चर्चित

–अशिम सापकोटा, एग्रो टाइम्स ब्युरो
रसिलो कागती, सम्झने बित्तिकै मुखमा पानी आउँछ । बिहान बेलुका तरकारीमा निचोरेर र अचारमा साँधेर कागती खान धेरै मन पराउँछन् । यसरी दिनमा तीन चारपटकसम्म कागती खोज्ने मान्छे बढिरहेपनि यसको उत्पादन चाहिँ घटिरहेको छ । व्यापारीहरुका अनुसार अहिले पनि ९० प्रतिशत भन्दा बढी कागती भारतबाटै आयात हुने गर्छ । नेपाली उत्पादनले एक महिना पनि धान्न गाह्रो हुने काठमाण्डौँ कालिमाटीका एक पुराना बताँउछन् । पहिलो कुरा त गाउँठाउँमा कागती फल्न नै छाड्यो, कागती पाइहालेमा पनि नेपालका कागती रसिला नहुने भएकाले भारतबाटै ल्याउनुपर्ने बाध्यता छ अर्का व्यापारी त्यसमै थप्न भ्याए । स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रममा सरीक सामाजिक अभियन्ता तथा एन्टि क्रप्सन मोमेन्टका राष्ट्रिय सचिव सुरजित्त दत्तले कागती मानव स्वास्थ्यका लागि आवश्यक भएकोले नै यसको माग बढीरहेको स्विकारे । काठमाडौँमा १० बर्षदेखी डिजिटल मार्केको काम गरीरहेका लेटाङ मोरङका मित्रमणि बराल आँफु कागतीको पारखी रहेको र २ दाना कागती प्रयोग गर्ने समेत हामीलाई बताए । बजारमा स्वदेशी कागतीको कारोबार हुनै छोडेको व्यवसायी बताउँछन् । पोहोर परार स्वदेशी कागतीले २÷३ महिना माग धान्ने गरेकोमा अहिले दुई महिना पनि नधान्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । फलिरहेका बोटको हेरचाह नहुनु र नयाँ विरुवा नरोप्नुले कागतीको उत्पादन कम हुँदै गएको हो, तर विभिन्न जिल्लामा कागती खेतीको व्यवसायिक खेती गर्ने लहड भने आएको छ । स्वदेशी उत्पादन नभएपछि कागतीका लागि अहिले भारतबाट आयात गर्नुपरेको छ ।
०००००
खेतमा काँडा रोपेर आम्दानी गर्ने भयो भनेर खिस्सी गर्नेलाई नै चकित बनाए माझीले

ढालुराम माझी, कागती कृषक, मोरङ

२०६४ सालमा २ वटा विरुवाबाट कागती खेती सुरु गरेका बुढीगंगा गाँउपालिका मोरङ डंग्राहा का किसान ढालुराम माझी करोडपति भएका छन् भन्दा सबैलाई पत्यार नलाग्ला । तर, राजनीतिमा लागेर पैतृक सम्पत्ति गुमाउँदै गएको बेला ६० वर्षे माझी कागतीबाट एकाएक मालामाल हुँदा आसपासका मात्रै नभएर सुन्ने बुझ्ने मानिसहरु चकित छन् ।
चौतर्फी ऋण र पारिवारिक बोझका कारण के गरौं र कसो गरौं भएका माझीले जीवनको उर्जाशील समयावधि सकिएपछि सुरु गरेको व्यवसायले भएको प्रगति सबैका लागि उदाहरणीय बनेको छ । ‘खेतमा कागती रोपेको देखेर सुरु सुरुमा मान्छेले गिज्याउँथे,’ उनी सम्झन्छन, ‘खेतमा काँडा रोपेर आम्दानी गर्ने भयो भनेर खिस्सी गर्थे, अहिले भने देशभरबाट मेरो बगान हेर्न मानिसहरु आएको देख्दा खुसी लाग्छ ।’ सिक्न चाहनेका लागि ढालुरामको कागती खेती एउटा विश्वविद्यालय नै हुन सक्छ ।
बिहान झिसमिसेदेखि कागती खेतीमै रमाइरहने माझीले १३ जना कर्मचारी पनि राखेका छन् । उनले कागतीका दाना मात्रै नभएर अर्गानिक अचार र कलमी विरुवा पनि बेच्ने गरेका छन् । ‘यो वर्ष मैले २८ हजार कागतीका विरुवा तयार गरेको छु,’ माझीले भने, ‘देशलाई कागतीमा आत्मनिर्भर बनाउने मेरो योजना छ, प्रयास गरिरहेको छु ’ देशभरका ३४ जिल्लामा आफूले विरुवा विक्री गरिरहेको बताउने माझीले, घरमै निर्माण गरेको अचार पनि काठमाडौं देखि पोखरासम्म पठाउने गरेका छन् ।
कृषक माझी कुनै सीप र तालिम बिनै सुरु गरेको कागती खेतिले अहिले पूर्वका केही मागलाई धानिरहेको छ । यकिन तथ्याङ्क नभएपनि अहिलेपनि करोडौंको कागती भारतबाट नेपाल आयात भइरहेको छ । कागती खेतीबाट छिटो र राम्रो आम्दानी हुने भएकाले स्थानीय स्तरमा कागती खेतीको विस्तार गर्नु आवश्यक रहेको कृषि कार्यालयको भनाइ छ । मेहनत र लगनशील भएर लाग्ने हो भने कृषिबाट पनि करोडपति बन्न सकिन्छ भन्ने उदाहरण हुन् ढालुराम । एग्रो टाइम्स कृषि अवार्ड २०७४ का सर्वोकष्ट समेत बनेका माझी कागतीले नै आँफुलाई जिवन दिएको महसुस गर्छन् ।
०००००

जाँगरिला र लगनशील नरेन्द्रको कागती खेती


नरेन्द्र कुमार केसी,कागती कृषक,चोरमारा नवलपुर

भनिन्छ– हारपछि जित निश्चित हुन्छ । बुद्धिमानहरू हारको समीक्षा गर्दै अझ बढी मिहेनत र लगनसहित सफलताको बाटोमा लम्किन्छन् । अर्थात्, असफलताबाटै सफलता खोज्छन् । त्यस्तै जाँगरिला र लगनशील कृषि उद्यमी हुन्, मध्यविन्दु नगरपालिका–८, चोरमारा नवलपुरका कृषक नरेन्द्र कुमार केसी । कृषक केसीले व्यवसायिक रुपमा कागती खेती गरिरहेका छन् । मध्यविन्दु–८, नवलपुरका स्थानीय नरेन्द्र बहादुर केसी कृषि क्षेत्रमा यसरी रमाएका छन्, कि मानौ उनी कृषि कर्म कै लागि जन्मिएका हुन् । गत असारमा उनले ६० बोटबाट करीब आठ लाखको आम्दानी गरेका छन् ।
करिब तिन रोपनी क्षेत्रफलमा कृषि व्यवसायी नरेन्द्र बहादुर केसीले एक सय १५ बोट कागती लगाएका छन् । सुन कागती–१ र सुन कागती–२ गरी करिब एक सय १५ बोट लगाएका छन् । जस मध्य ८५ बोटबाट कागती उत्पादन हुन्छन् । ८५ मध्य पनि ६० बोटका कागतीको उत्पादन अझ राम्रो छ । ठुला ठुला र राम्रा कागती फल्ने गर्छन् ।
दुई रोपनीमा रहेको एक सय १५ कागती मध्य सुन कागती–१, ९० बोट र सुन कागती–२ २५ बोट रहेको जानकारी उनले दिए । गत असारको सिजनमा उनले करिब ५२ क्विन्टल कागती उत्पादन गरे । सोही उत्पादनबाट उनले साँढे आठ लाखको आम्दानी गरेका हुन् । ‘दुई रोपनीमा करिब ३० क्विन्टल कागती फल्नु पर्ने तथ्यांक नार्कले देखाउँछ । तर, मेरोमा भने ५२ क्विन्टल फल्यो, त्यो पनि स–साना कागतीलाई हटाउँदा ’, कृषि व्यवसायी केसीको अनुहारको कान्ति कायममै थियो ।
कागती खेतीले फेरीएको जिवन
कागती खेतीमा आवद्ध भने उनको पाँच वर्ष पुग्न लाग्यो । भने कागतीखेती अघि उनी केरा खेती तथा तरकारी खेती पनि अनुभव बटुलिसकेका छन् । कृषि मै आवद्ध भएको भने २० वर्ष भएको केसी बताउँछन् । ‘मैले २०६० सालबाट उनले कृषि व्यवसायमा हात हाले । त्यस बेला म ३५ वर्षको थिए’ , पुराना सम्झनालाई ब्युताउँदै उनले भने, ‘३५ वर्षको उमेरसम्ममा म नेपाली सेनाको सेवाबाट सेवा निवृत्ति अवकाश पनि पाइसकेको थिए ।’ परिवारको आर्थिक स्थिति खासै बलियो नभएको कारण अन्य ठुला व्यवसायमा हात हालिहाल्न उनलाई आँट आएन । घर अघि कै दुई रोपनीमा कहिले केराखेती त कहिले तरकारी खेती, त कहिले कागतीखेतीबाट उनले मनग्य कमाइ गरिरहेका छन् । खेतीका क्रममा आउने व्यावहारिक पक्षलाई पनि उनले निकै हेक्का राखेका छन् । अग्र्यानिक उत्पादनमै केन्द्रित रहेका उनी कागतीमा देखिने समस्याको समाधान जैविक नियन्त्रणबाटै गर्ने गर्छन् ।

सानो लगानी तर अथक मेहेनत
सुरुवाती लगानी उनको थोरै नै थियो । केराखेती, तरकारीखेती हुँदै कागतीमा लागेका उनको लगानी करिब साँढे एक लाखको हो । बाँकी भने कृषिप्रतिको आस्था, खटन र लगन नै आफ्नो लगानी भएको उनी बताउँछन् । कागती बाह्रै महिना उत्पादन हुने कृषि उपज हो । रेगुलर रुपमा उत्पादन हुने कारण पनि किसानलाई खासै घाटा नहुने उनी बताउँछन् ।
०००००

कागती सबैमाझ लोकप्रिय छ


हामी सबैमाझ कागती र यसको उपयोगिता तथा लोकप्रियता अवगत नै छ । विशेषगरी पछिल्लो समयमा विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायःजसो दिनहुुँ यसलाई उपभोग गरिरहेका छौं । कागतीको खेती गर्न पनि उत्तिकै सजिलो छ । घरबारी तथा करेसाबारीमा पनि यसको खेती सजिलै गर्न सकिन्छ । अरुको जस्तो झन्झटिलो तथा अत्यधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजतापूर्वक गर्न सकिन्छ ।
यसको विशेषता के हो भने यसले बाह्रैमास फल दिने गर्दछ । तर, बिडम्बना, करीब ९० प्रतिशत कागती बाहिरबाट नै आयात हुने गरेको छ, यसको उत्पादन स्वदेशमै व्यवसायिक रुपमा गर्न सकियो भने हामीले यहीँ नै यसको माग पूर्ति गर्न सक्छौं ।
अहिले प्रतिगोटा कागतीको औषतमा मूल्य १० रुपैयाँसम्म पर्छ । हामी धेरैले यति मूल्यमा पनि कागती किनिरहेकै छौं । दैनिक हामीले यसको उपयोग गरिरहेकै छौं । यसले के देखाउँछ भने यसको उत्पादन व्यवसायिकरुपमा गर्न पनि हामी हिच्किचाउनु हुँदैन । यसको माग दिनहुँ खानुपर्ने तरकारी भन्दा कम पक्कै पनि छैन । यसको महत्व पनि सोचेभन्दा धेरै नै छ ।
विशेषगरी अहिले कोरोनाको महामारीका कारण यसको महत्व झन बढेको छ । शरीरमा जलयोजन मात्रा कायम राख्न, भिटामिन ‘सि’ जसबाट मुटु तथा रक्तचाप व्यवस्थापन गर्न, मोटोपन घटाउन, छालाको सुन्दरता बढाउन, पाचन प्रणाली बलियो पार्न, जीवकोश सेलहरु नष्ट गर्न, पत्थरी जस्तो रोगबाट बचाउन तथा शरीरको प्रतिरोधात्मक शक्ति आर्जनका लागि पनि यसको विशेष महत्व रहेको छ । अझ अहिलेको समयमा कागतीको प्रयोगले शरीरमा कम अम्लिएपन अथवा यसले पि.एच. बढाउने गर्दछ । यसो हुँदा शरीरमा कोरोना भाइरसको लागि उपयुक्त मानिने वातावरण कम हुने गर्दछ । तर, जैविकरुपमा भने यस्तो हुन नसक्ने भनेर माइकल डब्लु इस्मिथबाट आएको छ किनभने अम्लिएपनको सन्तुलन कुनै फलले गर्न सक्दैन । यद्यपि, कागती धेरै गुणले भरिपूर्ण फल हो जसले मानिसलाई स्वस्थ रहन मद्धत गर्दछ । कागतीको माग अत्यधिक भइरहेको तर व्यवसायिक खेती भने कम नै रहेकाले हामीले यस बालीलाई व्यवसायिक रुपमा खेती गर्न सक्यौं भने लाखौको आम्दानी निश्चित नै छ । बाहिरबाट हुने आयात रोक्न हामी आफैले प्रशस्त उत्पादन गरेर करोडौंको आम्दानी आफ्नै देशमा सिर्जना गरेर देशको अर्थतन्त्र बढाउन पनि सजिलैसँग सक्ने छौ । तसर्थ अन्य देशको आयातलाई रोक्न र यहाँको माग यहींको उत्पादनबाट परिपूर्ति गर्नलाई कागती खेतीलाई व्यवसायीकरण गर्न जरुरी छ ।
०००००

कागतीबाटै सफल रामचन्द्र खड्का


रामचन्द्र खड्काकागती कृषक,दाङ

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन् । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती सुरु गरेका हुन् । वार्षिक रु ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय सुरु गरेका खड्कालाई सुरु सुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।
तिन वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउँछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार/पाँच कामदार लगाउनुपरेको उनले बताए ।
स्वदेशमा काम गर्दाको आनन्द
खड्काले विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेका थिए । नेपाली बजारमा सधँै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ, खड्काले भने । व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ ।
०००००

कागती खेतीले रोजगारको लागि विदेशको यात्रा सदाका लागि रोक्न सफल भयो

डिल्लीराज उप्रेती,कागती कृषक,झापा

डिल्लीराज उप्रेती ८ वर्ष कतार बसे । सामान्य नेपाली युवाजस्तै वैदेशिक रोजगारीका लागि उनी पनि कतार पुगेका थिए । २०६८ सम्म हाडछाला घोट्दा पनि जीवन चल्ने गरी कमाइ गर्न सकेनन् । विदेश जाँदा लागेको ऋण उकासे तर भनेजस्तो कमाइ भएन । कतारमा सेल्स सुपरभाइजरका रूपमा कार्यरत थिए । नेपाल फर्किएर के गर्ने भन्ने अन्योल थियो, त्यत्तिकैमा परिवारबाट विवाहको प्रस्ताव आयो । कुरो छिन्न वधू पक्षकहाँ पुगे ।

विदेश नजाने र यतै गरिखाने हो भने मात्र विवाह गर्छु
‘विदेश नजाने र यतै गरिखाने हो भने मात्र विवाह गर्छु’, वधूले प्रस्ताव गरिन्, ‘तर विदेश जाने हो भने विवाह गर्दिनँ ।’ झापा मेचीनगर–९ मागुरमाढीका डिल्लीराज उप्रेती बिलखबन्दमा परे । परिवारसँग सल्लाह गरेर विदेश नजाने योजना बनाए । ‘ताप्लेजुङबाट मधेस झरेर बुबाले २०६२ सालमै डेढ बिघा जमिन खरिद गर्नुभएको थियो, त्यसमै कृषिकर्म गर्नुप¥यो भन्ने सोचेर विदेश नजाने निर्णय गरें’, उप्रेतीले भने । होटल म्यानेजमेन्ट पढेका उप्रेती अब मोडिए कागती खेती र नर्सरी उत्पादनतर्फ । त्यसकै प्रतिफलस्वरूप सरकारले उनलाई यसैवर्ष निजी वनतर्फ उत्कृष्ट कृषकको सम्मान पनि दियो । गरिखानेलाई स्वदेशमै अवसर धेरै छन् भनिए पनि अहिलेको अवस्थामा पुग्न उप्रेतीले निकै मेहनत गर्नुप¥यो । दुईवटा बेर्ना रोपेर कागती खेती सुरु गरेका उनले अहिले बर्सेनि यही पेसाबाट १० लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
मेहनत गर्दा आफ्नै कोठेबारीबाट पनि प्रशस्तै आम्दानी लिन सकिने रहेछ’, उप्रेती भन्छन्, ‘तीन वर्षसम्म कागतीले उत्पादन दिएन । तर त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेको छैन ।’ उप्रेतीले उत्पादन गर्ने कागतीको मुख्य बजार झापा, मोरङ, सुनसरी, फिदिम, छिमेकी भारतीय बजार नै हो ।
०००००

नवलपरासीमा फस्टाँउदो व्यावसायिक खेती शुरु


नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषकले स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको थियो । बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्नशुरु गरेका छन् । कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गरेका उनले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाएका छन् । अहिले हुर्किसकेका ती कागती तीन वर्षमै फल दिने र यसका लागि धेरै सिँचाइ गर्नु पर्दैन् ।
०००००

७७ वर्षीय डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा मस्त

प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाएका छन् । उनका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उनले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका हुन् । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उनी बताउँछन् । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उनले बताए । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उनी बताउँछन् । ‘यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ’, उनले भने, ‘परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।’ तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४०० बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उनले कागती खेती शुरु गरेका हुन् । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६०० बिरुवा थपी एक हजार बिरुवा पु¥याएको उनले बताए । एक हजार बिरुवामध्ये हाल ६०० बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उनले बताए ।
०००००

विद्यालयका प्रिन्सिपल सिपी अधिकारी कागती खेतीबाटै सन्तुष्टि

सीपी अधिकारी, कागती कृषक,चितवन

पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो । निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र प्रतिष्ठा आर्जन गरिरहेका बेला अचानक उनी कृषि कर्ममा लागेका थिए । ‘सबै कुरा राम्रै थियो तर मनमा आनन्द भएन’, विज्ञानमा स्नातक गरेका उनी भन्छन्, ‘अनि १७ वर्ष लामो शिक्षण पेशा छाडेर अचानक कागती खेतीका लागि स्काप मल्टी एग्रो फार्म खोलेँ ।’ उनले सुरुमा प्रतिकठ्ठा तीन हजार रुपैयाँ भाडा तिर्नेगरी एक बिघा जग्गामा ३५० वटा बिरुवा लगाए । अनुभव थिएन, प्राविधिक पक्षका बारेमा विज्ञ र युट्युबबाट सिक्दै व्यावसायिक कागती खेती थाले । दोस्रो वर्ष कालिका–६ जमुनापुरका आफ्नै डेढ बिघामा ६५० बिरूवा रोपे । तेस्रो र चौथो वर्ष गरेर १० लाखको कागती बेचेका उनले यस वर्ष थप १० लाखको कागती बेच्ने लक्ष्य रहेको बताए । तीनवटा बगैंचाको वार्षिक खर्च दुई लाख रुपैयाँसम्म छ । कागतीका लागि सुरुमा निकै कामदार लागे पनि पछि मौसमी काम गराउँदा पुग्छ ।

०००००
गोरखामा स्थानीय कालिका महिला किसान क्लबले चलायो व्यवसायिक कागतीखेती मिसन

कालिका महिला किसान क्लबका सदस्यहरु

गोरखाको पालुङटार नगरपालिका–८ झाँक्राकी उजेली आलेको खेतियोग्य जमीन दुई वर्ष बाँझो बस्यो । सोचे जस्तो उत्पादन नभएपछि खेती गर्न छाडेकी आलेले अहिले कागती रोपेकी छिन् । ‘पहिले धान, मकै लगाउथे,’ उनले भनिन्, ‘दुःख गरेअनुसार नफलेपछि लगाउन छाडे, अहिले कागती खेती शुरु गरेको छु ।’ पाँच रोपनी क्षेत्रफलमा सुन कागती १ जातको सय विरुवा लगाएकी छिन् उनले । गत साउन महिनामा रोपीएको वेर्नाले तीन बर्षपछि फल दिने आशमा उनी छिन् । उनी मात्र होइन बाँझिएको जमीनमा कागती खेती गर्न झाँक्रा गाउँ आकर्षित भएको छ । स्थानीय कालिका महिला किसान क्लबले करिव एक सय रोपनी क्षेत्रफलमा कागती खेती शुरु गरेको छ । क्लवमा २२ घरधुरी आवद्ध छन् । आ–आफ्नो जग्गामा उनीहरुले कागतीको वेर्ना रोपेका छन् । सुन कागती १ जातको करिव १८ सय विरुवा रोपिएको क्लबकी कोषाध्यक्ष सुनिता थापा बताउछिन् । आफूले मात्र दुई सय विरुवा रोपेको बताउदै थापाले कागती खेती गाउँकै लागी नयाँ भएको जिकिर गरिन् । सिँचाइका लागि पधेरोखोलावाट पानी ल्याइएको छ । पानी संकलनका लागी चार वटा ड्रम राखिएका छन् । मलका लागी कतिपय स्थानीयले गड्यौला मल उत्पादन गर्छन् । उत्पादित कृषि उपज संकलनका लागी शून्य शक्ति शित भण्डारण पनि निर्माण गरिएको छ । बजार व्यवस्थापन नहुन्जेल उक्त भण्डारणमा उत्पादित कृषि उपज राख्न मिल्ने स्थानीय बताउछन् ।
०००००


सुनसरीका भीमबहादुर देवानले मोरङको बुढीगंगा गाउँपालिकामा तीन विगाहा जग्गा भाडामा लिएर कागती खेती सुरु गरेको एक वर्ष भयो। कृषि विभागबाट सेवा नृवित्त भएर कृषि कर्ममा लागेका उनी नेपाली बजार भारतीय कागतीमा निर्भर रहेका कारण आफूले यसको खेती सुरु गरेको बताउँछन्।
मोरङ जाँतेका कृषक विनोद वस्तीले विगत तीन वर्षदेखि कागती खेती सुरु गरेका छन्। तीन विगाहा क्षेत्रफलमा लगाइएको कागती गत वर्षदेखि फल्न सुरु गरेको छ। गत वर्षमात्रै उनले दुई लाख रुपैयाँको कागती बिक्री गरे। काठमाडौंको बजार र जाँतेका स्थानीय बजारमा कागती बिक्री गर्ने उनलाई बजारको पनि दुख छैन।
०००००

थुमपोखरा साना कृषि सहकारीमार्फत कागतीखेतीको उत्थान

स्याङ्जाको वालिङमा सामूहिकरूपमा कागती लगाउन सुरु गरिएको छ । वालिङ नगरपालिकाको वडा नम्बर १२ र १४ मा थुमपोखरा साना कृषि सहकारीमार्फत ३० हजार कागतीका बिरुवा लगाइएको छ ।
स्थानीय तमादी, ढिँकीडाँडा, गापडाडाँ गरी १ हजार रोपनीमा पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा १५ हजार गरी कुल ३० हजार कागती लगाउन सुरु भएको हो । नगरका दुई वडाका विभिन्न स्थानमा गरी कुल ३० हजार कागती लगाइने संस्थाका अध्यक्ष मोहन खनालले जानकारी दिए ।
२ करोड ५१ लाखको योजना रहेकोमा सहकारी बोर्डको ४९ लाख, प्रदेशको २० लाख लगानी रहेको सहकारीले जनाएको छ । त्यस्तै स्थानीय कृषकले प्रतिरोपनी ५ हजारका दरले योजनामा लगानी गरेका छन् । वडाका ढेड सय घरधुरी आवद्ध रहेको योजनामा प्रदेश सरकारले १० लाखको प्राङ्गारिक मल तथा औजार प्रदान गरेको छ भने १० लाख नगद प्रदान गर्नेछ । सुन जातको कागतीले १ वर्षमै फल दिने, प्रत्येक बोटमा ८ सयका दरले कागती फल्ने बताइएको छ । पहिलो चरणमा सामूहिक खेतिबाट १ सय २० टन कागती उत्पादन हुने लक्ष्य लिइएको छ ।
०००००

कागती स्वास्थ्यका लागि निकै लाभदायी
कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ । मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरपूर हुन्छ ।
स्वास्थ्यमा हुने फाइदा
मुटु रोगबाट रोकथाम गर्छ स् कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ । स्ट्रोक हुन दिँदैंन स् कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन । कोलेस्टेरोल कम गर्छ स् कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ । क्यान्सर लाग्न दिँदैंन स् कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ । तौल नियन्त्रण गर्छ स् कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ स् यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदंैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन । किड्नी स्टोनबाट बचाउँछ स् कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो । छाला स्वास्थ्यका लागि उपयोगी स् यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ ।
यसका साथै कागतीले हुने अन्य फाइदाः
कब्जियत नियन्त्रण गर्छ
मधुमेह नियन्त्रण गर्छ
पेप्टिक अल्सर निको पार्छ
श्वासप्रश्वासको समस्या निको पार्छ
बाथको उपचारमा सहयोगी
आँखाको समस्या निको पार्छ
ज्वरो घटाउँछ
युरिक एसिडको उपचार गर्छ
पायल्सको उपचार गर्छ
झाडापखाला रोक्छ
पिसाब नियमित गर्छ
कपालको सौन्दर्यमा उपयोगी
महिला स्वास्थ्य राम्रो बनाउँछ ।

यो रीपोर्ट एग्रो टाइम्सका प्रत्रन्ध निर्देशक अशिम सापकोटाले तयार पारेका हुन्,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय