केशव पन्त, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावापानी भएको ठाउँ हो । यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुका साथै निकै रसिलो र मीठो हुन्छ । स्वादका साथै ताजगीका कारण पनि मुस्ताङमा उत्पादन भएको स्याउ काश्मीरी र चिनियाँको तुलनामा विस्तारै ग्राहकको रोजाइमा पर्न थालेसँगै पछिल्लो समय यहाँ स्याउ खेती विस्तार हुँदै गएको छ ।
यहाँ आफूले खानका लागि स्याउ खेती हुने गरेको भए पनि व्यावसायिक रूपमा खेती हुन थालेको भने धेरै भएको छैन । स्याउ उत्पादन र बिक्रीवितरण गरी जीविकोपार्जन चलाउने आधार मात्र नबनाएर अब मुस्ताङमा व्यावसायिक रूपमा नै ठूलो परिमाणमा स्याउ खेती गर्न थालिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका ४ ढुम्बाका कर्म गुरुङले अहिले ठूलो परिमाणमा उत्पादन लिनेगरी स्याउ खेती गर्दै आएका छन् । गुरुङले आधा दर्जनभन्दा बढी ठाउँमा करिब ६ सय रोपनी क्षेत्रफलमा स्याउ खेती गर्दै आएका छन् ।
गुरुङका बुवाले करिब ५० वर्षअघि घर वरिपरि स्याउका बिरुवा रोपेर परम्परागत रूपमा स्याउ खेती गर्दै आएका थिए । मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरुङले आफ्नो बाउबाजेको पेशालाई थप विस्तार गरी आधुनिक तरिकाले बृहत् उत्पादन लिनेगरी अहिले विकासे (हाइब्रिड) स्याउ खेती गर्दै आएका छन् ।
उच्च घनत्वको स्याउ खेती खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा गुरुङले सुरुमा चार रोपनी क्षेत्रफलबाट सुरु गरेका थिए । अहिले उनको बारी जिल्लाकै विभिन्न ठाउँ गरी ६ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले मुस्ताङको सदरमुकाम जोमसोमको वारि र पारिपट्टी रहेका विभिन्न क्षेत्रमा उनको स्याउ बगान छ । मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्नेमध्ये आफू जिल्लाकै पहिलो व्यक्ति भएको गुरुङ दावी गर्छन् ।
गुरुङको बारीमा अहिले धेरै फल दिने फुजी, गोल्डेन र रेड डिलिसिस जातका स्याउ फलेका छन् । प्राङ्गारिक मलमात्रै प्रयोग, कृषिमा उल्लेखनीय योगदान पुर्याएकाले राष्ट्रिपतिबाट विभूषित गुरुङ अहिले उमेरले आफू ५८ वर्ष पुगेको बताउँछन् ।
बुवा आम्ची पेम्बर गुरुङ र आमा डोल्मा गुरुङका १२ सन्तान मध्येका गुरुङ १२ औँ सन्तान हुन् । उनका जुम्ल्याहा दाजु पनि छन् । उनले पनि मुस्ताङमा स्याउ खेती गर्दै आएका छन् । कर्म गुरुङले विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू इन्टरनेटका माध्यमबाट हेरेर आफूले पनि अभ्यास गरेको बताउँछन् । जसले राम्रै नतिजा दिएको उनको भनाइ छ ।
एकपटक नेदरल्याण्डका एन्थोन नामका स्याउ विज्ञसँग कर्मको भेट भएको थियो । उनीसँग सुरुमा मनाङमा गएर तालिम लिएको र पछि उनलाई मुस्ताङमै बोलाएर थप तालिम लिएपछि व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थप हौसला मिलेको गुरुङले बताए । गुरुङले स्याउ उत्पादनमा प्राङ्गारिक मलमात्रै प्रयोग गर्दै आएका छन् ।
मुस्ताङको हावापानी स्वास्थ्यका दृष्टिकोणले निकै स्वच्छ र सुरक्षित भएकामा यहाँ उत्पादन हुने कृषि उपज पनि स्वच्छ होस् भन्ने हेतुले आफूले रसायनिक मल र विषादीलाई बहिष्कार गरेको उनको भनाइ छ ।
‘बाउबाजेले स्याउ लगाए पनि स्याउका बारेमा ज्ञान नहुँदा घरमा आफ्नै लागि मात्र उपयोग हुने गर्थ्यो ।’ गुरुङ भन्छन्, ‘स्याउको बोटको गुणस्तर हेरेर त्यो बोटले कति स्याउ थेग्न सक्छ भन्ने ज्ञान नहुँदा धेरै फल लाग्ने र हाँगा भाँचिएर बोट नै मर्नेसम्मको समस्या पहिला थियो । अहिले नयाँ जातका बिरुवा मगाएको छु । जसका लागि आवश्यक स्याहारसुसारको सबै प्रक्रिया सुरुमै सिक्दा ढुक्कले उत्पादन लिइरहेको छु ।’

गुरुङ नेपालमै केही गर्ने अठोटका साथ आफ्नै बाउबाजेको थातथलो फर्किएका छन् । बाउबाजेको थलोमा बाउबाजेकै पेशा उनले पनि अपनाएका छन् । तर उनले अपनाएको पेशामा परम्परागत विरासत र आधुनिकताको मिश्रण छ । जसका कारण उनी व्यावसायिक स्याउ उत्पादक कृषक बन्दै गएका देखिन्छन् । उनलाई संविधान दिवस –२०७७ मा कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिपतिबाट विभूषण समेत प्राप्त भएको छ ।
सडकको समस्याः गुणस्तरीय भए पनि मुस्ताङको स्याउको न प्रचार छ न त बजारीकरण
म्याग्दीबाट कालिगण्डकी नदीको छेउ हुँदै अघि बढ्ने सडक पार गरेर जतिजति अगाडि बढ्दै गयो, सडकको अवस्था बिग्रिँदो देखिन्छ । वर्षायाममा त यो झन् जोखिमपूर्ण हुन्छ । जसका कारण आवतजावतमा अवरोध हुँदै आएको छ ।
सडक सञ्जालमा हुने नियमित अपरोधले गर्दा पनि यहाँ उत्पादन हुने स्याउ बजार पुर्याउने बेलामा ढुवानीको समस्या हुने गरेको छ । भौगोलिक रूपमा असहज सडक विकटताका कारण उचित प्रचार हुन नसकेको यहाँको स्याउ बजारीकरणमा अर्को समस्या पनि रहेको गुरुङ बताउँछन् ।
‘अहिले पनि नेपालमा बाहिरी देशबाट करोडौँको स्याउ आयात हुन्छ, देशको करोडौँ रकम बाहिर जान्छ ।’ उनले भने, ‘देशमा खपत हुने गरी स्याउ उत्पादन गर्नुपर्छ, स्याउ खेतीलाई अझ प्रोत्साहन र उत्पादन गरी स्वदेशमा खपत हुने यही उत्पादन हुनुपर्छ ।’ हिमाली क्षेत्रमा फर्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिने गुरुङको बुझाइ छ ।
यहाँ स्थलमार्गको पहुँचमा समस्या रहेको छ । यसले गर्दा उत्पादित वस्तु निर्यातमा समस्या हुने गरेको छ । यहाँको स्थलमार्गलाई सहज बनाउन सकेमा उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज हुन्छ । तर, आवतजावतका लागि स्थलमार्ग हुँदा पनि यो मार्ग निर्माणमा कठिनाइ छ । सडक सञ्जालको राम्रो व्यवस्था नहुँदा उत्पादित वस्तु बजारसम्म सग्लो पुर्याउन मुस्किल छ ।
स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एकापसमा ठोक्किएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा नोक्सान बेहोर्न बाध्य हुनुपरेको गुरङले बताए । यही कारण उनले स्याउलाई भण्डारण गर्न चिस्यान केन्द्र (कोल्ड स्टोर्स) पनि निर्माण गरेका छन् ।
गुरुङ भन्छन्, ‘आफ्नो संस्कृति बुझ्नुपर्छ, मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित होऊन् भन्ने हो ।’ उत्तरी छिमेकी चीनसँग सीमाना जोडिएको नेपालको सबैभन्दा कम जनसङ्ख्या हुनेमध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाइँसराइका कारण त्यो सङ्ख्या घट्दो क्रममा छ । तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको सङ्ख्या भने लाखौँको सङ्ख्यामा हुन्छ । यही माहौललाई सदुपयोग गरेर गुरुङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए ।
स्याउका उपभोक्ताहरूले भारतको काश्मिर र चिनियाँ स्याउलाई चम्किलो देखेर खरीद गरिरहेका छन् । कृतिम रूपमा चम्किलो बनाइए पनि ती स्याउ मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग प्रतिस्पर्धा गर्न नसक्ने गुरुङको भनाइ छ । यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्गानिक स्याउ चिन्न सक्नु पर्ने गुरुङ बताउँछन् ।
‘हामीले विषादीरहित स्याउ उत्पादन गर्छौँ, त्यसैले विषादीरहित स्याउमा केही दाग लागेको हुनसक्छ र कीराको आक्रमण पनि हुन सक्छ ।’ गुरुङ भन्छन्, ‘उपभोक्ताले यही बुझ्नुपर्ने हुन्छ ।’ गुरुङका अनुसार हिमाली जिल्लाहरूमा हुने मरुभूमिमा स्याउ उत्पादनका लागि राज्यले सोच्नु पर्ने दिन आएको छ । नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुका साथै सिँचाईको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्ने तर्फ लागेको खण्डमा राज्यको पनि आम्दानी बढ्ने र रोजगारी पनि सिर्जना हुने उनको भनाइ छ ।
बगानमा अहिले १२ जना कामदारले नियमित रोजगारी पाएका छन् । स्याउ टिप्ने सिजनमा थप रोजगारीको सिर्जना हुने गरेको गुरुङ बताउँछन् । आफ्नै देशका उद्यमीले यसरी ठूलो परिमाणमा उत्पादन लिनेगरी व्यावसायिक खेती गर्दा आफूहरूले पनि स्वदेशमै रोजगारी पाएर परिवारसँगै बस्न र रमाउन पाएको फार्ममा स्याउ टिप्दै गरेका कामदार बताउँछन् ।
घोडा संस्कृति र स्याउ बारीलाई पर्यटनसँग जोड्ने योजना
समुन्द्री सतहबाट करीब साढे ४ हजार मिटरभन्दा बढीको उचाइमा रहेको हिमालपारिको जिल्ला मुस्ताङमा चर्चित घोडा दौड र त्यसको जीवन्त संस्कृति छ । उत्तरी भेगको जनजीवनमा घोडा चढ्ने संस्कृति आजपर्यन्त पनि यथायथ छ । यहाँका मानिसहरू घोडामाथि नै निर्भर छन् । तर नेपालकै कतिपयलाई भने यसको जानकारी नै छैन ।
यद्यपि रोबर्ट पावलको पानी रङ्गको चित्रपुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफी दिया पेग्रुमले ‘टकिङ टु द एयरः द हर्सेस् अफ लास्ट फर्बिडन किङ्डम’ फिल्म बनाइन् । उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव (मुस्ताङमा चर्चित रोचक घोडा दौड र त्यसको संस्कृति) लाई उतार्न खोजिएको छ ।
गुरुङ नेपालमै केही गर्ने अठोटका साथ आफ्नै बाउबाजेको थातथलो फर्किएका छन् । बाउबाजेको थलोमा बाउबाजेकै पेशा उनले पनि अपनाएका छन् । तर उनले अपनाएको पेशामा परम्परागत विरासत र आधुनिकताको मिश्रण छ । जसका कारण उनी व्यावसायिक स्याउ उत्पादक कृषक बन्दै गएका देखिन्छन् । उनलाई संविधान दिवस –२०७७ मा कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिपतिबाट विभूषण समेत प्राप्त भएको छ ।
यही फिल्मबाट प्रभावित भएर गुरुङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए । गुरुङको तबेलामा अहिले १० वटा घोडा छन् । यहाँ रहेका एउटा घोडाको न्यूनतम् मूल्य १५ लाखभन्दा बढी रहेको गुरुङ बताउँछन् । जोमजोमको पारिपट्टि ढुम्बा खोलाको किनारदेखि माथि नीलगिरी हिमालसम्मै फैलिएको देखिने गुरुङको स्याउबारी छ ।
आगामी दिनमा उक्त स्याउबारीभित्र ट्र्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ । पर्यटकले स्याउबारीमा विचरण गर्दा पुरै वातावरण नै स्याउमय हुने गुरुङ बताउँछन् । लहलह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छल्न स्याउका रुखको दाउरा बालेर आगो ताप्न सक्ने वातावरण हुने गुरुङले बताए ।

गुरुङ भन्छन्, ‘आफ्नो संस्कृति बुझ्नुपर्छ, मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित होऊन् भन्ने हो ।’ उत्तरी छिमेकी चीनसँग सीमाना जोडिएको नेपालको सबैभन्दा कम जनसङ्ख्या हुनेमध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाइँसराइका कारण त्यो सङ्ख्या घट्दो क्रममा छ । तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको सङ्ख्या भने लाखौँको सङ्ख्यामा हुन्छ । यही माहौललाई सदुपयोग गरेर गुरुङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए ।









