चर्चित

अशिम सापकोटा  –

दशैं र तिहारसंगै करीब–करीब सबै चाडपर्वमा चाहिने मुख्य संस्कार र सत्कार हो ‘दुनाटपरी’ । आधुनिकताले ढाकेपनि गाउँघरमा पुजा आजामा नभै नहुने र पुजा अर्चनासँग जोडिने दुना टपरी गाँस्नेको चटारो नै हुने गर्छ । सोह्र श्राद्ध लागेदेखि नै दुनाटपरीको महत्व झल्किन्छ । पवित्र काम गर्दा दुनाटपरी अझ बढी पवित्र बनेर आइदिन्छन् । खास गरी बिजयादशमीका दिन शिरमा सिउरिने पहेँलो जमरा राख्न घटस्थापनामा भन्दा अघिदेखि सालका पातको जाहो गरिन्छ । घटस्थापनाका दिन पुजाकोठामा सालको पात गासेर बनाइएको टपरीमा बिधिवत रुपमा जमरा राख्ने प्रचलन छ । बिशेष गरि सालको पातबाटै बनाइएको दुना टपरीमा थरि थरिका परिकार खाने चलन छ । वन जङ्गल प्रशस्त पाइने हाम्रो देशमा दुना टपरीको जोहो गर्न स्थानीयहरु दशैं आउन १ महिना दिन अघि जो सालको पातको टिप्न जाने गर्छन् । चाडपर्वमा पुजा सर्जामका लागि हरियो सालको पातको दुनाटपरी चोखो मानिने गर्छ ।


नेपालका पहाडी जिल्लाहरुमा सालका रुख पर्याप्त पाइन्छन् । झण्डै देशका सबै नागरिकहरु कुनै न कुनै सामुदायिक बनको उपभोक्ताका रुपमा जोडिएका छन् । गाउँघरमा नजिकको जङ्गलमा पात खोज्न जाने चलन छ भने शहरमा यसको बिक्री गर्नेदेखि गाउँबाट शहरका आफन्तीकहाँ पात ल्याइदिने चलन उत्तिकै रहेको छ । सालको पातबाट बनाइएको टपरीमा रोटी दुनामा तरकारी, मासु, अचार खान स्वादिलो लाग्ने गरेको कतिपयको भनाई छ । दशैंका बेलामा घरघरमा सालका पातबाट दुनाटपरी बनाउनेहरुको भ्याइनभ्याई हुन्छ भने पछिसम्म चाहिन्छ भनेर गाँसेर घरका ओसारी, कोठामा चाँगेर राख्ने गरेका छन् ।

अरु चाडवाडमा भन्दा दशैं तिहारलाई सालको पात टिप्ने र घर पोत्नका रातो माटो खन्न एक महिना अघि देखि नै गल्याङ नगरपालिका ७, धराङदी सालघारी बनमा लाइन लागेको दृश्य समेत भेटेका थियौँ । यसरी सहज रुपमा पात पाइने र धार्मिक, सांस्कृतिक एंव मौलिकतासँग जोडिएको सालको पातबाट दुनाटपरीको महत्व झनै बढेको छ । दुनाटपरी तत्काल नपाइने ठाउँमा पनि मेसिनको प्रचलन बढेको छ । बिभिन्न संस्था र सहकारीले सालका पात मेसिनद्धारा बनाएर बजार पठाउन थालेका छन् ।


नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायतका शुभकार्यमा सालको पातको दुना र टपरीको प्रयोग गर्ने प्रचलन छ । तर पछिल्लो समय दुना, टपरीको प्रयोग शहरबजारमा मात्र नभइ गाउँघरबाटै हराउँदै गएको छ । प्लास्टिकको भाँडाको प्रयोग बढेसँगै विभिन्न ठाँउमा सालको पातको दुना, टपरीको प्रयोग हराउँदै गएको छ । ‘केही दशक अघि गाउँमा बिहे, पूजा–आजा हुँदा दिदीबहिनीहरु मिलेर डोको लिएर जङ्गलमा गएर सालको बोटलाई पूजा गरी सालको पात टिपेर ल्याइ बाँसको सिन्काले सालको पातको दुना, टपरी गाँस्ने प्रसंग बुढापाकाहरुसँग मात्र अनुभव छ । बिहेमा भतेर दुना, टपरीमै बाँड्ने अनी पूजाआजामा प्रसाद पनि यसमै बाँड्ने चलन हराउँदो क्रममै रहेको छ । सालको पातको दुना, टपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो–छरितोको लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दो क्रममै रहेको कारण सालको पातबाट बनाइने दुना टपरीको प्रयोग विस्तारै हराँउन थालेको छ ।


सालको पातको दुना, टपरी बुन्नु, शुभकार्यमा यसको प्रयोग गर्नु नेपाली मौलिक सँस्कृति रहेको जानकारहरु बताँउछन् । ‘यसको आफ्नै धार्मिक एवम् साँस्कृतिक महत्व छ । दुना, टपरीको प्रयोग स्वास्थ्यको लागि पनि राम्रो छ । समूहमा मिलेर पात टिप्दा, दुना टपरी गाँस्दा दिदीबहिनीमा मित्रता बढ्छ । प्लास्टिकको भाँडा किन्ने पैसा समेत जोगिन्छ,’ दुना, टपरीको प्रयोगको फाइदा नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नु आवश्यक छ । दुना, टपरीको प्रयोगपछि यसलाई व्यवस्थापन गर्न पनि सजिलो छ । प्रयोगपछि मलखादमा राखेर मल बनाउन सकिन्छ । यसले वातावरणलाई पनि हानी पु¥याउँदैन । दुना, टपरी बुन्न र यसको प्रयोग बढाउन नयाँ पुस्तालाई यसको जानकारी गराँउन स्थानिय सरकारले यस्ता सिप र पद्धतीलाई जगेर्ना गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय