चर्चित

जल, जमिन, जंगल, जडीबुटी, लगायतका नेपालका अमूल्य सम्पदा जस्ता उपलब्ध स्रोतहरूको सहि सदुपयोग हुन सकेको छै् । बनष्पतिका जानकारहरुका अनुसार नेपालको कुल भूभागको ४४.७४ प्रतिशत ओगटेको वन क्षेत्रमा कुनै न कुनै प्रकारका औषधिजन्य एवं उपयोगी वनस्पतिहरू पाइन्छन् ।

जैविक विविधताको हिसाबले नेपालमा ११८ प्रकारका परिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पति वर्ग, ११ हजार ९७१ वनस्पति प्रजाती भएकोमा करिब ७०० प्रकारका त औषधिजन्य जडीबुटीहरू रहेका छन् ।

भनिन्छ, हरेक वनस्पतिमा कुनै न कुनै औषधिय गुण तथा उपयोगिता रहेकै हुन्छ । त्यसको उपयोग कसरी भइरहेको छ त ? साँच्चीकै नेपालको जडीबुटीजन्य वनस्पतिबाट समृद्धि सम्भव छ र ? जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदानलाई कसरी बढाउन सकिन्छ भनी हामीले जडिबुटीमा २ दशकदेखी लागिरहेका जडिबुटी उत्पादक तथा निर्यातकर्ता जडिबुटी व्यवसायी संघ नेपालका समेत अध्यक्ष बिष्णु भण्डारीसँग जडिबुटी संवाद गरेका छौँ, प्रस्तुत छ सोही कुराकानीको संपादित अंश

नेपालमा जडिबुटीको अवस्था कस्तो छ ?
भौगोलिक र जलवायु विविधताले गर्दा नेपालमा जैविक विविधता सम्भव भएको हो । नेपालको हिमाली क्षेत्रका जडीबुटीमा अन्य देशहरूको भन्दा विशेष औषधिय गुण रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । हाम्रो ठाँउमा विभिन्न बहुमूल्य जडीबुटी छन्, यिनको संरक्षण गर्दै रणनीतिक योजनाका साथ दिगो उपयोग र आर्थिक उपार्जनमा लाग्न ढिला गर्नु हुँदैन ।

अध्ययन, अनुसन्धान बौद्धिक विलासिताका लागि भन्दा पनि उपयोगितामा केन्द्रित गरौँ । पछिल्लो समयमा यसको विस्तार र प्रवद्र्धन गर्न धेरै व्यवसायीहरु लाग्नु पनि भएको छ । केही निती तथा निर्यातमा समेत बेला–बेला समस्या आँउने हुनाले व्यावसायीहरु हतोत्सहित समेत बन्ने गरेका छन्, तर यसलाई राज्यले संवोधन गर्दै अफ्ठेरा अड्चनहरुलाई सहजीकरण गरीदिनुपर्छ ।

त्यसो भए जडीबुटीको प्रवद्र्धन र विस्तारको लागि के गर्नुपर्ला त ?
विश्वमा जडीबुटीको व्यापार हेर्ने हो भने सन् २०१९ मा ८३ अर्ब अमेरीकी डलर भएकोमा सन् २०३० सम्ममा वार्षिक १९ प्रतिशतको वृद्धि भई ५ सय ५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसमा नेपालको हिस्सा नगन्य छ तर उत्पादन गर्न सकेमा हामीलाई बजारको खाँचो छँदै छैन भन्ने बलियो आधार हो यो ।

जडीबुटीको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरू नभएका पनि हैनन् । विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू र विभागहरूले कुनै न कुनै रुपमा अनुसन्धान र विकासका कार्यहरू संचालन गर्दै आएका पनि छन्, यो अवश्य अपुग छ ।

जडीबुटी खेतीका लागि नेपालको पश्चिमी क्षेत्रहरूमा पकेट क्षेत्रको निर्धारण, कृषकलाई अनुदान वितरण र जडीबुटी बिमाको सुरुवात गत वर्षदेखि थालिएको छ तर परिणाम अझै पनि अपेक्षाकृत छैन । व्यवसायिक जडीबुटी खेतीको सुरुआत भने हुन थालेको छ । विभिन्न ठाँउमा जडीबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको प्रशोधनका ठूला उपकरणहरू देख्न सकिन्छ ।

विभिन्न देशहरुबाट नेपालका जडीबुटीको नै माग भए पनि भनेजस्तो निर्यात चाँहि किन गर्न सकिएको छैन ?
निकै राम्रो प्रश्न गर्नुभयो, नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले अर्गानिक (जैविक) प्रकृतिका पनि हुन्छन् । जंगलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्गानिक नै ठहरिन्छन् । अहिले विश्व जैविक उत्पादनको उपयोगमा लालायित भएकोले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षण भएको पाइन्छ ।

जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन् । उदाहरणको लागि इन्डोनेसियाले सितल चिनीको बोक्रा, पात, फल, बिउ, आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाई ब्राण्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायोप्रोस्पेक्टिङको सम्भावना त छ नै, साथै नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्राण्डले गर्दा तुलनात्मक लाभ पाउन सक्ने प्रचुर अवसर पनि छ ।

यति धेरै सम्भावना भन्नुभयो, तर तुलनात्मक रुपमा हामीले लाभ चाँहि किन लिन सकेनौँ त ?
विडम्बना नै भन्नुपर्छ, खेती विस्तार हुन नसक्दा नेपालमा जडीबुटीको यथेष्ठ मात्रामा उत्पादन हुन सकेको छैन, अझै पनि जंगलकै भर हो । एकातर्फ नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जंगली बास स्थानबाट संकलन हुने गर्दछ भने अर्कोतर्फ भएको जडीबुटी पनि बिना प्रशोधन, कम मुल्यमै समेत निर्यात हुने गरेको छ । नेपालका जडीबुटी बहुमूल्य छन् तर प्रशोधन तथा मूल्य अभिवृद्धि नगरी बजारमा लैजाने हो भने हामीले पाउने मूल्य नगन्य नै हुन आउँछ ।

त्यसो भए यसको भरपर्दो समाधान के त ?
यसको एकमात्र पहिलो उपाय भनेको प्रशोधन गरी हाई भ्यालु प्रोडक्ट बनाएर बेच्नु नै हो । जबसम्म हामीले जडीबुटीबाट आफ्नै प्रोडक्टहरू बनाएर ब्राण्डिङ गरी बेच्न सक्दैनौँ तबसम्म जडीबुटीबाट समृद्धि नारामा मात्र सीमित रहन्छ र रहिरहनेछ । जडीबुटीमा भएका विभिन्न गुणहरूको खोज र अनुसन्धानको विषय महत्वपूर्ण त छ नै यसको अर्को अपरिहार्य पक्ष भनेको भएका अध्ययन अनुसन्धानको उपयोग तथा ज्ञान र सीपको व्यवसायीकरण हो ।

हामीले प्राकृतिक रुपमा पाइने मात्र जडिबुटीको निर्भर नपरी विभिन्न खेती प्रविधिमार्फत जडिबुटीको उत्पादन बढाएर मूल्य अभिवृद्धि गरी बजारमा पठाउन सकेमा अवश्य सफल बन्न सकिने आधार भेटिन्छ । नेपाल अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको केन्द्रका रुपमा विकसित भई समृद्धिको यात्रामा लम्कन ढिला गर्नुहुँदैन । हामीले जडीबुटीबाट आफ्नै प्रोडक्टहरू बनाएर ब्राण्डिङ गरी बेच्न सक्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय