चर्चित

नेपालमा दालजन्य बालीहरूमध्ये रहरदाल एक बढ्दो र सम्भावनायुक्त उच्च बालीका रूपमा पहिचान हुँदै आएको छ । देशका पहाडी तथा मध्यम पहाडी भेगका किसानहरूबीच यसको खेती विस्तार हुँदै गएको देखिन्छ । पोषण तत्वले भरिपूर्ण, किरा–रोगसँग जुध्ने क्षमता भएको र बजारमा राम्रो मूल्य पाइने भएकाले रहरदाल खेतीतर्फ किसानको आकर्षण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । उर्वरादेखि साधारण माटोसम्म सजिलै अनुकूल हुने, मनसुनपछि हुने असोज/कात्तिकको सुख्खा समयमा पनि उत्पादन दिन सक्ने क्षमताले रहरदाललाई नेपालको मौसमी कृषि प्रणालीमा अझ महत्वपूर्ण बनाएको छ । यस्तै, स्वदेशी दाल उत्पादनमा बढ्दो कमी, आयातमाथिको निर्भरता, र स्थानीय बजारमा गुणस्तरीय रहरदालको माग बढिरहेको वर्तमान परिदृश्यले पनि यस बालीको व्यावसायिक मूल्य अझ सुदृढ बनाएको छ । किसानले न्यून लगानी, न्यून श्रम र न्यून जोखिमका साथ राम्रो आम्दानी गर्न सक्ने भएकाले रहरदाल कृषकलाई आकर्षित गर्ने प्रमुख बाली बन्दैछ । यही पृष्ठभूमिमा हामी आज वरिष्ठ कृषि विज्ञ छवी पौडेलसँग रहरदाल खेतीको वास्तविक अवस्था, सम्भावना, प्रविधिगत पक्ष, किसानले भोगिरहेका चुनौतीहरू र आगामी वर्षहरूमा आवश्यक नीति तथा कार्यक्रमका बारेमा विस्तृत छलफल गर्दैछौँ । रहरदाल खेतीले राष्ट्रिय खाद्य सुरक्षामा कस्तो योगदान पुर्याउन सक्छ, कसरी यस बालीलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न सकिन्छ र किसानलाई थप प्राविधिक तथा आर्थिक रुपमा सक्षम बनाउने उपाय के–के हुन सक्छन् भन्ने गम्भीर विषयहरूमा आधारित संवाद गरेका छौँ ।

रहरको खपत, उपयोग र उपभोग अत्यधिक मात्रामा बढ्दो छ, बजार पनि वृहत्तर बन्दै गएको छ । तर यति सम्भावना हुँदाहुँदै पनि नेपालमा रहर उत्पादन क्षेत्र भने घट्दो अवस्थामा देखिन्छ । यस्तो विरोधाभास किन उत्पन्न भइरहेको छ? हाम्रो उत्पादन किन खस्कँदो अवस्थामा पुगेको हो ?

यसको उत्पत्ति कहाँबाट सुरु भयो भन्ने विषयबाट थोरै कुरा जोड्न चाहन्छु, त्यतैबाट जाऔँ । यसलाई दुईटा अध्ययन वा दुईटा दृष्टिकोणले हेरिएको छ । एउटा अध्ययनले यसको उत्पत्ति अफ्रिकामा भयो, त्यहाँबाट सुरु भयो भन्ने मान्छन् । अर्कोले चाहिँ इन्डियामै हो भन्ने मान्छ । यसको ‘प्राइमरी सेन्टर अफ ओरिजिन’ अफ्रिका भए पनि ‘सेकेन्डरी सेन्टर अफ ओरिजिन’ या भारतीय उपमहाद्वीप अर्थात् इन्डिया नै हो । किनभने, संसारमा सबैभन्दा धेरै रहर, जसलाई हामी अङ्ग्रेजीमा पिजन–पी भन्छौँ, यसको उत्पादन इन्डियामै हुन्छ । यसलाई रहर, अरहर वा ‘रेड ग्राम’ पनि भन्ने गरिन्छ । इन्डियामा यसको सबैभन्दा धेरै उत्पादन हुन्छ र खपत पनि त्यहीँ बढी हुन्छ। अरहरको दालको माग सबैभन्दा धेरै इन्डियामा छ । संसारको सबैभन्दा धेरै उत्पादन गरे पनि इन्डियालाई खानलाई दाल पुग्दैन, अफ्रिकाबाट आयात गरेर खुवाउने (आपूर्ति गर्ने) अवस्था छ ।
नेपालको परिप्रेक्ष्यमा पनि जब मानिसलाई यो अरहरको दाल खाने बानी पर्छ, तब कालो दालहरूभन्दा यसलाई धेरै मन पराउँछन् । यो धेरै गुणस्तरीय दाल हो। यो दालहरूको राजा हो । यसमा करिब–करिब १८ देखि २५ प्रतिशतसम्म प्रोटिन पाइन्छ । कार्बोहाइड्रेट त सबै अन्न बालीहरूमा पाइन्छ, तर यसमा अलि कम मात्रामा अर्थात् ४८ प्रतिशत मात्रै कार्बोहाइड्रेट पाइन्छ । त्योबाहेक यसबाट हाम्रो शरीरलाई चाहिने सबै खाले अत्यावश्यक मिनरलहरू र भिटामिनहरू पनि पाइन्छ। त्यसकारण, यो स्वास्थ्यको दृष्टिकोणले दालको रूपमा एकदमै राम्रो हो ।
यसलाई हरियो कोसाको रूपमा छोडाएर तरकारीका लागि पनि प्रयोग गर्न सकिन्छ । रहरका जुन ठुला दानाहरू हुन्छन्, तिनीहरूको कोसाहरू निकालेर फ्राइ गरेर खाने चलन पनि आएको छ । यो सबै स्वास्थ्यको दृष्टिकोणले अति उत्तम दालबाली हो। यहाँले सोध्नुभएको अर्को कुरा यसको उत्पादन हो; नेपालमा पहिलादेखि नै रहरको खेती भइरहेको क्षेत्र करिब–करिब २३ हजार हेक्टर जति रहेको आँकडा छ ।

दालबालीहरूको कुल उत्पादन क्षेत्रको प्रतिशतमा हेर्दा रहरको हिस्सा निकै कम देखियो । यसको स्वास्थ्य मूल्य, माग र उपयोग बढ्दो अवस्थामा हुँदाहुँदै पनि रहर खेती किन यति न्यून प्रतिशतमै सीमित छ ? यसका पछाडिका कारणहरू के–के हुन् ?

एकदम सही प्रश्न गर्नुभयो । नेपालमा दालबालीले ढाकेको कुल क्षेत्रफल ३ लाख ३४ हजार हेक्टर छ भने, यसको (रहरको) हिस्सा जम्मा २३ हजार हेक्टर मात्र छ । यो एकदमै थोरै क्षेत्रफलमा खेती गरिन्छ । नेपालमा सबैभन्दा धेरै क्षेत्रफल ओगट्ने दालबाली मुसुरो हो, जबकि रहरको क्षेत्र थोरै छ ।
यद्यपि, यसको खेती पहिलादेखि नै कम हुँदै आएको भए पनि यसका आफ्नै विशेषता छन् । यो बहुआयामिक बाली हो। नेपाल मात्र होइन, संसारभरि जहाँ–जहाँ यसको खेती गरिन्छ, त्यहाँको खेती प्रणालीमा यसका अनौठा फाइदाहरू छन् । यसले ‘बायोमास’ अर्थात् पात–पतिङ्गर प्रशस्त उत्पादन गर्छ। वनमा हुने अन्य कुनै पनि वनस्पतिले छोटो समयमा यसले जति बायोमास दिँदैनन् । यसका पातहरू छोटो समयमै धेरै झर्छन् ।
नेपालमा यसको खेती फरक–फरक उद्देश्यले गरिन्छ । यसलाई घाँसेबालीका रूपमा पनि खेती गर्न सकिन्छ भने दालका रूपमा त यो नम्बर एक मानिन्छ । तराई र भित्री मधेशमा विशेष गरी दालका लागि खेती गरिन्छ भने मध्य पहाडमा यसको खेती घाँस र दाल दुवैका लागि गरिन्छ । यो बहुआयामिक र बहुउद्देश्यीय बाली हो । रहर खेतीको क्षेत्रफल घटेको भन्न मिल्दैन । कतिपय अवस्थामा, विशेष गरी पछिल्लो २–४ वर्षयता, मैले यसको क्षेत्रफल बढेको देखेको छु । किनभने, सुदूरपश्चिम र मध्यपश्चिमका मध्यपहाडी जिल्लाहरूमा हेर्दा अहिलेको विकासले विनाश पनि ल्याएको छ । हाम्रो ‘डोजरे विकास’का कारण किसानका पुराना परम्परागत कुलाहरू भत्किएका छन् । बाटो बनाउने क्रममा सिँचाइ प्रणाली बिग्रिएको छ । जहाँ पहिला धान खेती हुन्थ्यो, ती क्षेत्र अहिले बाँझो भएका छन् ।
मैले सुर्खेतका ग्रामीण भेग, डोटी र दैलेखको तल्लो तटीय क्षेत्रमा यस्तै अवस्था देखेको छु । विकास निर्माण र बाटो विस्तारका क्रममा कुलो भत्किँदा धान खेती हुने जग्गा बाँझो भएका छन् । किसान भनेका भुइँ मान्छे हुन्, उनीहरूको कुरा कसले सुन्ने ? बाटो बनाउनेले उनीहरूको मर्का नबुझ्दा वा कुरा नसुन्दा परम्परागत कुलाहरू बिग्रिएका छन् । डोजरे विकासले सिँचाइ प्रणाली भत्काउँदा खेतहरू बाँझो हुन पुगेका छन् । यस्तो सुक्खा अवस्थामा कोदोको खेतीसँगै रहरको खेती पनि बढेको मैले पाएको छु ।

विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिममा रहर खेती बढेको देखिए पनि समग्रमा नेपालको दालबालीमा यसको क्षेत्र विस्तार भने अपेक्षाकृत रूपमा हुन सकेको छैन। संक्षेपमा भन्नुपर्दा, के रहर साँच्चिकै किसानको आयमा वृद्धि गर्ने बाली हो त ?

नेपालमा रहरदाल खेतीको क्षेत्रफल सानो भए पनि डोटी र सुर्खेत जस्ता केही जिल्लाहरूमा यसको खेती बढ्दै गएको देखिन्छ। रहर बहुआयामिक र बहुउद्देश्यीय बाली हो । यसलाई तराई र भित्री मधेशमा दालका रूपमा तथा मध्य पहाडमा घाँस वा हरियो कोसाका रूपमा प्रयोग गर्न सकिन्छ। यसले भूमि संरक्षण गर्न, भू–क्षय रोक्न र किसानको खेती प्रणालीमा विविधता ल्याउन मद्दत गर्छ । रहरको जराले वायुमण्डलबाट नाइट्रोजन सोसेर माटोमा उपलब्ध गराउँछ, जसले नाइट्रोजन मलको आवश्यकतालाई कम गर्छ। साथै, यसले ‘पिसिडिक एसिड’ उत्पादन गरी माटोमा फस्फोरस उपलब्ध गराउँछ, जसले ‘फस्फोरस इकोनोमी’ पनि सुदृढ बनाउँछ। अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले पनि रहरको फस्फोरस र नाइट्रोजन उपयोगिताबारे अध्ययन गर्दै आएका छन् ।
सुक्खा क्षेत्रमा बाख्रापालनका लागि यो उत्कृष्ट घाँस हो । यसलाई वर्षमा ३–४ पटकसम्म काटेर उपयोग गर्न सकिन्छ। यसका छोटो, मध्यम र लामो अवधिका प्रजातिहरू उपलब्ध छन् । साथै, बहुवर्षीय प्रजातिहरूले कृषि र पशुपालन दुवै क्षेत्रमा योगदान पु¥याउँछन्। यसले कृषकको आय वृद्धि, माटो सुधार र दालबाली उत्पादनमा बहुआयामिक योगदान पु¥याउने बालीका रूपमा महत्व राख्छ ।

नेपालमा रहर दालको खपत तीव्र रूपमा बढ्दै गएको छ, तर रहर खेतीमा किसानको आकर्षण र उत्पादन विस्तार हुन सकेको छैन । यसको मुख्य कारण के–के हुन् ?

