चर्चित

गोल्यान समुहले आठ वर्षअघि लम्कीबाट कृषिमा हात हालेको थियो, स्थानीयलाई सहभागी गराएर गाई, कुखुरापालन, तरकारी खेती र टपरी उद्योग सञ्चालन गरेको गोल्यान समुहले झापा र इलामको शान्तिनगर, बुद्धनगरलगायत १५ गाउँमा स्थानीयकै सहभागितामा स्थानीयकै जग्गामा कृषि उत्पादनमा लागेको थियो । व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय माटो ब्राण्ड अझै चर्चामा छ । आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको माटो ब्राण्डका उत्पादनहरु र गोल्यान समूहले पछिल्लो समय कृषिमा गरीरहेको कामको बिषयमा एग्रो टाइम्सकर्मी अशिम सापकोटाले गोल्यान समुहका अध्यक्ष पवन गोल्यानसँग केही कुराकानी गरेका छन् प्रस्तुत छ सोही कुराकानीको संपादित अंश :

कृषि पेशाप्रति कसरी आकर्षित हुनुभयो ?
म उद्योगी हुँ । उद्योगीले आफ्नो फाइदा हुने ठाउँ देखिहाल्छ । नेपालको कृषिमा अरू ठूला उद्योगीले हात हालेका छैनन् । जब मैले अहिले सिएसआर (सामाजिक उत्तरदायित्व) को काम सुरू गरेँ । तब बुझेँ की हामीले कृषिलाई ठूलो उद्योगको रूपमा परिणत गर्न सक्छौँ । अहिले किसानसँगै मैले २ सय बिघा जग्गा किनेर व्यवसायिक फार्म खोलेको छु । जुन वस्तु किसानले उत्पादन गर्न सक्दैनन् त्यस्ता खालका खेती मैले गरिरहेको छु । खेतीका लागि नयाँ प्राविधिक उपकरण र जनशक्ति पनि राखेको छु । कृषिमा काम थालेकै बेला अर्थात तुरुन्त नाफा नभए पनि यसले दिगो फाइदा हुन्छ भन्नेमा म शत प्रतिशत विश्वस्त छु र हाल माटो ब्राण्डका उत्पादनहरुको स्वदेश तथा विदेशमा समेत राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।

नेपालमा कृषिको व्यवसायिकरण कसरी हुने रैछ ? यहाँहरुले त अझै स्थानिय रैथाने बालीहरुको उत्पादन तथा जैविक खेती पद्धतीलाई पनि अवलम्बन गर्दै हुनुहुन्छ त, यो सम्भव छ ?
मैले सहज नै देखेको छु । सुरूमा रासायनिक खेती गरिरहेको ठाउँमा अर्गानिक खेती गर्न त चुनौति नै छ । अर्गानिक खेतीका लागि मैले प्राविधिक, मल, विउ, सिचाई सबैको व्यवस्था गरेको छु । पछिल्लो समय उपभोक्ताले अर्गानिक उत्पादनहरु रूचाएकाले मैले देश विदेश सबैतिर यसको बजार देखेको छु । सिएसआर प्रोजेक्टलाई मैले नितान्त सामाजिक उत्तरदायित्व बुझेको छु । यसबाट मैले नाफा कमाउने सोंच राखेको छैन । कर्मसियल फार्मबाट निर्यात गरेर नाफा कमाउने मेरो लक्ष्य हो । गोल्यान गु्रपले कृषिमा लगानी गरेर अबको ३–४ वर्षमा कमायो भन्ने भएपछि कृषिमा लगानी गर्न ठूला व्यवसायीहरूको ‘लहड’ चल्छ ।

स्थानीय किसानसँग साझेदारी चाँहि कसरी गर्दैै हुनुहुन्छ ?
यो प्रोजेक्ट नै यहाँका किसान र उपभोक्ताका लागि हो । हामीले उत्पादन गरेको अर्गानिक उत्पादनले स्वस्थ जीवनका लागि सघाउँछ । हामीले स्थानीय किसानलाई अर्गानिक खेती गर्न सिकाउँछौँ । जैविक र प्राङ्गारिक दुवै मल बनाउन किसानलाई सिकाएका छौँ । सिचाई नभएको ठाउँमा सिचाईको व्यवस्था गरिदिएका छौँ। हामीले त्यसको कुनै पैसा किसानसँग लिएका छैनौँ । अर्कोतर्फ किसानलाई अर्गानिक खेती गर्न चाहिने बिऊ उपलव्ध गराइरहेका छौँ । यसले स्थानीय किसानलाई फाइदा पुर्याउँछ । गोल्यान गु्रपले अर्गानिक भन्दैमा उपभोक्तासँग पनि महँगो रकम लिँदैन । बजारमा चलेको मूल्यभन्दा सस्तो दिन्छु । व्यवसायिक रुपले किसानसँग मिलेर समूहगत रुपमा खेती गर्दा उत्पादन बढ्दै जान्छ । यहाँ खपत भएर बढी भएका उत्पादन हामी विदेश निर्यात गछौँ । यसले पनि राजस्वमा टेवा पु¥याउँछ ।

किसानलाई जैविक खेतीमा अभिप्रेरित गर्न कत्तिको सहज छ ?
सुरूमा त अलि गाह्रै भयो । किसानहरूपनि फाइदा हुने हो वा नहुने हो भनेर डराए । हामीले पहिला किसानलाई नमुना फार्म बनाएर देखायौँ । त्यसपछि त्यहाँका केही किसानले थोरै जग्गामा सुरू गरे । सफल भएपछि अहिले ५ सय किसानसँग हामी काम गरिरहेका छौँ ।

अहिले म झापा जाँदा त्यहाँका किसानको घरमा बस्छु । उनीहरूकै घरमा खान्छु । किसानसँग घुलमिल भइसकेको छ । उनीहरूले पनि अर्गानिक खेतीका फाइदा बुझिसकेका छन् । उनीहरुले महत्व बुझेपछि काम गर्न धेरै सहज भएको छ ।

अन्य ठाँउमा पनि कृषि उत्पादनको विस्तार योजना बनाउनुभएको छ ?
झापापछि अहिले बर्दियामा २ सय विघा जमिनमा त्यहाँका किसानलाई मसिनो धान उत्पादन गर्न विउ वितरण गरेका छौँ । प्रदेशका कृषि मन्त्रीको आग्रहमा कपास विकास समितिको ११ सय विघा जग्गामा तरकारी खेती गर्न लागेका छौँ। त्यहाँ १४ सय किसान छन् । त्यहाँ कपास लगााएका छैनन् उनीहरूको अवस्था दयनीय छ । त्यहाँका किसानलाई काम दिएर जीवनस्तर उकास्नु हाम्रो दायित्व पनि हो । नेपालमा विउको आयात पनि उच्च हुने भएकाले आयाात घटाउन रोल्पामा बिउ उत्पादन गर्न लागेका छौँ । अरू पनि पकेट क्षेत्र छन् । कुरा आइरहेका छन्, विस्तारै काम गर्दै जाने सोच छ ।

नेपालमा उत्पादनको समस्या त छँदैछ, यद्यपी नेपाली किसानको उत्पादनले बजार पनि त नपाएको गुनासो सुनिन्छ त ?
हो यो कुरा सहि हो, तर उत्पादन मात्रै व्यवसायीकरण होइन, जुन उत्पादित वस्तु उपभोक्ताको मुखसम्म पुग्दासम्म हुने विभिन्न प्रक्रियाहरुले पनि भर पर्ने गर्छ, तिनै तहका सरकारले किसानका उत्पादनलाई संकलन गराउनको लागि कृषि उपज संकलन केन्द्र स्थापना गरेर किसानको लागतको मुल्यमा किसानलाई नाफा राखिदिएर खरीद गरेर विक्रिको लागि सहजीकरण गर्ने परीपाटी मिलाउने हो भने माटो ब्राण्डले पनि सबै उत्पादन किन्न सक्छ, हामीले एक एक जना कृषकको उत्पादन संकलन गर्न जान सम्भव पनि हुँदैन । स्वदेश देखि विदेशसम्म हाम्रो बजार हो । हाम्रो उत्पादन ‘माटो’ ब्राण्डबाट विदेशसम्म जान्छ । उत्पादन भइसकेपछि बजारको चिन्ता छैन ।

प्रस्तुती : अशिम सापकोटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय