
पवित्रा कुमारी पोख्रेल
प्रवक्ता, राष्ट्रिय खाद्य बैंक लिमिटेड
परिचय तथा मुख्य उद्देश्य
राष्ट्रिय खाद्य बैंक स्थापना भएको धेरै भएको छैन, हामी करिब चार-पाँच वर्षको यात्रामा छौँ। हाम्रो मुख्य उद्देश्य “किसानको खेती आलीदेखि उपभोक्ताको थालीसम्म” भन्ने नारालाई सार्थक बनाउनु हो। यसको अर्थ, किसानका बारीमा उत्पादन भएका वस्तुहरूलाई उपभोक्तासम्म पुर्याउने क्रममा किसानले भोग्नुपर्ने समस्या, बजार व्यवस्थापन र अन्य चुनौतीहरूको समाधान गर्नु हो। हामीले सरकारको मुख नताकी किसानको हकहितका लागि आफ्नै स्वामित्वमा काम गर्दै आएका छौँ।
किसानसँगको सहकार्य र समर्थन
हामीसँग जोडिन विभिन्न माध्यमहरू छन्। सातै प्रदेशमा हाम्रा सम्पर्क कार्यालय र शाखाहरू छन्, जहाँ हाम्रा प्रतिनिधिहरू सक्रिय रूपमा खटिनुभएको छ। हामी किसान र उपभोक्ताबीच पुलको काम गरिरहेका छौँ। किसानले उत्पादन गरेका सामानहरू उपभोक्तासम्म पुर्याउने र उनीहरूलाई आवश्यक पर्ने मल, बीउ र वैज्ञानिक परामर्श उपलब्ध गराउने काम हामी गर्छौँ। यसका लागि हामीले एक अनुसन्धान टोली (Research Team) पनि तयार गरेका छौँ, जसले किसानका समस्या पहिचान गरी समाधानका लागि काम गर्दछ।
राज्यको भूमिका र हाम्रो पहल
वास्तवमा, यी कामहरू राज्यले गर्नुपर्ने हो। तर, राज्यले यो जिम्मेवारी पूरा गर्न नसकिरहेको अवस्थामा हामी नागरिकको हैसियतले ‘हामी छौँ’ भनेर अगाडि बढेका हौँ। कुनै पनि संस्थालाई नागरिकले ‘मेरो हो’ भन्ने भावना नराख्दासम्म त्यो अगाडि बढ्न सक्दैन। त्यसैले हामीले किसानहरूलाई सेयरहोल्डरको रूपमा जोडेका छौँ, ताकि उहाँहरूले यो बैंकलाई ‘आफ्नो’ ठानेर यसको विकासमा लाग्नुहोस्।
रैथाने बाली, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरण
नेपालको भौगोलिक विविधता अनुसार ठाउँपिच्छे फरक-फरक उत्पादन हुन्छन्; जस्तै, कर्णालीको उत्पादन कोशीमा नहुन सक्छ। हामीले यी रैथाने र अर्गानिक उत्पादनहरूलाई संरक्षण र प्रवर्द्धनमा जोड दिएका छौँ, जसले विभिन्न रोगहरूसँग लड्न मद्दत गर्छ। यस्ता स्थानीय उत्पादनले पर्यटकहरूलाई पनि आकर्षित गर्छ।
हामीले कर्णालीको उत्पादनलाई कोशीमा र नेपालका रैथाने उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेका छौँ। मह, तरकारी, धान जस्ता कैयौँ उत्पादनबारे विदेशमा जानकारी गराउने काम पनि गरिरहेका छौँ।
किसानका प्रमुख समस्याहरू र हाम्रो समाधान
किसानहरूले अनेकौँ समस्या झेलिरहेका छन्, जसलाई राज्यले पूर्ण रूपमा बुझ्न सकेको छैन। मुख्य समस्याहरू यसप्रकार छन्:
-बाली लगाउने बेलामा राम्रो बीउ नपाउनु।
-बीउ पाएपछि समयमा मल नपाउनु।
-खेतीको समयमा मजदुर र आधुनिक उपकरण (ट्र्याक्टर आदि) को अभाव हुनु।
-उत्पादन भइसकेपछि भण्डारणको उचित व्यवस्था नहुनु।
-भण्डारणपछि बजार व्यवस्थापनको समस्या हुनु।
यी समस्या समाधानका लागि हामीले वैज्ञानिक र अनुसन्धान टोली खटाएका छौँ, जसले किसानलाई आधुनिक र व्यवस्थित कृषि प्रणालीबारे जानकारी दिन्छ। हामी किसानलाई आवश्यक बीउ-भिजन र मलखाद उपलब्ध गराउने रणनीतिमा पनि काम गरिरहेका छौँ।
कृषिमा युवा आकर्षण र नयाँ पहिचान
राज्यले कृषिमा युवाहरूलाई समेट्न नसकेको यथार्थ हो। हामीले युवाहरूलाई लक्षित गरी वैज्ञानिक, अनुसन्धान र उत्पादनका क्षेत्रमा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
“किसान” भन्ने बित्तिकै ‘फाटेको टोपी र च्यातिएको लुगा’ लगाउने व्यक्तिको जुन पुरानो छवि छ, हामी त्यसलाई बदल्न चाहन्छौँ। हामीले विद्यालय स्तरदेखि नै यो धारणा परिवर्तन गर्नुपर्छ। अबको किसान उत्पादन गरेर गाडी चढ्न सक्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउने एक सम्मानित व्यक्ति हो भन्ने सन्देश दिन चाहन्छौँ। यो बैंक युवाहरूलाई कृषिमा आकर्षित गर्ने एउटा महत्त्वपूर्ण थलो बन्नेछ।
भविष्यका योजना तथा रणनीतिहरू
हाम्रा योजनाहरू स्पष्ट छन्। हामीले विराटनगर, बर्दियाजस्ता विभिन्न ठाउँमा स्थानीय उत्पादनलाई त्यहीँको उद्योगबाट प्रशोधन गरी बिक्री-वितरण गर्ने रणनीति बनाएका छौँ। अबको केही महिनामै हामी आफ्नै ब्रान्डमा तोरीको तेल, घिउ, मह र कोदोजस्ता उत्पादन बजारमा ल्याउँदैछौँ।
किसानको सबैभन्दा ठूलो समस्या भण्डारण हो। यसका लागि हामीले दूध विकास संस्थानका खाली रहेका कोल्डस्टोरहरू प्रयोग गर्ने र सातै प्रदेशमा साना-साना नयाँ भण्डारण केन्द्रहरू स्थापना गर्ने योजना बनाएका छौँ। साथै, प्राङ्गारिक र जैविक मल उत्पादनका लागि स्थानीय किसानहरूसँग सहकार्य गरेर उनीहरूकै ठाउँमा मल उत्पादन गर्ने तयारी पनि गरिरहेका छौँ।
“किसान” आफैँमा एक मर्यादित शब्द हो, तर हामीले यसलाई बुझ्न सकेका छैनौँ। युरोप-अमेरिकामा किसानलाई सबैभन्दा बढी सम्मान गरिन्छ। राष्ट्रिय खाद्य बैंकका लागि सबैभन्दा सम्मानित व्यक्ति किसान नै हो। हामी किसानलाई आवश्यक पर्ने बजेट, उपकरण र अन्य सुविधाहरू सकेसम्म निःशुल्क, नभए न्यूनतम शुल्कमा उपलब्ध गराएर उहाँहरूको हकहितमा काम गर्ने रणनीति लिएका छौँ।