अशिम सापकोटा
संस्थापक, एग्रो टाइम्स मिडिया नेटवर्क
देशभरका साना–ठूला सबै शहरमा कफी संस्कृति मौलाइरहँदा स्वदेशी कफीको बजार विस्तार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढेको छ । तर, आन्तरिक उत्पादनले घरेलु ‘कफी शप’ हरूको माग समेत धान्न सकेको छैन् ।
नेपालमा कफी खेतीको इतिहास खोतल्दा वि.सं. १९९५ मा गुल्मी, आँपचौरका हीरा गिरीले बर्माबाट कफीको बोट भित्र्याएको भेटिन्छ । त्यसपछि एकैपल्ट २०३३ सालमा सरकारले कृषि विकास ब्याङ्क मार्फत भारतबाट ‘अरबिका’ जातकोे बीउ ल्याएर गुल्मी र बाग्लुङमा कफी खेती शुरू गराएको थियो ।
बीचबीचमा छिटपुट रूपमा खेती हुने क्रम बढे पनि २०५० सालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापनापछि नै कफी खेतीले आकार लिन थालेको हो । त्यसको ३ दशक बित्दा नबित्दै ४३ जिल्लाका ३२ हजारभन्दा बढी कृषक कफी खेतीमा लाग्नु भने आफैंमा आशलाग्दो तस्वीर हो ।
योभन्दा अझै बढी आशा हालैको एक अध्ययनले देखाएको छ । ‘एनलाइसिस अफ ह्याबिट्याट सुइट्याविलिटी अफ कफी इन नेपाल, २०१८’ अनुसार ६२ जिल्लाको ११ लाख ९८ हजार ५३५ हेक्टर जमीन कफीखेती योग्य छ ।
कुनै न कुनै रूपमा कफी खेतीमा संलग्न हुने किसानको संख्या ठूलो देखिए पनि व्यावसायिक खेती गर्नेको संख्या भने कम छ, जसको कारण उत्पादन पनि कम भएको कफी विज्ञ बताउँछन् । कृषकहरूमा कफी खेती मात्र गरेर टिक्न सकिन्छ भन्ने आत्मविश्वास छैन, मुख्य खेतीपाती अरू नै गर्ने र पाखोबारीमा अलिकति कफी लगाउने चलन छ ।”उच्च गुणस्तरको कफी उत्पादनका लागि आवश्यक शीतल र मन्द हावा चल्ने ठाउँ, पानी नजम्ने पहाडी भू–भाग, सिंचाइ र प्रशोधनको निम्ति पानीको पर्याप्तताका कारण मध्यपहाडी क्षेत्रमा कफी उत्पादनको प्रचुर सम्भावना छ ।
अहिलेसम्म नेपाली कफी साना किसानको उत्पादनले मात्र थेगिरहेको, व्यावसायिक खेती शुरू गर्न नीतिगत अवरोध रहेको र साना किसानलाई फैलिनबाट पनि सरकारी नीति र ऐन–नियमले रोकेको विज्ञहरु बताउँछन् । चिया खेतीका लागि जग्गाको सीमा नतोकिए पनि कफी खेतीका लागि ७५ रोपनीको हदबन्दी तोकिनु विरोधाभासपूर्ण रहेको देखिन्छ।
जग्गाको हदबन्दी अनुसार पहाडमा एक जना व्यक्तिले ७५ रोपनीभन्दा बढी जग्गा राख्न पाउँदैन, तर व्यावसायिक खेतीका लागि कमसेकम ५००–७०० रोपनी चाहिने व्यवसायिक कफी उत्पादकहरु ब्ताउने गरेका छन् । अहिलेसम्म कफी खेती गरिरहेका साना किसानसँग पर्याप्त जग्गा नभएको र उनीहरूलाई सामुदायिक वनको छेउछाउमा रहेको बाँझे जग्गा लिजमा लिएर खेती गर्न वा वनभित्रै बिरुवा रोप्न वन ऐनले रोकेकाले पनि कफी खेती विस्तार हुन नसकेको स्पष्ट देखिन्छ ।
व्यवसायीहरूका अनुसार कफी खेतीमा धेरैले रुचि देखाए पनि लगानीको वातावरण बनाउन अहिलेसम्म ध्यान दिइएको छैन । “कोही व्यक्ति कफी खेती गर्छु भनेर ऋण माग्न गयो भने कुनै पनि बैँकले नपत्याएको व्यवसायीको गुनासो आउने गरेको छ । व्यवसायीहरु भन्छन् कफी उत्पादनलाई व्यावसायिक रूपमै अघि बढाउने हो भने सरकारले पनि सहयोग गर्ने वा सहुलियत दिने नीति हुनुप¥यो ।”
नेपालमा उत्पादन हुने अधिकांश कफी अरबिका जातको हो । समुद्र सतहबाट ८०० मिटरदेखि १६०० मिटरको उँचाइमा खेती हुने अरबिका संसारभर पाइने कफीका प्रमुख चार प्रकारमध्ये उच्चकोटिको मानिन्छ । कफी उत्पादक अन्य मुलुकभन्दा भिन्न र अनुकूल हावापानी भएकाले नेपाली कफीमा विशिष्ट गुण र बास्ना रहेको पारखीहरू बताउँछन् । त्यसमाथि नेपालमा उत्पादित कफी अर्गानिक भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग छ ।