रहर दालबाली एक महत्वपूर्ण कोसेबाली र दलहन बाली हो, जसले बिग्रिएको माटो सुधार्न, नाइट्रोजन स्थिरीकरण गर्न र रिजेनेरेटिभ एग्रिकल्चरलाई बढावा दिन ठूलो भूमिका खेल्छ । अन्धाधुन्ध रासायनिक मल प्रयोगले माटो कमजोर बनेका ठाँउमा रहर बाली अत्यन्त उपयोगी मानिन्छ । यसको गहिरो जराले माटो सम्हाल्छ, पातले जैविक पदार्थ बढाउँछ र कार्बन माटोमा बाँधेर वातावरणीय प्रदूषण घटाउँछ ।
नेपाली सन्दर्भमा रहर दाल मनसुन सुरु हुनेबित्तिकै जेठ–असारमा रोपिन्छ । कम जोताइमा पनि खेती गर्न सकिने यो बाली बाँझो जमिन, आली–कान्ला, धानखेतका डिल, पहाडका कान्ला तथा घरछेउसम्म सजिलै बढ्छ । साथै यो बाली मिश्रित र अन्तरबाली प्रणालीका लागि अत्यन्त उपयुक्त छ । मकै, जुनेलो, बाजरा, कोदो, बदाम, मुँग, मास जस्ता बालीसँग सँगै लगाउँदा उत्पादन र माटोको स्वास्थ्य दुवैमा लाभ हुन्छ । रोगप्रभावित पुराना जातहरूका विकल्पका रूपमा खजुरा रहर १ राम्रो मानिन्छ, साथै रोग नलागेका स्थानीय बिउ पनि उपयुक्त हुन्छन् । त्यो बाहेक बागेश्वरी–१, रामपुर रहर–१ पनि उपयुक्त छ ।

रहर खेतीको राम्रो सम्भावना, उत्पादन र बजार रहेको छ । तर पछिल्लो समयमा क्षेत्रफल विस्तार हुन नसकेको मुख्य कारण के–के हुन् ? भारतबाट हुने सस्तो आयात, हाम्रो उत्पादन लागत उच्च हुनु वा किसानमा अझै जागरुकता नहुँदा यस्तो भएको हो कि अन्य कुनै बाधक पनि छन ?
नेपालमा रहरको उत्पादन क्षमता उच्च भए पनि खेती क्षेत्र कम भएकाले समग्र उत्पादन कम छ । एउटै ठाउँमा लगातार लगाउँदा रोगको समस्या आउँछ, त्यसैले ‘क्रप रोटेसन’ अपनाउनु आवश्यक छ । बाँके–बर्दिया, धनुषा–महोत्तरी र जनकपुर क्षेत्रका सुक्खा क्षेत्रमा यसको खेती बढी सम्भाव्य छ । उचित निकास व्यवस्था मिलाएर, रहरलाई अन्तरबाली वा मिश्रित बाली (जस्तै मकैसँग) का रूपमा लगाउँदा क्षेत्रफल बढाउन र उत्पादन कायम राख्न सकिन्छ ।

कोसेबाली भण्डारण गर्दा कत्तिको झन्झटिलो हुन्छ र यसलाई सजिलो बनाउन के–के उपाय गर्न सकिन्छ ?
रहर दालबाली हो र यसमा एफ्लाटोक्सिन अर्थात् ‘माइकोटक्सिन’ समूहको जोखिम रहन सक्छ । भण्डारणमा उच्च तापमान र ‘मोइस्चर’ हुँदा यसले ‘फंगस’ उत्पन्न गर्छ अनि चिस्यान बढी भए ढुसी लाग्न सक्छ, जसले पशु र मानिस दुवैको स्वास्थ्यमा असर गर्न सक्छ । यसको बीउको ‘जर्मिनेसन’ छिटो हराउँछ र सतर्कता नअपनाए समस्या बढ्न सक्छ, त्यसैले यसमा चाहिँ सजग र सावधान हुनुपर्छ। किसानहरूले बोट र हाँगा काटेर, अनि राम्ररी सुकाएर हातैले झाँटेर वा माडेर दाना अलग गर्छन्, जसले भण्डारणलाई सजिलो बनाउँछ । भण्डारणअघि बीउ १२% ‘मोइस्चर’ मापन गरेर (वा हुने गरी) दुई–तीन दिन घाममा सुकाउने र त्यसपछि ‘मेटल बिन’ वा ‘एयर–टाइट’ बट्टामा राख्नाले एफ्लाटोक्सिन र ढुसीको जोखिम कम हुन्छ । रहर दालखेती सजिलो छ, झन्झटिलो होइन; यो कम लागतमा उत्पादन सुरक्षित राख्न सकिने बाली हो । यसको उचित व्यवस्थापनले किसानलाई स्वस्थ, उच्च गुणस्तरको उत्पादन सुनिश्चित गर्न मद्दत गर्छ ।

रहर दालबालीको व्यावसायिक खेतीमा खर्च कम र बीउ सजिलो भए पनि, दाना निकाल्ने र भण्डारण गर्ने समय अलि झन्झटिलो भएको कारणले किसानहरू यसतर्फ कम आकर्षित भएका हुन् कि ?
नेपालमा रहरको दाना निकाल्ने प्रक्रिया भारतमा जस्तो ‘मेकानाइज्ड थ्रेसर’ प्रयोग गरेर सजिलो हुँदैन । यहाँ प्रायः दुई तरिका अपनाइन्छन्ः पहिलो, पूरै बोट काटेर सुकाएपछि माड्ने तरिका, जसले डाँठ र झिक्राको प्रयोग पनि सम्भव बनाउँछ । यसबाट किसानले बोटका हाँगाहरूलाई बाल्ने, घर बनाउने वा टोकरी र डोका बुन्ने काममा उपयोग गर्न सक्छन् । दोस्रो, बोटको माथिल्लो भाग मात्र काटेर थ्रेसरबाट दाना माड्ने सजिलो तरिका हो, जसमा समय र श्रम कम लाग्छ, तर डाँठ–झिक्राको प्रयोग सीमित हुन्छ । किसानले कुन प्रविधि अपनाउने भन्ने कुरा उनीहरूको भौगोलिक, सामाजिक र आर्थिक परिवेशमा निर्भर गर्दछ । ‘इन–सिटु’ (रोपिएको ठाउँमै) बोट छोडेर प्रयोग गर्दा सजिलो हुन्छ, तर अन्यत्र बार वा झौवा बनाउन प्रयोग गर्न चाहँदा पूरै काट्नु आवश्यक पर्छ । यसैले किसानको आवश्यकता र वातावरण अनुसार दाना निकाल्ने प्रविधि फरक हुनुपर्छ, ताकि उत्पादन सुरक्षित राखिँदै अतिरिक्त उपयोग पनि गर्न सकियोस् ।

सरकारी स्तरमा यहाँ लामो समय बस्नुभयो; हुन त नार्कअन्तर्गतकै निकायमा बस्दै गर्दा यसकै अनुसन्धानमा पनि तल्लीन भएर लाग्नुभयो। पछिल्लो समयमा हाम्रो अहिलेसम्मको अनुसन्धानको पाटोबाट हेर्दा कोसेबाली, र त्यसमा पनि रहर बालीमा चाहिँ हामी कत्तिको सफल छौँ ?
नेपालमा रहर बालीको अनुसन्धान र विकास मुख्यतया खजुरास्थित राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम (नेपालगन्ज) मा केन्द्रित छ । यसका लागि भारतको हैदराबादस्थित ‘इक्रिस्याट’ सँग ‘ग्लोबल कोलाबोरेसन’ गरिएको छ, जसले यसको विश्वव्यापी तथ्यांक र प्रविधिहरू उपलब्ध गराउँछ । यसबाट ‘खजुरा रहर–१’ जात विकास गरिएको हो, जुन रोगप्रतिरोधी र उच्च ‘बायोमास’ उत्पादन गर्ने क्षमता भएको छ । तर, यसले पर्याप्त अनुसन्धान र राष्ट्रिय स्तरमा प्राथमिकता पाइसकेको छैन ।
नेपालमा किसानहरूले यसबारे सीमित मात्रामा मात्र जानकारी पाएका छन् । कृषि प्रसारकर्मीहरूमा ‘नलेज ग्याप’ (ज्ञानको कमी), कम तालिम तथा ‘आउट–रिच’ कार्यक्रमको अभावले उत्पादन र खेतीको विस्तारमा बाधा पुर्याइरहेको छ । वर्तमानमा धेरै कृषि प्राविधिकहरूले यसको महत्व बुझ्न सकिरहेका छैनन्, जसले गर्दा उत्पादन अझै कम छ । यसको व्यापक खेती बढाउन किसान, कृषि अनुसन्धान र प्रसारकर्मीबीच समन्वय आवश्यक छ । गाउँपालिकामा ‘आउट–रिच साइट’हरू स्थापना गरी प्राविधिक तालिम दिनु, बीउ र जातबारे सही जानकारी दिनु तथा मिश्रित÷अन्तरबाली खेतीको प्रविधि सिकाउनु अत्यन्त महत्वपूर्ण छ । विशेष गरी सुक्खा क्षेत्र, बाँके–बर्दिया, धनुषा–महोत्तरी लगायत पूर्वी मधेसका कम पानी पर्ने क्षेत्रका लागि रहर दाल बाली एक प्रभावकारी बाली हो; जसले उत्पादन बढाउने मात्र होइन, माटो सुधार र जलवायु अनुकूलनमा पनि योगदान पु¥याउँछ ।
रहरको सन्दर्भमा अब किसानलाई सही बीउ, उपयुक्त जात चयन, निकासको उचित व्यवस्था र अन्तरबाली÷मिक्स्ड क्रपिङ प्रविधि अपनाउन प्रेरित गर्नु अति आवश्यक छ, ताकि उत्पादन वृद्धि र दिगो खेती सम्भव होस् ।

रहर बाली तराईदेखि पहाडसम्म खेती गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण आधार के हो र यसका लागि उपयुक्त उचाइ लगभग कति मिटर मानिन्छ ?
तराईदेखि मध्य पहाडसम्म यसको खेती गर्न सकिन्छ । योबाहेक घाँसबालीको रूपमा र यसलाई लगाएर केही पटक काटेर फेरि त्यसपछि दाना लिन पनि सकिन्छ । अनि ‘हे’ बनाउनमा समेत यसको प्रयोग गर्न सकिन्छ । जुन पहाडमा भिरालो जग्गा छ, त्यहाँको माटो बचाउनुप¥यो; ‘कन्जरभेसन एग्रिकल्चर’ गर्नुप¥यो, ‘सोइल कन्जरभेसन’ गर्नुप¥यो । त्यो अवस्थामा मध्य पहाडसम्म भनेको, हाम्रो चाहिँ यता महाभारतको दक्षिण, चुरेको उत्तरसम्म—चुरे–महाभारतको दक्षिणसम्मको ‘बेल्ट’मा यसलाई फैलाउन आवश्यक छ ।
ठ्याक्कै उचाइले १५०० मिटरसम्म ‘म्याक्सिमम’ हो । तर के हुन्छ भने, माथि जति चिसो हुन्छ, त्यहाँ दानाभन्दा यसको ‘बायोमास’ बढ्छ । त्यो बायोमासको महत्त्व अति राम्रो हुन्छ । घाँसको बाली त यो ‘एक्सिलेन्ट’ बाली हो । तर यसमा चाहिँ म के भन्न चाहन्छु भने, हाम्रो घाँसमा काम गर्ने वैज्ञानिकहरूले पनि रहरबालीलाई घाँसको रूपमा ‘रिसर्च’ गरिदिनुस् न । मैले चाहिँ घाँसमा काम गर्ने वैज्ञानिकहरूले यसलाई घाँसको रूपमा प्रयोग गरेको देखेको छैन । मैले त गरेको छु, मेरो ‘एमएस्सी’ थेसिसमै यसको घाँस नापेको छु र मैले चाहिँ ‘हेज्रो’ को रूपमा नापेर यसको कति घाँस आउँछ, कति धेरै ‘बायोमास’ हुन्छ भन्ने मलाई थाहा छ । हाम्रो घाँसको ‘रिसर्च’ गर्ने वैज्ञानिक साथीहरूले कृपया यसलाई घाँसबालीको रूपमा पनि गरिदिनुहोला भनेर सुझाव दिन चाहन्छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
रहर दालबालीले नेपालमा बहु–आयामिक सम्भावना बोकेको छ । यो एउटा ‘इकोलोजिकल क्रप’ हो अनि यो एउटा ‘रिजेनेरेटिभ’ बाली हो । यसले चाहिँ वातावरण सुधार्छ, यसले बिग्रिएको माटो सुधार्छ र पशुको स्वास्थ्य पनि सुधार्छ । यसको घाँस मात्रै होइन दाना, खोस्टा र हामीले दाल खाएर बचेका छोक्राहरू सबै पशु–आहार हुन्छन् । पशुको स्वास्थ्यमा पनि सुधार, मानव स्वास्थ्यमा पनि सुधार, अनि खाद्य सुरक्षा र हाम्रो पोषण सुरक्षाका लागि यो रहर बालीलाई नेपाल सरकारले प्राथमिकता देओस् भन्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय