चर्चित

भक्तपुर, १० भदौ । देशमा रोजगारी नभएको भन्दै परदेश जानेको संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या साढे ७ लाख रहेको छ ।

विदेश जानकै लागि दौडधुप गर्नेको लर्को एकातिर छ भने अर्कोतिर देशमै जागिर खाएर बस्ने सपना बोकेका पनि हजारौँ छन् । स्वदेशमै सरकारी जागिर खानका लागि युवायुवतीहरूले कडा परिश्रम गरिरहेका छन् ।

तर, कसैले भने भएको सरकारी जागिर नै त्यागेर आफ्नै व्यवसाय पनि गरिरहेका छन् । तिनैमध्येका एक हुन्, भक्तपुरको सूर्यविनायक – १० का टीकाकुमार श्रेष्ठ । श्रेष्ठले झण्डै १८ वर्ष नेपाली सेनामा सेवा गरी सेनाको जागिर छाडे ।

विदेश गएर एकैचोटि टन्नै पैसा कमाऊँला भनेर छँदाखाँदाको नेपाली सेनाको जागिर छाड्नुपरेको श्रेष्ठले सुनाए । छोराछोरी हुर्किँदै जाँदा उनीहरूको भविष्यका लागि पनि सोचेर विदेश जाने सपना बुनेको उनले बताए । जसमा उनकी श्रीमतीले पनि साथ दिइन् ।

हुँदाखाँदाको सरकारी जागिर छाड्दा पनि छोराछोरीको भविष्य सोचेर सहमति जनाएको श्रेष्ठकी श्रीमती बताउँछिन् । तर श्रेष्ठको विदेश जाने सपना भने पूरा भएन ।

विदेश जाँदा दलालले ठगेपछि कृषि व्यवसायमा हात हाले

श्रेष्ठले विदेश जानका लागि भन्दै २०७२ सालको माघमा जागिरबाट राजीनामा दिए । त्यसपछि उनी विदेश जाने तयारीमा लागे । विदेश जानका लागि आवश्यक प्रक्रिया पूरा गर्नका लागि उनको भेट एकजना दलालसँग हुन्छ । दलालले उनलाई विदेश उडाइछाड्ने आश्वासन दिन्छन् । श्रेष्ठले पनि उनलाई केही पैसा बुझाउँछन् । तर उनले दिएको आश्वासन कहिल्यै पूरा हुँदैन । ती दलालले श्रेष्ठलाई ठगेर हिँड्छन् ।

जुन सपना बोकेर हुँदाखाँदाको जागिर छाडेका थिए, त्यही सपना पूरा नहुने भएपछि श्रेष्ठको मनमा चिसो पस्छ । उनले त्यसपछि विदेश नजाने अठोट लिन्छन् ।

तर उनले त्यसबीचमा केही गर्न सकेका हुँदैनन् । दोलखामा जन्मिएका श्रेष्ठ लामो समय बेरोजगार हुन्छन् । आफूले बुनेका योजना असफल भएपछि निराश बनेका श्रेष्ठ बिस्तारै आफूलाई बाउबाजेको पेशातर्फ डोर्‍याउँछन् ।

जसका लागि उनी ३ वर्षअघि मात्र भक्तपुर आए । भक्तपुरमा अहिले उनी खेतीपातीको काममा व्यस्त छन् । अहिले उनलाई भ्याइनभ्याइ छ । एग्रोटाइम्सले उनीसँग कुरा गर्न जाँदा पनि उनी बारीमै व्यस्त थिए । अहिले बारीमा गोलभेँडासँगै काँक्रा र सीमी लगाएका उनलाई विषादी छर्न भ्याइनभ्याइ छ । श्रेष्ठले भक्तपुरको सूर्यविनायकमा १० रोपनी जग्गा भाडामा लिएर ३ वर्षदेखि खेतीपाती गर्दै आएका छन् । एक रोपनीको भाडा वार्षिक २० हजार रुपैयाँ छ । सबै जग्गाको गरेर उनले वार्षिक २ लाख रुपैयाँ त जग्गाको मात्रै भाडा तिर्ने गरेको बताए ।

सेनामा हुँदा हातहतियार चलाए, अहिले कृषि औजार चलाउँछन्

सेनाको जागिर छाडेर आएको ६ वर्षपछि मात्र श्रेष्ठले व्यावसायिक रूपमा खेती सुरु गरेका हुन् । उनले शैलुङेश्वरी कृषि फार्म दर्ता गरेका छन् । उनलाई कृषि फर्म सञ्चालनमा श्रीमतीले साथ दिएकी छिन् । छोरी स्कुल पढ्छिन् । आफू बिहान ७ बजेदेखि काममा खट्छन् ।

खेती गर्नका लागि उनले भक्तपुरमा जग्गा भाडामा लिएर टमाटर, काउली, भिण्डी, बोडी, खुर्सानी र काँक्रालगायतका तरकारी खेती सुरु गरेका हुन् ।

सेनामा हुँदा हातहतियार चलाउन सिकेका उनी हाल कृषि कृषि औजार चलाउँदै बिरुवा गोडमेल र स्याहारसुसारको काममा तल्लीन हुन्छन् ।

व्यावसायिक कृषिबाट उनले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । सानो उमेरमा देशको सेवा गर्ने सपना बोकेका उनले सेना बन्ने सपना पूरा गरेर सैनिक जीवनबाट अवकाश लिँदै खेती गरेर फेरि पनि देशकै सेवा गरिरहेका छन् ।

तर उनले त्यसबीचमा केही गर्न सकेका हुँदैनन् । दोलखामा जन्मिएका श्रेष्ठ लामो समय बेरोजगार हुन्छन् । आफूले बुनेका योजना असफल भएपछि निराश बनेका श्रेष्ठ बिस्तारै आफूलाई बाउबाजेको पेशातर्फ डोर्‍याउँछन् ।

‘पहिले पनि सेवा गरेँ, अहिले पनि सेवा नै गरिरहेको छु ।’ उनले भने, ‘राज्यका लागि वस्तु तथा सेवाको उत्पादनले निकै ठूलो महत्त्व राख्छ । देशको समृद्धिका लागि हरेक नागरिक उत्पादनसँग जोडिनै पर्छ । यसकारण अहिले म उत्पादनसँग जोडिएको छु ।’

हाल १० रोपनी जग्गामा टमाटार, काउली, करेला, भिण्डी, बोडी, काँक्रा, धनिया र खुर्सालीलगायत मौसमी तथा बेमौसमी बाली लगाउने गरेका छन् । श्रेष्ठसँग हाल १७ वटा टनेल छन् । जसमा गोलभेँडा र काँक्रो उत्पादन भइरहेको छ । अहिलेसम्म १ हजार १ सय क्रेट गोलभेँडा बिक्री गरिसकेको उनले बताए । एउटा क्रेटमा २३ किलो गोलभेँडा हुन्छ ।

सुरुमा गोलभेँडा निकै घाटा भएको उनको भनाइ छ । जेठतिर उनले १ सय ८० रुपैयाँ प्रतिक्रेट बेच्नुपरेको दुस्ख सुनाए । तर साउनदेखि गोलभेँडाको भाउ बढेपछि भने औषतमा ४०४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनको भनाइ छ । कुनैबेला त ७० रुपैयाँ प्रतिकिलोमा पनि गोलभेँडा बेचेको उनी बताउँछन् ।

खेतीकिसानी गर्दा बेलाबेलामा समस्या आउँदा किसानले निकै ठद्वो क्षति बेहोर्दा पनि राज्यले किसानलाई उपेक्षा गर्दा निकै दुस्ख लाग्ने श्रेष्ठ बताउँछन् । मलको समस्याका साथै ज्यालादारीमा काम गर्ने कामदारको पनि अभाव नै रहेको उनको अनुभव छ । जसले गर्दा पनि उत्पादनमा वृद्धि हुन नसकेको श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय