
विदेशमा परिश्रम गर्नुभन्दा स्वदेशमै परिश्रम गर्न जाती भन्ने कुराको सानैदेखी मनन् गरेका दक्षिणकाली नगरपालिका वडा नं ९, लामागाँउका मोहन तामाङलाई नेपालकै माटोमै साथ दिईनै रहेको छ । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका उनी । सानैबाट खेतीपातीमा रमाउने गरेका तामाङले परिश्रममा विश्वास गर्ने भएका कारण नै विदेशी भूमिमा रोजगारकै लागि जानुपरेन, अर्थात अझै बुझिने गरी भन्दा स्वदेशकै माटोले माया गरिरह्यो ।
कृषिप्रतिको लगावकैै कारण उनले व्यावसायिक रूपमा तरकारी, च्याउखेती(सिताके रु कन्ये), स्टबेरी लगायत विभिन्न बालीहरुलाई व्यवसायिक रुपमा उत्पादनमा सफल भएका छन् । १ दशक अघि ताका कृषि बालीमा आई.पि.एम.तालिम लिएका तामाङले अहिले पनि सोही पद्धतीलाई नै मुख्य केन्द्रमा राखेर विषादी रहित र जैविक पद्धतीका बाली उत्पादनमै सम्भावना खोजिरहेका छन् । यस ठाँउका रैथाने कृषि उपजहरुको समेत उत्पादन र प्रसार गर्दै अन्य सम्भावना भएका कृषि उपजहरुको सम्भावना खोजिरहेका छन् उनले ।
घरपरिवारका सबैजनाले साथ दिएका छन् उनलाई, विभिन्न किसिमका तालिमहरु प्नि लिएका छन् मोहनले ।
आफ्नै गाँउमा केही गरौँ भन्ने सधैँ लाग्यो उनलाई । विदेश जाने लहर धेरै युवाहरुमा थियो त्यो समयमा तर उनलाई स्वदेशकै माटोले साथ छोडेन । जैविक वस्तुहरुबाट उनले जैविक विषादी पनि बनाउने गरेका छन् उनले । रासायनिक लगायत विषादीहरुमा निर्भरता कम हुनाले कृषि बालीमा लागतमा कमी आउँछ र गुणस्तरीय उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी । कृषि पेशा भनेको सम्मानित पेशा हो र यसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउने काममा नै तल्लिन भैरहेका छन् उनी । सबै परिवारका सदस्यहरुले कृषिमै साथ दिईरहेका छन् उनलाई ।
मोहनका ४ भाईहरु पनि छन्, उनीहरु सबैले कामको बाँडफाँड गर्दै मिलेर कामहरु गरिरहेका छन् । उनका ४ जना छोरीहरु छन्, जति पढ्छन् त्यति पढाँउछु भन्ने मोहनले यहि कृषिबाटै सम्भव छ भनी निरन्तर रुपमा लागिरहेका छन् । प्रविधि र पद्धतीमा आवश्यकता अनुसार प्रयोग गर्दै कृषिका उत्पादनहरुलाई बजार सम्म लगेर कृषिमा जागरण ल्याउने उनको धोको विस्तारै पुर्णता पाँउने क्रममै रहेको छ ।