चर्चित

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन् । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती सुरु गरेका हुन् । वार्षिक रु ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय सुरु गरेका खड्कालाई सुरु सुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।
तिन वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउँछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपरेको उनले बताए ।
कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउँछन् । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरक-फरक नाम भन्ने गरेको उनले बताए ।


रोजगारीका लागि दुईपटक मलेसिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय सुरु गरेका हुन् । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय सुरु गरेका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेको बताए ।
विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । “नेपाली बजारमा सँधै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ”, खड्काले भने ।

स्वदेशमा काम गर्दाको आनन्द
खड्काले विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेका थिए । नेपाली बजारमा सधँै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ, खड्काले भने । व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय