चर्चित

डा. रामेश्वर सिंह पाण्डे
वरिष्ठ पशु आहारा तथा पोषण विज्ञ

जैविक पशुपालनको महत्त्व तथा आवश्यकता
स्वस्थ, निरोगी तथा सुखी जीवनका लागि जैविक खाद्य तथा पशुजन्य पदार्थको उपभोग अनिवार्य हुन्छ। परम्परागत रूपमा चरिचरनमा आधारित, कृत्रिम रसायन तथा खाद्य तत्त्वहरूको प्रयोग नगरिकन पशुपालन तथा पशुजन्य पदार्थहरूको उत्पादन गरिने पद्धतिलाई नै जैविक पशुपालन भनिन्छ। यो प्राकृतिक सन्तुलनमा दखल नपुर्‍याई वातावरणमैत्री, रसायनमुक्त, स्वस्थ खाद्यवस्तुहरूको उत्पादन गर्ने पद्धति हो। यसमा वनस्पति, माटो, जल, प्राकृतिक स्रोतहरूको संरक्षण तथा पारिस्थितिकीय सन्तुलन कायम गरिन्छ।

हाल, विश्वको बढ्दो जनसङ्ख्याको कारण खाद्यान्न तथा पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बढाउन नयाँ–नयाँ वर्णशङ्कर जातका बीउबिजनहरूको विकास, रासायनिक मल तथा विषादीहरूको व्यापक प्रयोग हुन लागेको छ। जसले गर्दा वातावरण प्रदूषण, माटोको उर्वराशक्ति क्षय, मानिस तथा पशुपन्छीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न गएको छ। यसरी खाद्यान्न तथा पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा उत्पादन वृद्धि गर्न कृत्रिम रासायनिक मल, विषादी तथा एन्टिबायोटिक्सको बढ्दो प्रयोगले मानिस तथा पशुपन्छीहरूमा विभिन्न प्रकारका रोगव्याधिहरू देखा पर्नुका साथै जल, जमिन तथा वायुमण्डलमा प्रदूषण बढ्दै गएपछि सन् १९९० यता जैविक खेतीको लोकप्रियता तथा विस्तार बढ्दै गएको पाइन्छ।

जैविक पशुपन्छी पालन आर्थिक रूपमा किफायती हुनुका साथै उत्पादित पशुजन्य पदार्थहरू प्राकृतिक, स्वस्थ तथा स्वादिलो हुन्छन्। जैविक उत्पादित वस्तुहरूको बजार मूल्य पनि बढी हुन्छ। आधुनिक समयमा निरन्तर बढ्दै गरेको जनसङ्ख्या, पर्यावरण प्रदूषण, माटोको उर्वराशक्तिको संरक्षण तथा मानव स्वास्थ्यका लागि जैविक पशुजन्य पदार्थको उत्पादनमार्फत जैविक पशुपालन अति आवश्यक रहेको छ।

 जैविक पशुपालनको उद्देश्य
जैविक पशुपालनको मुख्य उद्देश्य शुद्ध, प्राकृतिक तथा गुणस्तरीय खाद्यपदार्थ उत्पादन गर्नु हो। जैविक उत्पादन संसारमा सबैभन्दा शुद्ध तथा श्रेष्ठ मानिन्छ। जैविक उत्पादित वस्तुहरूको लोकप्रियता तथा माग संसारभरि नै बढिरहेको छ। जमिन, जल तथा पर्यावरणबीच सन्तुलन कायम राख्नुका साथै कृषि र जैविक विविधता कायम राखी वातावरण प्रदूषण हुन नदिनु यसको अर्को उद्देश्य हो।

जैविक पशुजन्य उत्पादनहरू
दुग्धजन्य उत्पादन: जैविक दूध, घिउ, पनिर, आदि उत्पादनका लागि गाई, भैँसी, बाख्रा वा अन्य जनावरहरूलाई प्राकृतिक घाँसपात तथा आहारा दिएर पालिन्छ।
खसी/बाख्रा तथा भेडाजन्य उत्पादन, खसी/भेडाको मासु र दूधको लागि बाख्रा, भेडाहरूलाई प्राकृतिक घाँस तथा जैविक आहारा खान दिएर पालिन्छ।
जैविक याक, चौँरी पालन: परम्परादेखि नै याक तथा चौँरीहरूलाई प्राकृतिक चरन खर्क तथा प्राकृतिक अन्न खान दिएर पालिन्छ।

 

जैविक सुँगुर–बङ्गुरको मासु: सुँगुर, बङ्गुरहरूलाई जैविक अन्न र अन्नजन्य उपपदार्थहरू, प्राकृतिक घाँस तथा जैविक आहारा खान दिएर पालिन्छ।
मासु र अण्डाका लागि जैविक कुखुरा पालन: जैविक कुखुरा पालनमा कुखुरालाई प्राकृतिक आहारा जस्तै जैविक अन्न र हरियो घाँस खान दिएर पालिन्छ।

जैविक माछा पालन: जैविक माछा पालनका लागि माछालाई प्राकृतिक ताल वा जलाशयमा पालिन्छ र जैविक आहारा खान दिइन्छ। माछा उत्पादनका लागि कुनै प्रकारको रासायनिक उत्तेजकहरूको उपयोग गरिँदैन।
जैविक मौरी पालन: जैविक मौरी पालनका लागि मौरीलाई प्राकृतिक वातावरणमा पालिन्छ। मह उत्पादनका लागि कुनै प्रकारको रासायनिक पदार्थ, एन्टिबायोटिक्स वा हर्मोनको उपयोग गरिँदैन। मौरीलाई विषादी नछर्किएका प्राकृतिक फूलहरूको रस चुस्न दिइन्छ। जैविक मौरीजन्य पदार्थहरूका उदाहरण जैविक मह, जैविक मैन आदि हुन्।

यसरी जैविक पशुपालनको मुख्य उद्देश्य पशुहरूको स्वास्थ्य र पर्यावरणको सुरक्षा कायम गर्नु रहेको छ। यो विधि पशुहरूका लागि बढी मानवीय र प्राकृतिक हुन्छ, साथै उत्पादित वस्तुहरूको गुणस्तर पनि उच्च हुन्छ।

 जैविक पशुपालनबाट हुने फाइदाहरू
स्वास्थ्य लाभ: स्वास्थ्यवर्धक तथा रसायनमुक्त पशुजन्य पदार्थको खपत बढाउनु नै मानव स्वास्थ्य र वातावरण संरक्षणको दिगो उपाय हो। भोजनको रूपमा जैविक पशुजन्य पदार्थहरू सफा, सुरक्षित तथा प्रदूषणरहित हुनुका साथै यस्ता खाद्यपदार्थहरूमा कन्जुगेटेड लिनोलेइक अम्ल (CLA) को मात्रा बढी पाइनाले हृदयजन्य रोग तथा मधुमेह रोगको नियन्त्रणमा सहायक हुन्छ। जैविक पशुजन्य पदार्थहरू (विशेषतः दूध, मासु, अण्डा आदि) हानिकारक रसायन, एन्टिबायोटिक्स, हर्मोन आदिबाट मुक्त हुन्छन्, जुन मानव स्वास्थ्य तथा वातावरण दुवैका लागि लाभदायी हुन्छ।
आर्थिक लाभ: जैविक पशुजन्य पदार्थहरूको उत्पादन व्यवसायमा उत्पादन लागत कम पर्दछ र बढी मूल्यमा बिक्री गरिने भएकोले आर्थिक रूपमा बढी फाइदाजनक हुन्छ।
पर्यावरणीय लाभ: जैविक पशुपालनले माटो तथा जलस्रोतको प्रदूषण कम गर्छ तथा जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम राख्दछ।

 जैविक पशु फार्म तथा उत्पादनको प्रमाणीकरण
जैविक रूपमा पालिएका पशुहरू र उत्पादित वस्तुहरूको प्रमाणीकरण आवश्यक हुन्छ। यस्तो प्रमाणीकरण जैविक प्रमाणपत्र प्रदान गर्ने आधिकारिक निकायबाट मात्र गरिनुपर्दछ। सम्बन्धित संस्थाबाट प्रमाणपत्र प्राप्त भएपछि जैविक उत्पादनको छाप लगाई बिक्रीवितरण गर्न सकिन्छ।

नेपालमा राष्ट्रिय जैविक कृषि मान्यता संस्था (NOAAB) रहेको छ। यस संस्थाले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत “प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धी निर्देशिका, २०६४” मा उल्लेख भएका सबै मापदण्डहरू पूरा गरेमा जैविक प्रमाणीकरणको प्रमाणपत्र प्रदान गर्दछ।

नेपालमा प्रचलित जैविक प्रमाणपत्र दिने निकायहरूमध्ये प्राङ्गारिक प्रमाणीकरण नेपाल (OCN) पनि एक हो, जसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। प्राङ्गारिक प्रमाणीकरणका लागि सम्बन्धित उद्यमी वा व्यवसायीले आफ्नो र फार्मको सम्पूर्ण विवरण उल्लेख गरी संस्थामा निवेदन दिनुपर्दछ। यसबाहेक जैविक प्रमाणपत्र जारी गर्ने संस्थाहरूमा हिमालयन जैव–जैविक कृषि केन्द्र, नेपाल (HIMBOAC-Nepal), कफी सहकारी सङ्घ, र संयुक्त राज्य अमेरिकाको कृषि विभाग राष्ट्रिय जैविक कार्यक्रम विभाग (USDA-NOP) आदि हुन्।

सम्बन्धित संस्थाले प्राङ्गारिक उत्पादन गर्ने व्यवसायीलाई एक कृषक डायरी (आन्तरिक नियन्त्रण प्रणालीका लागि) दिन्छ। जसमा कृषि कर्मको विवरण, बीउ बिरुवा वा पशुपन्छीको स्रोत, मल, विषादी, दाना आदि प्रयोगको विवरण, रोग, किराको विवरण, उत्पादन, भण्डारण, बिक्रीको विवरण, फिल्ड अधिकृत, निरीक्षकको रिपोर्ट आदि उल्लेख गरिएको हुन्छ।

जैविक सामग्री उत्पादन भएपछि बिक्री वितरणका लागि सम्बन्धित संस्थाबाट प्रमाणपत्र लिई जैविक उत्पादनको छाप लगाई बिक्रीवितरण गर्न सकिन्छ।

जैविक पशुपालनका चुनौतीहरू र समाधान
आवश्यक ज्ञानको अभाव: जैविक पशुपालनका लागि आवश्यक ज्ञान तथा निर्दिष्ट सिद्धान्त तथा मानक (स्ट्यान्डर्ड) हरूको पालना अनिवार्य रूपमा गर्नुपर्दछ। यसका लागि सम्बन्धित प्रमाणीकरण गर्ने संस्थाहरूको सल्लाह तथा सुझाव अनिवार्य हुन्छ। कृषक र पशुपालकहरूलाई जैविक पशुपालनको महत्त्व र प्रविधिहरूको बारेमा राम्रो ज्ञान दिनु अत्यन्त आवश्यक छ।

बजारमा जैविक वस्तुहरूको माग र आपूर्ति : जैविक उत्पादनहरूको बजारमा सही मूल्य र मागको अवस्थालाई सुदृढ पार्नुपर्ने हुन्छ। जैविक पशुपालनसम्बन्धी ज्ञानको अभाव तथा जैविक पशुपालन गर्दा आम्दानी कम हुन्छ भन्ने गलत धारणाले यसको विस्तार आशातीत मात्रामा हुन सकेको छैन।
प्राकृतिक संसाधनको सीमितता : जैविक उत्पादनका लागि प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्दछ। जैविक पशुपालनका लागि चरन तथा घाँसखेती अनिवार्य हुन्छ। चरन तथा घाँस उपलब्ध हुन नसक्ने अवस्थामा जैविक पशुपालन केही कठिन हुन्छ, किनकि पशुहरूका लागि आहारा बाहिरबाट आयात गर्नुपर्दा आर्थिक भार बढ्न सक्छ।
जैविक औषधि तथा विषादीहरूको अभाव: जैविक पशुपालन गर्दा एलोप्याथिक औषधिहरू प्रयोग गरिँदैन, तर जैविक औषधि तथा विषादीहरू पर्याप्त मात्रामा उपलब्ध नभएकाले पशुहरूलाई रोगव्याधि लागेमा आवश्यक उपचार सम्भव नहुन पनि सक्छ।
जैविक प्रमाणीकरण प्रक्रिया: जैविक पशुजन्य पदार्थको उत्पादन प्रमाणीकरणको प्रक्रिया धेरै झन्झटिलो तथा खर्चिलो हुन्छ। साथै, जैविक पशुजन्य पदार्थहरूको बिक्रीवितरणका लागि विशेष बजार तथा उपभोक्ताहरूमा सचेतना आवश्यक हुन्छ।
जैविक पशुपालनको भविष्य: आधुनिक युगमा, जब वातावरणीय सङ्कट र खाद्य सुरक्षा जस्ता चुनौतीहरू बढिरहेका छन्, जैविक पशुपालनले पर्यावरणको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसका माध्यमबाट उत्पादन हुने खाद्य पदार्थहरू स्वच्छ, पौष्टिक र सुरक्षित हुन्छन्। भविष्यमा, जैविक पशुपालनको प्रवृत्ति बढ्ने र यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन मिल्नेछ।

 जैविक पशुपालनको विकासका लागि केही सुझावहरू
-जैविक पशुपालन तथा पशुजन्य पदार्थको उत्पादनका लागि कृषक तथा -व्यवसायीहरूमा चेतना तथा जानकारी उपलब्ध गराउने।
-जैविक पशुजन्य पदार्थको खपतका लागि उपभोक्ताहरूमा चेतना फैलाउने तथा -रासायनिक र विषादी प्रयोग गरिएका खाद्यान्नप्रति सचेत गराउने।
-जैविक पशुपालन तथा पशुजन्य पदार्थको उत्पादन तथा खपतका लागि सरकारी, -गैरसरकारी तथा निजी संस्थाहरूबाट आवश्यक पहल गर्ने, गराउने।
-जैविक पशुजन्य पदार्थको उत्पादन प्रमाणीकरणको प्रक्रिया सरल बनाउने।
-जैविक पशुजन्य पदार्थको बिक्रीवितरणका लागि व्यवस्थित बजार बनाउने।

नेपालमा उपलब्ध स्रोतसाधनको आधारमा जैविक पशुपालनको विकास तथा प्रवर्धनका अथाह सम्भावनाहरू रहेका छन्। रैथाने पशुपन्छीहरू र परम्परागत चरिचरन तथा घाँसेबालीमा आधारित पशुपन्छी पालन गरेर नेपालको कृषि तथा पशुपालनको क्षेत्रबाटै देशमा आर्थिक समृद्धि ल्याउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय