चर्चित

तत्काल पहल गर्ने प्रजिअ खड्काको प्रतिबद्धता
भक्तपुर, असार १० –भक्तपुर जिल्ला तथा आसपासका क्षेत्रमा पछिल्लो समय बर्डफ्लु (Avian Influenza) रोगको सङ्क्रमण तीब्र रूपमा फैलिएपछि प्राविधिकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बर्डफ्लु महामारीका कारण कुखुरापालन व्यवसाय, पशुपन्छी क्षेत्र, कृषकहरूको जीविकोपार्जन तथा जनस्वास्थ्यमा समेत गम्भीर संकट आउन सक्ने भन्दै तत्काल नियन्त्रणका लागि सरोकारवालाहरू जुर्मुराएका हुन्।

यसै सन्दर्भमा, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (NEVLA) भक्तपुर जिल्ला कार्यसमितिले आज जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्कालाई १० बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको छ। एसोसिएसनका जिल्ला अध्यक्ष भाष्करमणी काफ्लेको नेतृत्वमा गएको टोलीले प्रजिअ खड्कालाई भेटेर जिल्ला भित्र र अन्तरजिल्लास्तरमा समेत उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो।

ज्ञापन पत्र बुझ्दै प्रजिअ अत्यन्तै सकारात्मक, दिए द्रुत कदम चाल्ने आश्वासन
ज्ञापन पत्र बुझ्ने क्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्का अत्यन्तै सकारात्मक देखिनुभएको छ। प्रजिअ खड्काले बर्डफ्लुले कृषि क्षेत्र र जनस्वास्थ्यमा पार्ने असरप्रति प्रशासन गम्भीर रहेको बताउनुभयो। उहाँले ज्ञापन पत्रमा उठाइएका जैविक सुरक्षा, ओसारपसारमा निगरानी र र‍्‍यापिड रेस्पोन्स टिम (RRT) सक्रिय बनाउने विषयमा तुरुन्तै आवश्यक पहल गर्ने र एक्सनमा जाने प्रतिबद्धता जनाउनुभएको छ। किसानहरूको राहत र प्राविधिकहरूको सुरक्षाका लागि पनि सम्बन्धित मन्त्रालय र विभागसँग आवश्यक समन्वय गर्ने आश्वासन प्रजिअले टोलीलाई दिनुभयो।

के छन् मुख्य १० बुँदे मागहरू?
बर्डफ्लुको चक्रलाई तत्काल तोक्न र किसानलाई विस्थापित हुनबाट जोगाउन एसोसिएसनले अघि सारेका मुख्य मागहरू यसप्रकार छन्:

तत्काल अनुगमन र नियन्त्रण: बर्डफ्लु प्रभावित क्षेत्रहरू पहिचान गरी तत्काल उच्च सतर्कताका साथ नियन्त्रण अभियान सञ्चालन गरियोस्।

कडा जैविक सुरक्षा (Biosecurity): शङ्कास्पद फार्महरूको वैज्ञानिक परीक्षण गरी जैविक सुरक्षाको मापदण्ड कडाइका साथ लागू गरियोस्।

सुरक्षित व्यवस्थापन र निसङ्क्रमण: सङ्क्रमित पक्षी तथा सामग्रीहरूको वैज्ञानिक र सुरक्षित व्यवस्थापन गर्दै नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाइयोस्।

किसानलाई राहत र क्षतिपूर्ति: बर्डफ्लुले प्रभावित भएका किसानहरूका लागि उचित राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाको प्याकेज तत्काल व्यवस्था गरियोस्।

नाकामा आरसीटी टेस्ट (RCT Test): जिल्लाभित्र र अन्तरजिल्ला कुखुरा, चल्ला, अण्डा तथा अन्य जोखिमयुक्त सामग्री ओसारपसार गर्दा अनिवार्य परीक्षण र निगरानी गरियोस्।

सरोकारवालाबीच संयुक्त संयन्त्र: स्थानीय तह, पशु सेवा कार्यालय, सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाबीच बलियो समन्वय गरी संयुक्त टोली परिचालन गरियोस्।

व्यापक जनचेतना र प्राविधिकलाई सुरक्षा: सामाजिक सञ्जाल र स्थानीय निकायमार्फत बर्डफ्लूबारे व्यापक सूचना प्रवाह गरियोस् साथै फ्रन्टलाइनमा खटिने प्राविधिक जनशक्तिलाई आवश्यक राहत कोष, क्वारेन्टाइन र सुरक्षा सामग्री (PPE आदि) उपलब्ध गराइयोस्।

र‍्‍यापिड रेस्पोन्स टिम (RRT) र स्लटर हाउस परीक्षण: जिल्लामा आकस्मिक रोग नियन्त्रण संयन्त्र (RRT) लाई थप सक्रिय बनाइयोस् र मासु काट्ने ठाउँ (स्लटर हाउस) को कडा परीक्षण गरियोस्।

अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने खतरा
ज्ञापन पत्रमा भनिएको छ “बर्डफ्लु रोगले किसान, उपभोक्ता, पशुपन्छी व्यवसाय मात्र नभई समग्र अर्थतन्त्रमै दीर्घकालीन असर पार्न सक्ने भएकाले यस विषयलाई राज्यले उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ।” एसोसिएसनले “स्वस्थ पशु, समृद्ध किसान, समृद्ध नेपाल” को मूल नारालाई साकार पार्न सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिएको छ।

उक्त ज्ञापन पत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, पशु सेवा कार्यालय भक्तपुर र सम्बन्धित स्थानीय तहहरूलाई समेत दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय