ऋषिराम पाण्डे
गरिबी निवारण, सामाजिक एकीकरण, आर्थिक समावेशिता, लाभको न्यायपूर्ण वितरण, परम्परागत सीप तथा क्षमताको संरक्षण एवं प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यावरणीय सुधारमा सहकारीको अग्रणी भूमिका हुने भएकाले यी क्षमताहरू अभिवृद्धि गर्न आवश्यक छ। सहकारीले समुदायको आर्थिक विकास मात्र नभई मुलुकको समग्र विकासमा उल्लेखनीय भूमिका खेलेको छ।
स्थानिय श्रम, सीप, र पूँजीलाई अधिकतम रूपमा परिचालन गर्दै सहकारीलाई अर्थतन्त्रको सबल स्तम्भको रूपमा विकसित गर्न तथा राष्ट्रिय आर्थिक एवं सामाजिक विकासको लक्ष्यमा योगदान पुर्याउन सहकारी ऐनले परिकल्पना गरेको छ। त्यसैले मुलुकको दिगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रूपान्तरणका लागि सबल र सक्षम सहकारी प्रणाली अपरिहार्य हुन्छ।
अर्थनीतिमा चन्दनाथ बहुउद्देश्यीय सहकारीको भूमिका
संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीतिमा सहकारीको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। यसै अनुरूप सहकारी संस्थाहरूले आर्थिक विकास र सुदृढीकरण गरी सहकारी मार्फत आम जनसमुदायलाई गोलबन्द गर्दै आर्थिक लाभ दिलाउन सहयोग गर्दै आएका छन्। सहकारीमा आधारित साना, ठूला, मध्यम तथा व्यावसायिक संस्थाहरूको स्थापना गरी गाउँ, टोल, जिल्ला हुँदै देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने सहकारीको प्रमुख उद्देश्य हो।

वि.सं. २०३१ मा स्थापना भई चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था साझा संस्थाको रूपमा वि.सं. २०४६ सम्म सञ्चालनमा थियो। तर, २०४६ सालमा नेपालमा व्यवस्था परिवर्तन भएसँगै साझा संस्थाहरू बन्द हुँदा यो सहकारी संस्था पनि निष्क्रिय बन्यो। वि.सं. २०६८ सालको कार्तिक महिनादेखि पुनः कर्णालीको दुर्गम क्षेत्र विशेषगरी जुम्लामा गाउँघरका दिदीबहिनीहरूलाई बचत गर्न अभिप्रेरित गर्दै सानो-सानो ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्ने अवधारणा सहित पुनः सञ्चालन गरियो।
जुम्ला जिल्लाका संरचनाअनुसार ३० वटा गाउँपालिकाहरूमा सहकारीका शेयर सदस्य बनाइए, कर्जा प्रवाह गरियो, तर सदस्यहरूले उत्पादन गरेको रैथाने बाली बजारीकरण गर्न चुनौती खडा भयो। यस समस्यालाई समाधान गर्न वि.सं. २०७४ बाट “कोशेली घर” खोल्ने निर्णय गरियो, जसअन्तर्गत सदस्यहरूले बचत गर्दा रैथाने बाली दिन सक्ने तथा कर्जा तिर्दा पनि रैथाने बाली बुझाउने नीति अपनाइयो। यद्यपि, तरलता व्यवस्थापन तथा सामान बिक्री नभए के गर्ने भन्ने चुनौती विद्यमान थियो।
जुम्ली मार्सी चामल विशिष्ट ब्रान्ड हो
जुम्ली मार्सी चामल विश्वकै अग्लो स्थानमा उत्पादन हुने विशिष्ट ब्रान्ड हो, तर यसको प्रचारप्रसार हुन सकेको थिएन। संयोगवश, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुर्गा प्रसाईमार्फत जुम्ली मार्सी चामलको भात खाएको समाचारले चर्चापाएपछि यसको माग अत्यधिक बढ्यो। त्यसपछि जुम्ली सिमी, चिनो, कागुनो, ओखर, जिम्बु, खरायोको टोपी, स्याउका चाना, राडी, पाखी लगायतका ४६ प्रकारका रैथाने बाली “कोशेली घर” मार्फत बिक्री सुरु गरियो। यसैबीच, कर्णाली प्रदेश सरकारले जुम्लासहित अन्य जिल्लाहरूलाई “अर्गानिक जिल्ला” घोषणा गर्ने निर्णय गर्यो र कृषि मन्त्रालयले मूल्यवान लोगोसमेत उपलब्ध गरायो। कर्णालीका सबै जिल्लामा संकलन केन्द्र स्थापना गरी रैथाने बाली संकलन गर्ने कार्य अघि बढाइयो। अहिले बजारको समस्या नरहे पनि जनसंख्या बाहिरिने प्रवृत्तिले उत्पादनमा चुनौती थपिएको छ। नेपाल कृषिप्रधान देश भएकाले उत्पादनको सम्भावना अझै उच्च छ।

प्रमुख आवश्यकताहरू:
✔ कृषि कर्जा सहज उपलब्ध गराउनु आवश्यक छ।
✔ मल, बीउ, कृषि औजारहरूको व्यवस्था गर्नुपर्छ।
✔ पहाडी क्षेत्रमा कृषि एम्बुलेन्सको आवश्यकता अत्यधिक छ।
✔ कृषि उत्पादनहरूको बजारीकरणको ग्यारेन्टी हुनुपर्छ।
“हाम्रो अन्नदातालाई अपमान किन गर्ने ?” भन्ने नाराका साथ सहकारीले कृषिमा आधारित शेयर सदस्यहरूलाई प्रोत्साहन गरिरहेको छ। हाल सहकारीले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू र बागमती प्रदेशको काठमाडौंमा संकलन केन्द्र तथा कोशेली घर स्थापना गरिसकेको छ। २७,००० शेयर सदस्यहरूमध्ये १९,००० महिला छन्, जसले कृषि व्यवसायलाई आधार मानेर आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन्। सहकारीको प्रमुख लक्ष्य महिलाहरूलाई कर्जा प्रवाह गर्दै कृषि व्यवसायमार्फत आत्मनिर्भर बनाउने हो।
देशको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक छ। जबसम्म राजनीतिमा सुधार आउँदैन, तबसम्म अर्थतन्त्रले आफ्नो सही मार्ग लिन सक्दैन।
लेखक ऋषिराम पाण्डे जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष तथा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका कार्यकारी व्यवस्थापक समेत हुन्, उनी लामो समयदेखी स्थानिय तथा रैथाने बालीहरुको प्रवर्धन र प्रसारमा समेत लागिरहेका छन् ।









