
जब मानिस जहाँ दुःख र मिहिनेत गर्दागर्दै आफ्नो आर्थिक र सामाजिक उन्नति हुने देख्दैन, भविष्य असुरक्षित महसुस गर्न थाल्छ, तब विकल्प खोज्न थाल्छ । यही विकल्पको खोजीमा बसाइँसराइको सङख्या र वैदेशिक रोजगारको विकल्प खोज्नेको संख्या विकसित देशमा भन्दा अल्पविकसित र विकासोन्मुख देशमा बर्सेनि ठूलो मात्रामा बढिरहेको छ । शहर लक्षित बसाइँसराइले शहरमा अत्यधिक जनसंख्या वृद्धि भई अव्यस्थित सहरीकरण र स्रोत/साधन अभावले सहर बस्न योग्य भइरहेका छैनन्, तर यसै परिवेशमा एक जना युवा छन् जसले १२ बर्ष वैदेशिक रोजगारमा कमाएको धन र अनुभव सँगै परिश्रम स्वदेशी माटोमा खन्याउन चाहन्छन्, हामी उनको कुरा गर्दैछौँ ।
हो, कोहलपुर न.पा. वडा नं ८ बाँकेका सुर्या प्रसाद जैसी अधिकारी २ बर्ष भारतको दिल्ली, ५ बर्ष साउदी अरब र ५ बर्ष मलेसियामा काम गरी हाल ५ बर्षदेखी बर्वरादिया न.पा. वडा नं ३, बर्दियाको स्वदेशी माटोमा सम्भावना खोज्दैछन् अर्थात कृषिका बहुआयामिक उत्पादनका सम्भावनालाई खोज्दैछन् । उनले बर्दियाको यो ठाँउमा आधुनिक कृषि फार्मको नामबाट कृषि उत्पादनका कामहरु अगाडी बढाइरहेका छन् । आर्थिक स्थिती मध्यम नै भएका अधिकारीकी श्रीमतीसँगै १ छोरा र १ छोरी पनि छन् । करीब ७ रोपनी जग्गा २० बर्षको लगि भाडामा लिएर उनले कागतीको व्यवसायिक उत्पादन गरिरहेका छन् । सुनकागती, थाई सिडलेस कागती सँगै केरा, आँप, लिची, ओखर, किवी जस्ता फलफुलका बिरुवा तथा बीऊ उत्पादन गरी विक्रि गरिरहेका छन् । उनले सुरु गरेको अर्को बर्षबाट कोभिड १९ को असरले भनेजस्तो फार्म संचालन हुन सकेन् । आर्थिक समस्याले पिरोली रह्यो त्र पनि कत्ति पनि बिचलित नभै त्यसको सामना गर्दै अधिकारी अगाडी बढिरहेका छन् ।
भनिन्छ, हार पछि अवश्य जित हुन्छ, तर पटक पटक लछारीँदै पनि आफ्नो गन्तव्यमा पुग्ने उनको साहस कत्ती पनि धमिल भएको छैन् । घरजग्गा धितो राखेर ऋण लिएर फार्म सुरु गरेको तर, फार्म घाटामा भएकै कारण भनेको समयमा किस्ता तिर्न नसक्दा बैँकले समेत प्रेसर गर्ने गरेको छ अचेल उनलाई । तर पनि सधैँ यहि परिस्थिती नरहने आशमा उनले आफ्नो काम गरि नै रहेका छन् । नेपालमा केही गर्छु भन्ने यस्ता युवाहरु फेरी नैराश्यतामा जानु भनेको युवालाई कृषिबाट टाढा धकेल्नु नै हो, उनको यो फाम ठुलो कागती फार्म भए ता पनि अहिले सम्म कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाहरुको नजर नपर्नुमा भने उनको गुनासो छ, उनी भन्छन्, “कागजी किसानहरु लोकप्रिय र चर्चित छन्, वास्तवमै काम गर्ने किसानहरु ओझेलमा छन्” । रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या दिनानुदिन बढेसँगै स्वदेशमा कृषि कर्ममा आबद्ध युवाको संख्या ह्वात्तै घटेको छ भने महिला र प्रौढले आंशिक रूपमा धानिरहेको एक सरकारी तथ्यांकले जनाएको छ, यहि परिवेशमा यसरी स्वदेशमै सम्भावना खोज्न कृषि कर्ममा लागिरहेका सुर्या जस्ता युवाहरुलाई स्वदेशमै टिकाइराख्ने वातावरण बनाउन विभिन्न शिर्षकका अनुदानका कार्यक्रमहरुले समेट्न सक्नुपर्छ, अन्यथा यसरी कृषिमा सम्भावना देख्ने युवाहरुको संख्या कालान्तरमा अझै खडेरी पर्न सक्छ ।
खेतीयोग्य जमिन घट्दै जानु, भएको पनि बाँझो हुनु र रोजगारीका लागि युवाले विदेश जानुपर्ने बाध्यता हुँदा बाबु–हजुरबाबुका पालामा हाम्रोमा पनि कृषि थियो रे भन्ने अवस्था आउन थालेको अवस्थामा हाम्रो परनिर्भरता घट्ने अवस्था देखिँदैन । फलस्वरूप नेपालबाट हुने निर्यातभन्दा आयात प्रत्येक वर्ष बढिरहेको छ, यसरी कृषिमा केही गर्छु र स्वदेशी माटोमा नंग्रा खियाएर काम युवालाई राज्यले चिन्नैपर्छ ।