
लक्ष्मण गुरुङ
वरिष्ठ कृषि तथा पर्यावरणविद्
नेपालको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ भनिरहँदा, नेपालको कृषिमा आधुनिक र औद्योगिक कृषि अभ्यास भित्र्याउन खोजेको करीब सत्तरी वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा कृषिबाट खोजिएको समृद्धिमा खाद्यान्न सुरक्षा, पोषण आपूर्तिमा, रोजगारी सिर्जना, ग्रामीण गरिबी न्यूनीकरण, र अन्ततः देशको राष्ट्रिय आर्थिक उत्पादनमा योगदान गर्नु रहेको थियो । आधुनिक कृषिको आधार परम्परागत कृषिमा सुधार गरी कृषिको व्यवसायिकता, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न रासायनिक मलखाद, उन्नत सुधारिएको बीउको प्रयोग, सुधारिएको सिंचाइ माध्यमबाट सिंचाइको व्यवस्थालाई मानिएको थियो । पछिल्लो दशकयता व्यवसायिकताको लागि आधुनिक र सहज कृषि उपकरणलाई पनि प्राथमिकतामा राखिएको छ ।
प्रत्येक वर्ष कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न भनेर रासायनिक मलखाद र बाली सुरक्षाको लागि रासायनिक विषादीको प्रयोग पनि बढी रहेको छ
त्यो प्रयासले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने खाद्यान्न सुरक्षा, पोषण आपूर्ति, ग्रामीण भेगमा आय र रोजगारी सिर्जना गर्न केही सघाएको दाबी छ । कृषिबाट नै केही आर्थिक समृद्धि मिलेको पनि उल्लेख छ । जसको कारण परिवारको स्वास्थ्य र मनोरञ्जन, बालबालिकाको शिक्षा, र थोरै भए पनि आर्थिक स्वतन्त्रता दिनमा सहयोग पुगेको र राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुगेको आधिकारिक निकायको तर्क छ ।
नेपालमा विशेष गरेर व्यवसायिक खेतीमा नगदे बालीको रूपमा विकास गरिएको तरकारीजन्य खेतीको व्यापक विस्तार भएको छ । अन्न उत्पादन पनि सँगै भएको छ । अन्नमा धान, गहुँ र मकै खेतीको व्यवसायिक उत्पादन बढेको तथ्य देखाइएको छ । प्रत्येक वर्ष कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न भनेर रासायनिक मलखाद र बाली सुरक्षाको लागि रासायनिक विषादीको प्रयोग पनि बढी रहेको छ । यसमा राज्यले ठूलो आर्थिक बजेट पनि विनियोजन गर्दै आएको छ, विशेष गरी रासायनिक मलको खरिदमा । यसमा कृषि वस्तुको उत्पादन लागत घटाउन भनेर अनुदानको पनि व्यवस्था गरिएको छ ।
यसरी खेती प्रणालीमा उत्पादन वृद्धि गर्न भनी किसानको तहबाट प्रयोग भइरहेको रासायनिक मल र विषादी प्रयोग अवस्था, यसको तत्कालीन र दीर्घकालीन असरबारे भने आजसम्म सबै सरोकारवालाहरू बेखबरजस्तै रहने गरेको पाइएको छ । मुख्य गरेर विषादी प्रयोगबाट विषादी प्रयोग गर्ने किसान, उसका परिवार, विषादी प्रयोग गरिएको क्षेत्र वरपरको बस्ती, खेती गर्ने गरेको जमिनको माटो, प्राकृतिक स्रोत र अवस्थित स्थानीय पर्यावरणीय सम्बन्ध, जैविक प्रणालीमा असर देखिएको छ । यसबारे कसैले पनि सोच्न सकेको देखिँदैन ।
प्रयोग गरिएको विषादीका कारण जलचक्र, स्थलचक्रमा नराम्रो असर हुँदा पानीभित्र र जमिनमाथिको प्राणीको जीवन नराम्ररी बिथोलिएको छ
यहाँ केवल आर्थिक वृद्धि र प्रतिव्यक्ति आयको आधारलाई विकास र समृद्धि मान्ने विकास मापदण्डलाई नै मुख्य मान्यता दिँदा ती खेतीमा प्रयोग भएका विषादी र रासायनिक मलको असर जनस्वास्थ्य, पारिवारिक आर्थिक अवस्था र माटोको उर्वराशक्तिमा भएको ह्रास जुन पूर्वावस्थामा फर्काउन करिब असम्भवजस्तै देखिएको क्षतिको मूल्याङ्कन, रोग र स्वास्थ्यमा परेको असरका कारण घरधुरीमा दीर्घकालीन रूपमा असर पारेर झन गरिबीमा धकेलिरहेको अवस्थाबारे खासै चासो राखिएको छैन र यसको उचित समाधान खोज्न जाँगर देखिएको पनि छैन ।
अर्कोतर्फ, उक्त प्रयोग गरिएको विषादीका कारण जलचक्र, स्थलचक्रमा नराम्रो असर हुँदा पानीभित्र र जमिनमाथिको प्राणीको जीवन नराम्ररी बिथोलिएको छ । कतिपय जीव र जनावर नष्ट भइसकेका छन् । प्रयोग भएका विषादी पानीको स्रोतमा मिसिएर पानी विषादीयुक्त बन्न पुगेको छ । उक्त पानी पिउँदा धेरै जंगली जनावरहरूको मृत्यु भएको छ । माटोमा विषादी मिसिएपछि माटोमा रहेका बोटबिरुवाहरू समेत मर्ने र नष्ट हुने क्रम बढ्दो छ ।
यसरी खेती गर्दा एकातिर पर्यावरण र जैविक अवस्था खलबलिएको छ भने उत्पादकत्व बढिरहेको भनिरहँदा प्रत्येक वर्ष खाद्यान्न आयात भने चुलिँदो छ । आखिर किन भयो त यस्तो? यसको जवाफ हो । कृषि वस्तु र क्षेत्रलाई व्यवसायिक आधार बनाएर, यसलाई व्यवसायिक वस्तुको रूपमा मूल्य राख्दा नाफाको आधारमा खाद्यान्न भण्डारण गर्ने व्यवसायिक सोच बढेको छ ।
यसले एकातिर खाद्यान्न समस्या समाधानमा बाधा त पारेको छ नै, साथसाथै पृथ्वीले अनावश्यक रूपमा दीर्घकालीन संकट बेहोर्नु परेको छ ती गरिएका खतरनाक कृषि अभ्यासहरूको कारण । कृषि कार्यको लागि अनावश्यक प्राकृतिक स्रोतको दोहन बढेको छ । व्यवसायिक खेतीको लागि पानी र जंगलका बनबुट्यानको अजैविक प्रयोग गर्दा जंगल नै मासिएको अवस्था छ ।
आधुनिक रूपमा गरिने खेती प्रणालीको लागि चाहिने भनेर उत्पादन र प्रशोधन गरिने कच्चा पदार्थ भने तिनै गरिब मुलुकको प्राकृतिक स्रोत दोहन गरेर लैजाने गरिएको छ । यसले पनि पर्यावरणीय र जैविक असन्तुलन निम्त्याउँदा जलवायु प्रभावको असर देखिएको छ
त्यति मात्र होइन, विषादी, मल, उन्नत बीउ सबै बाहिरबाट आयात हुँदा ठूलो धनराशी विदेशिएको छ । तुलनात्मक लाभ विश्लेषण गर्ने हो भने यसरी गरिएको खेतीबाट लाभांश नेपालमा र किसानको खल्तीमा नगण्य मात्र रहेको तथ्य छन् । जसको कारण विकास र आर्थिक समृद्धि हुन्छ भनी भित्राइएको आधुनिक व्यवसायिक खेती प्रणालीले पुनः पूँजी र स्रोत धनी राष्ट्र र धनी व्यक्तिमा नै संग्रहित हुन सघाएको छ । आधुनिक रूपमा गरिने खेती प्रणालीको लागि चाहिने भनेर उत्पादन र प्रशोधन गरिने कच्चा पदार्थ भने तिनै गरिब मुलुकको प्राकृतिक स्रोत दोहन गरेर लैजाने गरिएको छ । यसले पनि पर्यावरणीय र जैविक असन्तुलन निम्त्याउँदा जलवायु प्रभावको असर देखिएको छ । प्रयोग भएका विषादी र कृषि कार्यका कारण हरितगृह ग्यासमा असर पर्दा वर्षेनी तापक्रम वृद्धि भई प्राकृतिक वर्षातको समय र तालिकामा फेरबदल भएको छ । जसका कारण आकाशे वर्षातमा निर्भर खेती प्रणालीको बाली चक्र र उत्पादनमा असर परेर उत्पादन र उत्पादकत्व अवस्था खस्किएको छ । खडेरी र बाढी, अधिक वर्ष जस्ता गम्भीर विपद् भोग्नुपरेको छ ।
यसरी आधुनिक खेतीमार्फत समृद्धि खोज्न भनेर शुरू गरिएको कृषिले आर्थिक समृद्धि दिन सकेको छैन । काम र अवसर खोज्दै बाहिरिने युवालाई खेती प्रणालीमा अड्याएर राख्न नसक्दा कृषि क्षेत्रको राष्ट्रिय क्षेत्रफल खुम्चिँदै गएको छ । कृषिको राष्ट्रिय जिडिपीमा योगदान र कृषिमा आवद्ध जनसंख्या प्रत्येक वर्ष घट्दो छ । समग्रमा भन्नुपर्दा यति ठूलो लक्ष्य बोकेर अभ्यास गरिएको कृषिबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ न त जनताले, न राज्यले नै उठाउन सकेको छ । कृषिलाई पेशागत क्षेत्र बनाउन सकिएको छैन ।
आधुनिक र व्यवसायिक खेती गर्न गरिएको अभ्यासले रैथाने बाली र पशुपालन संकटमा परेको छ । आधुनिकरण हुन पनि धेरै कठिन भएको छ । यसको प्रभावस्वरूप बीउ र प्रविधिको लागि केही थान बहुराष्ट्रिय कम्पनीको भरमा बाँच्नुपर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा नेपालको कृषि बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा गएको छ । अझ थप भन्नुपर्दा विश्वमा भौगोलिक उपनिवेशबाट छुटकारा मिले पनि कृषिमा बढिरहेको उपनिवेशकरण रोक्न नसक्ने अवस्था सिर्जना भएको छ ।
कृषिलाई रोजगारी क्षेत्रको रूपमा विकास गर्न नसक्दा कृषि क्षेत्रबाट बाहिरिएको पुस्तालाई पुनः कृषिमा स्थापित गर्न नसक्ने स्थिति बनिरहेको छ । कृषि छोडेर जाने पुस्ता र उसको भावी पिँढी सधैँका लागि पूँजीवादको श्रमको मनोमालिन्य स्रोत बन्न जाँदैछ । यसले थाहा नै नपाई ती परिवारको सर्वाङ्गीण विकास र स्वतन्त्रता खोसिँदै गएको छ । नेपाली समाजको अस्तित्व र सभ्यता नै ध्वस्त हुने खतरा पनि बढेको छ । जति टिकेका छन्, ती पनि लामो समय टिक्न सक्ने अवस्था देखिँदैन । तिनलाई पनि आफ्नो कृषि लाभदायक भएको पाइएको छैन ।
प्रश्न आउन सक्छ कि के त्यसो भए हाम्रो कृषि अब सकिएको हो त ? वा हामीले अँगालेको कृषि अभ्यास नै गलत थियो त ?
यी दुबै प्रश्नको उत्तर यसरी लिन सकिन्छ । पहिलो कुरा, हाम्रो कृषि सकिएको छैन । बरु थप नयाँ अवसर र सम्भावना बोकेर कृषि निस्कने मौका दिएको छ । दोस्रो प्रश्नको उत्तर विश्लेषण गर्ने हो भने प्रस्ट छ । हामीले आयातित कृषिमा विकास र समृद्धि खोज्नु भूगोल, ज्ञान, पूर्वाधार र बजार हेर्दा गलत नै थियो । हामीले अन्तर्राष्ट्रिय ज्ञान र सुझावलाई हाम्रो कृषि आधार मान्न खोज्नु नै कमजोरी थियो ।
किनकि कृषि कुनै निर्जीव उद्योगजस्तो मानवले मात्र नियन्त्रित गर्न सकिने पेशा होइन । यो पनि अन्य प्राणी र मानव शरीरजस्तै जैविक अवस्था बोकेको क्षेत्र हो । जसलाई पूर्णरूपमा मानवीय सोच र नियन्त्रणबाट संचालन गर्न सकिन्न ।
त्यसैले स्थानीय अवस्था अनुसारको खेती हुनुपर्छ । स्थानीय बाली प्रजाति, प्रविधि र बीउको प्रयोगमार्फत खेती विकासको अभ्यास गरिनुपथ्र्यो । स्थानीय कृषि उपकरणमै प्रविधि खोजिनुपथ्र्यो । स्थानीय समुदायको ज्ञान र अनुभवलाई सदुपयोग गरी शिक्षालय र पाठ्यक्रम निर्माण गर्नुपथ्र्यो । यसले कृषि महँगो र कठिन हुनबाट बचाउन सहयोग गथ्र्यो । कृषि प्रविधिमा प्रयोग भएका कारोबारको रकम स्वदेशमै रहँदा थप लगानी अवस्था निर्माण गर्न सहयोग पुग्थ्यो ।
जुन कुरा थाहा पाएर पनि गर्नबाट चुक्यौं । भन्न त भू–राजनीतिक, वैश्विकरण भएको वित्तीय परिचालनको अभ्यास र औद्योगिक संरचनाबाट अलग रहँदा विकास र समृद्धिमा बाधा पर्छ भन्ने तर्क पाइन्छ । तर यही सिद्धान्त र मान्यतालाई अनुसरण गर्नु नै कता कता नेपालले आफ्नो कृषिको लय गुमाउने कारक हो कि भन्ने अध्ययन गर्न सक्ने आधार बनेको छ ।
त्यसो भए समाधान के त ?
यस सन्दर्भमा अब हामीले हाम्रै कृषि अनुभव, प्रयास र ज्ञानलाई सदुपयोग गरी सुरक्षित र परिणाममुखी कृषिको लागि समुदायगत कृषि प्रविधि र उपकरणको प्रवद्र्धन गर्नुपर्नेछ । बीउको प्रयोगमा स्थानीय बीउ प्रजातिको विकासमा जोड दिनुपर्नेछ । पर्यावरणीय सन्तुलन कायम राख्ने र प्रकृति मैत्री कृषि अभ्यास अँगाल्न प्रोत्साहित गर्नुपर्नेछ । अधिकभन्दा अधिक कृषिमा हरित प्रविधिमा लगानी गरी सहज कृषि अभ्यासको लागि कार्य र बजेटिङ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय आवश्यकता र उत्पादन क्षमताको आधारमा बाली तथा खेती प्रणालीको सिफारिसअनुसार खेती गर्ने अभ्यास सुरु गर्नुपर्छ । नागरिकलाई उनीहरूको क्षमता अनुसार जीवन जिउन सक्ने जीवनकला सिकाउने शिक्षा दिनु जरुरी छ । दिगो र सुरक्षित मानव जीवनका लागि, प्रकृति मैत्री कृषि प्रणाली अवलम्बन गर्न कन्जुस्याइँ गर्नु हुँदैन ।
लेखक लक्ष्मण गुरुङ एक वरिष्ठ कृषि तथा पर्यावरणविद् हुन्, उनले जलवायु परिवर्तन, दिगो कृषि विकास र हिमाली क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनका लेखहरूमा जलवायु परिवर्तनले नेपालको कृषि प्रणाली र ग्रामीण जीवनशैलीमा पारेको असरबारे गहिरो विश्लेषण पाइन्छ । गुरुङले दिगो कृषि अभ्यास, जैविक विविधताको संरक्षण र स्थानीय स्रोतहरूको उपयोगमार्फत जलवायु परिवर्तनसँग जुध्नुपर्ने आवश्यकता औंल्याउने गरेका छन् ।