नवराज बस्नेत
अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ,नेपाल
कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ । कोदोमा शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवण, अमिनोएसिडलगायतका पदार्थ पाइन्छ । यो मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने तथा रगतको मात्रा बढाउने औषधीय वस्तुका रूपमा प्रयोग हुन्छ ।

रगतको बोसो र कोलेस्ट्रोलको मात्रा घटाउने, जाडोयाममा चिसोबाट बच्न/बचाउन र सर्दी हटाउनका लागि अत्यन्तै उपयोगी भएका कारण कोदोलाई सर्वाेत्तम खानाका रूपमा लिइन्छ । नेपालजस्तो बहुजाति, बहुसंस्कृति रहेको देशमा आदिवासी जनजाति समुदायको चाडपर्व एवं पूजाआजा तथा संस्कार चलाउने क्रममा कोदोको रक्सी चढाउने र अतिथि सत्कारमा प्रयोगसमेत हुने भएकाले कोदोले सांस्कृतिक महत्वसमेत ओगटेको छ ।
कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । यसलाई पहाडी भेगमा मकैपछिको दोस्रो बाली मानिन्छ । कागुनो, चिनो र जुनेलो यसै वर्गका बाली हुन् । यो विपन्न परिवारको खानाको मुख्य स्रोत हो । नेपालमा तीन सय मिटरदेखि उच्च पहाडको तीन हजार मिटरसम्म खासगरी मनाङ र मुस्ताङबाहेकका सबै स्थानमा कोदोखेती गरिन्छ । यसलाई कम उत्पादन हुने रुखोपाखो जग्गामा आकासे पानीको भरमा रासायनिक मल तथा विषादीको प्रयोगविना सीमान्त जमिनमा खेती गरिन्छ । यस बालीमा रोग, किराको प्रकोप कम हुन्छ । यसको बिउलाई १५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ भने लामो समयसम्म खाद्य सुरक्षाका लागि उत्पादनपछि भण्डारण गरी राख्न सकिन्छ । त्यसैले यो जलवायु अुनकूलनीय अर्गानिक र दिगो एवं वातावरणमैत्री बाली हो ।

नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर (२७ प्रतिशत) खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हजार हेक्टर (२० प्रतिशत) जमिनमा खेती गरिएको छ भने १० लाख ३० हजार हेक्टर (७ प्रतिशत) जमिन खेतीयोग्य भएर पनि खेती गरिएको छैन, बाँझो बस्दै आएको छ । यो क्रम बढ्दो छ । विगत लामो समयसम्म पुर्खाले पहरो फुटाउँदै माटोमा रूपान्तरण गरी स्तरीय जैविक विविधताको अधिकतम उपयोग गर्दै कडा परिश्रमका साथ कोदोखेती गरी प्राप्त उत्पादनबाट ढिँडो, रोटी, पुवा, खोलेजस्ता परिकार बनाएर खाने चलन थियो । उक्त खानेकुरालाई गुणस्तरीय खानाको रूपमा लिइथ्यो ।
जसको फलस्वरूप उत्पादनलाई प्राथमिकतामा राख्दा ठूलो क्षेत्रफलमा कोदोको खेती गरिन्थ्यो । विडम्बना भन्नुपर्छ, यस्तो महत्वपूर्ण बालीलाई कुलामुनि जमिन हुनेहरूको हेलाहोचो र अल्पशिक्षा लिएकाहरूको बुझाइ एवं राज्यको धान, चामलप्रति आकर्षण बढाउने, भाते संस्कृतिको विकास गराउने र अन्य बालीलाई सीमान्त बालीको रूपमा अपमान गरी ‘कुअन्न’ साबित गराउने गलत धारणा एवं नीति र कार्यशैली तथा कुलामाथि जमिन हुनेहरूलाई गरिएको अपमानका कारण हाल कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको छ ।

राज्यले खाद्य सुरक्षाको कुरा गर्यो, पेट भर्ने कुरा गर्यो, तर पोषण खाद्यको कुरा कहिल्यै भएन । हाम्रा रैथाने बालीमा भएका गुणस्तरीय महत्वलाई बुझाउन र प्रवर्द्धन गर्न र खानपानबारे चेतना विस्तार गर्न सकेन । फलस्वरूप स्थानीय किसानका मौलिक खाद्यान्न एवं खाना छायामा परे, कुहिएका र किरा लागेका आयातीत खाद्यान्नले स्थान पाए । अहिले हामी भाते भयौँ, हामीलाई भाते बनाएको सरकारको नीति एवं व्यवहारले हो, कार्यशैलीले हो । यसमा दुईमत छैन।
संयुक्त राष्ट्रसंंघको सन् २०२१ मार्चमा सम्पन्न महासभाले पश्चिमी हावा चल्ने देश भारतको अगुवाइमा ७० भन्दा बढी देशको समर्थनमा सन् २०२३ लाई ‘कोदो अन्तर्राष्ट्रिय वर्ष’का रूपमा मनाउने घोषण गरेसँगै नेपाललगायतका संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकले कोदो वर्ष मनाइरहेका छन् ।
जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्यलाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतना अभिवृद्धि गर्ने रहेको छ । नेपालमा किसान अधिकारप्रति समर्पित राष्ट्रिय कृषक समूह महासंघ नेपाल र कृषिका विषयमा कलम चलाउने कृषि पत्रकारहरूको संगठन अनाज नेपालले १५ साउन ०७७ मा कोदो प्रवर्द्धनार्थ बहस कार्यक्रम आयोजना गरी उक्त बहसको निचोड राज्यलाई पनि घचघच्याउने भन्दै अर्को वर्षबाट कोदो दिवस मनाइयो ।

अब के त ?
कोदोबाली साना, सीमान्त कृषकको जीविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ । यस्तै, जलवायुमैत्री खेतीका साथै कोदोको स्वास्थ्यलाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतनासमेत अभिवृद्धि गर्न आवश्यक छ ।
यस्तै, जमिनको उपयोग संरक्षण र युवा रोजगारको हिसाबले पनि यस बालीलाई हेरिनुपर्छ । खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधिको प्रयोगमार्फत सहज उत्पादनमा जोड दिने, अध्ययन–अनुुसन्धान गरी सम्मानित बालीको स्थान दिई प्रचारप्रसार गर्ने, कोदोको प्रशोधन र उद्यमशीलताका साथै कृषि शिक्षामा पनि जोडिनुपर्ने देखिन्छ ।
तीनवटै तहका सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदोको प्रवर्द्धन र विकासका लागि कार्यक्रम व्यवस्था गरिनुपर्छ । सरकारले औपचारिक रूपमा घोषणा गरी साउन १५ लाई राष्ट्रिय कोदो दिवस मनाई प्रचारप्रसार र सचेतना पनि फैलाउनुपर्छ ।
साउन १५ खिर खाने दिन हो । यसमा कोदोको खिरतर्फ आकर्षण बढाउन सकिन्छ । हामी दिवस मनाउँछौँ, मनाउनुपर्छ । तर, दिवस मनाउने कुरा रमाइलो या कार्यक्रम गरियो भनी प्रतिवेदन लेख्न मात्रै होइन । दिवस मनाउने भन्ने कुरा प्रचारप्रसार तथा जनचेतना विस्तार एवं सचेतनाका लागि हो । दिवस मनाउँदै जाने, तर कोदो बाली उत्पादनको वातावरण सिर्जना गर्न सरोकारवालाको प्राथमिकतामा नपर्ने हाम्रो संस्कृति र संस्कारले ‘कुअन्न’को रूपमा परिचित गराएको छ । अन्य सीमान्त बाली कहिल्यै सुअन्नमा परिणत नहुने, अध्ययन अनुुसन्धान, प्रविधि विकास र विस्तार नहुने, किसान एवं उत्पादक र उपभोक्ता तहमा सचेतना कार्यक्रम नहुने, प्रचारप्रसारमा ध्यान नदिने, उचित मूल्य र सहज बजारीकरणको व्यवस्था नगर्ने, खानपानमा सुधार ल्याउन पहल नगर्ने, कोदोखेतीले गर्ने वातावरण सन्तुलनको महत्व उज्जागर नगर्ने, आयातले आन्तरिक उत्पादन विस्थापन गराएको उपर कदम नचाल्ने हो भने दिवसको कुनै अर्थ हुनेछैन । त्यसैले कोदो तथा कोदोजन्य चिनो, कागुनो, जुनेलोलगायत अन्य छायामा परेका बालीहरूको प्रवर्द्धन विकास र विस्तारमा जुटौँ ।
लेखक नवराज बस्नेत राष्ट्रिय कृषक समूह महासंघ,नेपालका समेत केन्द्रिय अध्यक्ष रहेका छन्, उनले कोदो दिवशलाई औपचारीक रुपमा मनाउन महासंघकै पहलमा बिगत ३ बर्षदेखी विभिन्न संस्थासँग समेत सहकार्य गरी साउन १५ लाई राष्ट्रिय कोदो दिवश मनाउन समेत अभियान चलाईरहेका छन्, यो बर्ष समेत राष्ट्रिय कृषक समूह महासंघ,नेपालको आयोजक रहेको तेश्रो राष्ट्रिय कोदो दिवश २०८० समेत सम्पन्न गरीएको छ । उनको यो लेख नयाँ पत्रिकामा समेत प्रकाशन भइसकेको छ ।









