चर्चित

उग्राउने पशु वस्तुलाई चटाउन यूरिया मल, मोलासेस (खुदो) र विभिन्न खनिज मिश्रणहरु मिसाएर तयार पारिएको इट्टा आकारको ब्लकलाई यूरिया मोलासेस मिनरल ब्लक (Urea Molasses Mineral Block –
UMMB) भनिन्छ ।

यूरिया मल, खुदो ( मोलासेस ) खनिज लवण, धानको ढुटो वा गहुँको चोकर, भटमास वा तोरीको पिना, नुन आदि सामाग्रीहरु निश्चित मात्रामा राम्ररी मिसाएर एक
प्रकारको मिसिनमा राखी थिचेर तयार पारिएको इट्टा आकारको खाद्य पदार्थ जुन उग्राउने वयस्क पशुहरुलाई चटाउने आहरा नै यूरिया मोलासेस मिनरल ब्लक (Urea Molasses Mineral Block – UMMB) हो । हरियो घासको अभाव भएको वेलामा उग्राउने पशुहरु जस्तै: गाई भैसी तथा भेडा बाख्राहरुलाई पोषणयुक्त
आहाराको कमी हुने गर्दछ । यस समयमा पराल, नल, ढोड, छ्वाली, गाज्यो (हे), कुनौरो आदि कम पौष्टिक तत्व भएका आहारा खुवाउने गरिन्छ ।

यस्ता आहाराहरुबाट पशुहरुमा दूध तथा मासु उत्पादन बढ्नुको सट्टा घट्दछ
। यस कमीलाई पुरा गर्न नेपाल कृषि अनुसन्धान परिषदले बैज्ञानिक रुपमा तयार परेको यूरिया मोलासेस मिनरल ब्लकको प्रयोग गरी दुधालु गाई भैसीहरुको दूध उत्पादन बढ्ने, दूधमा चिल्लो मात्रा बढ्ने र अन्य आहारा समेत रुचाएर खाने गर्दछन । यसको प्रयोगले रेसादार घासपातको पाचन शक्ति बढाउछ । जसले गर्दा
पशुहरुको उत्पादन बढ्ने गर्छ जसबाट कृषकहरुले बढी भन्दा बढी फाईदा लिन सक्दछन् ।

आवश्यकता :
गाईभैसीलाई खुवाउने पराल, नल, ढोड, छ्वाली, गाँजो, कुनौरो, भुसा आदि खुवाउदा यस्ता आहारामा पोषक तत्वको कमी हुनुको साथै लिगनिन जस्ता अपाच्य वस्तु बढी हुने हुनाले यी वस्तुहको पोषक तत्व तथा पाचकतत्वमा वृद्धि गर्नको लागि यूरिया मोलासेस मिनरल ब्लक चटाउने गरिन्छ । उग्राउने पशुहरुको ठुलो पेटमा (Rumen) लाभदायक शुक्ष्म जिवाणुहरु (Bacteria) धेरै संख्यामा रहेका हुन्छन । ती पशुहरुले यिनै लाभदायक शुक्ष्म जिवाणुको सहयोगले रेशादार घासपात पचाउन सक्दछन् । यी लाभदायक शुक्ष्म जिवाणुहरुको छिटोछिटो वृद्धि हुनको लागि प्रोटिन र खनिज लवणको आवश्यकता पर्दछ । रेशादार घासपातले त्यस्ता पोषकतत्वको आपूर्ती गर्न सक्दैन तसर्थ जिवाणुहरुको लागि आवश्यक तत्व अन्य स्रोतहरुबाट पूर्ति हुन जरुरी हुन्छ । कार्वोहाइट्रेड, प्रोटिन, खनिज लवणको स्रोतको रुपमा यूरिया मोलासेस मिनरल ब्लक तयार गरी प्रयोगमा ल्याइएको हो । खासगरी पौष देखि जेष्ठ महिना सम्म हरियो घासको अभाव हुने भएकाले त्यस समयमा पराल, नल, ढोड, छ्वाली, गाँजो, कुनौरो, भुसा आदिको प्रयोग बढी हुने गर्दछ ।यी आहाराहरु पचाउनको लागि शुक्ष्म जिवाणुहरुको आवश्यकता पर्दछ ।जसले आहारा पचाउने Enzyme उत्पादन गर्दछन । लाभदायक शुक्ष्म जिवाणुको संख्यामा वृद्धि गर्न यूरिया मोलासेस मिनरल ब्लकले ठूलो मद्दत पुग्दछ । जसले पशुहरुलाई दानापानीमा रुची, शारिरिक वृद्धि तथा उत्पादनमा वृद्धि गर्न सहयोग पुग्दछ ।

फाईदाहरु :
– उग्राउने पशुवस्तुहरुको पेटमा रहेका लाभदायक शुक्ष्म जिवाणुहरुको लागि कार्वोहाइट्रेड, प्रोटिन, खनिज लवण यूरिया मोलासेस मिनरल ब्लकले प्रदान गर्दछ । जसले यी जिवाणुहरुको संख्यामा अत्याधिक वृद्धि
गराउछ । यी जिवाणुहरुले रेसादार घासपात पचाउने Enzyme उत्पादन गर्दछन घासपात राम्ररी पच्न गई उत्पादनमा वृद्धि हुन्छ ।
– कुनै खास समयपछि चारखण्डे पेटमा भएका लाभदायक शुक्ष्म जीवाणुहरु मर्दछन र आन्द्रामा पुग्दछन अनि त्यहाँ पुगेपछि यी जीवाणुहरु पचेर पशुहरुलाई प्रोटिन र खनिज लवण उपलब्ध हुन्छ ।
– UMMB पोषिलो खुराक भएकोले यसको पाचकत्व बढी हुन्छ र पाचकत्व बढी भएका पोषिलो खुराकको उपयोगले मिथेन ग्यास उत्पादन घटाई वातावरण संरक्षणमा ठूलो सहयोग पुग्दछ ।

महत्व :
UMMB को महत्व निम्न अनुसार रहेको छ:
– पशुहरुमा प्रोटिन तथा खनिज लवणहरुको कमीलाई हटाउन सस्तो र सरल उपाय ।
-यो बनाउन सजिलो तथा सामान्य प्रविधिको प्रयोग हुने ।
– यसलाई पशुहरुले सजिलोसंग स्वादिलो मानी चाट्ने ।
– पशुहरुमा हुने प्रजनन् सम्वन्धी समस्यामा कमी आउने ।
– मिल्क फिवर रोगको रोकथाम हुने ।
– पशुहरु स्वस्थ्य र निरोगी हुने ।

– पशुहरुको दूध तथा मासु उत्पादन बढाउने ।
-पशुहरुको पाचन शक्ति बलियो हुने ।
-मिथेन ग्यास उत्पादन कम हुने ।

मिथेन ग्यास उत्पादन कम गर्ने उत्तम विकल्पको रुपमा UMMB प्रयोग :
नेपालमा उग्राउने पशुहरुको लागि मुख्य आहाराको रुपमा पराल, नल, ढोड, छ्वाली, गाज्यो (हे), कुनौरो, भुसा आदि कम पौष्टिक तत्व भएका आहारा तथा कृषि उप पदार्थहरु रहेको र हरियो घासको अभावमा पोषणयुक्त आहाराको कमी हुने गर्दछ । युरिया मोलासेस मिनरल ब्लकको प्रयोग गरी दुधालु गाईभैसीको दूध उत्पादन
बढ्ने, दूधमा चिल्लो मात्रा बढ्ने र अन्य आहारा समेत रुचाएर खाने गर्दछन । यसको प्रयोगले रेसादार घासपातको पाचन शक्ति बढाउछ । यसरी आहाराको जतिजति पाचकत्व बढ्दै जान्छ त्यतित्यति मिथेन ग्यास उत्पादन कम हुन्छ । यसरी पाचकत्व बढी भएका पोषिलो खुराकको उपयोगले मिथेन ग्यास उत्पादन दुई गुना
भन्दा बढी (७ vs १६%) कम हुन गई वातावरण संरक्षणमा ठुलो सहयोग पुग्न जान्छ ।
 ब्लक बनाउने तरिका :
-आवश्यक सामाग्रीहरु तयार गर्ने,

– मोलासेसलाई तताउने र यूरिया मल राम्ररी घुल्ने गरी मिसाउने, (युरिया मल मिसाउदा खुदोमा राम्ररी
घुलेको वा मिसिएको हुनु पर्दछ ।)
– खुदोमा यूरिया मल घोलेर मिसाई सकेपछि क्रमश: नुन, चुन र सिमेन्ट मिसाउने,
– मिनरल मिक्चर मिसाउने,
– उक्त मिश्रणमा भटमासको पिना मिसाउने,
– उक्त मिश्रणलाई धानको ढुटो वा गहुँको चोकर मिसाउने र सफा पलाष्टिक सिटमा राखेर राम्ररी मुछ्ने,
( युरियालाई खुदोमा मिसाइ सकेपछि सबैभन्दा पहिला कम परिमाणका कच्चा पदार्थहरु एकएक गर्दै मिसाउदै जाने त्यस पछी बढी परिमाणका पदार्थहरु मिसाउदै जाने मिसाउदा सफा प्लाष्टिक सिटमा राखेर
मिसाउनु पर्दछ ।)
– आवश्यक कच्चा पदार्थहरु सबै राम्ररी मिसाएर मुछि सकेपछि आवश्यक परिमाणको डल्लो बनाउने,
– UMMB बनाउने साँचो वा मेसिनमा ब्लक बनाउन मुछेर तयार पारेको डल्लो राख्ने ।
– मेसिनमा डल्लो राखेपछि २ मिनेटसम्म थिच्ने ।
– एक पटकमा ईट्टा साइजको करिव दुई किलोग्राम तौल भएका तीन वटा ब्लक तयार हुन्छ ।
– UMMB बनाउने साँचो वा मेसिनमा तयार भएको ब्लकलाई राम्रोसंग हावा चल्ने खुल्ला कोठामा घाम
पानी नलाग्ने गरी छायाँमा राखेको २ देखि ३ दिन सुकि सकेपछि ब्लक खुवाउन योग्य हुन्छ ।
नोट: UMMB बनाउने साँचो बिभिन्न आकार प्रकारका हुन सक्दछन् ।यदि UMMB बनाउने साँचो वा
मेसिन उपलब्ध छैन भने सानासाना पलाष्टिकका बाटा वा आल्मुनियमका कचौरा वा वटुकामा राखेर
पनि बनाउन सकिन्छ तर राम्ररी खादनु पर्दछ ।

 युरिया मोलासेस मिनरल ब्लक बनाउने सामाग्रीको गुणस्तर :
-युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन भएको ।
– मोलासेस ८० व्रिक्सको वा लेदो जुन धार भएर खस्ने हुनुपर्दछ ।
– नुन आयोडिन यूक्त प्याकेटमा बन्द भएको मसिनो धुलो हुनुपर्दछ ।

 UMMB खुवाउने तरिका :
-उग्राउने उमेर पुगेका वयस्क गाईभैंसी, भेडाबाख्रालाई मात्र ब्लक चाट्न मिल्ने तर टोक्न नमिल्ने गरी
उपयुक्त ठाउँमा राख्नु पर्दछ ।
– पशुले एकैचोटी धेरै ब्लक खाएमा यूरियाको मात्रा बढी भएर बिष लाग्न सक्ने भएकोले ब्लकलाई चाट्ने भाँडोमा राखी सुरुका चार पाँच दिनसम्म करिब एक घण्टासम्म मात्र चाट्न दिनु पर्दछ ।करिब आठ दश दिनसम्म यसरी खुवाएपछि पशुहरुमा बानी पर्दछ र आवश्यकता अनुसार चाट्न थाल्दछन् ।
-पशुलाई UMMB खुवाएको बेला प्रसस्त मात्रामा पानी पिउन दिनुपर्दछ ।
-पराल, नल, ढोड, कुनौरो, भुसा आदि खान सकेजति खान दिने ।
-हरियो घास उपलब्ध भएमा आवश्यक कुल सुख्खा पदार्थको ( Dry Matter) एक चौथाई भाग भन्दा बढी खान नदिने ।
-पशुको शारीरिक तौलको एक प्रतिशतले हुने तौल बराबरको दाना खान दिने ।
– UMMB चाट्न सकेजति (गाई भैसीलाई ३५०—४०० ग्राम र भेडा बाख्रालाई ५०—१०० ग्राम सम्म) प्रति पशु प्रतिदिन खान दिने ।

 UMMB खुवाउदा अपनाउनु पर्ने सावधानी :
– UMMB लाई नउग्राउने पशुबस्तुहरु जस्तै: बंगुर / सुंगुर, घोडा, खच्चर, गधा र पन्छीहरुलाई कहिले पनि खुवाउनु हुदैन ।
– ६ महिना भन्दा कम उमेरका पाडापाडी, बाच्छाबाच्छी, पाठापाठीहरु लाई नखुवाउने ।
– आहारा खुवाई सकेपछि मात्र खुवाउने ।
– खाली पेटमा कहिले पनि नखुवाउने ।
– पानीमा घोलेर नदिने ।
-पानी प्रसस्त मात्रामा खान दिने ।
– UMMB लाई मुख्य आहाराको रुपमा नखुवाई Feed supplement को रुपमा मात्र खुवाउनु पर्दछ ।

UMMB प्रयोगबाट प्राप्त केही तथ्यहरु :
क) लैनो गाई भैसीको आहारामा UMMB चटाउदा ब्लक नचटाउदाको तुलनामा निम्न अनुसार दूध प्रतिदिन औसत वृद्धि भएको पाईएको छ :
-धानको ढुटोमा आधारित ब्लक चटाउदा : २.१५ के.जी दूध वृद्धि भएको ।
– कपासको वियाँमा आधारित ब्लक चटाउदा : १.१३ के.जी दूध वृद्धि भएको ।
– तोरिको वियाँमा आधारित ब्लक चटाउदा : ०.७० के.जी दूध वृद्धि भएको । (डा.उप्रेती)
– लैनो गाईभैसीलाई UMMB नखुवाएको भन्दा १४० दिनसम्म खुवाएको अवस्थामा ४२७ लिटर दूध
प्रतिवेत बढी उत्पादन भएको नेपाल कृषि अनुसन्धान परिषदको अध्ययनले देखाएको छ ।

आ.व. २०६६/०६७ देखि काभ्रेपलाञ्चोकको टुकुचा नाला र ललितपुरको लेले र वुङमती गा.वि.स.का कृषकहरुको दुधालु गाई भैसीमा UMMB नमुना प्रदर्शन र प्रविधि विस्तार कार्यक्रमबाट निम्न बमोजिमको नतिजा पाईएको थियो :
– दूध उत्पादनमा वृद्धि ( पहिला दिइराखेको दूधमा दैनिक आधा देखि एक लिटरसम्म ) ।
– दूधमा चिल्लो पदार्थको प्रतिशतमा वृद्धि भएको ।
– अन्य आहारा रुचाएर खाने गरेको ।
UMMB चटाउदा हुने फाइदाहरु :
-कृषकहरुको पशुवस्तुमा गरेको अनुसन्धानवाट दैनिक २० देखि २५ प्रतिशतसम्म दूध उत्पादन र करिब १० देखि १५ प्रतिशतसम्म चिल्लो पदार्थ ( Milk Fat ) बढेको ।
– बढेको दूधको बिक्रिबाट कृषकहरुको दैनिक आम्दानी २० देखि ४० रुपैयाँसम्म बढेको ।
– मासुको लागि पालीने पशुहरुमा ( खसी, राँगा ) को २१ प्रतिशतले शारिरिक वृद्धि भएको ।
– बाली नजाने वा ढिलो बाली जाने पशुमा बाझोपना (Infertility) हटाई सन्तान उत्पादनमा उल्लेख्य रुपमा वृद्धि भएको ।

UMMB प्रविधिक स्पेसिफिकेशन :
– सुख्खा पादार्थ (Dry Matter -DM ) : ८० — ८५ %
– क्रुड प्रोटिन ( Crude Protein -CP ) : ३० — ४० %
– क्रुड फाईवर (Crude Fiber -CF ) : ५ —७ %
– क्यालसियम (Calcium) ५.७ —६.५ %

 प्याकिङ्ग:
UMMB को आकारको लेमिनेटेड पेपर व्याग वा पारदर्शीय पोलिथिन व्यागमा लेवलिङ्ग प्रिन्ट गरी UMMB
राखी ब्यागको मुख मेसिनबाट सिलाउनु पर्छ ।

लेवलिङ्ग :
लेवलिङ्गमा निम्न कुराहरु उल्लेख गरी UMMB लाई वेर्नु पर्दछ ।
-उत्पादित वस्तुको नाम तथा किसिम :
– फर्मुलाउल्लेख गर्ने :
– उत्पादकको नाम र ठेगाना :
– व्याच वा कोड नं :
– उत्पादन गरेको मिति :

 भण्डारण तथा प्रयोग :

सुख्खा तथा ओभानो ठाउमा UMMB सुरक्षित भण्डारण गरी राख्नु पर्दछ । तयार गरेको मितिले ६ महिना भित्र
प्रयोग गर्नु राम्रो हुन्छ ।

निष्कर्ष :
नेपालमा पशु आहाराको अवस्था सुख्खा पदार्थ (Dry Matter-DM) को आधारमा तयार गरीएको तथ्याङ्कले ३०% आहाराको अभाव देखाईएको छ । हालसम्म आपूर्ति भैरहेको आहारा पनि गुणस्तर युक्त र पाचनशील पदार्थ नभई करिव ६०% पशु आहारा जीवन धान्ने खालको कृषि उप पदार्थमा आधारित छन् ।UMMB को
प्रयोग गरी दुधालु गाईभैसीको दूध उत्पादनमा बृद्धि हुने, दूधमा चिल्लो पदार्थको मात्रामा बृद्धि हुने र अन्य आहारा समेत रुचाएर खाने गर्दछन । यसको प्रयोगले रेसादार घासपातको पाचन शक्ति बढाउछ । यसरी पाचकत्व बढी भएको पोषिलो खुराकको उपयोगले मिथेन ग्यास उत्पादन कम हुन गई वातावरण संरक्षणमा
समेत ठूलो सहयोग पुग्न जान्छ । । UMMB को प्रयोग उग्राउने सबै पशुहरुमा गरी तिनको उत्पादन र उत्पादकत्व (Production and Productivity) बृद्धि गर्न सहयोग पुग्दछ ।गुणस्तरहीन पशु आहाराहरु नल, पराल, छ्वाली, भुसा, ढोड, कुनौरो आदि कमसल पशु आहाराको गुणस्तर सुधारको लागि UMMB प्रयोग
अपरिहार्य देखिन्छ ।
सन्दर्भ सामाग्रीहरु:
– तिवारी, डा. मेघराज/ कोलाक्षपति, मनिषा/ श्रेष्ठ, बसन्त कुमार/ पाण्डे, लुमानिधि, पशु आहारा सम्बन्धी कृषकहरुका लागि व्यवहारिक जानकारी, नार्क पशु आहारा महाशाखा खुमलटार, ललितपुर
– उप्रेति, डा. चेतराज/ उप्रेति, सुज्या, नेपालमा पशुपन्छी तथा माछाको आहारा
-दुधालु गाईभैंसीको लागि युरिया मोलासेस मिनरल ब्लक UMMB, NARC पशु आहारा महशाखा
खुमलटार, ललितपुर
– प.वि.अ. गुरुङ, सोम बहादुर, युरिया मोलासेस मिनरल ब्लक, पशु विकास फर्म पोखरा
– पशु दानाको गुणस्तर (आ.व. २०६५/६६) प्रकाशन- ४, लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला
हरिहरभवन, ललितपुर
– बार्षिक प्रगति प्रतिवेदन (आ.व. २०६६/६७) क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यमाञ्चल हरिहरभवन,
ललितपुर
– गाईभैंसी तथा बाख्राको लागि युरिया मोलासेस मिनरल ब्लक बनाउने तरिका, कृषक र प्रविधि बैशाख,
२०११
– नाथ, बासुदेव (आ.व. २०७२/७३) दुधालु गाईभैंसीको लागि उपयोगी युरिया मोलासेस मिनरल ब्लक,
केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय