बेलायतको नटिङ्घम विश्वविद्यालयबाट माइकोलोजी (फङ्गस) मा विद्यावारिधि प्राप्त डा. केशरीलक्ष्मी मानन्धरले नेपालको कृषिक्षेत्रमा झण्डै ४५ वर्षदेखि अध्ययन, अनुसन्धान र सेवा गरिरहेकी छन् । कृषि मन्त्रालयअर्न्तर्गत विभिन्न क्षेत्रमा २७ वर्षसेवा गरेर अवकाश लिएकी मानन्धरले २०४९ सालदेखि ललितपुरको इमाडोलमा निजीस्तरको कृषि प्रविधि तालीम केन्द्र खोलेर च्याउ खेतीसम्बन्धी अध्ययन, अनुसन्धान र तालीम गर्दै आएकी छन् । विशेष गरी रातो च्याउ गानोर्डमा को अनुसन्धान र उत्पादनमा अहोरात्र जुटिरहेकी मानन्धरसँग रातो च्याउको विशेषता, औषधीय गुण र बजारका सम्बन्धमा एग्रो टाइम्सले गरेको कुराकानी
च्याउबारे अध्ययन अनुसन्धान शुरू गर्नुभएको कति भयो ?
खास गरेर नटिङ्घम विश्वविद्यालयबाट फङ्गसमा विद्यावारिधि गरेपछि नै च्याउको अनुसन्धानलाई गति दिएकी हुँ । कृषि विभागअन्तर्गत पनि म च्याउकै अनुसन्धान र खेतीको विस्तारमा संलग्न थिएँ । सामान्यतया तरकारी खाने च्याउका उत्पादनलाई नेपालको वातावरणअनुकूल गराउने दिशामा मेरो अनुसन्धान केन्द्रित थियो । त्यसको सफलतापछि मैले ५ वर्षघिदेखि औषधियुक्त रातो च्याउ -गानोर्डमा मा अनुसन्धान शुरू गरेकी हुँ ।
रातो च्याउतर्फ कसरी आकषिर्त हुनुभयो ?

६ वर्षअघि मलेशियाबाट डिएक्सएन् नामक एउटा कम्पनी रातो च्याउबाट बनाएको औषधि, टुथपेष्ट र चियाको प्रचारप्रसारको निम्ति नेपाल आएको थियो । रातो च्याउको सेवनले मानिसमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउँदो रहेछ । खासगरी उच्च रक्तचाप, कोलष्टेरोल, चिनी र अर्बुदजस्ता असाध्य रोगलाई रातो च्याउको सेवनले सजिलै रोकथाम गर्छ । यसमा रहेका विभिन्न भिटामिन र पौष्टिक तइभ्वले शरीरलाई शक्तिशाली बनाई एलर्जी, खुट्टा तथा जीउ दुख्ने, कट्कट खाने, आथ्राइटीसजस्ता रोगहरू कम गराउँछ । डीएक्सएन् कम्पनी रातो च्याउको क्याप्सुल, टुथपेष्ट र चिया विक्रीका निम्ति नेटवर्क बनाउन नेपाल आएको रहेछ, त्यसमा हामीलाई पनि बोलाएको थियो । रातो च्याउको त्यस्ता क्याप्सुल, चिया र टुथपेष्ट अत्यन्तै महँगो र हामीजस्ता साधारण नेपालीको क्रयशक्तिभन्दा बाहिरको थियो । सानो बोतलको क्याप्सुलको २ हजार ५ सय रुपैयाँ लिएपछि मलाई साह्रै ईख लाग्यो । म पनि त च्याउकै विशेषज्ञ हुँ, मैले कोशिश गरे कसो नहोला त ? भनेर फिलिपिन्सबाट बीउ ल्याएर नेपालमा रातो च्याउको अनुसन्धान थालेँ । दुइ वर्षको अनुसन्धानपछि मैले यसको उत्पादन शुरू गरेँ । उत्पादन शुरू गरेको पनि अहिले तीन वर्षभयो ।
कति उत्पादन गर्नुहुन्छ ?
धेरै छैन । गतवर्षसुकेको ३३ किलो उत्पादन भएको थियो । नेपालमै रातो च्याउको उत्पादन गर्ने म मात्रै हुँ । अरूले कोशिश गरेर पनि त्यसको सम्पूर्ण रेखदेख र प्रविधि मिलाउन नसक्दा गुणस्तरीय उत्पादन हुन सकेन । प्रविधि अलि कठिन भएकाले यो अरू च्याउजस्तो धेरै फल्दैन । जथाभावी उत्पादन गर्दा यसको गुणस्तर पनि कायम राख्न सकिन्न । गुणस्तर नै यसको सबैभन्दा महत्वपूर्ण कुरा हो ।
यसको बजार कस्तो छ ?
नेपालमा रातो च्याउको बजार विस्तारमा अहिले कठिनाइ भएको छ । मलेसियाबाट यो प्रशोधित औषधिका रूपमा नेपाल आएको छ । क्याप्सुल, टुथपेष्ट, कफीको रूपमा आएकोले महँगो हुँदा पनि पैसा हुनेहरू त्यता आकर्षित भएको देखेकी छु । मैले उत्पादन गरेको च्याउ प्रशोधन नगरिएको सुकेको च्याउको रूपमा हुन्छ । त्यसैले बजार विस्तारमा समस्या भएको छ । यद्यपि सानो परिमाणमा रहेको मेरो उत्पादनको खपत भने नेपालमै हुने गरेको छ । जाने- बुझेकाहरू रातो च्याउको नियमित ग्राहक बनेका छन् । असन, वसन्तपुर, पाटन र इमाडोलको कृषि प्रविधि तालीम केन्द्रबाट यसको विक्री भइरहेको छ ।

कति मूल्य पर्छ ?
मैले त एकदमै सस्तोमा बेचिरहेको छु । मलेसियामा १ किलोग्रामको १ लाख रुपैयाँ पर्छ । डिएक्सएन् कम्पनीले आफ्नो रेखदेख र प्रविधिअनुरूप उत्पादन गर्न लगाएर रू. १ लाख प्रतिकिलोमा किनेर औषधि बनाउने गरेको थाहा पाएकी छु । तर, मैले भने प्रतिकिलो १० हजारमै दिँदै आएकी छु ।
यसको सेवन गर्ने तरीकाका बारेमा बताइदिनुस् न ?
प्रशोधित रूपमा आएको त क्याप्सुल नै खाने हो । त्यो सजिलो उपाय भयो । तर, मेरो अप्रशोधित उत्पादनलाई पानीमा उमालेर झोल पिउनुपर्छ । दुइ गिलास पानीमा १ ग्राम सुक्खा रातो च्याउ ४/५ मिनेट उमालेपछि रातो झोल बन्छ, त्यही खानुपर्छ । दिनमा एकग्राम खाँदा एक किलोले साढे दुइ वर्षभन्दा बढी समयलाई पुग्छ ।
रातो च्याउको व्यावसायिक उत्पादन र निर्यातको सम्भावना छ कि छैन ?
रातो च्याउको निर्यातको सम्भावना प्रशस्त छ । उत्पादन पनि भने जति नै गर्न सकिन्छ । तर, म त एउटी अनुसन्धानकर्ता न हुँ । व्यावसायिक उत्पादन गरेर निर्यात गर्ने कुरा मेरो क्षेत्रमा परेन । यसमा व्यवसायीहरूले नै चासो देखाउनुपर्छ । रातो च्याउको व्यावसायिक उत्पादन र निर्यात दुवै गर्न सकिने सम्भावना प्रशस्त रहेको छ ।
कहाँ गर्न सकिन्छ निर्यात ?
रातो च्याउको निम्ति अहिले जापान सबैभन्दा ठूलो बजार हुन सक्छ । जापानीहरूले त रातो च्याउलाई रक्सीमा समेत मिसाएर खान थालेका छन् । रक्सीमा च्याउका टुक्रालाई एक महीनासम्म डुबाएपछि रक्सीको रङ नै रातो हुन्छ र त्यो उनीहरू नियमित औषधिकै रूपमा पिउँछन् । अमेरिका र युरोपमा अहिले रातो च्याउको विशेषताका बारेमा विशेष अनुसन्धान भइरहेका छन् । अफ्रिकन मुलुकमा एचआईभी/एड्स भएका व्यक्तिहरूमाथि रातो च्याउको प्रयोग चलिरहेको छ । रातो च्याउको सेवनपछि यस्ता सङ्क्रमित रोगीहरू स्वस्थ हुँदै आएको रिपोर्टले देखाएको छ । चीन त रातो च्याउको परिचय हो । प्राचीन चीनका बादशाहहरूले रातो च्याउ जङ्गली अवस्थामै सेवन गर्न थालेको प्रमाण छ ।
सधैँभरि युवा देखिन र अनुहारमा चाउरी पर्न नदिनका लागि चीनका बादशाहहरूले यसको निरन्तर सेवन गर्ने गरेको पाइएको छ । अहिले अधिकतम चीनियाँहरू रातो च्याउ चियाका रूपमा दैनिक पिउँछन् । संसारमै धेरै जनसङ्ख्या भएको र आर्थिक रूपले सम्पन्न चीन रातो च्याउको सबैभन्दा ठूलो बजार हो । त्यसका निम्ति हामीले गुणस्तरीय उत्पादनमा विशेष ध्यान पुर्याउनु पर्छ । तर हामी यति टाढा किन जानु ? रातो च्याउको व्यावसायिक उत्पादन गरेर मुलुकभित्रै प्रशोधन गर्न सकिन्छ । प्रशोधित रूपमा रातो च्याउको औषधि निर्यात गर्न सक्यौं भने हामीले वार्षिक अर्बा रुपैयाँ कमाउन सक्छौं । आफ्नै नागरिकलाई सस्तोमा औषधि खुवाउन सक्छौं । त्यसैले कच्चा पदार्थ निर्यातमा भन्दा प्रशोधन कारखाना स्थापना गरेर रोजगारी सृजना गर्नतर्फ लाग्नुपर्छ । एशियाली मुलुकहरू अहिलेसम्म रातो च्याउको सबैभन्दा बढी उपयोगकर्ताका रूपमा देखिएका छन् ।
यसका लागि सरकारी निकायसँग कुरा गर्नु भएको छैन ?
पटकपटक गरेकी छु । कृषि मन्त्रालयअन्तर्गत रहेर मैले २७ वर्षच्याउको अनुसन्धान र उत्पादनमा काम गरेकाले त्यहाँका सबै अधिकारीलाई मेरो अनुसन्धानका बारेमा थाहा छ । म प्रविधि दिन्छु, उत्पादन बढाउन मद्दत गर्नुस् भनेर धेरै पटक भनिसकेँ । तर, कसैले पनि मेरो कुरातर्फ ध्यान दिएनन् । आईएनजीओ, एनजीओ र नेपालका डाक्टरहरूसँग समेत बिरामीलाई रातो च्याउ खान सिफारिश गर्न आग्रह गरेँ । उनीहरू अनौपचारिक रूपमा चाहिँ रातो च्याउ खान भन्छन् । क्यान्सरका रोगीलाई खुवाउनुपर्यो भनेर मलाई भन्छन् । अब म ७० वर्षनाघ्न लागेकी मानिस, कहाँ-कहाँ गएर कस-कसलाई खुवाऊ ? सरकारी तवरबाटै यसको आधिकारिक सिफारिश हुने हो भने यसले सजिलै परिचय पाउने थियो । मानिसले खोज्न थाल्थे । मलाई पनि उत्पादन बढाउन उत्साह मिल्थ्यो । अफ्रिकन मुलुकहरूकै जस्तो नेपालमा पनि एचआईभी/एड्स लागेका मानिसलाई रातो च्याउ खुवाउन भनेर एनजीओ, आईएनजीओहरूलाई पचासौँ पटक भने । एचआइभी सङ्क्रमित व्यक्तिलाई नियमित रातो च्याउ खुवाउँदा शरीरलाई बाहिरी रोगबाट सुरक्षित राख्नुका अतिरिक्त ‘टी’ कोशिका र मस्तिष्कको कोशिका नष्ट हुनबाट बचाउँछ । एड्सका नामबाट वर्षेनि अर्बौँ खर्च गरिरहेका छन् । तर सामान्य पैसाबाट हुने उपचारतिर उनीहरूले पटक्कै ध्यान दिएका छैनन् । ठूलो धनराशि खर्च गर्न छोडेर थोरै पैसाको उपचारमा विश्वास नभएको पनि हुन सक्छ । फेरि नेपालमै उत्पादन भएको भनेर बेवास्ता गरेको हो कि भन्ने पनि मैले महसुस गरेकी छु । खै कसलाई के भनूँ, दिक्क लागेको छ ।
नेपालका उद्योगपतिहरूसँग यसका बारेमा कुरा गर्नुभएको छैन ?
उद्योगपतिहरूसँग चाहिँ यसबारेमा कुरा हुन सकेको छैन । पहिले सरकारले नै यसमा ध्यान दिनुपर्छ भन्ने लागेर पनि मैले उद्योगी, व्यवसायीसँग कुरा नगरेकी हुँ । सरकारले नै रातो च्याउको व्यावसायिक उत्पादन र प्रशोधनमा चासो लिएर निजी क्षेत्रलाई समन्वय गर्ने हो भने निजीक्षेत्र यसमा लाग्छ भन्ने मेरो विश्वास छ । मलेसियाले जस्तै नेपालमा पनि रातो च्याउको क्याप्सुललगायत अन्य औषधि उत्पादन गर्न सकिन्छ । लगानीका निम्ति कोही अघि सरे प्रविधि दिन म तयार छु । ७० वर्षकी भइसकेँ । मानिस अजर अमर हुँदैन । नेपालको वातावरण सुहाउँदो उत्पादन प्रविधिलाई जतिसक्यो चाँडो हस्तान्तरण गर्न पाए मलाई सन्तोष हुने थियो । सरकारले गर्नुपर्ने काम मैले व्यक्तिगत रूपमा गरिरहेकी छु । सकेसम्म त सरकारले नै यसको जिम्मा लिइदिए हुन्थ्यो, सरकारलाई प्रविधि हस्तान्तरण गर्न पाएमा जनताले उचित र सस्तो मूल्यमा उत्पादन पाउँथे कि भन्ने मेरो आशा हो । यद्यपि निजीक्षेत्रको सहभागिताविना यसको व्यावसायिक उत्पादन सम्भव छैन । त्यसैले सरकार अघि बढोस् या नबढोस् निजीक्षेत्रका उद्यमी, व्यवसायी रातो च्याउ उत्पादन र प्रशोधनमा अघि बढ्ने हो भने म सघाउँछु । यसबाट नोक्सान त हुँदै हुँदैन, नाफाको सीमा नै छैन ।
रातोबाहेक अन्य च्याउको अनुसन्धान स्थिति कस्तो छ ?
सिताके च्याउलाई पनि मैले नै अनुसन्धानबाट नेपालको वातावरण सुहाउँदो बनाएकी हुँ । सिताके च्याउको खेतीका निम्ति १५ डिग्रीदेखि २५ डिग्री सेल्सियस तापमान आवश्यक पर्दछ । काठको मुढामा उत्पादन गर्ने भएकोले यसलाई मुढे च्याउ पनि भनिन्छ । खास गरी उतिस, सौस र कटुसको मुढामा यसको उत्पादन गरिन्छ । मध्यपहाडी क्षेत्र सिताके च्याउका लागि उपयुक्त मानिन्छ । सिताके च्याउ अहिले प्रतिकिलो ६/७ सयका दरले बजारमा विक्री भइरहेको छ । यसबाहेक गोब्रे, कन्ये, दुधे, परालेलगायतका च्याउको बीउसमेत मैले उत्पादन गर्दै आएकी छु । दुधे र पराले च्याउ चिसोमा हुँदैन । मैले तराईको वातावरणलाई सुहाउने गरेर यसको बीउ उत्पादन गरेकी छु । तर, यसको बीउ तराईमा पठाउन पाएको छैन । आफै गएर प्रविधि सिकाउने पर्ने हुनाले अलि कठिनाइ परेको छ । कसैले यो प्रविधि सिकेर तराईका किसानलाई सिकाउने हो भने भारतीय बजारका कारण दूधे र पराले च्याउबाट तराईका किसान रातारात धनी बन्न सक्छन् । तर अहिले परालमा उत्पादन गर्ने गरेको कन्ये च्याउजस्तो यो होइन ।
च्याउको बीउको मूल्य कसरी राख्नुभएको छ ?
रातो च्याउबाहेक सबै च्याउको मूल्य २५० ग्रामको ३० रुपैयाँ पर्छ । सकेसम्म सबै किसानले च्याउखेती गर्न सकून् भनेर यो मूल्य राखिएको हो ।
नेपालमा च्याउसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने अरू पनि छन् कि ?
मबाहेक अरू कोही भएको मलाई थाहा छैन । मेरो पालामा सरकारी स्तरबाट अलिअलि हुन्थ्यो अहिले त त्यो पनि बन्द भयो भन्ने सुनेकी छु । विश्वमा ३० प्रकारका खाने च्याउको विक्रीवितरण भइरहेको छ । तर, हामीकहाँ बल्ल ३/४ किसिमको च्याउको मात्र अनुसन्धान भएको छ । सरकारलाई प्रविधिको कुरा सुन्ने फुर्सदै छैन । रातो च्याउको बारेमा कुरा गर्न जाँदा कृषि विभागले आफ्नो प्राथमिकतामा नपरेको बताएर मलाई पन्छाइदिए । अन्य च्याउको बारेमा कृषि विभागले दुई वर्षअघि आफूअन्तर्गतका जिल्लाका कर्मचारीलाई हरेक वर्षकृषि प्रविधि तालीम केन्द्रमा तालीम लिन पठाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म खासै कोही आएका छैनन् ।
च्याउखेतीको विस्तारका लागि के गर्नुपर्ला ?
कृषि वैज्ञानिकहरूले च्याउ खेतीलाई प्राथमिकतामा राख्नुपर्यो । योजना आयोगले पनि यसलाई प्राथमिकतामा राख्नुपर्यो । नेपालमा कृषि विषय लिएर पढ्नेलाई च्याउको बारेमा राम्रो ज्ञान छैन । त्यसैले हाइस्कूलको पाठयक्रमदेखि नै च्याउखेतीको विषय समावेश गरी व्यावहारिक ज्ञान दिन थाल्नुपर्यो । यसो हुन सकेमा उच्च शिक्षा हासिल गर्न नसक्न्ने युवाहरूले बेरोजगार बस्नुपर्ने थिएन । विदेशमा गएर आफ्नो पसिना बगाउनु पर्ने थिएन । च्याउखेतीबाट प्रशस्तै आम्दानी लिन सकिने प्रस्ट भइसकेको छ । यसको निर्यातको पनि पर्याप्त सम्भावना छ । मसरुम सूपको नाममा हामी वर्षेनि करोडौंको च्याउको धूलो आयात गर्छौँ । त्यो धूलो हामी यही बनाउन सक्छौं । रातो च्याउको नाममा मलेसियाले मात्र मासिक ३ अर्ब रुपैयाँ नेपालबाट लैजाने गरेको छ । कोशिश गर्यौं भने त्यो रोक्न सक्छौं । तर, यसका लागि सरकार र निजीक्षेत्रले हात मिलाउनुपर्छ ।









