डा. खेमराज भट्टराई
वरिष्ठ वनष्पती विज्ञ
हाम्रो देश नेपाल प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र जैविक विविधताले भरिपूर्ण छ । भौगोलिक बनावटका हिसाबले नेपाल संसारकै एउटा अनौठो र विशिष्ट मुलुक हो । केवल २५० किलोमिटरको चौडाइभित्र हामीसँग उष्ण प्रदेशीय अर्थात ट्रपिकल देखि अल्पाइन अर्थात उच्च हिमाली क्षेत्रसम्मको हावापानी उपलब्ध छ । यसको सीधा अर्थ के हो भने, संसारको कुनै पनि कुनामा उत्पादन हुने जुनसुकै बाली वा फलफूल हामी नेपालको कुनै न कुनै भूभागमा उत्पादन गर्न सक्छौँ । तर, विडम्बना ! यति ठूलो सम्भावना हुँदाहुँदै पनि आज हाम्रा गाउँहरू शून्यतातर्फ धकेलिरहेका छन् ।
गाउँको वर्तमान तस्बिर र मानसिक संकट
आज म गाउँ पुग्दा त्यहाँ एउटा भयानक सन्नाटा महसुस गर्छु । गाउँमा युवाहरू छैनन् । घरका छानाहरू भत्किएका छन्, खेतबारीहरू बाझो छन् र केवल वृद्धवृद्धाहरू मात्रै गाउँ कुरेर बसेका छन् । पहिले गाउँमा मान्छेको चहलपहल हुन्थ्यो, तर अहिले मान्छेहरू सहरमुखी र सहरबाट विदेशमुखी भएका छन् । यो केवल आर्थिक समस्या मात्र होइन, यो एउटा गहिरो मनोवैज्ञानिक संकट पनि हो ।
हाम्रो समाजमा एउटा गलत भाष्य निर्माण गरिएको छ गाउँमा बस्नु, खेतीपाती गर्नु, हिलो र गोबरसँग खेल्नु भनेको तल्लो स्तरको काम हो । मानिसहरू सहरमा १५–२० हजारको सामान्य जागिर खान रुचाउँछन्, तर आफ्नै गाउँमा बसेर कृषि उद्यमी बन्न चाहँदैनन् । सहरको एउटा सानो कोठामा बस्नुलाई उनीहरू स्ट्याण्डर्ड ठान्छन् र गाउँको स्वच्छ हावापानी र आफ्नै स्वामित्वको जमिनलाई फोहोरी कामको रूपमा हेर्छन् । यो मानसिकतालाई नचिरुन्जेल गाउँको विकास सम्भव छैन ।
आयातको भयावह अवस्था र नीतिगत कमजोरी
नेपाल एक कृषिप्रधान देश भनिन्छ, तर तथ्याङ्क हेर्दा हामी लज्जित हुनुपर्ने अवस्था छ । हामीले वर्षमा करिब ६ देखि ७ खर्ब रुपैयाँ बराबरको खाद्यान्न, फलफूल र मासुजन्य पदार्थ आयात गर्छौँ । संसारका १०४ भन्दा बढी मुलुकबाट हामी खाद्यान्न आयात गरिरहेका छौँ । जुन देशमा क्युवी, ड्रागन फ्रुट, एभोकाडो र ब्लुबेरी जस्ता उच्च मूल्यका फलफूलहरू सहजै फल्न सक्छन्, त्यहाँका नागरिकहरूले आयातित वस्तुमा भर पर्नु एउटा राष्ट्रिय त्रासदी हो ।
मैले यसको मुख्य कारण नीतिगत अस्पष्टता मा देखेको छु । हाम्रा सरकारहरू युवाहरूलाई स्वदेशमै कृषिमा आकर्षित गर्नुको सट्टा विभिन्न देशसँग श्रम सम्झौता गरेर उनीहरूलाई विदेश पठाउन पाउँदा गौरव गर्छन् । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले आयातित चामल र तरकारी किनेर खानु दिगो अर्थतन्त्र होइन । हामीले युवाहरूलाई विदेश पठाउने होइन, उनीहरूको श्रम र सीपलाई हाम्रै बाझो खेतबारीमा लगाउने वातावरण बनाउनुपर्छ ।
कृषि र उद्योगको टुटेको सम्बन्ध
नेपालमा कृषि उत्पादन र उद्योगबीच कहिल्यै तालमेल हुन सकेन । चितवनमा टमाटरको बढी उत्पादन हुँदा सडकमा फालिन्छ, तर हामी क्यालिफोर्नियामा बनेको ’केचअप’ किनेर खान्छौँ । यदि सरकारले टमाटर उत्पादन हुने क्षेत्रमा प्रशोधन केन्द्र वा उद्योग स्थापनाका लागि उद्योगपतिहरूलाई प्रोत्साहन गरेको भए, किसानले बजार पाउने थिए र उपभोक्ताले स्वदेशी उत्पादन पाउने थिए । सरकारले उद्योगपतिहरूलाई कृषि क्षेत्रमा लगानी गर्न बाध्य पार्ने वा प्रोत्साहन गर्ने बलियो नीति ल्याउन जरुरी छ ।
कानुनी र प्राविधिक अवरोधहरू
नेपालको कृषि कानुनले पनि व्यावसायिक खेतीलाई बाधा पु¥याएको छ । पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा राख्न नपाउने जस्ता हदबन्दीका कारण ठूला व्यावसायिक फार्महरू सञ्चालन गर्न कठिन छ । एउटा व्यावसायिक फार्म चलाउन कम्तीमा ३–४ सय रोपनी जग्गा चाहिन्छ । यस्ता व्यावहारिक कठिनाइहरूलाई सम्बोधन नगरेसम्म परम्परागत निर्वाहमुखी खेतीबाट देश समृद्ध हुन सक्दैन ।
अर्को ठूलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क हो । मेरो अध्ययन अनुसार नेपालमा बाँदरले मात्रै वार्षिक ५० अर्ब रुपैयाँ बराबरको कृषि बाली क्षति पु¥याइरहेको छ । किसानले दुःख गरेर लगाएको खेती बाँदरले सखाप पारिदिँदा उनीहरूमा खेतीप्रति वितृष्णा पैदा भएको छ । यसको वैज्ञानिक व्यवस्थापनका लागि राज्यले ठोस कदम चाल्नुपर्छ ।
शिक्षा प्रणाली र व्यावसायिकताको अभाव
हाम्रो शिक्षा प्रणालीले पनि कृषिमा योगदान दिन सकेको छैन । एमए पास गरेका युवाहरूसँग कुनै व्यावसायिक सीप छैन । पहिले विद्यालयमा ’पूर्व व्यावसायिक शिक्षा’ अन्तर्गत कृषि र सीप सिकाइन्थ्यो, तर अहिले त्यो हराएको छ । कृषि पढेका प्राविधिकहरू पनि फिल्डमा गएर किसानलाई सिकाउनुभन्दा सरकारी कार्यालयमा बसेर जागिर पकाउन बढी रुचि राख्छन् । हामीलाई यस्तो जनशक्ति चाहिएको छ, जो माटोसँग जोडिएर नयाँ प्रजातिका बिरुवा र प्रविधि किसानसम्म पु¥याउन सकोस् ।
मेरो व्यक्तिगत प्रयासः गोर्खा अर्गानिक हर्बल फार्म
मैले केवल कुरा मात्र गरेको छैन, आफैँले पनि प्रयास थालेको छु । म सरकारी सेवामा रहँदा र विज्ञको रूपमा विभिन्न देश घुम्दा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न गोर्खामा करिब २०० रोपनी जग्गामा व्यावसायिक फार्म सञ्चालन गरिरहेको छु । हामीले त्यहाँ १०० भन्दा बढी भेराइटीका फलफूलहरू लगाएका छौँ । २ वर्षमै फल्ने उन्नत जातका बिरुवाहरू भित्र्याएका छौँ । हामीले गाईको पिसाबबाट जैविक मल बनाउने प्रविधि अपनाएका छौँ, जसले गर्दा रासायनिक मलको आवश्यकता पर्दैन ।
हाम्रो मोडल भनेको “You Pick, You Eat” फार्म हो । जहाँ मानिसहरू आफैँ आउँछन्, फलफूल टिप्छन् र त्यसको आनन्द लिन्छन् । यो कृषिलाई पर्यटनसँग जोड्ने एउटा प्रयास हो । यस्ता मोडलहरू देशभरि विस्तार गर्न सकियो भने मात्र गाउँमा आर्थिक क्रान्ति सम्भव छ ।
गाउँको पहिचान अर्थतन्त्रको मेरुदण्ड
सरकारले दिने अनुदानले मात्र कृषि सुध्रिँदैन । अनुदान त अक्सर टाठाबाठाहरूले मात्र कागजी प्रक्रिया मिलाएर खाइरहेका छन् । वास्तविक किसानलाई त राज्यको तर्फबाट बजारको सुनिश्चितता, प्राविधिक सहयोग र कृषिलाई सम्मान गर्ने वातावरण चाहिएको छ । हामीले गाउँलाई फेरि जीवित बनाउनुपर्छ । गाउँ भनेको केवल बस्ने ठाउँ मात्र होइन, यो हाम्रो पहिचान र अर्थतन्त्रको मेरुदण्ड हो । कृषिलाई उद्यमसँग, उद्यमलाई उद्योगसँग र उद्योगलाई पर्यटनसँग जोडेर अगाडि बढ्ने हो भने नेपालले वार्षिक ६–७ खर्बको आयात रोकेर निर्यातमुखी अर्थतन्त्र बनाउन सक्छ । आफ्नो माटोलाई चिनौँ, माटोमा पसिना बगाऔँ र गाउँलाई समृद्ध बनाऔँ ।
लेखक डा. खेमराज भट्टराईले जैविक विविधता र पारिस्थितिकी तथा यसको भिन्न–भिन्न स्तरअनुसारको भिन्नतामा पीएचडी गरेका छन्। उनले वनस्पति, जलवायु र कृषि सम्बन्धी थुप्रै अनुसन्धान लेखहरू प्रकाशित गरेका छन् र पुस्तक तथा पुस्तकका अध्यायहरू समेत लेखेका छन्। हाल उनी नेपालको कृषि पुनरुत्थानको अभियानमा सक्रिय छन्।









