काठमाडौँ -नेपालमा पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘२७औँ फ्लोरा एक्स्पो’ उत्साहजनक कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त मेलामा एक करोड २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङका अनुसार मेलामा दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि सुरु भएको यस मेलालाई ६० हजार ७०० जनाले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६५, अफिसियल ११ र प्रतिस्पर्धात्मक २ गरी कुल ७८ वटा स्टलहरू राखिएका थिए ।
नेपालको पुष्प व्यवसायमा हालसम्म आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यस क्षेत्रले करिब ५३ हजार ५०० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको जानकारी समेत मेलाका अवसरमा दिइएको छ ।
यस वर्ष पुष्प क्षेत्रको व्यापार सन्तुलनमा समेत सकारात्मक सुधार देखिएको छ । भन्सार विभागको तथ्याङ्क उद्धृत गर्दै एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए अनुसार पुष्पजन्य वस्तुको आयातमा उल्लेख्य गिरावट आएको छ । गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको फूल तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।
आयात घट्दै गर्दा निर्याततर्फ भने उत्साहजनक प्रगति देखिएको छ । गत वर्षको तुलनामा निर्यात १०९.१६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको अध्यक्ष श्रेष्ठले बताए । यसले नेपाली पुष्प व्यवसाय आत्मनिर्भरतातर्फ अघि बढिरहेको र अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउँदै गएको संकेत गरेको छ ।









