सुशील अर्याल
पशु चिकित्सक, रुपा गाउँपालिका, कास्की
पृष्ठभूमि: समृद्धिको आधारशिला
नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई, यहाँको सामाजिक र सांस्कृतिक पहिचानको अभिन्न अङ्ग पनि कृषि नै हो। कुल जनसङ्ख्याको ठूलो हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसै क्षेत्रमा आश्रित छ। खाद्य सुरक्षा, ग्रामीण रोजगारी र गरिबी न्यूनीकरणको प्रमुख संवाहक कृषि भए तापनि परम्परागत प्रणाली, सीमित स्रोत–साधन र आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्न नसक्दा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। यसै परिप्रेक्ष्यमा, ‘कृषि प्रसार’ (Agricultural Extension) एउटा यस्तो रणनीतिक सेतुका रूपमा देखा परेको छ, जसले आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान र ग्रामीण उत्पादकत्वबीचको खाडललाई पुर्ने सामथ्र्य राख्दछ।
कृषि प्रसार: ज्ञान र प्रविधिको हस्तान्तरण
सामान्य अर्थमा, कृषि प्रसार भन्नाले कृषकलाई आधुनिक प्रविधि, उन्नत बीउबिजन, वैज्ञानिक मल व्यवस्थापन, सिँचाइ प्रणाली, रोग नियन्त्रण तथा पशुपालन एवं मत्स्यपालन सम्बन्धी नवीनतम् ज्ञान उपलब्ध गराउने प्रक्रियालाई बुझिन्छ। यसको प्राथमिक उद्देश्य कृषकको प्राविधिक क्षमता वृद्धि गर्नु मात्र नभई, उनीहरूको आर्थिक स्तर उकास्नु र कृषि कार्यलाई ‘निर्वाहमुखी’ बाट ‘व्यावसायिक र सम्मानित’ उद्यममा रूपान्तरण गर्नु हो।
भौगोलिक विविधता र विशिष्टीकरणको आवश्यकता
नेपालको विशिष्ट धरातलीय बनोटका कारण यहाँ कृषि प्रसारको आवश्यकता झनै विशिष्ट छ। हिमाल, पहाड र तराईको भिन्न–भिन्न हावापानी अनुसारको बाली र पशुपालन अभ्यास हुनुपर्दछ। उच्च पहाडी भेगमा माटो संरक्षण र दलहन उत्पादनमा केन्द्रित प्रविधि आवश्यक छ भने तराईमा आधुनिक सिँचाइ र सामूहिक खेतीको महत्त्व बढी छ। कृषि प्रसारले भूगोल र मौसम अनुसार अनुकूलित ज्ञान प्रदान गरी कृषकलाई व्यावसायिक जोखिम न्यूनीकरण गर्न र उत्पादनमा स्थायित्व ल्याउन मद्दत गर्दछ।
उत्पादकत्व वृद्धि र खाद्य सुरक्षाको सुनिश्चितता
आधुनिक कृषि प्रसारको सिधा प्रभाव उत्पादनको परिमाणमा देखिन्छ। उन्नत बीउको प्रयोग, रोग प्रतिरोधी जातको छनोट र वैज्ञानिक सिँचाइले धान, गहुँ, मकै जस्ता मुख्य बालीको उत्पादकत्वमा प्रत्यक्ष वृद्धि गर्दछ। उदाहरणका लागि, स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुवामा गरिएको बीउ उत्पादन तालिम र प्रदर्शनी जस्ता प्रसार विधिले लगभग ७० प्रतिशत कृषकको आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पारेको छ। यस्ता सफल अभ्यासहरूले राष्ट्रिय स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्दै आयातित खाद्यान्नमाथिको निर्भरता घटाउन मद्दत गर्दछन्।
रोजगारी सिर्जना र युवा उद्यमशीलता
नेपालको वर्तमान सन्दर्भमा युवा पलायन एक गम्भीर समस्या हो। कृषि प्रसारले कृषिलाई केवल खेतबारीमा मात्र सीमित नराखी पशुपालन, फलफूल प्रशोधन, र कृषि–आधारित उद्योगहरूसँग जोडेर स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्दछ। स्थानीय तहले युवाहरूलाई लक्षित गरी उच्च मूल्यका तरकारी खेती र व्यावसायिक पशुपालनमा दिने प्रशिक्षणले स्वरोजगारीको नयाँ मार्ग प्रशस्त गरेको छ। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै आर्थिक आत्मनिर्भरताको जग समेत बलियो बनाउँछ।
दिगो कृषि र वातावरणीय सन्तुलन
कृषि प्रसारको अर्को महत्वपूर्ण आयाम वातावरणीय संरक्षण हो। अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरता ह्रास भइरहेको अवस्थामा प्राङ्गारिक मल, कम्पोस्ट र जैविक विषादीको प्रयोगमा कृषकलाई सुसूचित गराउनु अनिवार्य छ। केही स्थानीय तहले जैविक मलको प्रयोगलाई प्रोत्साहित गरेर रासायनिक मलको खपतमा ३० प्रतिशतसम्म कटौती गर्नु कृषि प्रसारकै सफलता हो। यसले उत्पादन वृद्धि मात्र गर्दैन, भावी पुस्ताका लागि प्राकृतिक स्रोतहरूको संरक्षण समेत सुनिश्चित गर्दछ।
स्थानीय तहको नेतृत्वदायी भूमिका
सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहहरू कृषकका सबैभन्दा नजिकका सरकार बनेका छन्। कृषि प्रसारको वास्तविक सफलता स्थानीय तहकै सक्रियतामा निर्भर गर्दछ। स्थानीय पालिका र वडाहरूले कृषकको आवश्यकता पहिचान गर्ने, समयमै बीउ–मल उपलब्ध गराउने, प्राविधिक परामर्श दिने र बजारको सुनिश्चितता गर्ने कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ।
स्थानीय तहले कृषक समूह र सहकारीहरूमार्फत सामूहिक खेतीलाई प्रोत्साहन गर्दै स्रोत व्यवस्थापनमा सहजता ल्याउन सक्छन्। साथै, सरकारी अनुदान र प्रोत्साहन कार्यक्रमहरूलाई लक्षित वर्गसम्म पुर्याउन र नीति निर्माणमा कृषकका वास्तविक समस्याहरूलाई सम्बोधन गर्न स्थानीय तहको भूमिका निर्णायक हुन्छ। स्थानीय स्तरमा हुने यस्ता ज्ञान हस्तान्तरणले सामाजिक सशक्तीकरण र सामूहिक विकासको भावनालाई समेत मजबुत बनाउँछ।
निष्कर्ष
नेपालको सन्दर्भमा कृषि प्रसार केवल प्राविधिक परामर्श मात्र नभई, ग्रामीण समृद्धिको मूल मन्त्र हो। स्थानीय तह र कृषि प्रसारका संयन्त्रहरूबीचको प्रभावकारी समन्वयले नै देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याउन सक्छ। जब कृषकले प्रविधिको साथ पाउँछन्, तब मात्र उत्पादनमा वृद्धि, रोजगारीमा सुधार र वातावरणमा सन्तुलन सम्भव हुन्छ। अतः समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न कृषि प्रसारलाई आधुनिक, प्रविधिमैत्री र स्थानीय आवश्यकता अनुकूल बनाउनु आजको अनिवार्य सर्त हो।
लेखक सुशील अर्याल पशु चिकित्सक रुपा गाउँपालिका, रुपाकोट, कास्कीमा कार्यरत छन् ।









