चर्चित

सुशील अर्याल
अभियन्ता, युवाहरुको लागि नमुना बाख्रा गाउ अभियान, स्याङ्जा

पशु सेवा विभागको जानकारी अनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात १ करोड ८४ लाख रहेको छ । संसारमा जम्मा ३५१ प्रकारका बाख्राका प्रजाति पाइन्छन । ति बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रकारका बाख्राका प्रजाती पाइन्छन् भने नेपालमा च्याङग्रा, सिन्हाल, खरी, तराई गरी ४ प्रजातिका रैथाने बाख्रा रहेका छन् । नेपालमा बिगत केही बर्षदेखि व्यावसायिक रुपमा बोयर जातको बाख्रालाई अभियानकै रुपमा पाल्ने गरीएको छ । यो जातको बाख्राबाट बढी फाइदा हुने भएकोले व्यावसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । विश्वको कुल बाख्राको संख्याको करीव ९२.५ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइन्छन् । विश्वव्यापी बाख्रापालनको तथ्याङक हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौँ स्थानमा छ ।
पहिलो स्थानमा चीन, दोश्रोमा भारत पर्दछन् । नेपाल सरकारको व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको आव २०७४÷७५ को तथ्याङक अनुसार नेपालमा त्यस आव मा मात्र भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्यान्ड, जर्मनी लगायतका देशबाट करिब ५ अर्ब बराबरको जिवित बाख्रा र मासु आयात भएको छ ।
नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि परम्परागत पालन प्रणाली, बाख्रा विशेष दानाको अभाव, उन्नत घाँस खेती नहुनु आदि कारणले समस्या देखिन्छ । युवाहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्न नसक्नु, नश्ल सुधार हुन नसक्नु, मुल्य श्रृङखला विकास, उत्पादन विविधीकरण, दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौँ । बाख्रापालन एउटा नबिन पेशाको रुपमा विकास भैरहेको छ ।
हालका केहि तथ्याङकहरु हेर्दा पछिल्लो १०/१२ बर्षको अवस्था हेर्दा बाख्राको संख्यामा ३७ प्रतिशत भन्दा बढी बृद्धि भएको पाइन्छ । सन २००७/००८ मा बाख्राको सङख्या ८१,३५,८८० वटा थियो । हाल १,८७,६५,००९ वटा रहेका छन । स्याङजा जिल्लामा मात्र २ लाख ३४ हजार ६५९ वटा बाख्रा रहेका छन् । देशब्यापी मासु उत्पादन तथा खपत को अवस्था हेर्दा बाख्राको मासुले राष्ट्रिय उत्पादनको १९ प्रतिशत भाग ओगटेको छ । हालसम्मको अवस्था हेर्दा धेरैजसो किसानहरुले परम्परागत हिसाबले नै बाख्रापालन गरेको देखिन्छ । व्यावसायिक किसानहरु बिस्तारै बाख्रापालनतिर आकर्षित भएको अवस्था छ ।

नेपालमा बाख्रापालन परम्परागत रुपमा आफ्नो जीवन निर्बाहमुखी रुपमा गरि आएको भए पनि हालका केहि बर्ष देखि व्यावसायिक रुपमा बाख्रापालन सुरु भएको पाइन्छ । हाल युबाहरुको समेत यस प्रति आकर्षण बढेको पाइन्छ नेपालमा हिमाल पहाड तराई सबै क्षेत्रमा बाख्रापालन हुने हुनाले पनि बाख्रापालन धरै जनाले रुची देखाएको पाइन्छ । मासुको माग अनुरुप उत्पादन नहुनु बिक्रि वितरण सहज हुने यो पेसा अरु पेसा भन्दा सजिलो सग आम्दानी हुने तरिकाबाट व्यावसायिक रुपमा बाख्रापालन गर्ने हो ।

