चर्चित

विदेशी निर्भरता घटाउँदै, स्वदेशमै उत्पादन र स्थानीय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्दै

नीलकण्ठ तिवारी
अध्यक्ष, सुपारी उत्पादक किसान संघ नेपाल
देशको कृषि प्रणालीलाई विविधीकरण गर्दै कृषकको आयस्तर वृद्धि गर्ने बहुवर्षीय बालीहरूबीच सुपारी आज सबैभन्दा चर्चित, लोकप्रिय र सम्भावनायुक्त बालीका रूपमा पहिचान बनाउँदै आएको छ । पूर्वका धेरै जिल्लाहरूमा त सुपारी केवल नगदेबाली मात्र होइन, किसानको पहिचान, जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको मेरुदण्ड पनि बन्न पुगेको छ । एग्रो टाइम्स मिडिया नेटवर्कले पछिल्ला वर्षहरूमा सुपारी खेतीसँग सम्बन्धित धेरै प्रश्न, समस्या, चुनौती र सम्भावनाहरूलाई बारम्बार उठाउँदै आएको छ ।
सुपारी खेतीदेखि बजारीकरणसम्म देखिने उतार–चढाव, नीतिगत अस्पष्टता, मूल्य स्थिरता, भन्सार तथा व्यापार व्यवस्थापन जस्ता मुद्दालाई हामीले निरन्तर समेट्दै (कभरेज गर्दै) आएका छौँ । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष तथा नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष नीलकण्ठ तिवारी, ४ दशकभन्दा बढी समय सुपारी उत्पादन, संरक्षण, प्रवद्र्धन र बजार व्यवस्थापनमा जीवन समर्पण गरेका व्यक्तित्व हुन् ।
नेपालमा सुपारी खेतीको वास्तविक सम्भावना कस्तो छ ? किसानहरूले भोग्दै आएका समस्या कहाँ–कहाँ छन् ? मूल्य, बजार र भन्सार व्यवस्थापनमा किन–किन चुनौतीहरू दोहोरिरहन्छन् ? सुपारी जस्ता बहुवर्षीय नगदेबालीहरूले किसानको आय वृद्धि र स्थानीय रोजगारी विस्तारमा कस्तो योगदान गरेका छन् ? यदि सरकारले स्पष्ट, दीर्घकालीन र कृषकमुखी नीति लियो भने सुपारी क्षेत्र भविष्यमा कहाँसम्म पुग्न सक्छ ?
यिनै विषयमा खोतल्ने हाम्रो प्रयास स्वरूप, आज हामी सुपारीबाटै खारिएका सुपारीका सारथी, कृषकका मार्गदर्शक र चार दशकका अनुभवी उनै तिवारीसँग सुपारी संवाद गर्दैछौँ ।

तपाईंले करिब चार दशक सुपारी क्षेत्रमै बिताउनुभयो । यो लामो अनुभवका आधारमा सुपारीलाई तपाईंले कसरी बुझ्नुहुन्छ ? कसरी परिभाषित गर्न चाहनुहुन्छ ?
सुपारी एकातिर गणेशजीको प्रसाद हो भने अर्कातिर, हामी ओमकार परिवारका लागि जन्मपछि न्वारानमा पनि सुपारी चाहिन्छ । मृत्युपछि श्राद्ध गर्दा पनि जने–सुपारी अर्पण गर्नैपर्छ । त्यसैले, हाम्रो जीवनका प्रायः सबै धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सुपारी अनिवार्य रूपमा प्रयोग हुने वस्तु हो । खाने दृष्टिले पनि सुपारीलाई धेरैले गलत बुझ्ने गरेका छन् । जस्तैः सुपारी खाँदा पत्थरी (स्टोन) हुन्छ वा स्वास्थ्यलाई हानि हुन्छ भन्ने भनाइहरू चलनमा छन् । तर, वैज्ञानिकहरूले यस्ता कुरा प्रमाणित गरेका छैनन् । बरु सुपारीलाई पाचक, थकान हटाउने प्राकृतिक माध्यम र मुखको दुर्गन्ध हटाउने प्रभावकारी वस्तुका रूपमा उपयोगी मानिएको छ । धूम्रपानजस्ता हानिकारक पदार्थभन्दा नितान्त फरक, सुपारी एक प्राकृतिक, सांस्कृतिक र औषधीय महत्व बोकेको बाली हो ।
आर्थिक हिसाबले हेर्दा पनि सुपारी अत्यन्त लाभदायक छ । एक बिघामा ९–९ (९ बाई ९) फिटको दुरीमा रोप्दा करिब ९०० बोट अट्छन् । राम्रो जात र राम्रो व्यवस्थापन भयो भने एउटा बोटले २० किलोसम्म काँचो सुपारी फलाउन सक्छ । औसत १५ किलो मात्र मान्दा पनि झण्डै १३ देखि साढे १३ टन उत्पादन हुन्छ । अहिले काँचो सुपारीको मूल्य ६० देखि ९० रुपैयाँ प्रतिकिलोसम्म पाइएको छ । न्यूनतम मूल्य ६० रुपैयाँ गणना गर्दा पनि एक बिघाबाट करिब ८ लाख १० हजार रुपैयाँ आम्दानी हुन्छ । जबकि, एउटै बिघाको धान खेतीबाट सायद १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुन्छ । त्यसको तुलनामा सुपारीले कैयौँ गुणा बढी प्रतिफल दिन्छ ।
त्यसैगरी, सुपारीबारीको बीचमा लगाइने अन्तरबालीबाट पनि राम्रो आय प्राप्त हुन्छ । बोटहरूको बीचमा प्रशस्त स्थान हुने भएकाले केरा, तेजपात, मरिच, बेसार, अदुवा तथा फूल खेतीजस्ता बाली सजिलै लगाउन सकिन्छ । झापा क्षेत्रमा त एउटा सुपारीको बोटमा चढाइएको मरिच ५ किलोसम्म फलेको पाइन्छ, जसको मूल्य प्रतिकिलो करिब १,००० रुपैयाँ पर्छ । यसरी एउटा बोटबाट मात्र ५,००० रुपैयाँको मरिच उत्पादन हुन्छ । अन्तरबाली, सुपारी उत्पादन र पशुपालन यी सबै एकै ठाउँमा सञ्चालन गर्न सकिने भएकाले एक बिघा सुपारी बगैँचा वास्तवमै बहुउद्देश्यीय आम्दानीको केन्द्र बन्न सक्छ । समग्रमा हेर्दा सुपारी खेती धार्मिक, सांस्कृतिक, औषधीय तथा आर्थिक सबै दृष्टिले अत्यन्त महत्वपूर्ण र सम्भावना बोकेको बाली हो ।

सुपारी खेतीमा दुई–तले, तीन–तले जस्ता बहु–तहका अन्तरबाली प्रणालीको विकास भइसकेको छ । तपाईं स्वयं २०४५ सालदेखि नै यस क्षेत्रमा व्यावसायिक रूपमा संलग्न रहँदै आउनुभएको छ । यो लामो यात्रालाई फर्केर हेर्दा सुपारी खेतीप्रतिको जागरण, उत्पादनको अवस्था र वर्तमान व्यावसायिक स्तरलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ? समग्रमा, अहिले नेपालको सुपारी खेती कुन अवस्थामा रहेको पाउनुहुन्छ ?
सुरुमा २०३८/३९ सालतिर कृषि विकास बैंकअन्तर्गतको एक शाखा ‘साना किसान विकास आयोजना’ ले हाम्रो क्षेत्रमा काम थाल्यो । त्यस परियोजनाले स्थानीय किसानलाई तरकारी, फलफूल खेती, धान खेती, पशुपालन र सामान्य लेखा राख्ने विषयमा १–२ दिनका छोटा तालिम दिने गथ्र्यो । त्यही तालिमका क्रममा म अलि बढी फलफूल खेतीतर्फ आकर्षित भएँ । त्यसपछि “रोपौँ न त” भन्ने सोच आएपछि नर्सरी राखेँ र जति सिकेको थिएँ, जति बुझेको थिएँ, त्यसैका आधारमा २०४५ सालतिर निश्चित ठाउँमा सुपारी रोपेँ । त्यसअघि पनि मैले साना–ठूला ठाउँमा नर्सरी उत्पादन गर्ने गरेको थिएँ ।
सुरुमा हामीलाई धेरै कुरा थाहा थिएन कस्तो मल चाहिन्छ ? कुन सूक्ष्म पोषक तत्व आवश्यक पर्छ ? पानीको व्यवस्थापन कस्तो हुनुपर्छ ? यी सबै कुरा अनुभवमै निर्भर थिए । त्यतिबेला सुपारीको व्यापार पनि खासै चलिरहेको थिएन । तर, “व्यापार चल्छ, सम्भावना छ” भनेर एउटा सरकारी निकायले कार्यालयमार्फत बताइदिएपछि भरोसा गरेर हामीले खेती सुरु गर्यौँ । पछि बोटमा फल लाग्न थालेपछि त मैले मात्र होइन, अरू धेरैले पनि रोप्न थाले । सुरुमा यसको खेती सौन्दर्यका रूपमा वा घरखर्चका लागि मात्र गरिएको जस्तो थियो । भारतबाट आउँदा सुपारी खाने बानी भएका मानिसहरूले बिउ ल्याएर रोप्थे, त्यसबाट बिरुवा हुन्थ्यो, बोट बन्थ्यो र फलेपछि आवश्यकताका लागि उपयोग गरिन्थ्यो । क्रमशः खेती विस्तार हुँदै जाँदा व्यापारिक गतिविधि पनि बढ्न थाल्यो । ल यो त सजिलो पो रहेछ, राम्रो पो रहेछ । भन्ने भावना किसानमा फैलिँदै गएपछि विगत ३०–३२ वर्षदेखि व्यापक रूपमा सुपारी रोपाइँ सुरु भयो । आजको अवस्थामा आउँदा २०८०/८२ सालसम्म झापा जिल्लामा सुपारी नभएको घर प्रायः छैन नै भन्दा हुन्छ । जसको आफ्नै घर, करेसाबारी वा खेत छ, उनीहरूकोमा सुपारी अनिवार्यजस्तै भएको छ । झापामा सुपारी नदेखिने घर त केवल यहाँ भाडामा बस्नेहरूका कोठामा मात्र हो ।

अहिलेको अवस्थालाई हेर्दा, झापा लगायतका धेरै ठाउँमा प्रायः प्रत्येक घरमै सुपारी देखिन्छ । तपाईंको अनुभूति अनुसार के अब सुपारी वास्तवमै ‘घर–घरको बाली’ बनेको हो ?
अहिले प्रायः प्रत्येक घरमा सुपारीका बोट देखिन्छन् । यसको खेती पनि तुलनात्मक रूपमा सजिलो छ— एक पटक रोपिदिएपछि, यदि त्यही वर्ष मरेन भने पछिल्ला वर्षहरूमा रोग–कीराको ठूलो प्रकोप देखिँदैन । फूल लाग्ने बेलामा रस चुसेर बिगार्ने एक प्रकारको रोग÷कीरा त छ, तर त्यो निकै कम मात्रामा देखिन्छ । नयाँ ठाउँमा रोपिएको सुपारीले १०–१२ वर्ष, कहिलेकाहीँ १५ वर्षसम्म पनि माटोमा रहेकै मल–पानीका भरमा राम्ररी उत्पादन दिन्छ । अहिले अधिकांश घर–परिवारका छोराछोरी कोही अस्ट्रेलिया, अमेरिका, क्यानडा पुगेका छन् त कोही कतार–साउदी जस्ता मुलुकमा रोजगारीका लागि गएका छन् । गाउँघरमा श्रमिकको अभाव छ, खेतमा काम गर्ने जनशक्ति घट्दै गएको छ ।
घरमा रहेका बुढापाका पनि शारीरिक रूपमा थाकेका हुन्छन्, जसले गर्दा श्रमसाध्य खेती गर्न कठिन छ । सिँचाइका लागि पानीको स्रोत घट्दै गएको छ । धानको मूल्य पनि निकै कम छ । भारतबाट सस्तो र कम गुणस्तरको चामल भित्रिने भएपछि किसानको मन धान खेतीतर्फ आकर्षित हुन सकेन । त्यसैले मानिसहरू “बरु सुपारी नै रोपौँ, तेजपात नै लगाऔँ वा चिया नै रोपौँ” भन्ने मानसिकतामा पुग्न थाले । सुपारीको उत्पादन बढाँउने हो भने सालमा दुई चोटी मल हाल्नु राम्रो मानिन्छ । चैत–वैशाख र असोज–कात्तिकमा । नगर्ने हो भने पनि १०–१५ वर्ष चाहिँ जे जति त्यसै फल्छ । त्यसैले सुपारी सबैको प्रिय बाली बनिरहेको छ ।

सुपारी रोप्दाको पहिलो चरणमा उचित स्याहार–सम्भार त गर्नुपर्छ नै । तर, बोट हुर्केपछि वा पूर्ण रूपमा फल दिन थालेपछि व्यवस्थापनका के–कस्ता चुनौतीहरू आउँछन् ? तपाईंको अनुभव अनुसार यी फरक चरणमा कसरी हेरचाह गर्नुपर्छ ?
वैज्ञानिक हिसाबले त सुपारीको स्याहार सधैँ गर्नुपर्छ । तर, त्यसो गर्न नसके पनि चियामा जस्तो टिप्ने बेलाको झगडा यसमा पर्दैन; झरी–बादलमा पनि टिप्नैपर्ने बाध्यता हुँदैन । बोट आफ्नै सुरले फुल्दै–फल्दै रहन्छ । पछि बिक्री हुने बेला, खासगरी पुस–माघतिरबाट यसको व्यापार चल्छ । खरिद गर्नेहरू प्रायः स्थानीय प्रशोधनकर्ता र व्यापारी नै हुन्छन् । उनीहरूले किसानसँग सुपारी किन्छन्, संकलन गर्छन् र प्रशोधन गर्छन् । गाउँ–ठाउँकै चिनजानका मान्छेहरू घरमै आएर ‘तपाईंको सुपारी बेच्ने भए म किन्न आएको’ भन्छन् र आपसी सहमतिमा मूल्य निर्धारण हुन्छ ।

अहिले बिक्रीको अवस्थालाई हेर्दा सुपारीको मूल्यबारे तपाईंको अनुभव कस्तो छ ? औसतमा किसानले कस्तो मूल्य पाउँछन् र मूल्यमा कत्तिको स्थिरता देखिन्छ ?
यस्तो छ, मूल्यमा उतार–चढाव त भइरहन्छ, तर अहिलेको मूल्य राम्रै छ । अहिले केजी (किलो) को हिसाब चलेको छैन, बोटबाट सुपारी झारेपछि मात्र किलोको हिसाब चल्छ । अहिले चाहिँ बगैँचा नै ‘हुन्डी–मुन्डी’ (अन्दाजी थोक) वा ठेक्कामै बिक्री हुन्छ । यति हजार वा यति लाख भनेर मोलमोलाइ हुन्छ । घरमै आउने स्थानीय प्रशोधनकर्ता वा व्यापारीसँग चिया खाँदै, गफ गर्दै मूल्य मिलाएर पैसा लिन सकिन्छ । यो प्रक्रिया निकै सजिलो छ; धानजस्तो काट्ने, भेला गर्ने र दाइँ गर्ने झन्झट यसमा पर्दैन । सुपारीलाई आफैँले टिपेर प्रशोधन (मूल्य अभिवृद्धि÷भ्यालु एड) गर्न सके नाफा आफ्नै हुन्छ । तर, त्यसो गर्न नसक्दा पनि व्यापारीले नै आएर लैजान्छन्, बिक्री गर्न कुनै अप्ठ्यारो छैन ।
यो खेती अत्यन्त सजिलो छ । यसले धेरैभन्दा धेरै आम्दानी दिन्छ र यसका उपयोगिता पनि धेरै छन् । धानलाई जस्तो यसलाई निरन्तर पानी पनि चाहिँदैन । पानी त चाहिन्छ, तर बर्खामा आकासे पानीले पुग्छ भने हिउँदमा हप्ता–पन्ध्र दिनमा एकपटक सिँचाइ गर्न सके हुन्छ । धान, मकै र कोदोको तुलनामा यो खेती साह्रै सजिलो र आम्दानी पनि मनग्य हुने बाली हो । मैले अघि पनि भनेँ नि, एक बिघामा करिब ९०० बोट अटाउँछन् । एउटा बोटमा सरदर कति फल्छ भन्ने हिसाब गर्दा पनि यसबाट सजिलै ७–८ लाख रुपैयाँ आम्दानी लिन सकिन्छ ।

एक बिघामा सुपारी खेती गर्दा प्रतिफल राम्रो आउँछ भनिए पनि, यसमा लगानी भने त्यति धेरै आवश्यक पर्दैन जस्तो देखिन्छ । तपाईंको अनुभव अनुसार, सुपारी खेतीमा लगानीको अवस्था कस्तो हुन्छ र यसमा लागत कति पर्छ ?
यसमा खासै ठूलो लगानी हुँदैन। उदाहरणका लागि, एउटा बिरुवाको प्रचलित बजार मूल्य ६० देखि ७० रुपैयाँ पर्छ। रोप्नका लागि २ह२ (दुई बाई दुई) फिटको खाल्डो खन्नुपर्छ, जसका लागि श्रमिकलाई करिब ७०–८० रुपैयाँ ज्याला लाग्छ । यसरी हिसाब गर्दा एउटा बोट रोपेर फल्ने बेलासम्म हुर्काउन करिब ५०० रुपैयाँ जति लगानी हुन्छ भन्ने मेरो अनुमान छ ।
अर्को कुरा, सानो छँदा यसको धेरै चिन्ता लिनु पर्दैन। सुरुको एक–डेढ वर्ष अलिकति रेखदेख गर्ने, गोडमेल गर्ने र झारपातबाट जोगाउने हो भने पुग्छ। अलिक ठूलो भएपछि यो आफैँ सरसर बढ्छ । सामान्यतया रोपेको ६ वर्षपछि यसले फल दिन सुरु गर्छ। ६ वर्षको हुँदा अलिअलि फुल्न त फुल्छ, तर त्यो फल नलागी त्यत्तिकै झर्ने हुन्छ । ८–९ वर्ष पुगेपछि भने यसले मज्जाले उत्पादन दिन थाल्छ ।

त्यो समयदेखि सुरु भएको व्यावसायिक चरणलाई तपाईं कसरी सम्झनुहुन्छ र यसले कृषि प्रणालीमा कस्तो प्रभाव पारेको छ ?
सुपारी खेतीले व्यावसायीकरणको रूप वि.सं. २०३०–३२ सालदेखि लिन थालेको हो । २०३०–३२ सालमा रोपेपछि राम्रो उत्पादन हुनका लागि २०३५ सालदेखी ३८ सालसम्मको समय लाग्ने नै भयो । त्यसबेला रोपेको सुपारीको व्यापार २०४० सालको आसपासबाट सुरु भयो । उत्पादन धेरै भएर भारी पुग्ने अर्थात पर्याप्त परिमाण भएपछि मात्र व्यापार फस्टाउँदो रहेछ ।

सुपारी खेतीमा कहिल्यै त्यस्तो अवस्था आयो कि, उत्पादन भए पनि बिक्री नभएर वा रोपेर पछुताउनुपर्ने अवस्थाको सामना कसैले गर्नुपरेको छ ?
अहँ, त्यस्तो अवस्था आएन । मूल्यमा उतार–चढाव त भइरहँदो रहेछ । एकपटक चाहिँ भाउ निकै नै कम भएको थियो; यो वि.सं. २०५७–५८ सालतिरको कुरा हो । त्यसबेला चाहिँ बिक्छ कि बिक्दैन भन्नेजस्तो अन्योल सिर्जना भएको थियो तर, त्यसयता भने त्यस्तो साह्रो समस्या आएको छैन । मूल्यमा सामान्य उतार–चढाव त हुन्छ, तर खेती नै नपोसाउने, ‘यति पैसाले के चल्छ र ? वा ‘के नै हात लाग्यो र ? भन्ने किसिमको निराशाजनक अवस्था छैन । समग्रमा भन्नुपर्दा अहिले आम्दानी राम्रै छ ।

सुपारी धार्मिक, सांस्कृतिक र रोजगार दुवैसँग जोडिएको छ । यसले अहिले स्थानीय वातावरण र अवसरमा कस्तो प्रभाव पारेको छ ?
अहिले सुपारीको पात पनि बिक्री भइरहेको छ । एउटा पात करिब ४ रुपैयाँसम्म बिक्छ । प्रत्येक बोटबाट वार्षिक ५–६ वटा पात खस्छन्, जसबाट पनि केही न केही आम्दानी हुन्छ । किसानहरूले प्रायः ६–७ सय बोट रोपेका हुन्छन् । यसरी हिसाब गर्दा पातबाट मात्रै पनि राम्रो आम्दानी लिन सकिन्छ । तर, पात संकलन गर्दा ढुसी पर्नबाट जोगाउनु आवश्यक छ, किनभने ढुसी परेको पातको गुणस्तर राम्रो मानिँदैन ।
सुपारीका उत्पादनको व्यापार अहिले अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । युरोप, अमेरिका र जर्मनीजस्ता देशमा पनि यसका उत्पादन पठाइन्छ । जैविक र प्राकृतिक उत्पादन भएकाले यसले प्लास्टिकजन्य प्रदूषण कम गर्छ र यो टिकाउ पनि हुन्छ । मूल्य अन्तरका कारण युरोप–अमेरिकामा महँगो पर्न गए पनि नेपालमा भने १०–२० रुपैयाँमै यस्ता सामग्री सजिलै पाइन्छन् । हाल यस क्षेत्रमा २५ वटासम्म उद्योग सञ्चालन गर्न सकिने सम्भावना छ, यद्यपि अहिले कोशी प्रदेशमा दुईवटा मात्र उद्योग चलिरहेका छन् । बाँकी उद्योग विस्तार गर्न सकिने प्रशस्त ठाउँ छ । खुसीको कुरा, किसानहरूले उत्पादन गरेका हरेक वस्तु बिक्री भएका छन् र निरन्तर आम्दानी भइरहेको छ । यसरी सुपारी खेतीले स्थानीय रोजगारी, आर्थिक अवसर र निर्यात सम्भावनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।

सुपारी खेतीमा त्यस्तो धेरै नयाँ वा आधुनिक प्रविधि आवश्यक पर्दैन जस्तो देखिन्छ । तपाईंको अनुभवअनुसार, यसको खेतीमा आधुनिक कृषि प्रविधिको प्रयोग कत्तिको आवश्यक छ ?
सुपारी खेतीमा आधुनिक प्रविधि आवश्यक नपरेको होइन, पर्छ । बोट रोप्दा दुरी मिलाउनु, एन.पी.के. र गोबर मल हाल्नु, मल्चिङ गर्नुका साथै १७–१८ किसिमका सूक्ष्म पोषक तत्व जस्तैः क्याल्सियम, बोरन आदिको प्रयोग गर्नु आवश्यक छ । विशेषगरी दाना फुट्ने समस्या रोक्न बोरन आवश्यक पर्छ । यसरी खेती व्यवस्थापन गर्न दक्ष कृषि प्राविधिक चाहिन्छ, जुन जनशक्ति नेपालमा कमै पाइन्छ । नेपालका लागि यस क्षेत्रमा एक उदाहरण डा. शरणकुमार रिजाल हुनुहुन्छ, जो भारतीय सी.पी.सी.आर.आइ का पूर्व प्रमुख हुनुहुन्थ्यो । उहाँले ‘सुपारी रोपण, संरक्षण र प्रवर्धन’ विषयमा तालिम दिनुहुन्छ । उहाँले नेपालका झापा, मोरङ, इलाम र सुनसरीका किसानलाई प्रायोगिक तालिम दिइसक्नुभएको छ ।
यसबाट कृषकहरूले स्याहार, सिँचाइ, मलखाद र अन्तरबाली व्यवस्थापनको ज्ञान पाएका छन् । सुपारी रोग कम लाग्ने, उत्पादन टिकाउ हुने अनि आर्थिक र सांस्कृतिक महत्व बोकेको बहुउपयोगी बाली हो । तर, विडम्बनाको कुरा, नेपालमा यो बाली अझै ‘कृषि बाली’ का रूपमा विधिवत् सूचीकृत छैन । सरकारी तथ्याङ्कमा सुपारीको क्षेत्रफल वा उत्पादन स्पष्ट छैन । यसै कारण जङ्गली हात्तीले बोट भाँच्दा वा नष्ट गर्दा किसानले राहत, क्षतिपूर्ति वा बीमा सुविधा पाउन सकेका छैनन् । गत बर्ष डा. अब्दुल खानको नेतृत्वमा रहेको संसदीय समितिले झापामा स्थलगत निरीक्षण गरेर सुपारीको ‘सुपरजोन’ बनाउने, मल, ऋण, अनुदान दिने र यसलाई कृषि बालीमा सूचीकृत गर्ने सिफारिस गरेको छ । उक्त प्रतिवेदन १ वर्षअघि नै नेपाल सरकारसमक्ष पेस गरिएको भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको सुपारी जोन कार्यक्रम पनि समावेश थियो, त्यो कत्तिको प्रभावकारी भयो ? अनि यसको प्रभाव किसान र उत्पादनमा कस्तो देखियो ?
सुपारी जोन र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रमहरू केही हदसम्म प्रभावकारी देखिए पनि पर्याप्त बजेट र क्षमता अभावका कारण अपेक्षित नतिजा हासिल हुन सकेको छैन् । लागत साझेदारीमा आधारित कार्यक्रम भए पनि आवश्यक साधन–स्रोत, मेसिनरी र प्रविधि सञ्चालनमा तदारुकता नदेखिँदा ढिलाइ भएको छ । झापाका लागि विनियोजन हुने २०–२२ लाख रुपैयाँ बजेट निकै न्यून हो । किनकि तथ्याङ्क अनुसार, झापामा अहिले करिब साढे ४ हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । १ हजार हेक्टर बराबर एउटा ‘सुपरजोन’ हुनुपर्ने मापदण्डलाई आधार मान्ने हो भने, त्यहाँ ४ वटा सुपरजोन स्थापना गर्न सकिने अवस्था छ ।
उत्पादन बढेको त छ, तर सुपारीलाई ‘कृषि उपज’ का रूपमा विधिवत् सूचीकृत नगरिँदा र यकिन तथ्याङ्क नहुँदा किसानहरू राज्यबाट पाइने राहत तथा सुविधाबाट वञ्चित छन् । यता निर्यात ठप्प छ । संसद्को सुशासन समितिले सुपारीको डी.एन.ए. परीक्षण गरेर मात्र निर्यात गर्नू भनी निर्णय गरेको तीन वर्ष बितिसक्यो, तर अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । यसै कारण विदेशी बजारमा पहुँच, उचित मूल्य र किसानको आम्दानीमा गम्भीर समस्या देखिएको छ ।
स्वदेशमा उत्पादित सुपारीको ५० प्रतिशत हिस्सा स्थानीय उद्योगले खपत गर्नुपर्ने र बाँकी ५० प्रतिशत निर्यात गर्न दिइनुपर्ने भनी सरकारसँग पटक–पटक अनुरोध गरिए पनि त्यसको सुनुवाइ भएको छैन । विडम्बना, सुपारीको आयात खुला छ तर स्वदेशी उत्पादनको निर्यात भने बन्द गरिएको छ । यसले किसान, उद्योग र समग्र राष्ट्रिय अर्थतन्त्रमै चुनौती सिर्जना गरेको छ ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्षका रूपमा, तपाईंको नेतृत्वमा रहेको यो सङ्गठनले पछिल्लो समय सुपारी उत्पादनमा संलग्न किसानहरूको हितका लागि के–कस्ता कामहरू गरिरहेको छ ?
नीतिशास्त्रमै ‘सङ्घे शक्तिः कलियुगे’ भनिएको छ; अर्थात् कलियुगमा संघ–सङ्गठन नै शक्ति हो वा सङ्गठन चाहिन्छ । एक्लै हुँदा कसैले सुन्दैन, को बोल्ने र कहाँ बोल्ने भन्ने हुन्छ । त्यसैले, ‘हाम्रो भेटघाट गर्ने थलो वा एउटा समिति बनाऔँ’ भनेर हामीले सुरुवात गर्यौँ । सुरुमा स–साना समिति बनायौँ, त्यसपछि ती समितिहरू मिलेर जिल्ला समिति बन्यो । जिल्ला–जिल्लाका संरचना बनेपछि माथिल्लो तहको सङ्गठन स्वतः बन्दो रहेछ; यो समयको माग र आवश्यकता पनि रहेछ । हेर्नुस् न अहिले व्यापारी, शिक्षक, कर्मचारी सबैको सङ्गठन छ । राजनीतिक दलहरू पनि त आखिर सङ्गठन नै हुन् । त्यसैले आफ्नो हकहितका लागि सङ्गठन अपरिहार्य नै रहेछ ।
तर, हाम्रो विडम्बना के छ भने सङ्गठनले उठाएका कुराको सुनुवाइ नहुने समस्या छ । हामीले सङ्गठनमार्फत सुपारीका समस्याबारे कुरा उठाएपछि सरकारले त्यो साँचो हो कि होइन भनेर पुष्टि गर्नुपर्यो । यदि जाँचबुझ गर्दा हाम्रो माग जायज र जरुरी देखियो भने त काम गरिदिनुपर्यो नि ।

सुपारी उत्पादनका क्षेत्रमा तपाईंले लामो अनुभव संगाल्नुका साथै यसको प्रवर्धनमा धेरै पहल गर्नुभएको छ । अहिलेको नयाँ पुस्ता, विशेषगरी युवा वर्गमा यस खेतीप्रति कत्तिको जागरण र रुचि देखिन्छ ?
अहिलेको पुस्तामा विदेश जाने ठूलो लहर चलेको देखिन्छ । कक्षा १२ पास गर्न नसकेका वा पढाइ पूरा नभएका युवाहरूले समेत ‘विदेश जानैपर्छ’ भन्ने मानसिकता बनाएका छन् । भिसा लाग्छ कि लाग्दैन, खर्च जुट्छ कि जुट्दैन, बुबाले खर्च पठाइदिनुहुन्छ कि हुँदैन् । यी कुरा दोस्रो प्राथमिकतामा परेका छन् । मुख्य कुरा भनेको “जानैपर्छ” भन्ने सोच र भीडको पछि लाग्नु नै हो ।
विगतमा राजनीतिक ¥याली भएजस्तै आजभोलि विदेश जाने ¥याली चलेको अनुभूति हुन्छ । युवालाई “तिमी मालिक बन्ने कि नोकर ?” भनेर सोध्दा सबैले ‘मालिक नै बन्ने’ जवाफ दिन्छन्; तर विदेश जाने निर्णयले उनीहरूलाई अन्ततः अरूकै काम गर्ने (नोकर बन्ने) बाटोतिर धकेलिरहेको देखिन्छ । स्वदेशमै घर–जग्गा, जमिन र प्रशस्त अवसर हुँदाहुँदै पनि धेरै युवाले ‘आज कमायो, आजै खायो’ जस्तो जीवनशैली रोजेर विदेशको रोजगारीलाई प्राथमिकता दिएका छन् । आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने कुरा स्वीकार्न उनीहरू तयार देखिँदैनन् ।

कुराकानीको अन्त्यमा, युवापुस्ता, किसान, सरोकारवाला निकाय र आम पाठकहरूलाई केही विशेष सन्देश वा सुझाव दिन चाहनुहुन्छ ?
सन्देशका रूपमा भन्नुपर्दा सुपारी उत्पादनका लागि सरकारले स्पष्ट र दीर्घकालीन कार्यक्रम बनाउनुपर्छ । मल र बीउ आवश्यक भए पनि अब बीउको विषयमा भने समस्या छैन । हामीले भारतको उत्कृष्ट जात (मैतनगर÷मोहितनगर) का करिब ६५ हजार दाना ल्याएर नर्सरी गरी सुनसरीदेखि उदयपुरसम्मका किसानहरूलाई वितरण गरेका थियौँ; अहिले ती बोट फल्न थालेका छन् । अब हामीसँगै माउ बोट तयार भइसकेकाले भविष्यमा विदेशबाट बीउ ल्याउनुपर्ने अवस्था छैन । युवापुस्तालाई पनि स्वदेशमै बसेर कृषि र सुपारी उत्पादनमा संलग्न हुन प्रेरित गर्नुपर्छ । सरकारले यस क्षेत्रलाई उच्च सम्भावनायुक्त बालीका रूपमा मूल्याङ्कन गरी प्राथमिकता दिनुपर्छ, जसले गर्दा नयाँ पुस्ताले आत्मनिर्भर हुँदै स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकून् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय