
इन्द्रकुमार श्रेष्ठ
रिठ्ठा खासगरी हाम्रो देशको मध्य पहाडी र महाभारत चुरे क्षेत्रमा पाइने एकजातको रूख हो । उपत्यकाको जङ्गलमै पनि यो पाइन्छ । यसका पातहरू खण्डखण्डमा विभाजित भएका र लामालामा हुन्छन् । जेठ, असारसम्म यसमा फुल्ने सेता फूलमा पछि हरिया गोला दानाहरू फल्छन् । ती दानाहरू बढ्दै जाँदा पाक्ने बेला पुस, माघसम्ममा खैरा हुन पुग्छन् । अण्डाको सेतो भागझैँ बोक्राका रूपमा रहेका ती दानाभित्र अण्डाकै रातो भागजस्तो स्वरूपमा तर नटाँसिईकन रहेका गुच्चाजस्ता गोला, काला दाना (बीज)हरू हुन्छन् । खैरा दानामा लागेको बिर्कोजस्तो भाग उप्काएपछि त्यहाँनेर फुक्दा सिट्ठीजस्तो बज्छ । केटाकेटीहरू त्यसलाई ‘सिर्र !’, ‘सिर्र !’ फुक्दै रमाउँछन् । कतिपयले गोलो कालो भागलाई काठ वा ढुङ्गामा एकछिन घोटेर त्यसबाट आएको तातो आफ्ना साथीभाइको हातपाखुरातिर लाइदिएर बालसुलभ रमाइलो पनि गर्छन् । कसैले गुच्चा बनाएर खेल्छन् । कसैकसैले त्यस्तो दाना फुटाएर भित्रको गुदी खाने पनि गर्छन् । रिठ्ठाको घाँस गाईबस्तु तथा बाख्राहरूले खासै मन पराउँदैनन् । यसको काठ पनि काम लाग्दैन ।
उपयोगिता
रिठ्ठाको बीज बहुउपयोगी मानिन्छ । आयुर्वेदिक औषधिका रूपमा यसलाई दिसा खुलाउन, बान्ता गराउन, खकार निकाल्न प्रयोग गर्न सकिने बताइन्छ । छारेरोग र ¥याल चुहिने रोगलाई पनि यसले ठीक गर्छ भनिन्छ । पेटका कीरा मार्न, खाना अपच भएमा र बिच्छीले टोकेमासमेत यसैको प्रयोग गरिन्छ भने दम, हैजा, खोकीजस्ता रोगमा पनि यसले काम गर्छ भनिन्छ । औषधिका रूपमा प्रयोग गरिने यही चीजलाई कतै–कतै माछा मार्ने विषका रूपमा र कीटनाशक औषधिका रूपमा पनि प्रयोग हुने गरेको बताइन्छ ।
रिठ्ठाको मुख्य उपयोगिता भित्री बीजको नभएर बाहिरी बोक्रे दानाको हो । पहिला गाउँघरमा कपडा धुनका लागि खरानी र रिठ्ठाको प्रयोग गरिन्थ्यो । रिठ्ठाले नुहाउँदा कपाल कालो र लामो हुन्छ भन्ने विश्वास दिदीबहिनीहरूमा थियो । सायद यो सत्य कुरा उनीहरूले आफ्ना आमा हजुरआमाहरूबाट थाहा पाएका थिए होलान् । पछि–पछि थरीथरीका साबुनहरू बजारमा पाउन थालियो । कपडा धुन र नुहाउनका लागि गाउँघरमा समेत तिनैको प्रयोग हुन थालेपछि गुणकारी रिठ्ठाको वास्तै हरायो ।
अझै पनि रिठ्ठा हुने गाउँघरमा कतै–कतै त्यसलाई ढिकी÷ओखलमा कुटेर ‘वासिङ पाउडर’का रूपमा प्रयोग गर्ने गरिन्छ । पहिलेदेखि नै गहना व्यवसायीहरूले सुन, चाँदी, हीराजस्ता गहनालाई सफा गरेर उजिल्याउन रिठ्ठाको झोल प्रयोग गर्ने गर्थे । त्यस्ता काममा आज पनि यसको माग छँदै छ ।
रिठ्ठा उद्योग र व्यापार
नेपालमा धेरैतिर फल्ने रिठ्ठा उपेक्षित अवस्थामा रहे पनि कतिपय ठाउँमा यसको महŒव पहिचान गरिएको देखिन्छ । उदयपुरको मुर्कुची बजारमा २०५७ सालमा स्थापित थापा जडीबुटी वाष्पीकरण प्लान्टले तेजपत्ता, चिराइतोजस्ता जडीबुटीहरूसँगै रिठ्ठासमेत सङ्कलन गरी बेचविखन तथा विदेश निर्यात गर्ने गरेको छ । किसानहरूबाट प्रतिकेजी ४० रुपियाँमा किनिएको रिठ्ठालाई, माग भएअनुसार कतै दानै र कतैचाहिँ पाउडर बनाएर बेचिने उद्योग सञ्चालक भरत थापाले बताउनुहुन्छ । फ्रान्स र जर्मनीमा यसको माग बढी भएको बताउने थापाको भनाइ छ, ‘मैले यो उद्योग स्थापना गरेपछि मानिसले यस क्षेत्रका रिठ्ठाको महŒव बुझेर त्यसको संरक्षण गर्न थालेका छन् ।’ उदयपुरका भलायोडाँडा, आँपटार, पोखरीजस्ता ठाउँबाट रिठ्ठा सङ्कलन गरिने हँुदा त्यस क्षेत्रमा यसको संरक्षण गर्न थालिएको बताइन्छ ।
पश्चिम नेपालका दार्चुला, बैतडी, डडेलधुरा र प्युठान जिल्लाहरूमा पनि केही मात्रामा रिठ्ठा सङ्कलन गरी कतिपयले ढिकीमा कुटेर आफ्नै उपयोगका लागि प्रयोग गर्ने र कतैकतै त्यसलाई थोक व्यापारीकहाँ जम्मा गर्ने गरिएको पाइन्छ । त्यसरी जम्मा गरिएको रिठ्ठा, खासगरी भारततिर निकासी गर्ने गरिएको छ । आफ्नै अधिकतम उपयोगका लागि भने त्यसको प्रयोग भएको देखिएन । मुख्य कुरा, यसको महŒव बुझेर व्यावसायिक खेती गर्नेतर्फ हाम्रो ध्यान अझै पुग्न सकेको छैन । स्थानीयकै आवश्यकता परिपूर्ति गर्न, स्थानीय कच्चा पदार्थको सदुपयोग गरी स्थानीयस्तरमै उद्योग सञ्चालन गरेर यहाँका मानिसलाई आत्मनिर्भर बनाउने कुरामा भने प्रायः कसैको पनि ध्यान पुगेको छैन ।
नेपालका धेरै ठाउँमा बाँदरले पनि वास्ता नगर्ने रिठ्ठा अब आफ्नो समयमा फुल्दै, फल्दै र पाकेपछि त्यत्तिकै झर्दै खेर जाने गरेको छ । ‘संरक्षण गरिनुपर्ने’ नठानिएको हुँदा, ‘रिठ्ठाबोटे’ खेतबारीका कान्ला तथा खोल्साखाल्सीमा भएका त्यसका रूखहरू पनि ‘केही काम नलाग्ने’ भन्ठानी काटकुट गरी नष्ट गर्न थालिएको छ । ‘सिमलको रूखलाई जस्तै रिठ्ठालाई पनि किन कानुनी रूपमै संरक्षण नगर्ने ?
देशमा जुनसुकै वस्तु भईकन पनि विदेशमै बनेको प्रयोग गर्ने हाम्रो बानी नै बसिसकेको छ । हानिकारक रासायनिक गुण र आकर्षक खोल भएका सेम्पो र साबुनको प्रयोग गर्छौं, फलतः चायाजस्ता रोगबाट पीडित छौँ ।
अब रिठ्ठाका बियाँहरू सङ्कलन गरेर बेर्ना तयार गरी हाम्रा पाखापखेरा तथा सामुदायिक वनमा जताततै लगाउन सके केही वर्षभित्रै हामी आफ्नै माटोमा उत्पादित स्वस्थ सेम्पो र साबुनमा आत्मनिर्भर बन्ने थियौँ ।
लेखक इन्द्रकुमार श्रेष्ठ साहित्यकार समेत रहेका छन् श्रोत : गोरखापत्र अनलाइन