बाख्रापालन हाम्रो जस्तो देश को लागि आर्थिक सम्वृद्धिको लागि एक महत्वपूर्ण ब्याबसाय हो। यो ग्रामीण क्षेत्रका बिपन्नहरुको आम्दानिको मूलस्रोत नै बाख्रा पालन हो । बाख्रापालन लाइ बैंक खाता पनि भंनिन्छ। पाठापाठीलाइ बैंकको ब्याज भन्दा पनि हुन्छ। धार्मिक हिसाबले मन्दिरमा बलि दिन समेत बाख्राको प्रयोग गरिन्छ । पहिले–पहिले आफ्ना छोरी चेली लाइ पेवाको रुपमा बाख्रा दिने प्रचलन समेत थियो । छिटो बढ्ने बच्चाहरुले समेत हेर्न सक्ने यो ब्याबसाय, घर खर्चको लागि समेत सजिलोसग पालन सकिने छ । गरिबको गाई समेत भन्ने प्रचलन रहेको छ । बाख्राले अरु पशुहरुले समेत नखाने घर झारपात खाएर मासु उत्पादन गर्ने हुदा यस्लाइ मासु उत्पादन गर्ने मेसिन समेत भनिन्छ । सामान्य रुपमा हाम्रो देश धरै जमिन सुख्खा अनि अधिकांस जनसख्या गरिबी रहेको हुनाले खेर गएको जमिनको समुचित उपयोगको लागि बाख्राले एक महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । देश अनि समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने ब्याबसायबाट कसरी फाइदा लिने सो को लागि बाख्रापालन ब्याबसाय सफल हुनको लागि निम्न अनुसारका मूख्य प्रविधिहरु आत्म साथ गर्नु जरुरी छ । यि तलका प्रविधिहरु ख्यालमा राखियो भने सफल रुपमा वाख्रापालन गरि मनग्गे आम्दानी गर्न सकिन्छ ।

-बथान सानो हुनुपर्दछ् । आफुले पाल्ने वाख्राको बथान कति बनाउने सो निक्र्यौल गर्नु पर्दछ । बथान कत्रो राख्ने भन्ने कुरा आफ्नो आर्थिक क्षमतामा भर पर्दछ । त्यस्तै गरि घास तथा चरन क्षेत्रको उपलब्धता, खोर, घास, कामदार तथा ज्यामिको व्यवस्था, साथै बजार व्यवस्था कस्तो छ । त्यसैले माथिका व्यवस्थाहरु कस्तो छ सोही अनुसार आफ्नो क्षमता अनुसार बथान कति राख्ने कुराको एकिन गर्नु पर्छ । सामान्यतया नया फर्म खोल्दा ३० माउ भन्दा बढी राख्नु त्यति सफल मानिदैन सुरुमा थोरै बाट सुरु गर्नु पर्छ ।
– ठाउ अनुसार उपयुक्त खोर तथा टाट्नोको व्यवस्थापन गर्नुपर्दछ गोठ बनाउदा अलि ओभानो अली उठेको ठाउ छान्नु पर्छ । बाख्राको लागी पर्याप्त ठाउ (१ देखि २.५वर्ग मिटर) जात हेरि दिनुपर्दछ । खोर बनाउदा घाम लाग्ने गरि ठाउको छनोट गर्नुपर्छ गोठमा ठाउ हेरी तराइ र पहाड मा ९० से.मी जमिन भन्दा माथी टाटनो बनाउनु पर्दछ र ओभानो राख्नु पर्छ । घास खाने टाटनो ठाउ अनुसार वनाउनुपर्छ । बोका माउ, पाठापाठि र विरामी वाख्रालाई अलग राख्नु पर्दछ ।

-उत्पादन क्षमताको जानकारी लिदै काम गर्नु पर्दछ । बाख्रापालनमा अति महत्वपूर्ण भूमिका छनोटको रहने हुदा उत्पादनको आधारमा बाख्राको छनोटमा वाख्राको दूध तथा मासु उत्पादन क्षमता थाहा पाउन रेकर्ड राख्नु पर्दछ । प्रत्येक वाख्राको उत्पादन क्षमताको मुल्यांकन गर्नु पर्दछ । जस्तै २ बर्ष मा ३ पटक ब्याउने, एक पटक मा २ पाठा पाठी जन्माउने बच्चा लाइ राम्रो हुर्काउने आदि कुरा लाइ ध्यान दिएर कुनको सन्तान बढाउने कुन को सन्तान हटाउने भन्ने कुरा निर्णय पर्दछ ।

-आहारामा सुधार ल्याउनु पर्दछ । वाख्राको शारिरिक अवस्था (थारो, व्याउने, लैनो, पाठापाठी र वोका आदि) हेरी घास तथा सन्तुलीत दाना (स्थानीय सामाग्री बाट वनेको सस्तो) दिनु पर्दछ। कोशे र अन्न बालिका उपपदार्थहरु (मकै, गहुं, धान, आदिको चोकर) प्रयोग गर्ने गरि सस्तो दाना तयार गर्नु पर्दछ । बथानलाई सस्तो पानी पिउन दिनु पर्दछ । समय समयमा युरिया मोलासेस मिनरल ब्लक चाट्न दिनु पर्दछ ।

-बाख्रा अरु पशु जस्तै भए पनि बाख्रा अरु भन्दा फरक गुण भएको प्राणि हो। यो बाख्राले अति सफा अनि पोसिलो घाँसहरु खान मन पराउछ। जस्तो कि घाँस को टुप्पो मात्र खान खोज्ने एउटा मात्र घाँस नखाएर बिभिन्न प्रजातिको घाँस खान मन पराउने हुनाले आफ्नै खेतवारीमा बिभिन्न पोषिलो उन्नत बुट्यान घाँस लगाउनु पर्दछ। बाख्रापालनमा मुख्य समस्या नै आहारा हो । नेपालको बाख्रापालन आहाराको अभाबमा हाल धरै बाख्रा फर्महरु धारासाही भएको उदाहरण छन्। त्यस कारणले पाहिले घाँस खेति गर्ने घासखेति गर्दा बाख्राले ३० प्रतिसत कोसे घास खान पाउने गरि घाँस खेति गर्नुपर्छ घाँस खेति गर्दा मुख्य रुपमा सुपर नेपियर ,बर्सिम ,जे ,किम्बु, कोल्भर, लुसन, मेंदोला, भट्मासे, सुम्बासेटेरिया, स्टाइलो, किम्बु, राइखानियो, बकाइनो, इपिल इपिल, बदामे घाँस जस्ता उत्पादन लागत घटाउन भूमिका खेल्ने घाँस लगायत आफैले उत्पादन गरि सिजनमा बढी भएको घासबाट हे, साइलेज (बाख्राले साइलेज भन्दा हे मन पराउछ) बनाएर संरक्षण गरि घासको अभाब हुने बेलामा पोषिलो घास अभाब पुरा भै महगो दानाको खपत कम भै लागत घटन गई वाख्रापालन व्यवसायबाट फाइदा लिन सकिन्छ भन्ने सम्झेर काम गर्नु पर्दछ । वर्षै भरि हरियो घाँस उत्पादन हुने गरि ठाँउ सुहाँउदो घाँस तथा डाले तथा लगाउनु पर्छ। साथै घास तथा डाले घाँस काटने उपयुक्त समय पत्ता लगाइ सोही बमोजिम घाँस  काटनु पर्छ । चरिचरनलाई नियन्त्रित गरि संरक्षण गर्नु पर्दछ ।

-पशुस्वास्थ्यमा ख्याल पुर्याउनु पर्दछ आन्तरिक तथा वाहृय परिजिवी नियन्त्रण वर्षको कम्तिमा तिन पटक साथै सरुवारोग जस्तै पि.पी.आर , इन्टेरोसेमिया, खोरेत जस्ता सरुवा रोग बिरुद्ध खोप आवश्यता अनुसार गर्नु पर्दछ । साधारण औषधिहरु जस्तै पेट फुलेको ज्वरो आएको जुम्रा उपिया आदि मार्ने विषादी, टिम्पोल, नेवलोन, हिम्याक्स, टेरामाइसिन, निल्जा, सल्फा बोलस आदि आफैसँग राख्नुपर्छ । रोग पहिचान गरि उपचार गरेमा मात्र फाइदा हुने हनाले स्थानीय पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिक संग आवश्यक सरसल्लाह लिइनु पर्छ। र वास्तवमा रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ भन्ने सम्झदै सोहि अनुरुप कार्य गर्नु पर्दछ । खोर या फर्म मा जैविक सुरक्षा मा ध्यान दिनु पर्छ “पाहुना आफ्ना हुन्, पाहुनासँग आएको रोग आफ्नो होइन” भन्ने उखान बिर्सनु हुदैन ।

-वाख्रामा सहि प्रजनन पद्दति उपयोग गर्नु पर्दछ् । राम्रो उत्पादन गुण भएका बाख्रा छान्ने अर्थात १२ महिनाको उमेरमा बढी तौल भएको वाखलाई राम्रो बाख्रा मान्ने तथा नराम्रो गुण भएका वाख्रालाई छाटने निति तय गरि छनोट गरपछ । छनोट गर्दा आर्थिक दृष्टिकोणले महत्वापुर्ण गुणहरु जस्तै दूधको लागी पालिएका बाख्राको लागी कल्चौँडो र दूध दिन सक्ने क्षमता भएको, मासुको लागी छान्दा मोटो गर्धन भएको १२ देखि १५ महिनाको उमेरमा राम्रो सग सप्रेको लाई आधार मानेर छनौट गर्नु पर्दछ बसज बाट सर्दै आएका दुर्गुण भएका वाख्रालाई छनौट गर्न भुल्नु हुदैन । यो कार्य को लागि फर्म को अभिलेख राख्नु पर्छ जसको कारणले फर्मको अबस्था अनि बस्तुथिति थाहा पाउन सकिन्छ ।

-विउ राम्रो त वाली राम्रो भन्ने उखान विर्सनु हुदैन प्रजननको लागी वोका छान्दा राम्रो उत्पादन क्षमता भएको बढि दुध दिने छिटो बदने गुण माउ बाट जन्मिएको जातीय सुद्ता भएको छान्नु पर्छ। हाल बोएर मात्र राम्रो हुन्छ भन्ने कुरा बिर्सनु जरुरि छ किनकि निरोगी र प्रजनन क्षमता भएको स्थानीय खरी जातबाट पनि राम्रो आम्दानि लिन सकिन्छ राम्रो उत्पादन लिन वयस्क वोका मात्र प्रजनन कार्यमा प्रयोग गर्नुपर्छ । हाडनाता प्रजननलाई निषेध गर्नुपर्छ ।

-स्वस्थ र आर्थिक लाभ हुने पाठापाठी पालन विधिको सधै अभ्यास गर्नुपर्छ । पाठापाठी हुर्काउदा शुरु देखि अन्तसम्म सरसफाइको व्यवस्था गर्न विर्सनु हुदैन । पाठापाठी गए अनुसार दानाको व्यवस्था गर्नु र दूध छुटाइ आहारामा खास ध्यान दिनुपर्दछ। घरपाल्न राखिने पाठा पाठी असल गुण भएका छानेर राख्नुपर्छ । बथानमा राख्न छुटायर वसेका पाठापाठी पोषिलो दाना घास व्यवस्था गरि व्रोइलर पालेझै पाली मासुको लागि बिकि गर्नु पर्दछ।

-बिमा गरेर पशुपालन गर्नुपर्दछ । हाल नेपाल सरकारले पशु तथा कृषि बिमा मा ८० प्रतिशत अनुदान दिएको हुनाले सो का लागि आफ्नो फर्मको सम्पूर्ण बाख्रा अनि बोकाको लगायत कामदारको समेत बिमा गर्नुपर्छ ।

यी कुराहरु लागि आत्मसाथ गरेर बाख्रापालन ब्याबसाय सुरु गर्दा बाख्रापालनले सोचेको अनुपातमा नाफा दिनेछ । बाख्रापालन ब्याबसाय सुरु गर्दा आफ्नो नजिकको स्थानीय निकायसग सहकारी गरेर काम गर्दा त्यहाबाट प्राप्त हुने सेवा सुबिधाहरु समेतमा सहजीकरण हुन्छ। मूल कुरा लहै लहैमा ब्याबसाय सुरु गर्नु भन्दा केहि कुरा बुझेर जानकारी लिएर यो ब्याबसाय सुरु गर्दा असफल हुने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय