हेटौँडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीकी सरिता घलान अहिले उमेरले ३ दशक पनि कटेकी छैनन् ।
तर उनको हातका औँलामा ठेला उठेका छन् ।
बूढीऔँलामा साह्रो भएर उठेका ठेला अचेल पहिलेजसरी दुख्दैनन्। चिमोटे पनि थाहा नहुनेगरी मासु मरिसकेका छन् ।
बिहान ३ बजेदेखि गोठमा व्यस्त हुने घलानका हातमा उठेका ठेला गोठमा गरेको कडा परिश्रमको उपज हो ।
गोठमा भएका ५२ वटा गाई दुहुने जिम्मेवारी २८ वर्षकी सरिता एक्लैको काँधमा छ । जुन काम भ्याउन उनी हरेक दिन बिहान ३ बजे नै उठ्छिन् । नित्यकर्म सकेर उनी सवा ३ बजेतिर दूध दुहुने बाल्टिन र दूध जम्मा गर्ने ठूलो क्यान लिएर गाईगोठमा पस्छिन् । सबै (५२ वटा) गाईको दूध दाेहिसक्न सरितालाई २ देखि ३ घण्टासम्म लाग्छ।
‘कोही बेलामा त अघिल्लो दिन गरेको कामहरुले नै थकाइ लागिरहेको हुन्छ। निन्द्राले भुल्दै दुहुन परेको बेलाचाहिँ ३ घण्टाभन्दा धेरै समय लाग्छ।’ उनी भन्छिन् ।
एक खेपमा मात्रै सरिता १ सय ८० लिटरभन्दा धेरै दूध एक्लै दुहुन्छिन् । बिहानभन्दा बेलुका दूध दुहुन केही सहज हुने सरिताको अनुभव छ।
संयुक्त परिवार रहेको घरकी सरिता कान्छी बुहारी हुन्। ‘घरमा सासू-सुसरा, जेठाजु-जेठानी, दिदी-भिनाजु सबै जना छन्। तर दूध दुहुन सबैजनालाई आउँदैन। अरु काम हामी सबैले गर्छौं। दूध बुहारीले नै छिटो दुहुन्छिन्। त्यही भएर दूध दुहुने काम भने उनैको जस्तै भइरहेको छ’, सरिताकी सासू सुस्मिता पाख्रिनले भनिन्। कुनै दिन सरिता बिरामी भइन् भने दूध दुहुन परिवारका सदस्य मिलेर दुहुँदा पनि ३/४ घण्टा लाग्ने सुस्मिता बताउँछिन्।
सरितासँग अहिले गाई थप्दाथप्दै ५२ वटा भएका छन्।
उनका अनुसार केही दिनअघि मात्रै उनको गोठमा तीनवटा गाई लम्पी स्किन रोग लागेर मरे । उत्पादित दूध हेटौंडा बजारमा ल्याएर सरिताको परिवारले डेरी सञ्चालन गरिरहेको छ । उनको परिवारले मासिक ४ देखि ५ लाखसम्मको दूध बिक्री गर्ने गरेका छन्। त्यसबापत गाईलाई हुने खर्च कटाएर मासिक २ लाखभन्दा बढी रकम फाइदा बस्ने गरेको सुस्मिताको भनाइ छ।









