ देखि फाल्गुण १५ भित्र प्रसारण गरेमा श्रावण–भाद्र मै पसाउने र आश्विन–कात्र्तिकमा फल उत्पादन हुन्छ तर मलजलको राम्रो व्यवस्था हुन नसकेमा जाडो महिनामा पसाउन गइ उत्पादनमा कमी आउँछ । यी जातहरुमा जाडो महिनामा पातहरू पहेंलिएर सुक्ने हुदा जाडो र जाडो पछि पसाएमा फल उत्पादन राम्रो हुँदैन । अग्ला जातहरू जसले ठन्डा र सुख्खा पनि सहन सक्छन् (चिनी चम्पा, पुभन, मालभोग) लाई बैशाख जेष्ठमा प्रसारण गरेमा जाडोयाममा पसाउने, चिसो र सुख्खाले असर नपु¥याउने हुँदा गर्मि समयमा फल उत्पादन गर्न सकिन्छ । यस्तै प्रकारले रोवुस्टा जातको केरा ढिलो बढ्ने र पसाउन धेरै समय लाग्ने हुदा जेठ असारमा लगाएको बिरूवा अर्को वर्षको जेठ–असारमा पसाउने हुँदा श्रावण भाद्रमा फल उत्पादन गर्न सकिन्छ ।

साधारणतया यी सबै जातमा श्रावण भाद्रमा नया कोथाहरू (बिरूवा) निस्कने हुदा विभिन्न महिनामा लगाउँदा कोथाको उमेर फरक परेको हुन्छ र लगाउने समयको पनि प्रभाव रहन्छ । वर्तमान स्थितिमा आश्विन देखि चैत्रसम्मको समयमा चितवन,नवलपरासी,कैलाली, कञ्चनपुर,झापा र मोरङ्ग वरपरका क्षेत्रमा प्रशस्त मात्रामा केराको उत्पादन भइ बजार नपाएको स्थिति छ भने वैशाखदेखि आश्विनसम्म बजारमा नेपालमा उत्पादित केरा अभाव हुने भएकोले भारतबाट आयातित केराले स्थान पाउने गरेको छ । कूल देशको स्थिति हेर्दा ८० % केरा भारतबाट आयात हुन्छ । हामीहरूले व्यवस्थित तरिकाले केरा उत्पादन गरेमा भारतबाट हुने आयातलाई रोक्नका साथै चाइना र तिब्बतमा केरा पैठारी गर्न सकिने प्रवल सम्भावना छ ।

बाली तथा मल व्यवस्थापन, लगाउने गानाको उमेर अवस्था, लगाउने तरिका सकर व्यवस्थापनले फल उत्पादनको समयमा केही हेरफेर हुन सक्दछ । केरालाई वानस्पतिक विधिबाट प्रजनन गरिन्छ । माउवोटको वरिपरि प्रशस्त साना बिरूवा उम्रने हुदा यी साना बिरूवाहरू जसलाई कोथा भनिन्छ त्यसको प्रयोग गरेर केरा प्रजनन गरिन्छ । सागुरो र चौडा पात भएका २ प्रकारका कोथाहरू हुन्छन् । सँगुरो पात भएका कोथाहरू पाट झट्ट हेर्दा तरवार जस्तो देखिने हुदा यिनीलाई तरवारेसरा भन्दछन । हलक्क वढ्ने प्रवृतिका, चौडा पात नभएका, साधारणतया ६० देखि १५० से.मि उचाइ भएका तथा करिव ४ महिना उमेरका तरवारेसरा प्रजननको लागि राम्रो मानिन्छ । पानी सरा का पातहरू फैलिएका र तेर्सो परिसक्केका हुन्छन, पातको आकार हेर्दा परिपक्क भएजस्तो देखिन्छ । यसप्रकारका बिरूवाहरू कमजोर खालको हुने र ढिलो फल दिने हुदा प्रजननका लागि राम्रो मानिदैन । अर्धवैसे बोट पनि प्रजननको लागि प्रयोग गरिन्छ तर लामो दुरी ढुवानीका निम्ति बढी वजन हुने हुदाँ यो खर्चिलो हुन्छ । अर्धवैसे होउन्जेल माउ बिरूवासगै हुर्काउँदा माउ बिरूवालाई समेत प्रतिकुल असर पर्न जान्छ । आजभोलि रोग मुक्त बिरूवाहरूको छोटो समयमा धेरै उत्पादन गर्न टिसु कल्चर प्रविधिलाई प्रचलनमा ल्याइएको छ । यो तरिकाले गानोको कोथामा वृद्धि भइरहेको टुसाबाट एकै पटकमा पशस्त बिरूवा उत्पादन गरिन्छ । यसरी उत्पादन गरिएका बिरूवाहरूलाई सिधै खेतमा सार्नु भन्दा पहिले नर्सरीमा सारेर अभ्यास गराउनु पर्दछ र हुर्केपछि मात्र वगैचामा लगाइन्छ ।

केरा लगाएको १०(१२ वर्ष सम्म कोथाबाट प्रसारण गरेर पनी राम्रो उत्पादन लिन सकिन्छ तर यसरि प्रसारण गर्दा रोग हरुपनि सर्ने डर हुन्छ टिसुकल्चर बाट उत्पादित बिरुवाहरु रोग रहित हुने हुँदा रोग सर्ने डर हुँदैन।

केरा लगाउने तरिकाः नेपालका विभिन्न ठाउ“हरुमा व्यवसायिक केरा खेती गर्ने कृषकहरुले १.५ देखि २× ह १.५ देखि २ मिटरको दुरीमा घना खेती गर्ने गरेको पाईएको छ । यसरी केरा लगाउ“दा तेस्रोे बर्षपछि रोग किराको बढी प्रकोप हुने र फलको उत्पादन र गुणस्तरमा ह्रास आउने गरेको पाइएको छ ।

केरा खंचुवा बाली हो । ५० टन फल उत्पादन हु“दा १०० किलोग्राम नाईट्रोजन, ११ किलो ग्राम फस्फोरस र २५० ग्राम पोटास खिचेर लैजान्छ । यसको साथसाथै माटोमा रहेका विभिन्न सुक्ष्म तत्वहरु जस्तै क्याल्सियम, म्याग्नेसियम जस्ता, तामा, बोरन, म्याङगानिस र मोलिब्डेनम पनि यथेष्ट मात्रामा सोसेर लैजान्छ । यसै कारणले गर्दा प्राङगारिक पदार्थ कम भएको ठाउ“मा अर्थात् प्राङगारिक पदार्थको प्रयोग नगरेको अवस्थामा माटोमा भएको तत्वहरुको संतुलन विग्रन गई तेस्रो बर्षपछि उत्पादनमा ह्रास हुन हुन्छ ।

वाक्लो गरी केरा लगाइएको ठाउ“मा नया“ विरुवाहरु सलक्क माथितिर बढ्ने र थाम मसिनो हुन जान्छ जसले गर्दा बोट कमजोर हुने र हावा हुरी आउ“दा सजिलैस“ग बोट ढल्ने गर्दछ । तसर्थ घना खेती गरिएको ठाउ“मा ३–४ बर्ष पछि बाली लिन उपयुक्त हु“दैन । एक दुई बर्ष अन्य वाली लगाएमा फेरी केरा खेती गर्न सकिन्छ । यदि दीर्घकाल सम्म केरा खेती गर्ने योजना गर्ने हो भने केरालाई बढी दुरीमा लगाएर व्यवस्थित रुपमा मलखाद तत्व उपलब्ध गराएमा एउटै बगैचामा २०–२५ बर्षसम्म पनि केरा खेती गर्न सकिन्छ ।

यसको निमित्त केरालाई लगाउ“दा दुई लाईन पद्दतिमा लगाउने । दुई लाईन पद्दतिमा दुईलाईन १ देखि १.२५ मिटरको दुरीमा लगाउने र ४ मिटर जग्गा छाडेर फेरी २ लाईन लगाउने र यसै क्रमले पूरा बगैचा लगाउने । विरुवा लगाउदा एउटै लाईनमा २÷२ वटा विरुवा ( ५० से.मी. दुरीमा) लाई एकै ठाउ“मा लगाएर अर्थात् विरुवा देखि विरुवाको दुरी घटाएर लगाउन सकिन्छ । लाईन बनाएर लगाउदा भित्रसम्म पनि प्रकाश जाओस् भन्ने हेतुले उत्तर दक्षिण गरेर लाईन बनाउनुपर्दछ । सकभर दुई लाईन बनाउदा एक आपसमा बोट आमने सामने नपर्ने गरि अन्तर गरेर त्रिकोण पद्धति अपनाइ लगाउन पर्दछ । यसरी बगैचा व्यवस्था गर्दा पनि घना खेतीमा जत्तिकै बोट लगाउन सकिन्छ । बीचमा अन्तरवाली लिन, टयक्टर लगाएर खनजोत गर्न सिंचाई गर्न, झार नियन्त्रण गर्न, फल उतपादन लिन, सजिलो र सस्तो पर्नुका साथै फलको गुणस्तर पनि उच्चस्तरको हुने गर्दछ । ४–५ बर्षपछि पुरै लाईनलाई हटाएर बीचको खाली ४ मिटर जग्गामा नया“ लाईन कायम गर्न पनि उपयुक्त हुन्छ । यसरी लाईनमा लगाइएका केरालाई थोपा सिंचाई पद्धति अपनाएर पानीमै मलखाद र तत्वहरु मिसाएर दिएमा बढी प्रभावकारी हुन जान्छ ।

केरालाई गाज–गाज पद्धति अपनाएर पनि खेती गर्न सकिन्छ । एउटै गा“जमा विभिन्न उमेर अवस्थाका गरी १२–१५ वटा विरुवा कायम गर्न सकिन्छ । गा“ज गरेर लगाउ“दा पनि लाईन बनाएर गाजहरु कायम गरी दुई लाईनको दुरी ४–६ मिटर कायम गर्नु पर्दछ । केराको बगैचाभित्र प्रकाश (घाम) पर्नु आवश्यक हुन्छ । त्यसकारण धेरै जग्गामा केरा खेती गर्दा घना गरेर केरा लगाउनु उपयुक्त हुदैन । केरालाई प्रसारण गर्दा तरवारे सकरलाई जमिनको सतह बराबरकोे भागबाट माथिको भागलाई काटेर हुटाउन पर्दछ र गानोलाई मात्र प्रसारण गर्न उपयुक्त हुन्छ । गानाहरु समान आकारका भएमा वगैचामा सवै बोटहरु एकनासका हुन्छन् र एकैपटक फल उत्पादन हुन्छ ।

मलखाद र सिंचाईः केराको विरुवालाई प्रशस्त मात्रामा मलखादको आवश्यकता पर्दछ । एउटा केराको वोटलाई सामान्यतः १५० देखि २५० ग्राम नाईट्रोजन, १००–१५० ग्राम फस्फोरस र १५० देखि २५० ग्राम पोटास तत्व प्रयोग गर्नुपर्दछ । ढिला गरी धेरै उत्पादन दिने रोवुस्टा जातमा यो मात्रालाई डबल गरेर हाल्नुपर्दछ । नाईट्रोजन सुरुमा डि.ए.पी. र विरुवा लगाई सकेपछि युरियाबाट प्रयोग गर्न सकिन्छ । युरियामा ४६ प्रतिशत नाईट्रोजन, डि.ए.पी.मा १८ प्रतिशत नाईट्रोजन र ४६ प्रतिशत फस्फरस म्युरेट अफ पोटासमा ६० प्रतिशत पोटास तत्व पाईने हु“दा हिसाव गरेर हाल्नुपर्दछ । नाईट्रोजन तत्व हावामा उडेर जाने, जमिनमा चुहेर जाने हु“दा २–३ पटक गरेर हाल्नुपर्दछ भने डि.ए.पी. र पोटासलाई सुरुमा राख्नुपर्दछ वा २ पटक गरेर राख्न पनि सकिन्छ ।

मल राखे पछि चिस्यानको आवश्यकता पर्ने हु“दा सिचाई गर्नुपर्दछ । सुख्खा र बढी चिसो अवस्थामा मलको प्रयोग गर्नु उपयुक्त हु“दैन । शुक्ष्म तत्वहरुको अभाव हुने अवस्था भएमा शुक्ष्म तत्वहरुको मिश्रण १०–१५ ग्राम प्रतिबोटको दरले हाल्नुपर्दछ । केराको विरुवाको बृद्धि र विकासको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ भने पानी जम्ने अवस्था भएमा केरामा रोगको प्रकोप हुने र एकैपटक सवै वगैचा ओइलाएर नष्ट हुन्छ । नाईट्रोजन तत्व कमी भएमा विरुवा ढिलो बढ्ने, पातको आकार सानो हुने, कोथाहरुको संख्यामा पनि कम मात्रामा हुने हुन्छ भने नाईट्रोजन बढी भएमा केराको बोट कमजोर हुने, बोट ढल्ने, फलको गुणस्तर कमसल खालको हुनुका साथै रोग अवरोध गर्ने क्षमता पनि कम हुन्छ ।

त्यस्तै गरी फस्फोरस तत्व कमी भएमा विरुवा ढिलो बढ्ने र बढी भएमा कोशाहरु बा“गिने बटारिने गर्दछ । पोटास तत्व कमी भएमा विरुवा कमजोर हुने, रोग र किराको प्रकोप बढी हुने, कोशाको संख्या कम लाग्ने, हाताहरु टाढा टाढा लाग्ने कोसाको आकार सानो र कोसाहरु कमजोर भई फुट्ने र सजिलै भा“चिने हुन्छन् । पोटास मलको प्रयोगले बोट बलियो हुन्छ । रोग अवरोध गर्ने क्षमता बढ्छ, प्रशस्त कोशाहरु लाग्दछन् । कोशाहरुको गुणस्तर राम्रो हुन्छ र कोशाहरुको भण्डारण र क्षमता बढी हुन्छ । शुक्ष्म तत्वहरु मध्ये म्याग्नेसियम तथा फलाम कमी भएमा पातको रंग गाढा हरियो नभई पोषण तत्व नपुगे जस्तो हुन्छ । जस्ता, वोरन, म्याग्नेसियम, म्यांगानिज कम भएमा विरुवाको वृद्धि रोकिने, पातहरु साना र गुजुमुजु हुने र वन्ची टप जस्तो समस्या बढी हुन्छ । डबल लाईन पद्धतिमा हरियो मल, कोषेवाली लगाएमा माटोको गुणस्तर कायम राख्न मद्धत पुग्दछ ।

बगैचा व्यवस्थापनः केराको बगैचालाई सफा सुग्घर र झारमुक्त राख्नुपर्दछ । लत्रेका, पहेला र रोग लागेका पातहरुलाई हटाई रहनुपर्दछ । पातहरु हटाउदा माथिल्लो पातलाई बोटमै करिब आधा फिट जति डाठ छाडेर छुटाउनु पर्दछ । यदि फेदबाट हटाएमा छिटै नै अर्को पात भाचिने गर्दछ । कोथाहरुले माउबोट संग खाद्यतत्वको लागि प्रतिस्पर्धा गर्ने हुदा अनाबश्यक कोथाहरुलाई समय समयमा जमिनको सतहबाट नै काटेर हटाउनुपर्ने हुन्छ । केराको फल उत्पादन लिएपछि मात्र छनौट गरिएका कोथाहरु लाई बढ्न दिनुपर्दछ । केराको फल लागिरहेको वेला कोथाहरु खनेर निकाल्नु हुदैन । फल उत्पादन लिएपछि मात्र अनाबश्यक कोथाहरुलाइ हटाउनु पर्दछ । केरा पसाएको बेलामा कोथाहरु निकाल्दा जराहरु खलबलिन गई जमिनबाट खाद्यतत्व लिनमा अवरोध हुन गई उत्पादन कम हुनुका साथै बोटहरु ढल्ने समस्या हुन जान्छ । केरा पसाई सकेपछि बुङ्गोलाइ ६–७ से.मी. डाठ छोडेर काटेर हटाउनु पर्दछ ।

बुङ्गोको बोटमा कुनै उपयोगिता नहुने र उल्टै यसले खाद्य पदार्थ खपत गर्ने हुदा फल उत्पादनमा नकारात्मक असर गर्दछ । फलका टुप्पामा रहेका काला, सुकेका फूलका भागलाई नरम ब्रसले अर्थात् कुचो अर्थात् हातले नै मसारेर हटाउन पर्दछ । बढी हावाहुरी चल्ने ठाउमा बढी उत्पादन हुने जातहरुमा अनिवार्य रुपमा टेका लगाउनु पर्दछ अन्यथा केरा ढल्ने समस्या हुन्छ । लाईनमा लगाएको केरालाई माथिबाट तार टागेर त्यसमा बाधेर पनि ढल्नबाट बचाउन सकिन्छ । हावा आउने ठाउतिर ठूला वृक्ष लगाएर पनि हावाहुरीबाट हुने क्षति कम गर्न सकिन्छ । कम उत्पादन दिने होचा जातहरुमा माटोको उकेरा दिएर पनि ढल्न कम गर्न सकिन्छ ।

बाली उत्पादनः केरा पसाएपछि फल परिपक्व हुन लाग्ने समय हावापानी र तापक्रममा भर पर्दछ । गर्मी महिनामा पसाएको २ महिनामै केरा उत्पादन लिन तैयार हुन्छ भने जाडो समयमा ४–५ महिना लाग्दछ । केरालाई कोसाहरु पुष्ट भएपछि बाली उत्पादन लिनुपर्दछ । बढी समय बगैचामा रहन दिएमा फलहरु फुट्ने समस्या हुन्छ र बढी छिप्पिएका फलहरु ढुवानी गर्दा टुटफुट र क्षति पनि बढी हुन्छ । विहानमा केरा उत्पादन लिदा बढी चोप निस्कने, फल टुट फुट बढी हुने हुदा मध्यान्ह पछि उत्पादन लिनु राम्रो हुन्छ ।

केराको घरि काट्दा सुखा मौसममा केराको बोटलाई आधा काटेर आधाभाग त्यतिकै बगैचामा छाडेमा पुरानो बोटले नया बोटलाई तत्व एवं पानी उपलब्ध गराउने हुदा नया विरुवाको बृद्धि राम्रो हुन्छ । तर बर्षायाममा भने पुरानो बोटलाई फेदैबाट हटाउनु पर्दछ किनकी पुरानो थम्बाले गवारो किरालाई आश्रय दिनुका साथै रोगको प्रकोप पनि बढी हुन्छ । फल उत्पादन लिंदा फलमा घाउचोट लाग्नु हुदैन । सानो तिना घाउचोट सुरुमा नदेखिए पनि केरा पाक्ने बेलामा देखिने, चाडै पाक्ने र कुहिने हुन्छ । घाउचोट लागेको केरालाई भण्डारण गरेर राख्न वा टाढासम्म ढुवानीर्गन सकीदैन ।

यदि केरालाई अरु देशमा पैठारी गर्ने हो भने अर्थात् राम्रो व्यवस्थापनले बजार गर्नुपर्ने हो भने फलहरुलाई ग्रेडिङ्ग गरेर ठूला साना फलहरुलाई अलग अलग गर्नु पर्दछ । निर्यात गरिने फलहरुलाई काट्नासाथ बेनोमाईल नाम औषधिले उपचार गरेर सफा गरी ओवानो गराएर ५–१० के.जी. का प्याकहरु बनाउनु पर्दछ । केरालाई १३० से.ग्रे. भन्दा कम तापक्रममा भण्डारण गर्न सकिदैन साधारणतया १३–१५० से.ग्रे. को तापक्रममा केरालाई भण्डारण र ढुवानी गर्नुपर्दछ ।

फल पकाउनेः केरा सामान्यतः २५० से.ग्रे. भन्दा बढी तापक्रममा आफै पाक्दछ । जाडो मौसममा र ठण्डा तापक्रममा केरा आफै नपाक्ने हुदा“ पकाउनु पर्ने हुन्छ । बजारमा क्याल्सियम कार्वाइडको प्रयोग गरेर केरा पकाउने गरेको पाईन्छ । यो रसायन विषालु हुने हुदा“ यसको प्रयोग गर्नु हुदैन । सवभन्दा उत्तम तरिका त बन्द कोठामा केरा राखेर टिनको भाडोमा काठको धुलो वालेर १२–३६ घण्टा सम्म राखेमा केरा पाक्न सुरु गर्दछ । केरा अलि अलि पाक्न सुरु गरेपछि वाहिर निकाली खुल्ला ठाउ“मा राखेमा क्रमिक रुपमा केरा पाक्दछ । गाउ“घरमा अलकत्रका ड्रम वा काला प्लाष्टिकका ड्रमभित्र परालमा केरा राखेर दिनभर पारिलो घाममा राख्ने र राती पराल वा कम्मलले छोपीदिनाले पनि केरा पकाउन सकिन्छ । रसायनिक विधिमा इथेरल÷क्रिपन औषधिमा इथाइलिन भन्ने तत्व पाईने हुदा“ ५०० पि.पि.एम इथाइलिन प्रयोग गरेर पनि केरा पकाउन सकिन्छ ।

प्रा.डा.दुर्गामणि गौतम । यो लेख चितवनमा र नवलपरासीमा अनुसन्धानका आधारमा लेखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय