डा. केदार कार्की
जलवायु परिवर्तन आज विश्वव्यापी रूपमा एक गम्भीर समस्या बनेको छ, जसको प्रभाव सबै क्षेत्रमा महसुस भइरहेका छन्। विशेषगरी कृषि क्षेत्रमा यसको प्रभाव अत्यन्तै गहिरो छ, किनभने कृषि तथा पशुपालन मौसम र हावापानीमा प्रत्यक्ष रूपमा निर्भर हुन्छन्। नेपालजस्तो कृषि प्रधान देशमा, जहाँ अधिकांश जनसङ्ख्या खेतीपाती र पशुपालनमा निर्भर छ, जलवायु परिवर्तनका चुनौतीहरू झनै जटिल बन्दै गएका छन्।
खडेरीले पशुपालकहरूको जीविकोपार्जनमा गहिरो असर पार्दछ। यसले पशुधनको उत्पादकता, आय र खाद्य सुरक्षामा कमी ल्याउँछ, जसले गर्दा उनीहरूलाई नयाँ रणनीतिहरू अपनाउन बाध्य पार्दछ। खडेरीका समयमा पानी र चारा अभाव हुँदा पशु मृत्युदर बढ्ने, दूध उत्पादन घट्ने, तथा कृषक परिवारको समग्र आय र खाद्य आपूर्ति प्रभावित हुने अवस्था देखिन्छ।
खेतीपाती र पशुपालन नेपाली किसानको जीवनका पर्याय हुन्। जब खेतीपातीमा गिरावट आउँछ, तब पशुपालन जीविकोपार्जनको प्रमुख आधार बन्छ। बाख्रालाई ‘गरिबको गाई’ भनिन्छ, र खडेरीको समयमा पनि यसको पोषण व्यवस्थापन सजिलो हुने भएकाले यो सुरक्षित विकल्पका रूपमा हेरिन्छ। यसका लागि न्यूनतम खर्चमा हेरचाह गर्न सकिने भएकाले महिला तथा बालबालिका समेतले यसमा सक्रिय भूमिका खेल्न सक्छन्। आवश्यक परे बाख्रालाई सजिलै बिक्री गर्न सकिने हुँदा यो ग्रामीण क्षेत्रका साना तथा सीमान्त कृषकहरूको लागि भरपर्दो स्रोत बन्छ।
पछिल्ला वर्षहरूमा खडेरीका कारण ठूला जनावरहरूको लागि चारा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हुँदा बाख्रापालनमा प्राथमिकता बढ्दै गएको छ। वन र खोल्साका आसपासका गाउँमा, जहाँ चरनको सहजता छ, बाख्रापालन गरिब परिवारहरूको लागि उपयुक्त र सुलभ जीविकोपार्जनको माध्यम बनेको छ।
पशुधनमा खडेरीको प्रभाव
घाँसको अभावः
खडेरीका कारण चरनभूमिमा घाँस उत्पादन कम हुन्छ, जसले जनावरहरूलाई पर्याप्त आहार प्राप्त गर्न कठिन हुन्छ।
पानीको अभावः
पानीको कमीले पशुधनको स्वास्थ्यमा असर गर्छ। दूध उत्पादन र प्रजनन क्षमतामा गिरावट आउँछ।
पशु मृत्युदरमा वृद्धिः
घाँस र पानीको अभावले पशु मृत्युदर बढाउँछ, जसबाट पशुपालकलाई आर्थिक नोक्सानी हुन्छ।
उत्पादकता घट्नुः
पशुहरूको तौल घट्छ, दूध उत्पादन कम हुन्छ र प्रजनन क्षमता कमजोर बन्छ।
आर्थिक नोक्सानीः
कम उत्पादन तथा दाना, पानी खरिदको खर्च बढेपछि पशुपालकहरूको आम्दानी घट्छ।
खाद्य असुरक्षाः
पशुपालनमा निर्भर कृषक परिवारहरूमा खाद्य असुरक्षा सिर्जना हुन्छ।
जीविकोपार्जनमा कमीः
कम आम्दानीका कारण गरिबी र भोकमरीको अवस्था उत्पन्न हुन सक्छ।
सामाजिक र मानसिक प्रभावः
तनाव, चिन्ता र मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।
बसाइँसराइः
चरन र पानी खोज्न बाध्य किसान बसाइँ सर्न सक्छन्, जसले सामाजिक संरचनामा असर गर्छ।
खडेरीसँग जुझ्ने उपायहरू
विविधिकरणः
पशुपालनसँगै अन्य वैकल्पिक आय स्रोतहरू अपनाउने – कृषि, मत्स्यपालन, साना उद्योग आदिमा विस्तार।
पानी व्यवस्थापनः
वर्षाको पानी संकलन, जलाशय निर्माण र संरक्षण प्रविधिहरू प्रयोग गरी जलस्रोतको सही उपयोग।
सुधारिएको पशुपालन व्यवस्थापनः
खडेरी सहनसक्ने नस्ल अपनाउने, चरनको व्यवस्थित उपयोग, तथा नियमित खोप र रोग व्यवस्थापन।
चाराको व्यवस्थाः
वैकल्पिक चाराको स्रोतहरूको विकास तथा स्थानमै चाराको उत्पादनमा जोड।
सूचना तथा सेवामा पहुँचः
मौसम जानकारी, कृषि विस्तार सेवा, वित्तीय पहुँचजस्ता सेवाहरू सुलभ गराउने।
आर्थिक सहायताः
सरकार तथा गैरसरकारी संस्थाबाट ऋण सहुलियत, बीमा योजना, राहत प्याकेज जस्ता सहयोग।
नीतिगत सुझावहरू
पशुपालन केन्द्रित खडेरी राहत योजनाः दाना, पानी र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्छ।
दिगो अभ्यास प्रवर्द्धनः चरन, पानी संरक्षण, र वातावरणमैत्री पशुपालन प्रणालीलाई प्राथमिकता दिनु आवश्यक छ।
सामाजिक–आर्थिक लचिलोपन सुदृढीकरणः बीमा, ऋण सहुलियत, जानकारी पहुँच, तालिम लगायत पहलमार्फत कृषकको क्षमता वृद्धि गर्नु उपयुक्त हुन्छ।
निष्कर्षः
खडेरीले पशुपालकको जीविकोपार्जनमा गहिरो असर पार्दछ। यस चुनौतीलाई सम्बोधन गर्न पानी व्यवस्थापन, घाँस तथा चारा उत्पादन, सुधारिएको पशुपालन व्यवस्थापन, आर्थिक सहायता, वैकल्पिक आयका स्रोतहरू र दिगो नीतिहरू आवश्यक छन्। यसमार्फत कृषकको जीविकोपार्जन सुरक्षित गर्दै खडेरीको प्रभावलाई न्यून गर्न सकिन्छ।









