गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गहुँत, गुइठा र गोबर द्वारा कम्पोस्ट मल बनाउन का लागि पाल्ने गरिन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य हो । गाई नेपालको राष्ट्रिय जनावर हो ।
तिहारमा मात्र नभई सनातन धर्मसंस्कृति र जीवनयापनका हरेक पक्षमा गाईको महत्व छ । वैदिक हिन्दु धर्ममा गाईलाई ‘आमापछिको आमा’ मानिएको छ । यस्तै गाईलाई लक्ष्मीकै रूपमा पनि पुज्ने परम्परा छ । त्यसैले पनि गाईलाई माता वा लक्ष्मीकै रूपमा आराधना गर्ने गरिएको धर्मशास्त्रविद् बताउँछन् । ‘गाईबाट प्राप्त हुने दूध पौष्टिकरूपले मात्र नभई औषधीय रूपले समेत महत्वपूर्ण मानिन्छ’ ‘दूध मात्र नभई गाईको गहुँत पनि आयुर्वेदको ठूलो औषधि मानिएको छ । यसैकारण पनि गाईलाई आमासमान मानिएको हो ।
गाईलाई भगवान विष्णुको पत्नी नीला देवीको रूपमा मान्ने गरीन्छ । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । गाईको मूत्रलाई गोमुत्र अथवा गहुँत भनिन्छ । गोमुत्रले अपवित्रता नास गर्छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा पञ्चगव्यमा गोमुत्र मिसाएर पान गरेर पवित्र गराइन्छ । गाईको गोमूत्र पवित्र मानिन्छ र देव तथा पितृ कार्यहरूमा गोमूत्रको ठूलो महत्व छ ।
हाम्रा रैथाने गाईहरुको महत्व सरकारले बुझेन्
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रैथाने गाईको संरक्षण र नश्ल सुधारका लागि कार्यक्रम सञ्चालन गरेको छैन । रैथाने गाई संरक्षणका बजेट पनि छुट्याइँदैन । स्थानीय गाईलाई नश्ल सुधार गर्नुपर्छ भन्ने योजना नआएका कारण नश्ल सुधारको काम नभएको जानकारहरु गुनासो गरीरहन्छन् । ‘रैथाने गाईको नश्ल सुधारका लागि छलफल त भए होला तर योजनामा भने समेटिएको पाइँदैन ।
सरकारी तहबाट उन्नत जातका गाई उत्पादनका लागि नश्ल सुधार गरी चौपाया उत्पादन गर्दै आए पनि रैथाने चौपायालाई समेट्न नसकिएको यथार्थ छ । ‘रैथाने चौपायालाई नश्ल सुधार गरी नयाँ चौपाया उत्पादन गर्न सकिन्छ तर नेपालमा यसको अभ्यास गरिएको छैन । आगामी दिनमा रैथानेको संरक्षण र नश्ल सुधारका लागि पहल गर्नैपर्छ ।
कृषि क्षेत्रमा पशुपालनले दीर्घकालीन प्रभाव पार्छ । यसका लागि सरकारले ध्यान नदिएको कृषिविज्ञको गुनासो छ । नेपाली रैथाने बालीदेखि चौपायाको ८० प्रतिशत मौलिक गुण लोप भएको विज्ञहरूको आरोप छ । कृषि क्षेत्रमा रैथानेको जगेर्ना गर्न नसक्दा यस्ता मौलिक गुण फर्काउन समस्या भइरहेको उनीहरू बताउँछन् । ‘नेपालमा रैथाने चौपाया, कृषि सामग्री र तरकारीसमेत धेरै लोप भइसकेको छन् ।’
नेपालमा रैथाने गाईको नश्ल विकास भएन । नेपालका रैथाने आछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिए राम्रो परिमाणमा दूध दिने जानकारहरु बताँउछन् । रैथाने गाईको नश्ल सुधार गरेर त्यसैको नयाँ प्रजाति विकास गर्न सरकारले महत्व दिएको छैन् । कुन प्रजातिका गाईले कम र बढी दूध दिन्छन् भनेर अध्ययन गरी नश्ल सुधार गर्न सकिने र स्थानीय गाईलाई कृत्रिम गर्भाधान गराएर धेरै दूध दिने वर्णसंकर गाई उत्पादन गर्न सकिने पशु विज्ञहरुको सुझाव छ ।
आयातित गाईभन्दा रैथाने जातका गाईको दूध पौष्टिक तत्त्वले युक्त हुने विभिन्न अध्ययनमा औँल्याइएको छ । रैथाने गाईको दूध पौष्टिक तत्वले भरिपूर्ण, उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुने अध्ययनहरुमा उल्लेख छ, त्यसैले रैथाने जातका पशु संरक्षण गरी दूध उत्पादनमा उल्लेख्य सुधार गर्नु आवश्यक छ ।









