बासुदेव नाथ
अधिकृतस्तर आठौँ (पशु विकास अधिकृत)
पशु सेवा तालिम केन्द्र, लगनखेल, ललितपुर।
सम्पर्क: [email protected] / ९८४१७८९८०९
‘सम’ र ‘कृति’ मिलेर संस्कृति बनेको हो । संस्कृति भनेको कुनै पनि समाज वा समुदायको जीवन पद्धतिको समग्र रूप हो । यो मानिसहरूले पुस्तौँपुस्ता सिकेर, विकास गरेर र हस्तान्तरण गर्दै आएको ज्ञान, विश्वास, मूल्य-मान्यता, व्यवहार, कला, रीतिरिवाज, भाषा, धर्म, खानपान, पहिरन, सङ्गीत, नृत्य, साहित्य र वास्तुकला आदिको संयोजन हो । भाषा, परम्परा, रीतिरिवाज, कला, साहित्य, धर्म र विश्वासका साथै जीवनशैली र मूल्य-मान्यता संस्कृतिका मुख्य पक्षहरू हुन् । संस्कृति स्थिर हुँदैन; यो समय, वातावरण, भूगोल र अन्य संस्कृतिसँगको सम्पर्कले निरन्तर परिवर्तन र विकास हुन्छ, तर यसको मूल पहिचान भने पुस्तौँदेखि जीवित रहन्छ ।
चौरी र संस्कृति
यही व्यापक संस्कृतिको एउटा अभिन्न अङ्गका रूपमा चौरी र संस्कृति मिलेर ‘चौरी संस्कृति’ बनेको हो । चौरी भन्नाले सामान्यतया याक, नाक र स्थानीय गाई तथा बहरको संसर्ग (क्रस) बाट जन्मिएका सन्ततिलाई बुझिन्छ । चौरी उत्पादनका लागि याक र नाकको उपस्थिति अनिवार्य हुन्छ, किनभने चौरीबाट पुनः चौरी जन्मिँदैन । चौरी उत्पादनका लागि याकको भालेलाई ‘याक’ र पोथीलाई ‘नाक’ भनिन्छ । नाकलाई स्थानीय बहरसँग संसर्ग गराएर ‘डिम्जो चौरी’ उत्पादन हुन्छ भने स्थानीय गाईलाई याकसँग संसर्ग गराएर ‘उराङ चौरी’ उत्पादन गरिन्छ । चौरीको भाले सन्ततिलाई ‘झोपा’ भनिन्छ, जुन नपुंसक हुन्छ भने पोथीलाई ‘झुमा’ भनिन्छ, जुन उत्पादनशील हुन्छ । याकको उत्पत्ति परापूर्वकालमा तिब्बतको क्विङ्गहाईमा भएको मानिन्छ । सुरुवाती समयमा यसलाई ‘घोडा पुच्छ्रे भैँसी’ भनिन्थ्यो । करिब ३० लाख वर्षअघि हिमालको उत्तरी भिरालोमा याक देखा परेको र करिब ४,५०० वर्षअघि देखि याकलाई घरपालुवा जनावरको रूपमा उपयोग गर्न थालिएको अनुमान गरिएको छ ।
नेपालको हिमाली भेग तथा उच्च पहाडी क्षेत्रको सम्भावनामा याक र चौँरी
सहनशक्ति बढी हुने, प्रतिकूल मौसममा रहन सक्ने, चिसो र तातोको प्रतिरोध शक्ति भएको, स्थानीय वातावरणमा राम्ररी हुर्कन सक्ने, उपयुक्त शारीरिक बनावट, बहुउद्देश्यीय उपयोगिता, रोग निरोधात्मक शक्ति बढी हुने र कम लगानीमा पालन गर्न सकिने याक तथा चौरीका मुख्य विशेषताहरू हुन् । सामान्यतया समुद्र सतहदेखि ३,००० मिटरभन्दा माथिको उचाइमा याक र नाक पालन गरिन्छ भने २,५०० देखि ३,००० मिटरसम्म चौरी पालन गरिन्छ । डिम्जो चौरी ३,००० मिटरभन्दा माथिसम्म गएर पनि चर्न सक्छ भने उराङ चौरी २,००० मिटर तलसम्म आएर चर्न सक्छ । सामान्यतया चौरी भन्नाले हिमाली क्षेत्रमा पालन गरिने याक, नाक र चौरी सबैलाई जनाउँदछ । नेपालको हिमाली भेग तथा उच्च पहाडी क्षेत्रमा रहेका याक, नाक, चौरी, झोपा, झुमा, चौरी गोठ, गोठस्टे, चौरी बथान, चौरी खर्क, चौरीजन्य उत्पादन र चौरी गोठालोहरू त्यस क्षेत्रका वास्तविक सौन्दर्य हुन् । हिमालको सुन्दरता जति हेर्यो त्यति हेरिरहुँ लाग्ने भएकाले चौरीलाई ‘हिमालको मणि’ भनेर पनि चिनिन्छ । चौरी पालनको माध्यमबाट उक्त क्षेत्रका बासिन्दाहरूको आयआर्जनको मुख्य पेसा तथा स्रोत चौरी पालन नै रहेको छ । यसका साथै त्यहाँको भौगोलिक एवं प्राकृतिक सौन्दर्यको चमकले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउनुका साथै आकर्षित गरेको हुन्छ । नेपालको उत्तरी भूभागको पूर्वमा इलाम र पाँचथरदेखि पश्चिममा बझाङ र दार्चुलासम्म तिब्बतसँग जोडिएका र ती हिमाली जिल्लासँग जोडिएका उच्च पहाडी जिल्लाहरूका खास-खास ठाउँमा याक र चौरी पालन फैलिएको छ । यहाँको याक र चौरी पालन संस्कृतिले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ ।
छुर्पी, याक चिज, घिउ र चमरको उच्च स्तरीय उत्पादन
हिमाली क्षेत्रको पहिचानको रूपमा रहेका याक र चौरीलाई त्यहाँको अलङ्कार तथा विभूषणका रूपमा लिइन्छ । लेकाली क्षेत्रमा पुग्ने जोकोही पर्यटक पनि याक र चौरीसँग तस्बिर खिच्न लालायित हुन्छन् । त्यसका साथै अर्ग्यानिक उत्पादनको रूपमा रहेको दुग्धजन्य पदार्थ जस्तै छुर्पी, याक चिज, घिउ र चमरको चाहना राख्दछन् । याक चौरी पालन हिमाली क्षेत्रको मौलिक संस्कृति र परम्परा हो । जडीबुटी खाने भएकाले याक र चौरीको मासु स्वादिलो र स्वास्थ्यवर्द्धक मानिन्छ । यद्यपि, जलवायु परिवर्तनको असर र वन्यजन्तुको जोखिमले यस व्यवसायमा चुनौती थपिएको छ । मुस्ताङ र म्याग्दी जिल्लाको चौरी खर्कमा वर्षको दुई पटक साउन र फागुनमा आलो रगत निकालेर बिक्री गर्ने गरिन्छ । नेपालमा पनि चौरी महोत्सवलाई एउटा ठुलो उत्सवको रूपमा मनाउन थालिएको छ । नेपाल-भारत सिमानामा पर्ने पाँचथर जिल्लाको चारतारेमा वि.सं. २०७४ देखि समुद्र सतहदेखि ३,५६० मिटरको उचाइमा सुर्केथाम दुग्ध सहकारी संस्थाले नयाँ वर्षको उमङ्गसँगै चौरी महोत्सव मनाउँदै आएको छ ।
यस महोत्सवमा चौरीसम्बन्धी विभिन्न स्टल, गोठस्टे, याक राइडिङ, चौरी प्रदर्शनी, हर्स रेस, गुम्बा संस्कृति संरक्षण र जैविक विविधता संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू समेत गरिन्छ । यस कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकहरूको बाक्लो सहभागिता रहने गर्दछ । गुराँस फुलेर डाँडाकाँडा ढाकिएको बेला हिमालको मनोरम दृश्य र नजिकै देखिने तालतलैयाका साथै याक चौरी चरेको दृश्य निकै आकर्षक देखिन्छ ।
उधौली र उभौली पर्व, जहाँ चिसो बढ्दा याक चौरी लेकबाट बेँसी झर्ने र गर्मी सुरु हुँदा बेँसीबाट लेक चढ्ने समयको प्रतीक पनि हो । त्यसकारण भनिन्छ कि जब गुराँस फुल्न थाल्छ, तब चौरी लेक चढ्न थाल्दछन् ।
याक र चौरी पालन तीव्र रूपमा किन घट्दै गए ?
पछिल्लो समयमा याक र चौरी पालन तीव्र रूपमा घट्दै जानुको साथै यो व्यवसाय केवल घरायसी बन्दै गएको कुरा विभिन्न सरकारी निकायबाट प्रकाशित तथ्याङ्कले पुष्टि गर्दछन् । याक, नाक, उराङ चौरी, डिम्जो चौरी, झोपा, झुमा, फोम्जो र तोले जस्ता विभिन्न जाति तथा प्रजातिहरू यस अन्तर्गत पर्दछन् । यिनीहरूबाट मुख्य रूपमा दूध, दही, नौनी, चिज, छुर्पी र घिउ उत्पादन हुन्छन् । यसको रौंबाट चमर, लिउ, राडी, पाखी, पश्मिना, गलैँचा, याक फाइबर, याक ऊन, डोरी र त्रिपाल बनाइन्छ भने छालाबाट बेल्ट, झोला र पर्स आदि निर्माण गरिन्छ । झोपा चौरीलाई खेत जोत्ने र भारी बोक्ने काममा लगाइन्छ । याक पालनसँगै आलो रगत पिउने महोत्सव खास गरी तिब्बत र मुस्ताङबाट सुरु भएको भए पनि यो क्रमशः अन्य जिल्लाहरू जस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पाउद्वारको लहरेनी र खोप्रालेकमा पनि चलनमा रहेको छ ।
पशुलाई नमरीकन घाँटीको ‘जुगलर भेन’ बाट आलो रगत निकालेर तुरुन्तै खाने गरिन्छ । रगत निकाल्नका लागि ‘चापो’ भनिने एक विशेष किसिमको छुरा वा चक्कु प्रयोग गरिन्छ र रगत निकाल्ने सिपालु व्यक्तिलाई ‘आम्जी’ भनिन्छ । आम्जी हिमाली भेगको एउटा उपचार पद्धति हो । मङ्गोलियन भाषामा ‘आम्जी’ भनेको डाक्टर हो । आम्जीले वनस्पति, जडीबुटी, वन्यजन्तुका केही अङ्ग, माटो र चट्टान जस्ता खनिज, तान्त्रिक विद्या र अकुपञ्चर प्रयोग गरी रोगको उपचार गर्दछन् । आम्जी स्थानीय वैद्य हुन् भने उनले गर्ने उपचार पद्धतिलाई प्राकृतिक उपचारको रूपमा लिइन्छ ।
आलो रगत निकालेर तुरुन्तै खाने प्राकृतिक उपचार पद्धति अन्तर्गत
यसै गरी याकको आलो रगत पिउनु पनि प्राकृतिक उपचार पद्धति अन्तर्गत नै पर्दछ । एउटा वयस्क याकको शरीरबाट १० देखि १५ गिलास रगत निकाल्दा पशुको शरीरमा कुनै असर नपर्ने स्थानीयहरूको दाबी छ । रगत निकालेपछि त्यस घाउलाई रगत र माटोले टालिन्छ र चौरीलाई छोडिन्छ । आलो रगत पिउनाले ग्यास्ट्राइटिस, गानोगोलो, जन्डिस, बाथ, शरीरको कमजोरी र हाडजोर्नीको रोग निको हुने तथा शारीरिक स्फूर्ति बढ्ने र सुगर एवं प्रेसर नियन्त्रण हुने जनविश्वास रहेको छ । यद्यपि, रगत पिएर रोग निको हुने कुरा वैज्ञानिक तवरले प्रमाणित भइसकेको छैन, बरु पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने प्राणघातक ‘जुनोटिक’ रोगहरू सर्ने प्रबल सम्भावना रहेकाले यस बारेमा जनचेतना जगाउनु अपरिहार्य देखिन्छ ।
याक र चौरी पालनले समाजमा प्रतिष्ठा
नेपालको हिमाल तथा उच्च पहाडी भेग जडीबुटीको उर्वर भूमि भएकाले त्यहाँका याक र चौरीहरूले प्राकृतिक जडीबुटीहरू खाएका हुन्छन्, त्यसैले स्थानीयहरू निर्धक्क भएर आलो रगत पिउन हिचकिचाउँदैनन् । हिमाली भेगमा पाइने प्रमुख जडीबुटीहरूमा यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, पाँचऔँले, वनलसुन, पदमचाल, वन हलेदो र जिम्मु लगायतका थुप्रै औषधिजन्य वनस्पतिहरू रहेका हुन्छन् । हिमाली भेगमा बसोबास गर्ने बासिन्दाहरूका लागि याक र चौरी पालनले समाजमा प्रतिष्ठा बढाएको छ ।
यो त्यहाँका मानिसहरूको जीवनको एक अभिन्न अङ्ग र जनजीविकाको मुख्य आधार बनेको छ । समाजमा एकले अर्कोलाई सहयोग गर्ने, गोठालो जाँदा साथ दिने, अर्काको पशुलाई चरन खर्कमा लैजाने र पशु बिरामी हुँदा औषधि उपचारमा सहयोग गर्ने जस्ता सामाजिक कार्यहरू यस पेसासँग जोडिएका छन् ।
याक र चौरीजन्य उत्पादनको बजार खोज्ने, उत्पादित वस्तु बजारसम्म पुर्याउन सहजीकरण गर्ने, पशुलाई सङ्क्रामक रोगबाट बचाउन खोप लगाउन सहयोग गर्ने र चरन खर्कको सुधार एवं संरक्षणका लागि सामूहिक रूपमा काम गर्ने परम्परा छ । याक र चौरीहरूको घुम्ती गोठ हुने भएकाले गोठ सार्नका लागि समुदायको सहयोग अपरिहार्य हुन्छ । खर्कमा आधारभूत सुविधाहरू जस्तै पिउने पानी, बाटोघाटो र बिजुली बत्तीको व्यवस्थापन समाजको सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकाले यस व्यवसायले मानिसहरूलाई एक-अर्कामा जोडेको हुन्छ ।
याक र चौरीको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्व अत्यन्तै उच्च
याक र चौरीको धार्मिक मूल्य-मान्यता पनि उत्तिकै छ । यसको दूध, घिउ, नौनी, छुर्पी, गहुँत, गोबर र चमरको विशेष धार्मिक महत्त्व छ । विशेष गरी चौरीको घिउ पितृ कर्म र विभिन्न धार्मिक अनुष्ठानका लागि निकै मूल्यवान् मानिन्छ । यसरी याक र चौरीको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्व अत्यन्तै उच्च रहेको छ ।
यो मौलिक संस्कृति जोगाउनका लागि तीनै तहका सरकारले सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । अन्य पेसासँग प्रतिस्पर्धा गर्न नसकेका कारण नयाँ पुस्ताले यस व्यवसायमा रुचि देखाएको पाइँदैन, जसले गर्दा यो पेसा वृद्धवृद्धाहरूले मात्र धानेको जस्तो देखिएको छ ।
हिमाली क्षेत्रको अर्थतन्त्र र पहिचान जोगाउन चौरी संस्कृति
हिमाली क्षेत्रको अर्थतन्त्र र पहिचान जोगाउन चौरी संस्कृतिलाई बचाउनु अपरिहार्य छ, जसले पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुर्याउँदछ । नेपालका शेर्पा जातिहरूको पुर्ख्यौली पेसाको रूपमा रहेको हुनाले ‘याक र शेर्पा’ लाई पर्यायवाचीका रूपमा समेत हेरिन्छ र उनीहरूको योगदान अतुलनीय छ ।
नेपालको कोसी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, खोटाङ, इलाम र भोजपुर; बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ र रसुवा, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, कास्की, लमजुङ र म्याग्दी; लुम्बिनी प्रदेशको पूर्वी रुकुम; कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुला गरी कुल ३० जिल्लामा ७१,९१३ को सङ्ख्यामा याक र चौरी पालन भइरहेको छ ।
प्रादेशिक रूपमा हेर्दा मधेश प्रदेशमा मात्र भौगोलिक हावापानी अनुकूल नभएकाले चौरी पालन भएको देखिँदैन । दुग्ध विकास संस्थान अन्तर्गत रसुवाको गोसाइँकुण्ड, लाङटाङ, गत्लाङ, धुन्चे, थुमन र टिमुरे; रामेछापको चोर्दुङ्ग; सोलुखुम्बुको पिके र दोलखाको चैखुमा याक चिज कारखानाहरू सञ्चालनमा रहेका छन् ।
सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-४, स्याङ्बोचेमा (३,८८० मिटर) वि.सं. २०३० वैशाख ७ गते स्थापित चौरी फार्म हाल ‘याक आनुवंशिक स्रोत केन्द्र’ को नामबाट सञ्चालनमा छ । यसले याक उत्पादनमा टेवा पुर्याउनुका साथै सिमेन उत्पादन गरी सेवा विस्तार गर्ने सम्भावना बोकेको छ । नेपाल सरकारले वि.सं. २०८२ देखि वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ को रूपमा मनाउन थालेको छ ।
नेपालको विकासका लागि पर्यटन, जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार, वनस्पति तथा जडीबुटी र लघु एवं घरेलु उद्योगहरू सबैभन्दा बढी सम्भावना बोकेका क्षेत्र हुन् । यीमध्ये पर्यटन क्षेत्र अझ महत्त्वपूर्ण छ, जहाँ पर्यटकहरूलाई लोभ्याउने मुख्य आधार हिमाल नै हो ।
पर्यटकका लागि हिमाल र चौरी एक-अर्काका पूरक र आकर्षण
विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये ८ वटा नेपालमै पर्दछन् र ६,००० मिटरभन्दा अग्ला १,३११ वटा चुचुराहरू यहाँ रहेका छन् । हिमाल भन्ने बित्तिकै त्यहाँ चौरीको अस्तित्व अभिन्न रूपमा जोडिएको हुन्छ । पर्यटकका लागि हिमाल र चौरी एक-अर्काका पूरक र आकर्षणका केन्द्र हुन् । चौरी पालनमा दैनिक गरिने मुख्य काम दूध दुहुने भए तापनि यस पेसामा अपेक्षाकृत उन्नति हुन सकेको छैन ।
यसका लागि चरन तथा खर्क सुधार, बाटोघाटो र पुल निर्माण, पिउने पानीको व्यवस्था, टहरा निर्माण, सौर्य ऊर्जा वा बिजुलीको पहुँच, आधुनिक प्रविधि एवं प्राविधिक सेवाको उपलब्धता र गोठालाका बालबालिकाहरूका लागि प्राथमिक तहसम्मको घुम्ती विद्यालयको व्यवस्था गर्न सकिएमा यसलाई आयआर्जनको एउटा मर्यादित पेसा बनाउन सकिन्छ ।
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै मुलुकको समृद्धिको मार्गचित्र कोर्नका साथै चौरी संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आजको आवश्यकता हो ।
(लेखक श्री बासुदेव नाथ, पशु सेवा तालिम केन्द्र लगनखेल, ललितपुरमा अधिकृतस्तर आठौँ, पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सम्पर्क: [email protected] / 9841789809)









